प्रहरीको जागीर छाड्ने बढे, ६ वर्षमा १० हजार २ सयको राजीनामा | Khabarhub Khabarhub

प्रहरीको जागीर छाड्ने बढे, ६ वर्षमा १० हजार २ सयको राजीनामा



काठमाडौं– नेपाल प्रहरीका कर्मचारीमा जागिरप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिनेको संख्या बढ्न थालेको छ । बिगत ६ वर्षको तथ्यांकलाई मात्र हेर्दा पनि १० हजार २ सय ६७ प्रहरी कर्मचारीले जागिर छाडेका छन् ।

सरकारी सेवामा रहेका नेपाल प्रहरी कर्मचारी धेरै जागिर छाड्ने भित्र पर्छन् । कठिन तालिम लिएर कार्यक्षेत्रमा खटिएपछि उनीहरको रोजाई परदेश हुने गरेको छ।

जागिर छाड्नेमा प्रहरीको तल्लो तह (सहायक)देखि विशिष्ट तह (डीआईजी)सम्मका छन् । प्रहरी संगठनको प्रमुख अर्थात अहिलेका प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनालको नियुक्त भएसँगै रुष्ट भएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले राजीनामा दिए।

महानिरीक्षककै आकांक्षी खरेलले प्रमुख नियुक्तिमा योग्यताको कदर नभएको भन्दै संगठनप्रति नै असन्तुष्टि जनाउँदै राजीनामाको बाटो रोजे ।

त्यस अघि २०७४ सालमै अर्का डीआईजी नवराज सिलवालले पनि उमेरहद हुँदै प्रहरी संगठनबाट बिदा लिए । उनको असन्तुष्टि पनि खरेलकै जस्तो बन्यो । सिलवालले महानिरीक्षकका लागि आफ्नो एक नम्बर दाबेदार भएको तर, सरकारले प्रकाश अर्याललाई महानिरीक्षक बनाएपछि रुष्ट बनेर राजीनामा दिए ।

यति मात्र होइन त्यही साल प्राविधिक तर्फकी डीआईजी शीला कंशाकार कार्कीले पनि व्यक्तिगत कारण देखाउँदै प्रहरीको जागिर छोडिन् । यसरी हेर्दा ३ डीआईजीले एकै साल संगठनप्रति असन्तुष्टि देखाउँदै जागिर छाडे ।

त्यस अघि एसएसपी घनानन्द भट्ट र सुबोध घिमिरेले पनि संगठनमा अन्याय भएको भन्दै जागिर छाडेका थिए । एसपी गोरखसिंह भण्डारी, सानुकाजी लामिछाने, नरेन्द्र उप्रेतीले पनि संगठनको काम प्रति असन्तुष्टि जनाउँदै राजीनामा दिए । प्रहरी संगठनबाट जागरी छाड्ने माथिल्लो तहका केही कर्मचारी मात्र हुन् ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार, २०७६ साल बैशाख यता मात्र ३ जना एसपीसहित ३ हजार ७३ जनाले प्रहरीको जागिर छाडेका छन् । पछिल्लो ६ बर्षको अवधिमा यो संख्या १० हजार २ सय ६७ पुगेको छ ।

जागिर छाड्ने कुन–कुन तहका ?

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार, वि.सं. २०७४ सालमा ३ जना डीआईजीले जागिर छाडेका थिए । त्यस्तै २०७१ यता २ जना बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी), ५ जना प्रहरी उपरीक्षक (एसपी), १९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) र ६७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)ले प्रहरी संगठन छाडेका छन् ।

प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार यो अवधिमा जागिर छाड्नेमा सबैभन्दा बढी प्रहरी हवल्दार छन् । जागिर छाड्ने प्रहरी हवल्दारको संख्या ६ हजार १ सय छ ।

त्यसैगरी १ हजार ६ सय ७३ जना प्रहरी जवानले जागिर छाडेका छन् । १ हजार ६ सय २३ जना प्रहरी सहायक निरीक्षक (असई)ले संगठन छाडेको प्रहरीले जनाएको छ । त्यस्तै ५ सय १३ जना प्रहरी नायव निरीक्षक (सई)ले राजीनामा दिएका छन् । यसबाहेक २ सय ६२ जना प्रकास(तल्लो तह)का कर्मचारीले जागिर छाडेका छन् ।

आन्तरिक सर्कुलर असफल

संगठन छाड्ने कर्मचारीको संख्या बढ्न थालेपछि त्यसलाई रोक्न प्रहरीले आन्तरिक सर्कुलर नै जारी गरेको थियो ।

संगठन छोड्नेका समस्या पहिचान गरी संगठनमै रहेर काम गर्ने वातावरण बनाउन सर्कुलर जारी गरिएपनि त्यो प्रभावकारी हुन नसकेको प्रहरी अधिकारीहरु बताउँछन् ।

जागिर नछाड्ने अभियान संगठनभित्रै चलेपनि राजनीतिक हस्तक्षेप र प्रहरी भित्रको काण्डैकाण्डले यो अभियान पनि प्रभावकारी भएन । यो अभियानले राजीनामा दिनेको संख्या घट्नुको साटो झनै बढ्दै गयो ।

यद्यपी प्रहरी प्रधानकार्यालयले भने यसलाई सामान्य प्रक्रियाका रुपमा लिएको छ । प्रहरी प्रवक्ता पोखरेल प्रहरीमा जागिर छाड्नेको संख्या थपघट हुनु स्वाभाविक मान्छन् । उनी भन्छन्-‘राजनीतिक सेटिङ वा अन्य कारणले प्रहरीमा जागिर छाड्नेको संख्या बढ्यो भन्नु सत्य होइन । अपवादमा त्यस्तो भयो पनि होला । कसैले त्यस्तो आरोप लगाएर संगठन छाडे भन्दैमा सबै त्यही कारण हो भन्नु गलत हो ।’

किन छोड्छन् जागिर ?

