ट्रम्प र रुसबीच सम्पर्क छ तर साँठगाँठ छैन : अनुसन्धान प्रतिवेदन | Khabarhub Khabarhub

ट्रम्प र रुसबीच सम्पर्क छ तर साँठगाँठ छैन : अनुसन्धान प्रतिवेदन


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका–  सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुस र वर्तमान राष्ट्रपति ट्रम्पबीच साँठगाँठ रहेको विषयमा अनुसन्धान गरेका अमेरिकी न्याय मन्त्रालयका विशेष अभियोजनकर्ता रोबर्ट मुल्लरले आफ्नो अनुसन्धान प्रतिवेदनमा ट्रम्प र उनको चुनावी अभियानका सदस्यहरु तथा रुसका लागि काम गर्ने मानिसहरुबीच सघन सम्पर्क भएपनि आपराधिक अभियोग नै लगाउनेगरी कुनै किसिमको साँठगाँठ नरहेको निष्कर्ष निकालेका छन् ।

अमेरिकी महान्यायाधिवक्ता विलियम बारले हालै सार्वजनिक गरेको मुल्लरको अनुसन्धान प्रतिवेदनको संशोधित संस्करणमा रुसका लागि काम गर्ने मानिसहरु तथा तात्कालिन रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेद्वार ट्रम्पको चुनावी अभियानका सदस्यबीच सघन सम्पर्क भएको भएपनि कुनै आपराधिक सँठगाँठ भने नरहेको जनाइएको छ ।

अमेरिकी चुनावलाई प्रभावित पार्ने उद्देश्य लिएका रुसका लागि काम गर्ने मानिसहरुबीच ‘अनेकौ सम्बन्ध’ देखिएको र रुसी सम्बन्धका कारण ट्रम्पको चुनावी अभियानमा फाइदा पुग्नसक्ने विषयमा ट्रम्पको अभियानका सदस्यहरुले मनशाय दर्शाएपनि ती आपराधिक प्रकृतिको नभएको वा ती सम्बन्धलाई उनीहरुबीच साँठगाँठ रहेको भनेर अदालतमा प्रमाण देखाउन सकिने अवस्था नरहेको मुल्लरको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि यस्ता केही सम्बन्धका बारे यसअघि पनि खुलासा भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पको चुनावी अभियानका सदस्य तथा पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले अमेरिकाका लागि रुसी राजदूत सेर्गेई किल्सेकसँग भेटवार्ता गरेको तथा अभियानका पूर्व अध्यक्ष पउल म्यानाफर्टले रुसी राजनीतिक सल्लाहकार कोन्स्टान्टिन किलिमिंकसँग सम्पर्क विस्तार गरेको विषयमा यसअघि नै खुलासा भइसकेको छ ।

तर, मुल्लरको अनुसन्धान प्रतिवेदनमा रुसका लागि काम गर्ने मानिसहरु र ट्रम्पको चुनावी अभियानका सदस्यहरुबीच रहेको सम्बन्धबारे नयाँ किसिमका जानकारी पनि सार्वजनिक गरिएको छ ।

प्रतिवेदनमा सन् २०१६ को वसन्त ऋतुको समयमा ट्रम्पको चुनावी अभियानमा सहभागी रहेका म्यानाफर्टले आफ्ना मातहतका मानिसलाई आफ्नो अभियानको आन्तरिक सर्वेक्षण तथ्याङ्क रुसी राजनीतिक सल्लाहकार किलिमिंकलाई उपलब्ध गराउन निर्देशन दिएको उल्लेख छ । उक्त तथ्याङ्क रुस सरकारसँग नजिकको सम्बन्ध रहेको विश्वास गरिने रुसी धनाढ्य ओलेग डेरिपास्कालाई जाने जान्दा–जान्दै पनि म्यानाफर्टले जानजान त्यस्तो निर्देशन दिएको मुल्लरको प्रतिवेदनमा जनाइएको छ ।

यद्यपि मुल्लरको प्रतिवेदनमा रुसका लागि काम गर्ने मानिसरुलाई ट्रम्पको चुनावी अभियानले तथ्याङ्क उपलब्ध गराएको विषयलाई रुस र चुनावी अभियानबीच साँठगाँठ रहेको भनिहाल्ने नमिल्ने जनाइएको छ ।

त्यस्तै, मुल्लरको प्रतिवेदनमा ट्रम्पको ज्वाईँ जारेड कुश्नेरले अमेरिकी नाकाबन्दीको सामना गरिरहेको रुसको सरकारी स्वामित्वको बैंकका प्रमुख सेर्गेई गोरकोभसँग सन् २०१६ को डिसेम्बरमा भेटेर छलफल गरेको विषयमा पनि समावेश छ । कुश्नेरले उक्त भेटवार्ता कुटनीतिक रहेको बताएको तर गोरकोभले भेटवार्ता व्यापारिक शैलीको रहेको बताएकाले प्रतिवेदनमा उनीहरुबीचको भेटवार्ता कस्तो प्रकृतिको थियो भन्ने यकिन गर्न भने नसकिएको जनाइएको छ । कुश्नेरले त्यस भेटवार्तामा अमेरिकी नाकाबन्दी र व्यापारिक विषयमा भने कुनै किसिमको कुरा नउठेको बताउने गरेका छन् । उक्त भेटवार्तामा गोरकोभले आफ्नो मुलुक बेलारुसको माटो र एउटा चित्र कुश्नेरलाई दिएको बताइएको छ । कुश्नेरका परिवार बेलारुसी मूलका यहुदी रहेको बताइन्छ ।

हालै सार्वजनिक मुल्लरको प्रतिवेदनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर, कुश्नेर र म्यानाफर्टले सन् २०१६ को जुन महिनामा न्यू योर्क शहरको ट्रम्प टावरमा एकजना रुसी अधिवक्तासँग भेटवार्ता गरेको विषयमा पनि नयाँ जानकारी दिइएको छ । उक्त भेटवार्तामा रुसी अधिवक्ताले ट्रम्पको चुनावी अभियानलाई तत्कालिन समयमा राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेद्वार हिलारी क्लिन्टनको चुनावी अभिानलाई हानी गर्ने किसिमका जानकारी दिइने आश्वासन दिइएको बताइएको छ ।

यद्यपि उक्त भेटवार्ता गरेर ट्रम्पको चुनावी अभियानले चुनावका क्रममा विदेशी सहयोग लिन नपाइने नियम उल्लङ्घन गरेपनि त्यसलाई रुस र ट्रम्पबीच साँठगाँठ रहेको भन्ने चाही स्पष्ट नहुने जनाइएको छ । तर, ट्रम्पको चुनावी अभियानले जानी–जानी नियम उल्लङ्घन गरेको भन्ने पनि स्पष्ट नभएको प्रतिवेदनमा जनाइएको छ । त्यसबाहेक क्लिन्टनको चुनावी अभियानलाई हानी पुर्‍याउने उद्देश्यले उपलब्ध गराइएको जानकारी धेरै महत्वपूर्ण रहेको भन्ने प्रमाणित गर्न पनि समस्या रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

ट्रम्पको चुनावी अभियानका महत्वपूर्ण सदस्यहरु र रुसी अधिवक्तबीच भएको भेटवार्ताबारे सन् २०१७ को जुलाईमा खुलासा भएको थियो । ट्रम्प जुनियरले शुरुमा त्यस भेटवार्तामा दुई पक्षबीच राजनीतिको नभइ धर्मपुत्र–धर्मपुत्रीलाई पाल्ने विषयमा छलफल भएको जनाएपनि पछि उक्त भेटवार्तामा आफ्नो अभियानले क्लिन्टनको अभियानलाई हानी पुग्ने जानकारीको अपेक्षा गरेको स्वीकार गरेका थिए ।

डेमोक्र्याटिक पार्टीका नेताहरुले भने यस्ता घटनालाई ट्रम्प र रुसबीच साँठगाँठ रहेको प्रमाणको रुपमा लिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । तर, अमेरिकी न्याय विभागका विशेष अभियोजनकर्ता मुल्लरका लागि ‘साँठगाँठ’ शब्द कानूनी परिभाषाभित्र नपर्ने भएकाले ट्रम्प र रुसले मिलेर ‘षड्यन्त्र’ गरेको भने नदेखिएको बताइएको छ ।

रुस र ट्रम्पबीच चुनावमा साँठगाँठ रहेको विषयमा मुल्लरले करिब दुई वर्ष लगाएर अनुसन्धान गरेका थिए । उक्त अनुसन्धानको अन्तिम निष्कर्ष सहितको प्रतिवेदन उनले गत मार्च २२ मा अमेरिकी महान्यायाधिवक्ता विलियम बारलाई बुझाएका थिए । विशेष अभियोजनकर्ता मुल्लरले बुझाएको अनुसन्धान प्रतिवेदनको ४ सय पृष्ठभन्दा धेरैको संशोधीत संस्करण बिहीबारमात्रै सार्वजनिक गरेका थिए ।

प्रतिवेदन सार्वजनिक गर्नुअघि महान्यायाधिवक्ता बारले पत्रकार सम्मेलन गर्दै प्रतिवेदनमा ट्रम्प वा ट्रम्पको चुनावी अभियानले कुनै गलत काम गरेको प्रमाण नदेखिएको बताएका थिए । प्रतिवेदनमा ट्रम्पले कुनै गलत काम गरेको प्रमाण देखिएको भए त्यसबाट उनीमाथिको महाअभियोगको बाटो खुला हुने अवस्था रहेका बेला प्रतिवेदन सार्वजनिक भएसँगै उनलाई यसले ठूलो राजनीतिक तथा कानूनी जीत दिलाएको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  २ : ५७ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका