चावहिल साँखु सडक–ठेक्का अवधि सकिएको २ वर्षमा पनि आधामात्रै काम ! | Khabarhub Khabarhub

चावहिल साँखु सडक–ठेक्का अवधि सकिएको २ वर्षमा पनि आधामात्रै काम !



काठमाडौं- ५ वर्षदेखि निर्माण भइरहेको काठमाडौंको चावहिल-साँखु सडकखण्डकको काम यही वर्षभित्र सम्पन्न गर्ने उपत्यका सडकविस्तार आयोजनाले लक्ष्य छ ।

कामको प्रगति र गति हेर्दा यो सम्भव देखिँदैन । किनकी अहिलेसम्म ५० प्रतिशत पनि काम भएको छैन ।

साँघुरो सडकलाई विस्तार गरेर फराकिलो बनाउने उद्देश्यका साथ २०७२ साल असोजमा ४ वटा ठेकेदार कम्पनीसँग २७ महिना र एउटा कम्पनीसँग ०७४ सालमा २१ महिनामा काम सक्ने गरी सडक निर्माण गर्न उपत्यका सडक विस्तार आयोजनाले सम्झौता गरेको थियो ।

सम्झौताको अवधि ०७४ साल पुषमा सकिएपनि काम अघि बढ्न नसकेपछि आयोजनाले ०७५ साल चैत्रमा ०७६ साल असारमा सक्ने गरी प्रथम पटक म्याद थप गरेको थियो ।

पहिलो पटक थप गरेको म्याद पनि डेढ महिनाअघि नै समाप्त भइसकेको छ । दोस्रो पटक म्याद थप्ने तयारीमा आयोजना रहेको छ । दोस्रो पटकका लागि केही दिनमै म्याद थप्ने र यही वर्षभित्र सक्नेगरि काम गर्ने आयोजना प्रवक्ता विश्वविजयलाल श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

 

चावहिल-साँखु सडकको दूरावस्था

सडक विस्तारका लागि चासो देखाउने तर काममा ढिलासुस्ती गराउने ठेकेदारको प्रवृत्तिका कारण काठमाडौंको चावहिल–साँखु सडकखण्डको काम ५ वर्षदेखि अलपत्र अवस्थामा छ । यतिबेला कतै सडक कालोपत्रे भएका छन् त कतै खाल्डठाखुल्डी र हिलाम्मे ।

सिन्धुपाल्चोकको सिमानाले छोएको यो सडक वर्षैदेखि अलपत्र रहँदा यस क्षेत्रका स्थानीय व्यापारी र यात्रुहरु कष्ठकर यात्रा गर्न बाध्य भएका छन् ।

पछिल्ला समय मेलम्चीबाट राजधानी प्रवेश गर्ने यो सडकमा ठूला सवारी साधनको संख्या बढ्दै गइरहेको छ । ठूला सवारी चाप बढेसँगै सडकमा ठूलाठूला खाल्डासमेत बनेका छन् ।

सडक विस्तार गर्नका लागि स्थानीयले पटकपटक आन्दोलन पनि नगरेको होइनन् । स्थानीयले आन्दोलनका क्रममा सडक नै अवरुद्ध पनि गरे । तत्कालका लागि बाटो मर्मत गर्ने र विस्तारको काम शुरु गरिहाल्ने सम्झौता भएपछि अवरोध खुल्ने गरेको छ । सम्झौता भएको केही दिन ठेकेदारले काम गरेको जस्तो देखाउने र त्यसपछि फेरि वेवास्ता गर्ने गरेको स्थानीयको आरोप छ ।

अझ रोचक कुरा के छ भने हिउँदभर सडकमा काम हुँदैन जब वर्षा लाग्न शुरु हुन्छ ठेकेदारले केही काम गरेजस्तो पनि गर्छन् । सडकमा त्यो देखिन्छ पनि तर, जब भारी वर्षा हुन्छ पानीका कारण सडक विस्तार गर्न समस्या भनिन्छ । यस क्षेत्रमा काम गर्ने ठेकेदारले भन्ने भनाइ सँधैको यही नै हो ।

५ वर्षमा आधा काम

चावहिल साँखु सडकखण्ड साढे १२ किलोमिटरको रहेको छ । सो सडकमा ५ तहमा काम भइरहेको छ ।

पहिलो प्याकेजअन्तर्गत चावहिल देखि नारायणटारको बाग्मती पुलसम्म ३ दशमलव ६ किलोमिटर सडक विस्तार गर्ने जिम्मा वि.स. २०७२ साल असोजमा युनाईटेड विल्डर्स एण्ड इन्जिनियर्स प्रालि पाएको छ । उसले ०७६ साल असारमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।

कम्पनीले ५ वर्षमा ५५ प्रतिशत मात्र काम सम्पन्न गरेको छ । यो सडक विस्तारका लागि मूल्य अभिवृद्धि करसहित ५२ करोड रुपैंया संशोधित लागत अनुमानित गरिएको थियो भने हालसम्म २४ करोड रुपैंया खर्च भइसकेको छ ।

