बेलायती लेबर पार्टीमा विचलन « Khabarhub
Logo
२३ चैत्र २०७६, आईतबार

बेलायती लेबर पार्टीमा विचलन



सोमबार बेलायतको संसद्मा विपक्षी दलको भूमिकामा रहेको लेबर पार्टीका ७ जना सांसद्ले राजीनामा दिए । लेबर पार्टीका ७ सांसद्हरु चुका उमुन्ना, लुजियाना बर्गर, गेभिन सुकर, एङ्गेला स्मिथ, क्रिस लेज्ली, माइक गेप्स र एन कोफीले पत्रकार सम्मेलनमार्फत् पार्टीबाट राजीनामा दिएको औपचारिक घोषणा गरे ।

उनीहरुले अब नयाँ स्वतन्त्र समूह गठन गर्ने जनाएका छन् । यस समूहमा लेबर पार्टीका अन्य सांसद्हरु पनि आउनसक्ने आकलन गरिएको छ । राजीनामा दिने सांसद्हरुले पार्टीमा यहुदीविरोधी गतिविधि बढेको, पार्टी उग्र बामपन्थी बाटोमा हिँडेको, पार्टी नेतृत्वको आलोचना गर्दा दुव्र्यवहार हुन थालेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पार्टीले राष्ट्रिय हितमा काम गर्न नसकेको लगायतका आरोप लगाएका छन् । सामुहिक राजीनामा दिएका उनीहरुले अब स्वतन्त्र समूहमार्फत् नयाँ शीराबाट राजनीतिक अभियान अघि बढाउने जनाएका छन् ।

यस घटनालाई सन् १९८१ पछि लेबर पार्टीमा आएको सबैभन्दा ठूलो विचलनका रुपमा लिइएको छ । त्यसबेला ग्याङ्ग्स अफ फोर भनिने लेबर पार्टीका ४ महत्वपूर्ण सदस्यहरुले पार्टी फुटाएर पछि लिबरल डेमोक्र्याटिक पार्टीमा एकीकरण भएका थिए । त्यतिबेला यस घटनाले लेबर पार्टी तथा बेलायती राजनीतिमै ठूलो हलचल ल्याएको थियो । तर, लेबर पार्टी फुटेको पछिल्लो घटनाले भने त्यस्तै किसिमको राजनीतिक तरंग ल्याउन नसकेजस्तो देखिएको छ ।

लेबर पार्टी सन् १९८० को दशकयता मध्यपन्थी तथा पछि मध्य दक्षिणपन्थी पथमा थियो । त्यसयता पार्टीका नेताहरु निल किन्नक, जोन स्मिथ, टोनी ब्लेयर, गोर्डन ब्राउन, एड मिलिब्याण्ड सबैले पार्टीको त्यही पथलाई निरन्तरता दिए ।

टोनी ब्लेयरले सन् १९९४ मा लेबर पार्टीको नेतृत्व सम्हालेपछि तिनै मध्य दक्षिणपन्थी धारलाई समेटेर ‘नयाँ लेबर’ भनेर पार्टीमा नयाँ सिद्धान्त अघि सारे । यो सिद्धान्त कन्जरभेटिभ पार्टीको दक्षिणपन्थी धारको ‘ल्यूक–वार्म’ (मनतातो) स्वरुप मात्रै रहेको भन्ने आलोचना समेत भएको थियो । सन् १९९७ मा भएको आम निर्वाचन जितेर लेबर पार्टीले टोनी ब्लेयरको नेतृत्वमा सरकार बनायो ।

ब्लेयरले यिनै ‘नयाँ लेबर’का मध्य दक्षिणपन्थी सिद्धान्त अनुसार आफ्ना आर्थिक, सामाजिक तथा कुटनीतिक कदमहरु चाल्न थाले । त्यसलाई ब्लेयरिज्म वा ब्लेयरवादको संज्ञा दिइयो । पछि सन् २००७ मा पार्टीभित्रै भएको चुनावमा ब्लेयर पराजित भए ।

उनको स्थानमा गोर्डन ब्राउन लेबर पार्टीको नेता तथा प्रधानमन्त्री बन्न आइपुगे । त्यसपछि सन् २०१० मा भएको आम निर्वाचनमा लेबर पार्टी नराम्ररी पराजित भयो । पराजयपछि गोर्डन ब्राउनले पनि लेबर नेतृत्वबाट राजीनामा दिए ।

उनको स्थानमा लेबर पार्टीको नेतृत्व गर्न एड मिलिब्याण्ड आए । सन् २०१५ मा भएको चुनावमा पनि लेबर पार्टी पराजित भयो । उनले पनि पार्टीको नेताबाट राजीनामा दिए । त्यसअघि लेबर पार्टीका नेताहरुमा एक समानता के थियो भने ती सबै नेताहरु त्यही ब्लेयरिज्म र ‘नयाँ लेबर’ को सिद्धान्तका नेताहरु थिए ।

तर, सन् २०१५ मा भने यो क्रम भंग भयो । नेतृत्व चयनका लागि त्यसबेला भएको चुनावमा अरु तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै पार्टीका पुराना बामपन्थी नेता जेरेमी कोर्बेन अप्रत्याशीत रुपमा पार्टीको नेता बन्न पुगे । यसले पार्टीमा ठूलै हलचल ल्याइदियो ।

पार्टीको ह्वीपविरुद्ध सयौँपटक पार्टीमा विद्रोह गरेका कोर्बेन त्यतिबेलाको ‘नयाँ लेबर’ पथलाई पछ्याउने विचारमा थिएनन् । उनको नेतृत्वसँगै स्थापनाकाल देखि नै लोकतान्त्रिक समाजवाद तथा बामपन्थी रहेको लेबर पार्टी पुनः बामपन्थी धारमा हिड्न थाल्यो ।

तर, त्यतिबेला पार्टीमा–पार्टीमा पनि खासगरी संसदीय लेबर पार्टीमा– रहेका पुराना ब्लेयरवादी अथवा ब्लेयराइटहरु भने कोर्बेनलाई लेबर पार्टीको नेतृत्व स्वीकार्ने मनशायमा थिएनन् । उनीहरु कोर्बेन पार्टीको नेता रहिरहे पार्टीले आगामी चुनाव जित्नै नसक्ने दृढतामा थिए ।

त्यसपछि सन् २०१६ मा संसदीय लेबर पार्टीका सांसद्हरुले कोर्बेनविरुद्ध पार्टीभित्रै अविश्वासको प्रस्ताव दर्ता गरे । उनले नेतृत्व जित्न फेरि पार्टीभित्रै चुनाव खेप्नुपर्ने भयो । तर, सन् २०१६ मा पनि चुनाव जितेर उनले आफ्नो नेतृत्व प्रमाणित गरिछाडे ।

सन् २०१७ मा भएको चुनावमा लेबर पार्टीले बहुमत त ल्याउन सकेन तर यसअघि गुमेका सिटहरु पुनः नियन्त्रण गर्न भने सफल भयो । लेबर पार्टीले सन् २०१७ मा भएको चुनावमा त्यसअघिका भन्दा ३० सिट बढी जित्यो । उनको विजयको रहस्य भने पार्टीको तल्लो तहमा रहेका आधारभूत कार्यकर्ता तथा युवाहरुको परिचालन थियो । उनको समर्थनमा लेबर पार्टीबाहिर ‘मोमेण्टम’ नामक बामपन्थी युवा समूह पनि गठन गरिएको थियो ।

मोमेण्टम तथा पार्टीमा कोर्बेनको नेतृत्वसँगै पुनः लेबर पार्टीमा आएका बामपन्थी कार्यकताहरुले पार्टीका पुराना ब्लेयराइट नेताहरुलाई दुव्र्यवहार गर्ने गरेको तथा यहुदी धर्मविरोधी गतिविधिमा संलग्न हुँदै आएको लगायतका आरोपहरु लाग्न थाले । त्यसैको निरन्तरताका रुपमा लेबर पार्टी फुटको पछिल्लो घटना भएको हो । यो घटनासँगै लेबर पार्टीमा रहेका ब्लेयराइटहरुको अर्को समूहले पनि पार्टी फुटाउन सक्ने संभावना रहेको बताइन्छ ।

तर, संसदीय लेबर पार्टीमा जति नै ‘नयाँ लेबर’ बाट प्रभावित नेताहरु भएपनि आधारभूत तहमा रहेका नेता कार्यकता तथा पार्टीप्रति वफादार ट्रेड युनियनहरु भने पार्टीको वर्तमान बामपन्थी सिद्धान्तमै अडिग रहेको बेलायती सञ्चारमाध्यमहरु बताउँछन् । त्यसैकारणले यी सांसद्हरुले पार्टीबाट राजीनामा दिएमा पार्टी नेतृत्व तथा आधारभूत तहमा रहेका नेता कार्यकर्तालाई केही फरक नपर्ने लेबर पार्टीका बामपन्थी नेता जोन मेकडोनल बताउँछन् ।


भर्खर

0