बुद्धको पञ्चशील सिद्धान्तलाई संयुक्त राष्ट्र संघले पनि मानेको छ « Khabarhub
Logo
१२ आश्विन २०७८, मंगलबार

बुद्धको पञ्चशील सिद्धान्तलाई संयुक्त राष्ट्र संघले पनि मानेको छ



जन्म कुल, वंश र सम्पत्ति त्यतिखेर मात्र महत्वपूर्ण हुन्छ जतिखेर त्यसले मानव र प्राणीको भलाइमा पनि योगदान गर्न सकेको हुन्छ । भगवानको दृष्टिमा ‘सुरमुनिदेखि भुसुनासम्म, प्रभु नै सबका घटमा टम्म’ हुनुपर्छ । धर्म सनातन छ, पृथ्वीको सृष्टिभन्दा पहिला पनि धर्म थियो र प्रलय पछि पनि धर्म रहिरहन्छ ।

धर्म स्रोत शास्त्रहरु मानव अनुभूतिमा पनि रहेका हुँदा पर्याप्त हुन नसकेको वा अभ्यास क्रममा चिन्तन मननको कमीले विडम्वना, विकृति एवम् पाखण्ड वा बृद्धि विलाशले गर्दा दुईअर्थी भावले दुर्वोध्य भएका विषयमा सार ग्रहण गरेर सिद्धार्थ गौतम बुद्धले धर्मदेशना गर्न आफैं साधक तपस्वी बन्नु पर्‍यो, राजगद्धी पनि स्वेच्छ्याले त्याग्नु पर्‍यो ।

बुद्ध ब्रह्मर्षि, देवर्षि वा राजर्षि मानिनु हुन्छ र नेपाल बुद्धको जन्मथलो भएका कारण भौतिक, धार्मिक एवम् अध्यात्मिक उन्नतिमा गौरवान्वित रहि आएको छ । नेपाल मै श्री पशुपतिनाथ, श्री मुक्तिनाथ, जनकपुरधाम, रुरु क्षेत्र, कौशिकी क्षेत्र, विश्वको सर्वोच्च शिखर सगरमाथाको उपस्थिति जस्तै अर्को महत्वपूर्ण उपलव्धि महात्मा सिद्धार्थ गौतम बुद्धको जन्मस्थल पनि वर्तमान नेपाल नै रहि आउनु परमात्माको आशीर्वाद नेपालले पाएको ठान्नु पर्दछ ।

सिद्धार्थ गौतम बुद्धले गुरुहरुसँग वेदको राम्रोे अध्ययन गर्नुभएको हो । वेद उपनिषद्, रामायण, श्रीमद्भगवद् गीता, श्रीमद्भागवत महापूराणबाट गरेको सार ग्रहण, विभिन्न गुरुहरुबाट प्राप्त शिक्षा र आफ्नै अन्तस्करण जगाएर प्राप्त गरेको स्वतन्त्र अनुभव, तपस्या, चिन्तन, मनन, निदिध्यासन, प्राणायम, समेतबाट आर्य सत्य ग्रहण गर्ने सामर्थ्य बुद्धले पवित्र एवम् सर्वकल्याणकारी ज्ञान, कर्म र उपासनामा सत्यको पालना, अहिंसा वृत, शान्ति, न्यायका लागि मनमा अंकुश लगाउन ध्यान धारणा समाधिको महत्व बुझ्नु भयो र बुझाउने प्रयत्न पनि गर्दै रहनुभयो ।

बुद्धले आफ्ना अनुयायीलाई सतर्क गराएर भन्नु भएको पाइन्छ- ‘धर्म ईश्वर या प्रकृति प्रणित हुन्छ । मानव प्रणित सम्प्रदाय, पन्थ मात्र हुन सक्छन् । यसैले मेरो नामबाट नयाँ धर्म स्थापना भएको’ भ्रम नछर्नु ।’

व्यक्तिको व्यक्तिसँगको वा संस्थाको संस्था वा व्यक्तिसँगको कर्तव्यजन्य सम्बन्धलाई विशेष धर्म मान्न सकिन्छ, सामान्य धर्म मान्न सकिन्न । सामान्य धर्म धारण गरिने ब्रह्माण्डव्यापी सत्य, प्रकृतिको नियम, पूण्य सदाचार हुन्छ । सम्प्रदाय देवी वा देवतामा आस्था वा पूजा विधि हुन सक्छ । धर्मले जोड्ने, मिलाउने काम गर्छ ।

