इपी सेन्टर माइतीघर : गुठी विधेयकविरुद्ध जागेको जनलहर | Khabarhub Khabarhub

इपी सेन्टर माइतीघर : गुठी विधेयकविरुद्ध जागेको जनलहर



काठमाडौं- चौतर्फी दबावपछि सरकारले गुठी विधेयक फिर्ता लिए पनि बिरोध प्रदर्शन रोकिएको छैन । सम्बन्धित संघसंस्था तथा गुठियारहरुले विधेयक खारेज नगरेसम्म आन्दोलनबाट पछि नहट्ने बटमलाइन अगाडि तेर्स्याएका छन् ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मंगलबार पत्रकार सम्मेलन गरी राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयक फिर्ता लिएको जानकारी गराए पनि बुधबार हजारौँ मानिस प्रदर्शनमा उत्रिए । माइतीघरमा आयोजित खबरदारी सभामा राजधानीका विभिन्न स्थानबाट जुलुससहित आएका मानिसहरुको जनलहर देखियो ।

करिब ४ घण्टा माइतीघर ठप्प पारिँदा जावलाखेल, बबरमल, त्रिपुरेश्वर, सहिदगेट, थापाथलीलगायतका क्षेत्रमा सवारी साधन आवगमनमा अवरोध पुगेको थियो । बाजागाजाका साथ निकालिएको जुलुसले जनआन्दोलन–२ को याद धेरैलाई दिलायो ।

गुठी प्रेमीहरुको आवाजमा एकरुपता थियो । फरक–फरक समूह बनाएर बाजा बजाउँदै नेवा साँस्कृतिक झल्कोका साथ उत्रिएका उनीहरुले लाखे नाचसमेत प्रदर्शन गरेका थिए । हातमा पम्लेट र झण्डा बोकेर हिडेका प्रदर्शनकारीले चर्को स्वरमा नारा लगाइरहँदा माइतीघरको माहोल निकै ताकेको थियो ।

मध्याह्नको चर्को घामको पनि पर्वाह नगरी सभामा साना बालबालिकादेखि वृद्ध उमेरका नागरिकसम्मको उपस्थिति बाक्लो संख्यामा थियो ।

गत २६ जेठमा उनीहरुले गुठी विधेयक खारेजको माग गर्दै शान्तिपूर्ण ढंगले प्रदर्शन गरेका थिए । तर उक्त प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गर्दै पानीको फोहरा नै चलाएको थियो ।

त्यसपछि भने उपत्यकाका विभिन्न स्थानमा गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन तथा मसाल जुलुस गरिरहेका उनीहरुले बुधवार भने हजारौँ प्रदर्शकारी माइतीघरमा उतारे । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको गुठी विधेयक मंगलवार फिर्ता गर्ने घोषणा गरेपनि गुठियारहरुले भने विधेयक खारेज हुनु पर्नेमा जोड दिएका छन् । प्रदर्शनकारीले गुठी विधेयक खारेजीको मागसँगै सञ्चारमन्त्री, गृहमन्त्री र भूमिसुधारमन्त्रीको राजीनामा समेत माग गरे ।

प्रधानमन्त्रीको अहमतामा बिर्को लगाउनुपर्छ : काग्रेस सांसद खतिवडा

नेपाली जनतामाथि सरकारले हेपाहा प्रवृत्ति गरेको नेपाली कांग्रेसका पूर्वसांसद रामहरी खतिवडाले बताएका छन् । संद्भाव पूर्ण वातावरणमा मिलेर बसिरहेका जनतालाई सरकारले बिथोल्ने काम गरेको उनको आरोप छ । सभास्थल माइतीघरमा भेटिएका कांग्रेस सांसद खतिवडाले सरकारले दुई तिहाइको दम्भमा सम्पूर्णलाई पेल्छु भन्दै ल्याएको विधेयकले आज सरकार नै पेलिन पुगेको बताए ।

‘विधेयकलाई मिलाउनका लागि प्रधानमन्त्रीको अहमतामा बिर्को लगाउनुपर्छ’ उनले भने, ‘नेपाली जनताको भावनाअनुसार चल्न सक्नुपर्छ ।’ ‘सरकार अहिले जुन तवरले चलेको छ, यही हिसाबमा अघि बढे जनतामाथि शासन गर्ने होइन दमन गर्ने नियतमा गएको छ ।’ उनले भने ।

गुठीलाई सँस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयमातहत राख्न माग

गुठी सम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयक २०७५ प्रति राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिले गुठीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय मातहत राख्न सरकारसँग माग गरेको छ । समितिका संयोजक डा. महेशमान श्रेष्ठले गुठी संस्कृतिसँग सम्बन्धित भएकाले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयअन्तर्गत राख्न सरकारसँग माग गरेको बताए ।

