युवाहरु किन राजनीतिमा लाग्दैनन् ?

बिना राजनीति आधुनिक लोकतान्त्रिक राज्य व्यवस्थाको परिकल्पना नै हुँदैन

टीकाराम भट्टराई

मङ्लबार, चैत्र ५, २०७५

Reading Time: 10 minutes

युवाहरु किन राजनीतिमा लाग्दैनन् ?

लेखन पठनीय बनाउने अनेकन तरिकामध्ये लेखक जुन विषयमा आफैं पात्र भएर भिजेको हुन्छ, त्यो विषयको उठानबाट गरिनु पनि एक हो भनिन्छ । किनकि आफैं अभ्यस्त विषयको गहिराइले लेखनमा सहजता र स्वभाविकता ल्याउँछ ।

यही मान्यताअनुरूप विश्व साहित्य बजार र वौद्धिक लेखनहरुमा कतिपय साहित्य सिर्जना र लेखनहरु आफै पात्र भएर लेखिएका छन् । तिमध्ये कति पठनीय हुन्छन् भनेर फैसला गर्ने अधिकार भने पाठकमै हुन्छ । आजको यो सानो लेखनको शुरुवात म आफैं पात्र भएको एक वाल्यकालीन घटनाबाट गर्दैछु, जुन विषय राजनीतिमा युवा आकर्षणसँग प्रत्यक्ष जोडिएको छ ।

कुरा २०३८ सालको हो । म केवल १२ वर्षको थिएँ र कक्षा ७ मा अध्ययनरत थिएँ । २०३५ सालमा स्थापना भएको तत्कालीन नेकपा माले पार्टीको आधारभूमि मानिएको झापाको तोपगाछीको बसाइ र गौरादहको ज.मा.विको पढाई चलिरहेको थियो । भूमिगत भनिएका हामीले नाम थर नजानेका धेरै नेताहरु त्यस क्षेत्रमा सेल्टर लिएर बसेका थिए ।

बैठकको पहिलो एजेण्डा आफ्नो आलोचना आफैंले गर्ने वा आत्माआलोचना गर्ने र अरुको कमिकमजोरीको आलोचना गर्ने हुन्थ्यो । यो प्रक्रिया र पद्धतिबाट राजनीतिमा शुद्धीकरणको गुन्जायस रहन्थ्यो र अशल, तिष्ण तथा गुणवत्ता व्यक्ति मात्र राजनीतिमा टिकेको थियो

दिन, गते र बार याद भएन, गर्मीको मौसममा तराईंमा दिउँसो स्कूल चल्न नसकेर बिहानको स्कूल पढाइने चलन थियो । चैत वैशाखको दिन हुनु पर्दछ । एक जना कमरेडले अघिल्लै दिन हाम्रो घरमा दिउँसो ३ बजेतिर जरुरी काम भएकोले भेट्न आउने खबर गरेका थिए । निर्धारित समयमा उनी आई पुगे । साथमा त्यस बखत खुब चल्तिको एउटा कालो हाते व्याग थियो ।

हामी हाम्रो गाईको थलो माथि पराल राखेको तलामा भेला भयौं । ति कमरेडबहेक त्यस गाउँका हामी समकालीन ३ जना युवा थियौं । कृष्ण कोइराला, ध्रुव लामिछाने र म । उनले त्यो कालो व्यागबाट हत्केला जत्रो एउटा रातो रुमालजस्तो कपडा निकाले जसको माथिल्लो भागमा सेतो रंगको हँसिया र हतौडा अंकित थियो । कम्युनिस्ट पार्टीको नाम त सुनेको, तर झण्डा त्यसअघि कहिल्यै नदेखेका हामीहरुको छाती ढक्क फुलेर आयो । कम्युनिस्ट भए बापत झापाको सुखानीमा हत्या भएका ४ नेताको नाम भर्खर भर्खर सुनिएकोले त्यो झण्डा देख्दा एक प्रकारको त्रास पनि उत्पन्न भयो । तिनले संक्षिप्त तर जोशिलो कुरा गरे र घोषणा गरे– आजको दिनबाट तपाईंहरु कम्युनिस्ट पार्टीको सम्पर्कमा रहनु हुनेछ र तपाईंहरु मार्क्सवादी अध्ययन दलमा आवद्ध हुनु भएको छ । दाँहिने हात मुठ्ठी कसेर उठाउन लगाई शहीदको रगतले रक्त रंजित झण्डाको सामु उभिएर भन्ने वाक्याशं सहित शुरु भएको शपथ पनि खुवाए ।

हामी तीनै जनालाई एक–एक भूमिगत नाम पनि दिइयो जसानुसार मेरो नाम ‘राजेश’ थियो । पछि एसएलसी पास गरेर धरान जाँदा मेरो नाम ‘गुराँस’ भएको थियो । भूमिगत नेताको वास्तविक नाम सोध्न र भन्न मिल्दैनथ्यो । पत्राचारहरु भूमिगत नाममै हूने गर्दथे । यो प्रक्रियामा सामेल भएको दिनदेखि लाग्यो अव संसार विजय गर्ने अभियानमा सामेल भइयो । मनोभावना यस्तो भयो कि अब दुनियाँको कुनै प्रतिक्रियावादी शक्तिले हाम्रो विजय यात्रालाई रोक्न सक्दैन ।

कुरा त्यति मात्र छैन त्यसको २–३ महिना पछि हुनु पर्छ, अर्को वैठक वस्यो । त्यो बैठकमा अघिल्लो पटक आउने कमरेडले अलिक पाको गोरो अनुहार भएको सर्लक्क जिउडाल भएका अर्का कुनै नेतालाई साथमा लिएर आए । त्यो साँझको समय थियो र हामी टुकि (झापामा कुप्प भनिन्थ्यो) बालेर एक जना आदिवासीको माटोको परालले छाएको घरमा बसेका थियौं । यो पटक हाम्रो संख्या १२–१५ जति थियो ।

सिद्धान्त, संगठन र विचारको विषयमा घनिभूत बहस र विर्मश हुन्थ्यो । मेरो विचार वा क्षमताका आधारमा म स्थापित हुन सक्छु भन्ने हरेक युवा–युवती राजनीतिमा निष्ठापूर्वक क्रियाशील रहन्थ्यो । यसर्थ राजनीतिमा युवा वर्ग स्वाभिमान र क्षमताका आधारमा मेरो स्थान सुरक्षित छ भनेर आकर्षित हुने गरेको थियो

ति नयाँ कमरेडले सानो श्वरमा बेलि विस्तार लगाएर पञ्चायती व्यवस्थाको विरुद्धमा आन्दोलनको आँधी–वेहरी सृजना भई सकेको र मुलुकमा चाँडै नयाँ जनवादी क्रान्ति सम्पन्न हुने वातावरण बढ्दै गएको विश्वास हामीलाई यसरी दिलाए कि उनको वचन ढुगांको अक्षरले लेखिएको जस्तो हो । उनका जोशिला कुरा सुनेर यस्तो लाग्दथ्यो कि मुलुकमा तुरुन्तै नयाँ जनवादी क्रान्ति सम्पन्न हुनेछ । त्यो क्रान्ति पश्चात सबै बराबरी हुनेछन् । धनि–गरिब सबै एक हुनेछन् । त्यो व्यवस्थामा कोही भोको नाङ्गो र दुखी गरिब हुने छैनन् । योग्यताअनुसारको काम र काम अनुसारको दाम सबैले पाउनेछन् ।

त्यो दोश्रो बैठकमा आएका भूमिगत कमरेडले कम्युनिस्ट भएपछि पालना गर्नु पर्ने, माओत्सेतुङले तयार गरेका अनुशासनका ३ शिक्षा र ८ नियम लेखेर दिए । सेतो कागजमा निलो डटपेनले गाढा अक्षरमा लेखिएको त्यो पत्र हाम्रालागि वेद र गीताभन्दा विश्वासिलो थियो । आफु सुत्ने ओछ्यानको डसनामुनि वर्षौं राखिएको त्यो ३, ८ नियम लेखिएको पातो २०४७ सालमा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पश्चात डेरा सर्ने क्रममा हराउँदा म खिन्न भएको थिएँ । कानूनको भाषामा भन्दा त्यो हाम्रो संविधान थियो, जसलाई पालना नगर्ने कुनै गुन्जायस थिएन र हामी श्रद्धा र आस्थापूर्वक खुसीसाथ त्यसाको पालना गर्दथ्यौं ।