भगवानको दृष्टिमा सबै प्राणी वरावर छन् । शुभकर्म, शुभधारणा, शुभभावनामा अभ्यस्त व्यक्ति वा प्राणी शुभकर्मका आधारमा उच्च मानिन सक्दछन् ।

गीतामा गुण, कर्म, स्वभावका आधारमा चार वर्ण स्वीकार गरिएको कुरा वा चण्डाल, कुकुर, हात्ती, व्राह्मण्डमा समदृष्टि राख्ने पण्डितको कुरा होस् वा नारदको पूर्वजन्मकी आमा शुद्र भएर पनि सात्विक आहार व्यवहारमा रहेर व्राह्मणको, गाईको सेवा गर्दै व्राह्मणको भान्साघरको काममा नियुक्त रहेको प्रसंग होस् वा सिद्धार्थ बुद्धले शुद्रको हातको पानी पिएको प्रसंग होस् वा महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुना मदन काव्यको पङ्ति ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन’ भन्ने प्रसंग वा ‘जातिपाति पुछै नही कोई, हरिके भजै सो हरिके होइ’ मा तात्विक समानता पाइन्छ ।

हिन्दू सनातन धर्मको पर्याय बनेको छ । विष्णुका उपासक वैष्णव, शिवको निरन्तर आराधक शैव, देवको आस्थामा रमाउने शाक्त, गणेशको पूजाका लागि राख्ने गणपात्य, सूर्य पूजक सौर्य, दिगम्वर वा श्वेताम्वर मुनि जैन सबै सनातन धर्मावलम्वी वा हिन्दू मानिससरह बुद्धको उपदेश ग्रहण गर्नेहरुले आफूलाई सनातन धर्मावलम्वी मानि पछि हिन्दू मान्न अनकनाउनु पर्ने होइन ।

फिरंगीहरले भारतमा विभाजन गरेर समाजलाई टुक्रा पारेर शासन गर्ने शैली अपनाएको रहस्य नबुझेर ‘हिन्दु बौद्ध, शिख, जैन’ पदावली स्वीकार गर्दै पण्डित, नेता र समाजसेवीले समेत हिन्दू, बौद्ध भन्न थाले । यसरी बौद्धलाई हिन्दू इतर रहेछन् भन्ने भ्रम छर्न थाले ।

हो, हिन्दू शव्दको उत्पत्ति सिद्धार्थ गौतम बुद्धको प्राकाटयका धेरै समयपछि भएको हो । भारतमा अरबी मुसलमानहरुले शासनसत्त बलपूर्वक हातमा लिएपछि कर्णाली प्रशवण(जल) क्षेत्र सहितको सिन्धु नदीबाट परका बासिन्दालाई हिन्दू भनिदिए । उनीहरुलाई ‘स’को ठाउँमा ‘ह’ उच्चारण गर्न सजिलो लाग्थ्यो । ‘सप्ता’हरुलाई ‘हप्ता’ भनेसरह सप्तसिन्धुलाई पनि उनीहरुले हप्तसिन्धु भन्न थाले ।

दिल्लीका शासकले दिएको ‘हिन्दू’ शव्द शासित जनताले पनि आफूलाई हिन्दू भन्न र मान्न थाले । जुन वंश, जात, रगतका व्राह्मण वा क्षेत्री छन्, सिद्धार्थ गौतम बुद्धका पिता शुद्धोधन पनि त्यहि रगतका क्षेत्री हुन् । पीपलको बोट गीता, भागवतमा महत्वपूर्ण मानिन्छ र पीपलको बोटमुनि बसेर तपश्चर्यामा सिद्धार्थले नयाँ अनुभूति संगालेका हुन् । पतञ्जलीको योग, ध्यान, धारणासँग मिल्दो प्राणायाम, विपश्यना, शुभकर्मको प्रेरक हुन सक्छ ।

बौद्ध भए गुम्बामा गणेश, सरस्वती, सूर्य, शिव, गरुढ, इन्द्रका मूर्ति देखिएका छन् र विष्णु मन्दिरमा वा शिव मन्दिरमा पनि बुद्धमूर्ति देखिएकै छन् । श्रीमद्भागवत महापूराणले पनि जीवित प्राणी वा मनुष्यलाई घृणा गर्नेले मूर्ति पूजा गर्नु खरानीमा हवन गर्नुसरह भनेको छ र बौद्ध शिक्षामा पनि मूर्तिलाई प्राणधारी जीवभन्दा तल्लो श्रेणीमा राखिएको छ । मूर्ति पूजामा विश्वास नगर्ने बुद्धका यति धेरै किसिमका यति धेरै मूर्ति छन्, अरु देवी देवताको त्यति धेरै मूर्ति छैनन् ।

प्रतिमा, शालिक, विग्रह मूर्ति ध्यानमा सहायक बन्न सक्छन् । मन केन्द्रित गराउन वा ध्यान केन्द्रित गराउन सक्छन् । फोटोले व्यक्ति खुट्याउन मद्दत गरेसरह । कुनै वैषव बौद्धमार्गी बन्यो भने त्यसलाई धर्म परिवर्तन गरेको भनिदैन । त्यसैगरी बौद्धमार्गी पनि शैव वा जैन बन्यो वा सौर्य वा गाणपत्य बन्यो भने पनि धर्म परिवर्तन गरेको भनिदैन ।

सनातन धर्मका कुनै पनि सम्प्रदायको व्यक्ति सनातन धर्मअन्तर्गत कुनै अर्को सम्प्रदायमा आस्था या विश्वास देखाउने गर्न थाल्यो भने धर्म परिवर्तन गरेको मानिदैन । यदि वैष्णव वा बौद्धले इसाइ वा इस्लाम मत ग्रहण गर्‍यो भने त्यसले धर्म परिवर्तन गरेको, धर्मान्तरण गरेको मानिन्छ । त्यसैले पनि बौद्ध, जैन, शिखलाई हिन्दू इतर भन्न वा मान्न कदापि मिल्दैन ।

हिन्दू शब्द ‘कोढ’ हो भनेर माने सनातन जोडे हुन्छ । वेदको कुरा अहिले छाडौं भनेर सिद्धार्थले जुन प्रसंगमा भन्नुभएको थियो, त्यहि प्रसंगमा सिद्धार्थभन्दा पहिले भगवन श्री कृष्ण परमात्माले श्रीमद्भगवत् गीतामा भन्नुभएकै हो- ‘वेद त्रैगुण्य छ । अर्जुन तिमि निस्त्रैगुण्य बन’ भनेर । त्यस्तै ठूलो नदी प्राप्त नगरेसम्म कुवाको उपयोग गर्न मिलेसरह व्रह्मसाक्षात्कार नगरुन्जेल मात्र वेदको मद्दत लिनु भन्नुभए सरह हो ।

सिद्धार्थ वेद विरोधी वा वेद निन्दक होइनन् । चौरवेद सबै अंग अपाङ्ग र विधिले पढेर व्याख्याता बन्न सके पनि आचारहीन व्यक्तिलाई वेदले पवित्र गराउन सक्दैनन् भन्ने उक्तिसँग सिद्धार्थ चिन्तन सार पूर्ण रुपमा मिलेका छन् । सनातन धर्मले मानवता, सत्य निष्ठा, दानशीलता, दान, यज्ञ, स्वाध्याय, दया, प्रेम, श्रद्धा, भक्ति, शान्ति र न्यायमा सबैको कल्याण, सुख, स्वास्थ्य अर्थात् सबैको मंगल त्यसैगरी चाहन्छन्, जसरी सनातन धर्मअन्तर्गतका बौद्ध, जैन, शिख, वैष्णव, शैव, शाक्त, गाणपत्य, सौर्यले चाहन्छन् ।

भगवान गौतम बुद्ध एसियाका ज्योति मात्र होइनन्, विश्वज्योति बनेका छन् । पञ्चशीलको सिद्धान्त पनि संयुक्त राष्ट्र संघले त्यसैगरी मान्ने गरेको छ, जसरी युद्ध नियम, मानवता र युद्धमा महाभारतबाट नीति नियम संयुक्त राष्ट्र संघले ग्रहण गरेर विश्वलाई निर्देशित गरेको छ ।

नेपालको गौरव हिमाद्रि महिमा पण्डित सगरमाथा, श्री पशुपतिनाथ समेतका धामहरु र जानकी एवम् बुद्धको देश रहेर स्थापित छ । यी सनातन धर्मसार जनताले होइन, शासक राजाले पनि माने । गद्दी परे त्यागे, हिन्दूत्व त्यागेनन् । बडामहाराज पृथ्वीनारायण शाहले नेपालाई असली हिन्दुस्थान बनाउँछन् भन्ने विश्वासले मात्रै भुरे टाकुरे रजौटाले पनि योगदान गरे । सिद्धार्थले धर्म शिक्षाका लागि गद्दी त्यागेसरह हाम्रा मूल्य-मान्यता, पहिचान हिन्दू राष्ट्रबाट मात्र कायम हुन सक्छ ।


भर्खर

0