नेपाली अवधारणा बोकेको साग– तर जहिल्यै पूर्वाधार अभाव « Khabarhub
Logo
१५ फाल्गुन २०७७, शनिबार

नेपाली अवधारणा बोकेको साग– तर जहिल्यै पूर्वाधार अभाव



काठमाडौं– दक्षिण एसियाली खेलकुद (साग) तेस्रो पटक नेपालमा आयोजना हुँदैछ । खेलको उद्घाटन मिति नजिकिँदै जाँदा नेपालले निर्माण गर्ने पूर्वाधारको काम सक्ने निक्कै बाँकी छ । त्यसैले अहिले दिन रात नभनि सागको तयारीका लागि निर्माण कार्य जारी छ ।

मुख्य उद्घाटनस्थल दशरथ रंगशाला, पोखरा, रंगशाला र सातदोबाटोस्थित हिटिङ सिस्टमसहितको स्विमिङ पुलको काम नसकिँदा सागको आयोजना कसरी हुन्छ ? के साग आयोजना गर्न कै लागि गर्ने हो जस्ता थुप्रै प्रश्न आम खेल प्रशंसकले उठाइरहेका छन् ।

यसअघि दुई संस्करण आयोजना गरिसकेको नेपालका लागि दक्षिण एसियाली खेलकुदको कुम्भ मेला आयोजना गर्न धेरै कठिन नभएपनि अहिलेको खेलकुदको नेतृत्वले ध्यान नदिँदा भौतिक पूर्वाधारमा ढिलाइ भएको हो ।

सन् १९८४ मा पहिलो साग आयोजना गर्दाका तत्कालीन राखेप कोषाध्यक्ष तथा दोस्रो पटक सन् १९९९ मा साग नेपालले आयोजना गर्दाका समारोह समितिका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ नेपालमा तेस्रो पटक साग आयोजना हुनु नै महत्वपूर्ण विषय भएको बताउँछन् ।

श्रेष्ठ सागका लागि अहिले के कस्तो तयारी भइरकेको छ र यसअघिका संस्करणहरुको तयारी कस्तो थियो भनेर तुलना गर्न नमिल्ने तर्क राख्छन् । ‘अहिले साग आयोजना हुँदैछ । त्यहिँ ठूलो कुरा हो । यसअघिका संस्करणहरु के कस्ता भए भन्दा पनि अहिलेको जे भइरहेको छ त्यसमा ध्यान दिनु पर्छ,’ श्रेष्ठले बताए ।

नेपाली खेलकुदको स्वर्णीम कालखण्डका र सबैभन्दा शक्तिशाली सदस्यसचिव शरद चन्द शाहको कार्यकालका विष्णु गोपाल श्रेष्ठ कोषाध्यक्ष थिए । त्यतिमात्रै होइन् उनी पहिलो र आठौं सागको समारोह समितिका अध्यक्षसमेत हुन् ।

उनकै नेतृत्वमा तत्कालीन राखेप नेतृत्वले सागको प्रचार प्रसार गरेको श्रेष्ठको सम्झना छ । ७१ बर्षीय श्रेष्ठ अहिले नेपाल ओलम्पिक कमिटीमा ‘स्पोट्स फर अल कमिटि’को अध्यक्ष छन् ।

राखेप नेतृत्वको प्रतिवद्धता र छिमेकी देशहरुसँगको सम्बन्ध सुधारको माध्यमबोर्ड सदस्य रहेका श्रेष्ठ सागको अवधारणा अगाडि बढाउँदा सबै देशले साथ दिए ।

‘साग’ नेपालको अवधारणा

विश्व खेलकुदमा ओलम्पिक खेलकुद एक कुम्भ मेला थियो । त्यहाँसम्म पुग्न सानो मेहनतले पुग्दैन थियो । त्यसका लागि पनि विभिन्न महादेशिय प्रतियोगिताहरु आयोजना हुन्थे । एसियाली क्षेत्रमा एसियन गेम्स हुन्थ्यो । तर, त्यहाँ नेपालजस्ता कमजोर आर्थिक आम्दानी भएका देशलाई निकै कठिन थियो ।

एसियाली क्षेत्रमा बलियो अवस्था नदेखिएपछि तत्कालीन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव र नेपाल ओलम्पिक कमिटिका अध्यक्ष शरदचन्द शाहले दक्षिण एसियाली क्षेत्रमा क्षेत्रीय प्रतियोगिता गर्ने यस क्षेत्रका देशहरुसँग पहल थाले ।

शाहको पहलले धेरै समय लिएन । दक्षिण एसियाका नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान क्षेत्रीय प्रतियोगिताका लागि तयार भए ।

त्यो समयमा एसियाली क्षेत्रमा भारतले पनि खासै राम्रो गर्न सकेको अवस्था थिएन । तर, भारतको साथ विना क्षेत्रीय प्रतियोगिता सम्भव पनि लगभग थिएन । तर, शाहले पहल थाल्दै जाँदा साझा नाराका रुपमा उनले उठाएका थिए,‘भातृत्व कायम’ भन्ने थियो । तर, अहिले सागको ‘मोटो’ को रुपमा ‘शान्ती, समृद्धि र उन्नति’ छ ।

श्रेष्ठ सागको स्थापना गर्दा खेलकुदका माध्यमबाट यस क्षेत्रका देशहरुबीचको भातृत्व कायम गर्ने हेतुले स्थापना गरिएको बताउँछन् ।

‘साग स्थापना यस क्षेत्रका देशबीचको भातृत्व कायम गर्न र खेलकुदकै भाषा भन्नु पर्दा हामीले अनुसाशित युवा, राष्ट्रप्रति बफादार युवा राष्ट्रको प्रतिष्ठा अभिवृद्धी गर्ने युवा जसले राष्ट्रलाई विश्वमाझ पुर्‍याओस भन्ने थियो,’ श्रेष्ठले विगत सुनाउँदै भने ।

सागका लागि पहल गरेको नेपालले नै पहिलो संस्करणको साग आयोजना गर्ने अवसर पायो । त्यो अवसर नेपालले पाउनुका पछाडि विभिन्न कारण रहेको श्रेष्ठ बताउँछन् ।

तत्कालीन साउथ एसियन फेडेरेसन गेम्सको विधान अनुसार ‘अल्फाबेटिकल अर्डर’ अनुसार सागको आयोजक छानिन् प्रावधान बनाएको थियो । जस अनुसार पहिलो साग आयोजनाको जिम्मा बंगलादेशले पाएको श्रेष्ठले बताएका छन् । तर, त्यो मिति भने याद नरहेको श्रेष्ठले बताए ।

बंगलादेशले आयोजनाको जिम्मा पाएपनि विभिन्न कारणले बंगलादेशले तोकिएको मितिमा आयोजना गर्न नसकेपछि पहिलो साग आयोजनाको ऐतिहासिक जिम्मा नेपालको काँधमा आयो ।

जसमा ५ खेललाई समावेश गराएको थियो । नेपालले ४ स्वर्ण जितेको थियो ।

‘क्षेत्रीय प्रतियोगिता नहुँदा पहल’

दक्षिण एसिया बाहेक अन्य क्षेत्रमा क्षेत्रीय प्रतियोगिता शुरु भइसकेका थिए । तर, यहाँ शुरु हुन सकेका थिएनन् । त्यसैबेला नेपालले दक्षिण एसियाली खेलकुदका लागि पहल गरेको श्रेष्ठ बताउँछन् ।

‘क्षेत्रीय प्रतियोगिता भयो भने खेलाडीहरुका लागि एक्सपोजर हुन्छ । यहाँ हामीले एक अर्कासँग प्रतिस्पर्धा गर्दै अगाडि बढे हामीले विश्वकप जस्ता प्रतियोगितामा राम्रो प्रदर्शन देखाउन सक्छौं भन्ने अबधारणाले यसलाई अगाडि बढाइएको हो,’ श्रेष्ठले भने ।

हरेक ४ बर्षमा ओलम्पिक हुन्छ, हरेक ४ बर्षमा विश्वकप हुन्छ र यो २–२ बर्षमा आयोजना गर्ने जसले खेलाडीलाई सधै व्यस्त राख्ने योजना बनाएको बताए ।

१७ हजार ५ सयले प्रदर्शन उद्घाटनमा प्रदर्शन !

पहिलो सागमा पनि दैनिक जसो प्रेस कन्फ्रिेन्स गर्ने, विभिन्न ठाउँमा व्यानर लगाउने जस्ता काम प्रचार प्रसार समितिले काम गरेको बताउँछन् । काठमाडौंमा पहिलो संस्करणको साग आयोजना हुँदा श्रेष्ठ आयोजना समारोह समितिका अध्यक्ष थिए । जुन निकै भव्य भएको श्रेष्ठ बताउँछन् ।

त्यतिबेला काठमाडौंका विभिन्न विद्यालयमा गएर सागको बारेमा प्रचार प्रशार गरिएको श्रेष्ठ बताउँछन् ।

‘म आफैं पनि सागको प्रचार प्रसारमा विद्यालयमा पुगेको थिए । त्यो साच्चिकै सम्झनलायक थियो । देश भावनाका लागि विभिन्न तरिका अपनाएर खेलाडीलाई प्ररेणा दिने गरेको श्रेष्ठ बताउँछन् ।

आठौं सागमा वीरेन्द्र विर विक्रम शाह उपस्थित कार्यक्रम उद्घाटनमा १७ हजार ५ सय जनाले प्रदर्शन गरेको श्रेष्ठले बताए । तर, रंगशालाको क्षमता २ हजारको मात्रै रहेको उनी बताउँछन् ।

साग प्रचारका लागि ‘हात्ती’ परिचालन

सन् १९९९ मा आठौं संस्करणको साग आयोजना गर्नु अगाडि काठमाडौंमा हात्ती परिचालन गरिएको थियो । जसमा सागको लोगोसहित विभिन्न ब्यानर राखेको श्रेष्ठ बताउँछन् ।

जावलाखेल चिडियाखानाको हात्तीलाई सागको प्रचारका लागि नगर परिक्रमा गराएको श्रेष्ठले बताए । ‘सागको प्रचारका लागि हात्ती प्रयोग गरेका थियौं । हात्ती आकर्षणको केन्द्र हो । त्यो पठाइसकेपछि मान्छेहरु हात्तीका पछाडि दौडिएका थिए,’ श्रेष्ठ २० बर्ष पुरानो त्यो समय सम्झन्छन्, ‘हात्तीलाई गणेश भगवानको अवतार मान्ने भएकाले पनि हात्तीको प्रयोग गर्दा धेरै प्रभाव परेको थियो ।’

अहिले धेरै कुराहरु सम्झनामा नरहेको श्रेष्ठले बताए । तर, हात्तीले धेरै चर्चा ल्याएको उनी बताउँछन् ।

‘समारोह समितिको संयोजक बन्दा मन्त्रीसँग शर्त’

पहिलो संस्करणमा राखेप कोषाध्यक्ष रहेका श्रेष्ठ आठौं सागमा राखेपमा थिएनन् । तर, तत्कालीन मन्त्रीले श्रेष्ठलाई सागको समारोह समितिको संयोजक बन्न आग्रह गरे ।

मन्त्रीले आग्रह गरेपनि नाइ नभने पनि उनले मन्त्रीसामू शर्त राखे । मूख्य दुई शर्त राखेर आफु समारोह समितिमा बसेको श्रेष्ठ बताउँछन् ।

‘मलाई मन्त्री ज्युले समारोह समितिमा बस्नुस् भन्नु भयो । मैले शर्त राखे । जसमा पहिलो शर्त थियो–लक्ष्य दिनुस् योजना बनाउँछु । तर, हुन्छ भनिसकेपछि किचलो गर्न पाइदैन । दोस्रो कमिटिमा मैले चाहेको मान्छे राख्छु । अन्य मान्छे राख्दैन ।’

मन्त्रीले शर्तमानेपछि समारोहमा बसेको श्रेष्ठ बताउँछन् ।

१३ औं सागमा स्क्रिन बोर्डमा प्रोमो बजाउँदै प्रचार

१३ औं सागसम्म आइपुग्दा यसको प्रचारप्रसारमा आकाश पातालको फरक परिसकेको छ । २० बर्ष अगाडि भएको सागमा विद्यालय विद्यालयमा गएर, हात्तीलाई नगर परिक्रमा गरेर लगायतका विभिन्न उपाय अपनाइएका थिए ।

अहिले साग आउन १५ दिन अगाडिदेखि डिजिटल स्क्रिन बोर्डमा सागको प्रोमो सार्वजनिक गरेर, टेलिभिजन, पत्र–पत्रिका तथा अनलाइनमा काउन्ट डाउन र लोगो सार्वजनिक गरेर प्रचार प्रसार गरिएको छ । यस्तै, आवश्यक पर्दा पत्रकार सम्मेलन गरेर सागको प्रचार गरिँदैछ ।


भर्खर

0