त्यो कागजमा लेखिएका कुराका अतिरिक्त ति कमरेडले अरु केही थप कुरा पनि बताए । तिमध्ये पहिलो कुरा थियो , कम्युनिस्ट भएर जाँड रक्सी खानु हुँदैन, विलासी जीवन जिउनु हुँदैन, जनतालाई सम्मान गर्नुपर्छ , महिलालाई आफ्नै आमा वा दिदीबहिनीसरह व्यवहार गर्नुपर्छ, कुनै पनि मानिस जात, थर र पेसाको आधारले ठूलो– सानो हुँदैनन् सबैलाई समान नजरले हेर्ने र व्यवहार गर्नु पर्दछ ।

मलाई अमिट छाप झैं लागेको जाँड रक्सी खानु हुदैन भन्ने कुरा मैले २०४७ साल सम्म त्यहि रुपमा बुझें । काठमाडौं आएर नेपाल ल क्याम्पसमा अध्ययन गर्न थाले पछि हामीले मार्क्ससवादी अध्ययन कक्षा संञ्चालन गरेका थियौं । त्यस वखतका चर्चित विद्यार्थी नेता एवम् प्रखर वक्ता घनश्याम भुषाललाई मैले हिम्मत साथ सोधे के कम्युनिस्ट भएर जाँड रक्सी खानु हुदैन ? उहाँले मार्क्स, लेलिन माओको नाम लिदैं उनीहरु सवै मदिरा सेवन गर्दथे, यसर्थ यो सैद्धान्तिक कुरा होइन, तर सादा जीवन जिउन र जनताको जीवनस्तरसँगै आफू पनि छु भन्ने विश्वास दिलाउन त्यसो भनिएको हो । मलाई उहाँको कुरा मन पर्‍यो, तर पनि २०३८ सालमा झापामा मलाई भूमिगत शिक्षा दिने ति कमरेडको कुरा मेरो हृदयमा अमिट भएर बसेकोले मैले त्यो सिद्धान्त होइन भन्ने जान्दा जान्दै पनि मादक पदार्थ सेवन गरिन र आजसम्म त्यो शिलशिला कायमै छ । मलाई लाग्छ अब त्यो चिज वस्तुसँग मेरो भेट नभएकै राम्रो ।

राजनीतिमा युवा आकर्षणको त्यस बखतका युवाको म एक प्रतिनिधि पात्र मात्र हुँ। राजनीतिमा लाग्दाको जोश–जाँगर, उत्साह र क्रियाशीलताले त्यो पुस्ताका हरेक युवाको व्यक्तित्व बनेको थियो । स्वेच्छाले राजनीतिमा लाग्ने र केही लिने होइन देश र जनताका लागि केही दिने उद्देश्यले युवाहरु राजनीतिमा आकर्षित हुने गर्दथे । यसरी राजनीतिमा आस्था र निष्ठा अनि इमान्दारिताका साथ होमिएका त्यस बखतका युवाहरुको जोडवलले नै बहुदलीय व्यवस्थाको पुर्नस्थापना गरायो, राजा ज्ञानेन्द्रको राजशाहीलाई अन्त्य गर्यो र मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । राजनीतक चेतना भएको हरेक युवा युवति आफ्नो भविष्य र ज्यानको परवाही नगरी आन्दोलनमा होमियो । हरेक युवा वर्गको राजनीतिमा आकर्षण यति वढ्यो कि राजनीतिमा संलग्न नभएकाहरुले साथ संगत नै पाउने अवस्था थिएन । त्यो निष्ठा, त्याग–तपस्या र योगदानको कूल परिणाम संघीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ती हो ।