त्यस्तै बाग्मती पुलदेखि थलीसम्मको २ दशमलव ४ किलोमिटर सडक विस्तार गर्न ०७२ साल असोजमा ०७६ साल असारमा सम्पन्न गर्ने गरी बज्रगुरु/च्याङमिला खानी जेभीले ठेक्का पाएको थियो । समयवधि सकिएपनि काम भने ६५ प्रतिशत मात्रै सम्पन्न भएको छ ।

यो सडक विस्तारका लागि मूल्यअभिवृद्धि करसहित ४५ करोड लागत अनुमानित गरिएको थियो हालसम्म २२ करोड खर्च भइसकेको छ ।

थली चोकबाट इन्द्रयाणीसम्मको ३ किलोमिटर सडक विस्तार गर्ने जिम्मा ०७२ साल असोजमा बज्रगुरु/विरुवा/खानी जे.भीसँग २०७६ वैशाखमा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । म्याद सकिएको ५ महिना बितिसकेको छ तर काम ४० प्रतिशत मात्र सम्पन्न भएको आयोजनाले जनाएको छ ।

यो सडक विस्तारका लागि मुल्यअभिवृद्धि करसहित ६९ करोड लागत अनुमानित गरिएकोमा हालसम्म २३ करोड रुपैंया खर्च भएको छ ।

इन्द्रयाणीदेखि सलम्बुटार बनसम्मको २ दशमलव ४ किलोमिटर सडक विस्तार गर्ने जिम्मा बि.टी/सुनकोशी वर्ल्ड वाईड जे.भी ०७२ सालमै सम्झौता भएको थियो । यसको सम्झौता अवधि ४ महिना बाँकी छ तर काम ५५ प्रतिशत मात्र सम्पन्न भएको छ ।

यो सडक विस्तारका लागि मुल्यअभिवृद्धि करसहित ४० करोड लागत अनुमानित गरिएको थियो । १७ करोड रुपैंया खर्च भइसकेको छ ।

त्यस्तै सलम्बुटारदेखि साँखु बसपार्कसम्मको ३ दशमलव ५ किलोमिटर सडक विस्तार गर्न लामा/समानान्तर जे.भीले ०७२ सालमा सम्झौता गरेको थियो ७५ साल चैत्रमा सम्पन्न गर्ने गरी । तर समयवधि सकिएपनि ४० प्रतिशत मात्र काम सम्पन्न भएको आयोजनाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

सडक विस्तारका लागि मूल्यअभिवृद्धि करसहित २० करोड रुपैंया लागत अनुमानित गरिएको थियो । हालसम्म ६ करोड रुपैंया सम्पन्न भइसकेको छ ।

समयमै सडक निर्माणमा दबाब दिन स्थानीयले गरेको विरोध । फाइल तस्वीर

के छन् समस्या ?

सडक विस्तारको काम ढिलाइ हुनुमा विभिन्न समस्या देखाउँछ सडक विस्तार आयोजना । ५ वर्ष वितिसक्दा पनि समग्रमा हेर्दा ५० प्रतिशत मात्र काम सम्पन्न भएको देखिन्छ अझैं कति समय लाग्ला ? किन तोकिएको समयमा काम सम्पन्न गर्न सकिएन भन्ने प्रश्नमा प्रवक्ता श्रेष्ठ भन्छन्, ‘सडक विस्तार गर्नका लागि भौतिक संरचना समयमै हटाउन नसक्दा समय लम्बिदै गएको हो।’

‘स्थानीयले घर भत्काउन दिँदैनन्, उल्टै मानहानीको मुद्दा हालेका छन्’ खबरहबसँगको कुराकानीमा उनले भने ‘घर नै नभत्काएपछि कसरी विस्तार गर्ने सडक ?’

‘यसमा ठेकेदारलाइ पनि दोष लगाउन मिल्दैन’ उनले थपे ‘भौतिक संरचना हटेका ठाउँमा सडक विस्तार भएको छ।’

त्यसो त ४ वटा ठेकेदार कम्पनीसँग गरेको सम्झौताको समयवधि सम्पन्न भइसकेको छ । ठेकेदारलाई समय थप्ने तयारी आयोजनाले गरेको छ ।

चैतसम्म सम्पन्न होला ?

श्रेष्ठका अनुसार अहिले चावहिल साँखु सडकमा भत्काउनुपर्ने घरहरु मध्ये ८० प्रतिशत घर उपत्यका विकास प्राधिकरणले भत्काइसकेको छ । ‘हामी अब द्रुत गतिमा अघि बढ्छौं’ श्रेष्ठले भने ‘जहाँ जहाँ घर भत्काइएको छ त्यहाँमात्र सडक विस्तार गछौं, तर अड्केर बस्दैनौं।’

आगामी चैत्र महिनाको मसान्तसम्म साढे १२ किलोमिटर सडक विस्तारको काम सम्पन्न श्रेष्ठले दावी गरे ।

यो पनि पढ्नुहोस्

चाबहिल-साँखु सडक खण्डः समस्यै-समस्याको पोको, कहिले फुक्छ गाँठो ?

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  १० : ०८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन