स्वास्थ्य मन्त्रालयको शौचालय नै फोहोर, सफाइका नाममा लाखौं खर्च | Khabarhub Khabarhub

स्वास्थ्य मन्त्रालयको शौचालय नै फोहोर, सफाइका नाममा लाखौं खर्च


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गतवर्षको बैशाखमा तत्कालिन स्वास्थ्य राज्यमन्त्री पद्या अर्यालले वीर अस्पतालको शौचालय आफैले सफा गरिन् ।

२०७५ साल बैशाख २३ गते आफै खटिएर वीर अस्पतालको शौचालय सफा गर्न पुगेकी स्वास्थ्य राज्य मन्त्री अर्यालको अभियानलाई धेरैले प्रशंशा पनि गरे ।

तत्कालिन स्वास्थ्यराज्यमन्त्री अर्यालको अगुवाइमा सामाजिक अभियान्ता धुर्मुस सुन्तलीको संस्थाले वीर अस्पतालमा रंगरोगन र शौचालय सरसफाइको अभियान नै चलायो । सरसफाइ अभियानको दुईमहिनामा वीर अस्पतालको भवन चम्कियो । शौचालयहरु पनि सफा देखिए ।

तत्कालिन स्वास्थ्य राज्यमन्त्री अर्यालले सरकारी अस्पतालहरुको शौचालय सफा हुनुपर्ने भन्दै देशभरका सरकारी अस्पतालको शौचालय सफा राख्न अभियान शुरु भएको घोषणा गरेकी थिइन् ।

त्यतिबेला अस्पतालको रंगरोगनमा खटिएका सरकारका सरसफाइ दुत सिताराम कट्टेल धुर्मुसले पनि वीर अस्पतालको सरसफाइ पछि अन्य सरकारी अस्पतालहरुमा पनि सरसफाइ अभियान चलाउने भनेका थिए ।

तर तत्कालिन स्वास्थ्य राज्यमन्त्री अर्यालले घोषणा गरेअनुसार अन्य सरकारी अस्पतालमा सरसफाइ अभियान शुरु भएन । न त वीर अस्पतालको शौचालय नै दीर्घकालिन रुपमा सफा रह्यो ।

गत वर्षको बैशाखमा अभियान चलाएर सफा भएको वीर अस्पतालको शौचालय फेरी पुरानै अवस्थामा फर्किएको छ ।

सोमबार दिउँसो वीर अस्पतालमा पुग्दा एक महिलाले ह्वीलचियरमा रहेकी एकवृद्धलाई अस्पतालको शौचालयको ढोकैमा सानो प्लाटिकको वाटामा पिसाब गराउँदै थिइन् ।

भूँइतलामै भएको शौचालय पनि अपाङ्गमैत्री नहुँदा आफ्नी आमालाई शौचालयबाहिरै शौच गराएको ती महिलाले बताइन् ।

‘साँगुरो छ भित्र, ह्वीलचियरमा भएको मान्छे, उठ्न नै गाह्रो हुन्छ, शौचालय भित्र पस्न नै सक्नुहुन्छ,’ उनले भनिन्, ‘त्यसमाथि हेर्नुस् त भित्र जानै नसक्ने अवस्था छ ।’

हामी त्यहि रहदा एकजना पुरुष हतारिदै शौचालयतर्फ आए । शौचालयको ढोका खोल्ने वित्तिकै उनले मुख विगारे ।

‘प्यानभरी फोहोर छ, यस्तोमा त जान सकिदैन,’ उनी नाक थुन्दै शौच नै नगरी फर्किए ।

वीर अस्पतालको एक्सरे रिपोर्ट आउने स्थानको अगाडीपट्टि भुँइतलामै ४ वटा महिला र पुरुषका लागि छुट्टै शौचालय छ । तर ती शौचालयमा भित्र नै पस्न नमिल्ने गरी फोहोर भएको बाहिबाटै देखिन्छ ।

‘म त पहिलो पटक यो अस्पतालमा आएको हो, धुर्मुस सुन्तलीले नै सफा गरेको भनेर पहिला त समाचार सुनेको थिए, धेरै नै भयो क्यारे अहिले त यस्तो फोहोर रहेछ,’ वीर अस्पतालमा तनहुँबाट आएकी एक बिरामीकी आफन्तले भनिन्, ‘आफैलाई दिशा–पिसाब लाग्दा शौचालय भित्र पस्न सकिदैन । बिरामीलाई दिशापिसाब गराउन त झनै गाह्रो हुन्छ ।’

६० जना कर्मचारी, मासिक ७ लाख खर्च

वीर अस्पताल देशकै जेठो अस्पताल हो । दैनिक २ हजारसम्म बिरामी आउने वीर अस्पतालको प्रत्येक न्युनीटमा चिकित्सकले प्रयोग गर्ने छुट्टै र सर्वसाधारणले प्रयोग गर्ने छुट्टै शौचालयहरु छन् ।

वीर अस्पतालमा शौचालय र अस्पताल परिसरमा सरसफाइ गर्न ६० जना कर्मचारी दैनिक खटिने गरेका छन् ।

तर अस्पतालको भुँइतलामा रहेको शौचालयमा दिशाहरु प्यानबाहिर नै सुकेर बसेको देखिन्छ । यस्तै ओपिडि सेवा सञ्चालन हुने प्रत्येक शाखामा भएका शौचालयहरुमा पनि पानी बगेर चिप्लो छ । शौचालयभित्र बगिरहेको पानीको धारा समेत बन्द नहुँदा शौचालयभित्र पानी जमेर हो ।

अस्पतालले सरसफाइका लागि खटाएका ६० जना कर्मचारीलाई मासिक तलबमा मात्र ७ लाख ८० हजार खर्च गर्छ । यस्तै सरसफाइकै लागि प्रयोग हुने सामाग्रीमा पनि खर्च हुन्छ ।

अस्पतालले सरसफाइकै लागि कर्मचारी राखेर लाखौं खर्च गरेपनि शौचालय सफा नहुनुको दोष भने बिरामीलाई लगाउछ ।

अस्पतालका निर्देशक डा सेञ्चुरीले बिरामीले प्रयोग गर्न नजान्दा अस्पतालका शौचालय फोहोर भएको बताए ।

‘अस्पतालको शौचलय र अन्य सरसफाइ गर्न हाउस किपिङ शाखा छ, त्यसमा ६० जना कर्मचारी छन्, उहाँहरुले नै दैनीक २, ३ पटक सर्फा गर्नुहुन्छ,’ अस्पतालका निर्देशक डा सेञ्चुरीले भने, ‘तर पब्लिक ट्वाइलेट हो, बिरामीले कागज, ढुंगा माटो समेत हाल्दिन्छन् । त्यसैले फोहोर हुन्छ, बिरामीले प्रयोग गर्न नजानेर पनि शौचालयहरु फोहोर छन् ।’

वीर अस्पताल मात्र होइन । राजधानीका वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल लगायत अघिकांश सरकारी अस्पतालका शौचालयहरु फोहोर छन् । अस्पतालकै शौचालय फोहोर हुँदा बिरामीहरुमा रोगको जोखिम बढेको चिकित्सकहरु स्वीकार गर्छन् ।

‘सरकारी अस्पतालमा शौचालयहरु राम्रो छैन, हामीले बिरामीलाई सरफाइमा ध्यान दिनु, शौचालयबाट पनि रोगहरु सर्छ भनेर सिकाउछौं,’ शुक्रराज ट्रपिकलका एक चिकित्सकले भने, ‘तर त्यहि बिरामीले शौचालय कता छ भनेर सोध्दा हामीले नै अस्पतालको फोहोर शौचालय देखाउनुपर्छ ।’

स्वास्थ्य मन्त्रालयकै शौचालय ड्यामेज

शौचालयको अवस्था नराम्रो भएका दृष्य सरकारी अस्पतालमा मात्र होइन । देशभरका नागरिकको स्वास्थ्यको विषयमा संवेदनशील हुनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै सार्वजनिक शौचालय दुराअवस्थामा छ ।

सिंहदरबार बाहिर रहेकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दैनिक रुपमा सेवाग्राहीको भिड हुन्छ । समायोजनका समस्याले पनि स्वास्थ्य मन्त्रालयमा लामो समयदेखि भिडभाड कम भएको छैन ।

स्वास्थ्य मन्त्रालयमा मन्त्री, राज्यमन्त्री र सचिवहरुले प्रयोग गर्ने शौचालय सफा भएपनि अन्य सामान्य कर्मचारी तथा सर्वसाधारणले प्रयोग गर्ने शौचालय भने निकै फोहोर छ ।