प्रहरी संगठनलाई राम्ररी बुझेका जानकारहरुले भने इगो र संगठनभित्रको अन्यायका कारण राजीनामा दिने गरेको बताएका छन् ।

तल्लो दर्जामा रहनेहरुले भने प्रहरीको जागिरले परिवार धान्न मुस्किल भएपछि बैकल्पिक पेशा रोज्दा प्रहरीको जागिर छोड्ने गरेको पाइएको छ । उनीहरु वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ ।

यसबाहेक, विकसित देशको भिसा लाग्दा, डिभी चिट्ठा पारेर प्रहरीको जागिर छाड्ने गरेको पाइएको छ ।

अर्कातिर प्रहरीभित्र सिनियर प्रहरी अधिकृतबाट हुने व्यवहार, ओभरटाइम ड्युटी, सेवा सुविधा, मुल्यांकनलगायतका कारणले जुनियर प्रहरीहरुले राजीनामा दिने गरेको पाइएको छ ।

प्रहरीको जागिर छाडेर ट्याक्सी चलाउँदै आएका तल्लो दर्जाका एक कर्मचारीले भने-‘हाकिमका श्रीमती र छोराछारीको कपडा धुनु भन्दा ट्याक्सी चलाउनु नै बेस ।’

यसबाहेक नसिहत, स्पष्टिकरण, ग्रेड रोक्का लगायतका कारणले पनि जागिरबाट राजीनामा दिने क्रम बढेको छ । अझ १८ वर्षमै पेन्सन लिन पाइने भएपछि तल्लो दर्जाका प्रहरीले ३० वर्ष पूरा नगरी जागिर छाड्ने गरेका छन् । उनीहरू जागिरपछि अन्य पेशामा जाने गरेका छन् ।

प्रहरीमा पेन्सन भएका कर्मचारीलाई अफगानिस्तान, इराक, सिंगापुरका विभिन्न कम्पनीमा सेक्युरिटी गार्ड र त्यहाँकै प्रहरीमा राम्रो अवसर भएकाले जागिर छाड्ने क्रम बढेको प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रहरी प्रवक्ता विश्वराज पोखरेल भने प्रहरीमा जागिर छाडनु र भर्ना हुनु नौलो विषय नभएको दाबी गर्छन् ।

उनी भन्छन्-‘यति ठूलो संगठनमा कर्मचारीहरु आउनु जानु स्वभाविक प्रक्रिया हो । प्रहरी संगठन भित्र अवसर नै नपाएर जागिर छाड्ने भन्ने चाहीं होइन । यदाकदा असन्तुष्टि त देखिन्छ नै तर, त्यस्तो विकराल अवस्था भने छैन ।’

जे भएपनि प्रहरीका प्रमाणपत्र वैदेशिक रोजगारीको माध्यम बनेका छन्। संगठनले तल्लो दर्जाको मर्म नबुझ्दा पनि यस्तो समस्या आएको हो । प्रहरीमा १०–१५ वर्षभन्दा बढी सेवा गरेको व्यक्तिले बीचैमा राजीनामा दिनु राम्रो होइन ।

संगठनले समीक्षा गर्नुपर्ने विज्ञहरुको सुझाव

प्रहरी संगठनभित्रको समस्या र प्रहरीको आन्तरिक व्यवस्थापनलाई बुझ्ने जानकारहरु पनि जागिर छाड्ने प्रहरी कर्मचारी बढ्दा यसले संगठन र राज्यलाई नै घाटा पुर्‍याउने बताउँछन् ।

पूर्वएआईजी जयबहादुर चन्द भन्छन्-‘एउटा सामान्य व्यक्तिलाई रिक्रुट गरेर जागिरका लागि योग्य बनाउन राज्यले ठूलो लगानी र समय खर्च गरेको हुन्छ । अनि जति बेला त्यो व्यक्ति संगठन र जिम्मेवारीका लागि अनुभवी बन्छ त्यति नै बेला जागिर छाड्दा त्यसले ठूलो असर गर्छ । उ माथिको राज्यको लगानी खेर जान्छ ।’

अर्को पक्ष के छ भने जागिर खाएर परिवार धान्नै नसक्ने अवस्था आउँदा उनीहरुले अर्को विकल्प रोज्नु पनि स्वभाविक नै हो त्यसैले जागिरमा आकर्षित गर्न राज्यले पनि विशेष योजना ल्याउनु आवश्यक छ ।

पूर्वडिआइजी केशव अधिकारी प्रहरीले जागिर छाडेर हिडिरहेको विषयमा प्रहरी संगठनको नेतृत्व गम्भिर बन्नु पर्ने बताउँछन् ।

उनी भन्छन्, ‘सरुवा बढुवामा पछिल्लो समय जुन राजनीतिक हस्तक्षेप भइरहेको छ त्यसले निष्ठावान् र सक्षमभन्दा पनि शक्ति केन्द्रमा धाउनेहरुले अवसर पाइरहेका छन्। जसका कारण संगठनका कर्मचारीहरुमा निरासा पैदा भइरहेको छ ।’

त्यसो त नेपाल प्रहरीमा मात्र होइन, नेपालका सुरक्षा निकाय नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागमा राम्रो भविष्यको सम्भावना नदेखेपछि जागिर छाडेर विदेशीले राष्ट्र सेवकहरुको संख्या दिनदिनै बढ्दै गएको छ ।

यसतर्फ संगठन र राजनीतिक नेतृत्वको पनि ध्यान पुग्नु आवश्यक देखिन्छ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  १० : ३९ बजे

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले