‘आलो–पालो’को आन्तरिक कलहले ओली–दाहाल दूरी बढ्दो | Khabarhub Khabarhub

‘आलो–पालो’को आन्तरिक कलहले ओली–दाहाल दूरी बढ्दो



नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको आन्तरिक विवाद बढ्दै गएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पछिल्लो समय एकले अर्कालाई गलाउने रणनीतिमा लागेका छन् ।

चाहे पार्टी एकताको पूर्णता होस् या सरकार र संसदको विजनेश नै किन नहोस् । यसको ज्वलन्त उदाहरण पछिल्ला दिनयता महत्वपूर्ण बैठक र सभाहरुमा देखिन थालेको छ ।

असार १ गते ९ दिने यूरोपियन मुलुकहरुको भ्रमणबाट फर्किएका प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच संसद बैठकमा बाहेक एकपटक पनि औपचारीक भेट र छलफल भएको छैन ।

प्रधानमन्त्री ओली यूरोप भ्रमण जानुअघि जेठ २३ गते सचिवालय बैठक बसेको थियो । त्यसयता दुई नेताबीच दुई सातासम्म औपचारिक वार्ता नहुनु प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालबीच हार्दिकताको आभास कम हुँदै गएको नेकपाकै नेताहरुको बुझाई छ ।

प्रधानमन्त्री ओली यूरोप भ्रमणबाट फर्किएको भोलिपल्ट नेकपाले तत्कालीन माओवादी युद्धका क्रममा शहीद भएका रितबहादुर खड्काको सम्झनामा १७ औं स्मृति सभा आयोजना गर्‍यो । उक्त कार्यक्रममा पूर्वमाओवादी केन्द्रका शीर्ष नेताहरुको सभागी भएपनि पूर्व एमाले निकटका कुनै पनि शीर्ष नेता सहभागी भएनन् ।

सोही दिन साँझ गुठी विधेयकको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले बालुवाटारमा पार्टीका शीर्ष नेताको बैठक बोलाए । तर, बैठकमा अध्यक्ष दाहालसहित पूर्वमाओवादी केन्द्रका शीर्ष नेताहरु गएनन् । मंगलबार संसद बैठकमा दुबै अध्यक्ष सहभागी भए पनि कुनै हार्दिकता देखिएन । त्यस्तै लोकसेवा विज्ञापनका विषयमा सरकारले वैधानिक भएको बताइरहँदा अर्का अध्यक्ष दाहालले भने विज्ञापन रोक्नु पर्ने बताएका छन् । यी विविध पृथक अभिव्यक्तिका कारण पनि दुई अध्यक्षबीचको सम्बन्ध चिसिँदै गएको छ ।

किन बढ्यो ओली-दाहाल दुरी ?

गत वर्षको जेठ ३ गते पार्टी एकता लगत्तै ओली र दाहालले नेकपा जेट विमान भएको र आफूहरु उक्त विमानको पाइलट भएको बताएका थिए । तर, पार्टी एकताको अघिल्लो दिन (२०७५ जेठ २ गते) भएको ५ बुँदे सहमति अनुसार प्रधानमन्त्री रहेका अध्यक्ष ओलीले आफूलाई सक्ता सुम्पिनुपर्ने दाहालले अभिव्यक्ति दिएपछि दुई नेताबीचको विवाद बढ्दै गएको हो ।

ओलीले पूर्वसहमति अनुसार सहजै सक्ता नसुम्पने देखेपछि दाहालले भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहणमा सहभागी हुन ओली भारत भ्रमणमा जाने दिन नै उक्त पाँच बुँदे सहमतिको कुराउठाएका थिए । सहमति कार्यान्वयन गर्नुपर्ने दाहालको प्रतिक्रियामा नेकपा बरिष्ठ नेता झलनाथ खनाल, सचिवालय सदस्य बामदेव गौतम लगायतले सहमति कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिएका थिए ।

अध्यक्ष प्रचण्डको अभिव्यक्तिप्रति इंगित गर्दै प्रधानमन्त्री ओलीले भनेका थिए- ‘नेपालीको व्यवहार नै विदेश भ्रमणमा निस्कने बेला अफ्ठ्यारो पार्ने हुन्छ ।’ त्यसयता अध्यक्षद्वयबीच बढेको दुरी पछिल्लो समय झनै फराकिलो भएको छ । वाम विश्लेषक नरेन्द्रजंग पिटर भन्छन् ‘दुबै नेतामा राष्ट्रिय हित भन्दा व्यक्तिगत स्वार्थले बाहुल्यता जमाएको कारण ओली-दाहालबीचको केमेस्ट्रि नमिलेको हो ।’
अहिले सत्ता समीकरणको आँधीले नेकपाको हाँगाबिगा मात्र होइन, जरासम्मै हल्लिएको छ ।