राजनीति आफैंमा घिन लाग्दो र आकर्षणबिहीन विषय हुँदै होइन । राजनीतिविना आधुनिक लोकतान्त्रिक राज्य व्यवस्थाको परिकल्पना नै गर्न सँकिदैन । तर, आज राजनीतिलाई आकर्षणविहीन विषयको रुपमा स्थापित गरेर हाम्रा भावि सन्ततिको योग्यता, क्षमता र भविष्यको मात्र होइन जनपक्षीय राजनीतिको भ्रुण नै हत्या गर्न हामी तल्लिन भएका छौं

विगत १० वर्ष अघिसम्म राजनीतिमा व्यापक युवा आकर्षणको क्रम जारि नै रहेको देखिन्थ्यो, तर आज युवा बर्गमा राजनीतिप्रति कुनै आकर्षण छैन । दल पिच्छेका युवा विद्यार्थी संगठन त छन्, तर ति केवल औपचारिकतामा आधारित वा यान्त्रिक प्रकृतिका मात्र छन् । कुनै पनि दलका युवा संगठनले विचार, सिद्धान्त र दर्शनको विचार प्रवाह गरेका छैनन् । अधिकांश कम्युनिस्ट र कांग्रेसका युवा विद्यार्थी नेताहरुको बीचमा तिनको संगठनको नाम फरक बाहेक तिनका आचार, व्यवहार, शैली र इमान्दारितामा कुनै फरक देखिन छाडेको छ । अवसर, पद र सेवा सुविधा प्राप्तको लागि वार्गेनिङ टुल्सको काम बाहेक युवा विद्यार्थी संगठनहरु विचार शुन्य भिडको रुपमा मात्र क्रियाशील देखिएका हुन्छन् । निर्वाचनको बखतमा यदा–कदा देखिने सक्रियता पनि अक्सर स्वार्थमा आधारित देखिन्छ ।

आज दलको केन्द्रीय नेतृत्वमा रहेको कुनै पनि नेताले आफ्ना छोरा–छोरीलाई राजनीतिमा ल्याउन चाहँदैनन् । कांग्रेस वा कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीमा रहेका नेतामध्ये कति प्रतिशतका छोरा–छोरी राजनीतिमा सक्रिय होलान ? यो आफैंमा अनुसन्धानको विषय हो । तर, मलाई लाग्छ त्यो संख्या ५ प्रतिशत पनि छैन । यसलाई अर्को भाषामा भनौ जुन ९५ प्रतिशत नेताका छोरा–छोरी राजनीतिबाट भाग्न चाहन्छन् वा भगाइन्छ भने अबको २० वर्ष पछिको राजनीतिको परिदृश्य कस्तो होला ?

मलाई लाग्छ राजनीतिमा युवा वर्गको आकर्षण बढाउन सकिएन भने अबको राजनीति उद्योगी, व्यापारी, ठेकदार, सिनेकलाकार, गायक र दलालहरुको हातमा जाने स्वतः सिद्ध छ । यो डर लाग्दो परिदृश्यप्रति आज कुनै चिन्ता र चासो छैन । आजका युवा पुस्ताको बुझाई राजनीति भनेको जागिर खान, ठेक्का पाउन, व्यापार वृद्धि गर्न, शक्तिको अभ्यास गर्न, घर बनाउन, सम्पत्ति कमाउन र गाडि किन्न प्रयोग गरिने हतियार मात्र हो ।

त्यो भन्दा डरलाग्दो अर्को प्रवृत्ति पनि राजनीतिमा देखिएको छ । पद, अवसर र सुविधा प्राप्तीको खातिर आफ्नो विवेक बन्दक राख्ने वा आलोचनात्मक चेतको अवसान । आफ्नो दल वा गुटका कुनै नेताले जस्तोसुकै गल्ती वा कमजोरी गरे पनि सहेर बस्ने र चर्को स्वरमा सर्मथन गर्ने । यो प्रवृत्तिले कार्यकर्ताहरु दास र नेताहरु मालिकजस्ता भएका छन् । जसले आलोचना गर्छ उसको राजनीतिक भविष्य नै जोखिममा पर्ने भएपछि या त उ दास वन्छ या त राजनीतिबाट पलायन हुन्छ । राजनीतिमा देखिएको यो प्रवृत्तिले पनि राजनीतिमा युवा पुस्ताको आकर्षण बढ्न सकेको छैन । जतिबेला युवाहरु राजनीतिमा आकर्षित थिए, त्यसबखत हरेक कमिटीको बैठकको पहिलो एजेण्डा आफ्नो आलोचना आफैंले गर्ने वा आत्माआलोचना गर्ने र अरुको कमिकमजोरीको आलोचना गर्ने हुन्थ्यो । यो प्रक्रिया र पद्धतिबाट राजनीतिमा शुद्धीकरणको गुन्जायस रहन्थ्यो र अशल, तिष्ण तथा गुणवत्ता व्यक्ति मात्र राजनीतिमा टिकेको थियो ।

नीतिगत निर्णय वा राष्ट्रिय महत्वका हरेक विषयमा वा अधिवेशन, महाधिवेशनमा मात्र नभएर कमिटीका नियमति बैठकहरुमा सिद्धान्त, संगठन र विचारको विषयमा घनिभूत बहस र विर्मश हुन्थ्यो । मेरो विचार वा क्षमताका आधारमा म स्थापित हुन सक्छु भन्ने हरेक युवा–युवती राजनीतिमा निष्ठापूर्वक क्रियाशील रहन्थ्यो । यसर्थ राजनीतिमा युवा वर्ग स्वाभिमान र क्षमताका आधारमा मेरो स्थान सुरक्षित छ भनेर आकर्षित हुने गरेको थियो ।

राजनीति भनेको न त दास उत्पादन गर्ने कारखाना नै हो, न त अन्धभक्तहरुको झुण्ड नै हो । यो त आलोचनात्मक चेत भएका अशल नागरिकहरुको युग परिवर्तनको साधन हो । राजनीतिलाई यही रुपमा बुझ्न र बुझाउन ढिला भइसकेको छ

आज राजनीतिका यी सबै ऊर्जावान र सिर्जनशील विषयहरुलाई विचारविहीन भीड र गुट केन्द्रित गतिविधिले छायाँमा पारेको छ । आफ्नो गुटबाट आएका जुनसुकै निर्णय वा विचारहरु बिना बहस हु–बहू लागू गरिन्छ र अर्को गुटका जुनसुकै असल र नीतिगत निर्णयहरुलाई बलपूर्वक इन्कार गरिन्छ । यस्तो घिनलाग्दो परिदृश्यमा स्वाभिमानी र क्षमतावान युवाहरु राजनीतिमा आकर्षित नहुनु विल्कुल स्वभाविक हो ।

राजनीति आफैंमा घिन लाग्दो र आकर्षणबिहीन विषय हुँदै होइन । राजनीतिबिना आधुनिक लोकतान्त्रिक राज्य व्यवस्थाको परिकल्पना नै गर्न सँकिदैन । तर, आज राजनीतिलाई आकर्षणबिहीन विषयको रुपमा स्थापित गरेर हाम्रा भावि सन्ततिको योग्यता, क्षमता र भविष्यको मात्र होइन जनपक्षीय राजनीतिको भ्रुण नै हत्या गर्न हामी तल्लिन भएका छौं ।

राजनीतिलाई निष्ठा, इमान्दारिता र मुल्य र मान्यतामा आधारित मार्गमा पुर्नर्स्थापित गर्न राजनीतिक दलहरुले यो विषयलाई विशेष एजेण्डा बनाउनु जरुरी भइसकेको छ । राजनीति भनेको न त दास उत्पादन गर्ने कारखाना नै हो, न त अन्धभक्तहरुको झुण्ड नै हो । यो त आलोचनात्मक चेत भएका अशल नागरिकहरुको युग परिवर्तनको साधन हो । राजनीतिलाई यही रुपमा बुझ्न र बुझाउन ढिला भइसकेको छ ।

भर्खर

0