शौचालय फोहोर भएर समयमै सरसफाइ गर्दा स्वास्थ्य मन्त्रालयको पहिलो, दोस्रो तलामा रहेका महिला शौचालयहरु त प्रयोग नै गर्न नमिल्ने भएको छ । मन्त्रालयले ती शौचालयमा अहिले ताला लगाएको छ ।

‘त्यसमा जाम भएर प्रयोग गर्न नमिल्ने भएको छ, त्यसैले ताला लगाएर राखेको हो,’ शौचालय सरसफाइ गर्ने एकजना कर्मचारीले भनिन् ।
स्वास्थ्य मन्त्रालयको प्रवेशद्धारको देव्रे तर्फ शौचालयको पाइप फुटर वरपर नै दुर्गन्ध आउँछ । तर स्वास्थ्य मन्त्रालयले त्यसलाई व्यवस्थापन गर्न ध्यान दिएको छैन ।

चिकित्सक भन्छन् : फोहोर शौचालयले रोग निम्तिन्छ

शौचालय फोहोर हुँदा स्वास्थ्य व्यक्तिमा पनि विभिन्न रोगको जोखिम हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन् ।

उनका अनुसार फोहोर शौचालयमा शौच गर्दा संक्रमणबाट सर्ने रोगहरुको जोखिम हुन्छ ।

‘शौचालयमा दिशा, पिसाब गर्दा मात्र स्वास्थ्य भइदैन, हामीले प्रयोग गर्ने शौचालय फोहोर छ भने पनि त्यसबाट संक्रमणजन्य रोगहरु लाग्न सक्छ,’ डा पुनले खबरहबसँग भने, ‘फोहोर शौचालयको प्रयोगले झाडापखाला, आउँ, हैजा, टाइफाइड लगायतको संक्रमण जन्य रोगहरु लाग्न सक्छ ।’

डा.पुनका अनुसार फोहोरबाट हुने संक्रमणजन्य रोगको पहिलो कारण शौचालयको फोहार हो । शौचालय सफा नभएको ठाउँमा रोगको महामारी फैलिने जोखिम उच्च रहने डा.पुनको भनाइ छ ।

‘जहाँ व्यवस्थित र सफा शौचालय हुँदैन, त्यहा सरुवा रोगको महामारी फैलिने जोखिम सधै उच्च रहन्छ, शौचालय व्यवस्थित छैन भने, खानेपानी पनि फोहोर हुनसक्छ,’ डा.पुनले भने, ‘इन्फेक्सन कन्ट्रोल र सचेतनाका लागि सबैभन्दा पहिला शौचालय नै पहिला सफा र व्यवस्थित हुनुपर्छ ।’

शौचालय सफा र व्यवस्थित भएका सरुवा रोगका बिरामीको संख्यामा कमी आउने डा.पुनको भनाइ छ ।

‘शौचालयमै भएको फोहोरले सरुवारोगका बिरामीहरु बढी हुन्छन्, त्यसैले झाडापखला, हैजा लगायतका रोगबाट बच्न सफा र व्यवस्थित शौचालय प्रयोग गर्नुपर्छ,’ डा पुनले भने, ‘हामी सबै सजक भएर सफा शौचालय प्रयोग गर्ने र प्रयोग गर्दा पनि सब्य तरिकाले प्रयोग गर्ने र सरसफाइ गर्ने गर्नुपर्छ ।’

अस्पतालहरुमा विभिन्न किसिमका रोगका बिरामी आउने भएकाले उनीहरुले प्रयोग गर्ने शौचालय सफा र व्यवस्थित हुनुपर्ने डा.पुन बताउँछन् ।

‘अस्पतालमा त धेरै रोगका बिरामीहरु आउँछन्, उनीहरु सबैले प्रयोग गर्ने शौचालय एउटै हुन्छ, यस्तो अवस्थामा शौचालय सफा नहुँदा बिरामीमा संक्रमण हुने जोखिम झनै बढी हुन्छ,’ डा पुन भन्छन्, ‘त्यसैले बिरामीले प्रयोग गर्ने शौचालय झनै सफा हुनुपर्छ । अस्पताल प्रशासनले पनि सरसफाइको विषयमा विशेष ख्याल गर्नुपर्छ । बिरामी तथा शौचालय प्रयोग गर्ने व्यक्ति पनि सचेत रहनुपर्छ ।’

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ९ : ४७ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न