पोखरेको अभिव्यक्तिपछि झस्किए दाहाल

पछिल्लो समय सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि पूर्वमाओवादीविरुद्ध श्रृंखलावद्ध अभिव्यक्ति दिन थालेपछि दाहाल झस्किएका छन् । पोखरेलले नेकपाको मार्गदर्शक सिद्धान्त पूर्व एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद-जबज) नै हुनुपर्ने सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । पूर्वमाओवादीले मान्दै आएको सिद्धान्त औचित्यहीन भएको पोखरेलको दाबी छ ।

साथै, सक्ता साझेदारको सहमति म्याद गुज्रिएको औषधिजस्तै भएकाले पूरै कार्यकाल ओलीले नै सक्ता हांक्ने पोखरेलले दाबी गरेका थिए । जुन अभिव्यक्तिलाई दाहालले ओलीको ईसारामा आएको हो कि भन्ने आशंका समेत गरेका छन् ।

वाम विश्लेषक डाक्टर सुरेन्द्र केसी भन्छन् ‘ओलीले पोखरेल तुरुप फालेपछि दाहालको मनमा ढ्याङग्रो बज्न थाल्यो, जसको फलस्वरुप दाहाल-ओली सम्बन्ध चिसिन पुग्यो ।’

प्रचण्डको चाहना एकल नेतृत्व

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गत वर्षको जेठ ३ गते एकता घोषणा भएको थियो । एकता घोषणा भएको १३ महिनासम्म पनि एकता पूरा भइसकेको छैन ।

नेकपाले अझै पनि पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन, विभागको जिम्मेवारी, आयोग बनाउने जस्ता काममा प्रवेश नै गर्न सकिरहेको छैन । एकता टुंग्याउने भन्दै पटक पटक बालुवाटारमा बैठक समेत बस्यो तर ओलीले रामबहादुर थापा र प्रचण्ड-माधवकुमार नेपाललगायतले बामदेव गौतम च्यापेपछि अल्पमतको डरबाट ओली झस्किए फलतः नेकपा एकता प्रक्रिया लम्बिरहेको छ ।

अर्कातिर अध्यक्ष दाहाल ५ बुँदे सहमति देखाउँदै पार्टी नेतृत्वमा कब्जा जमाउने रणनीतिमा लागेका छन् । दाहालले सार्वजनिक रुपमा आलोपालो नेतृत्वको विषय उठाए पनि भित्री रुपमा उनी एकल नेतृत्वको दबाबको लागि तयारी गरेको नेकपाकै नेताहरुको बुझाई छ ।

तत्काल प्रधानमन्त्री हुनुभन्दा एकल अध्यक्ष भएपछि पार्टी हातमा लिन सकिने र सरकार आफू अनुकुल चलाउन सकिने प्रचण्ड बुझाइ छ । वाम विश्लेषक पिटरको बुझाईमा एकल अध्यक्ष भए आसन्न महाधिवेशनमा समेत प्रभाव पर्ने र आफू अनुकुलको निर्णय गर्न सकिने प्रचण्ड बुझाई छ । जसको कारण उनी सक्ता साझेदारको आवाजलाई सशक्त बनाउंदै एकल नेतृत्वको दाउमा लागेको उनी निकट नेताहरुको भनाइ छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  १ : २९ बजे

भूकम्पीय जोखिम न्यूनीकरणका लागि बृहत् फोटो प्रदर्शनी

काठमाडौं– भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले बुधबार बृहत्

महोत्तरीमा आगलागी हुँदा ३० घर जलेर नष्ट

जनकपुरधाम– महोत्तरीमा आगलागी हुँदा करिब ३० वटा घर जलेर नष्ट

मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै

तनहुँ– तनहुँको मानपुर-डेडगाउँ-बुलिङटार सडक खण्डको ११ किलोमिटर कालोपत्र सुरु गरिएको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत– कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको

हामीले चुनाव जितिसक्यौँ, आयोगले घोषणा गर्न मात्रै बाँकी छ : स्वर्णीम वाग्ले

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले इलामको निर्वाचन आफूहरूले