गुठियारहरुले माइतीघर आयोजना गरेको खबरदारी सभामा बोल्दै उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत गुठीलाई राख्ने काम गरेकोमा आक्रोश पोखे । राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिका संयोजकसमेत रहेका श्रेष्ठले सरकारले गुठी विधेयक खारेज नगरेसम्म आन्दोलन जारी रहने बताए । नेवार समुदायको गुठीको जग्गालाई सरकारले कब्जा गर्ने प्रयास गरिरहेकाले यसैको विरुद्धमा सडकमा आन्दोलन गर्नु परेको उनको भनाइ छ ।

के भन्छन् प्रदर्शनकारीहरु ?

सरकारले गुठी विधेयक फिर्ता गर्ने घोषणा गरेको विषयलाई लिएर अभियान्ता सदिम महर्जन भन्छन्, ‘सरकारले गुठी विधेयक लागू भयो भन्दैमा लागू हुने र फिर्ता भयो भन्दैमा फिर्ता हुने होइन ।’ कुनै पनि कुरामा वैधानिकता हुन आवश्यक रहेको बताउँदै उनले प्रश्न गरे, ‘हामी लोकतन्त्रमा छौँ कि जाहनीया राणाशासनमा ?’

बुधबार खबरदारी सभा हुन्छ भन्ने हल्ला सरकारको कानमा पुगेपछि विधेयक फिर्ता भएको बताउँदै उनी भन्छन्, ‘आज माइतीघरमा ठूलो भूकम्प आउँछ भनेरै सरकारले विधेयक फिर्ताको घोषणा गरेको हो ।’ उनले विधेयक फिर्तालाई सरकारले काठमाडौंबासीलाई झुक्याउन र आन्दोलन रोक्न षडयन्त्र गरेको हुन सक्ने शंका व्यक्त गरे ।

अर्का अभियान्ता गणपतिलाल श्रेष्ठ भन्छन्, ‘सरकारले जनसागर नउर्लिओस् भनेर खेल खेलिरहँदा हामीले खबरदार गर्न यो सभा गरेका हौँ ।’ धर्म सँस्कृतिलाई प्रभाव पार्ने तवरले ल्याइएको विधेयक खारेज हुनैपर्ने उनको भनाइ छ । ‘यो कुनै राजनीतिक आन्दोलन होइन’ श्रेष्ठले भने, ‘हामी समाज र सँस्कृति जोगाउन मात्र लागी परेका हौँ ।’ ‘पछिल्लो समय जनता सडकमा नउर्लिएको भएर सरकारले आफुलाई सर्वैसर्वा ठानिरहेको छ ।’ उनले भने्, ‘सरकार ठूलो होइन, जनता ठूला हुन् । त्यसकारण सरकारलाई ध्यानकर्षण गराउन खबरदारी सभा गरेका हौँ ।’

जनताको सेवा गर्छु भनेर गएका नेतालाई रगत चुस्न नपठाएको उनले बताए । आफ्नो पहिचान बचाउन जनता पेलिँदा पनि सरकार संवेदशील नभएको उनको भनाइ छ । यस्तै, अर्का अभियान्ता समुन श्रेष्ठले विधेयक खारेज र फिर्तामा निकै अन्तर रहेको बताए । मौखिक रुपमा फिर्ताको घोषणा गर्दैमा विधेयक फिर्ता नहुने बताउँदै उनले प्रश्न गरे ‘राष्ट्रिय सभामा दर्ता भइसकेको विधेयक मुखले बोल्दैमा कसरी फिर्ता हुन्छ ?’ ‘जनताको ध्यान अन्यत्र केन्द्रीत गर्न सरकारले विधेयक फिर्ताको घोषणा गरेको मात्र हो’ उनले भने ‘आफ्नो भूमि आफैँ हेर्छौं ।’

यस्तै सभामा उपस्थित भएकी बालुवाटारकी लक्ष्मी थापाले सरकारले मौखिक रुपमा मात्रै विधेयक फिर्ताको घोषणा गरेको हुँदा भोलि फेरी संसदमा पेश हुन सक्ने आशंका व्यक्त गरिने् । आधुनिकता र परिवर्तनको नाममा सरकारले विदेशी सँस्कृति भित्र्याउँदै नेपाली सँस्कृति मास्दै गएको अभियान्ता दिगेश्वरी हमालले बताइन् । विधेयक खारेज नभएसम्म काठमाडौंबासी सडकमा उत्रिने बताउँदै उनले भनिन्, ‘जनता उर्लिएपछि सरकारको केही लाग्दैन ।’

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ८ : ०८ बजे

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार