राणा शासनविरुद्ध ‘बिगुल’ फुकेको तीनधारा पाठशाला, जसले राजालाई घुँडा टेकायो !

हरि न्यौपाने

सोमवार, फाल्गुन ६, २०७५

Reading Time: 12 minutes

राणा शासनविरुद्ध ‘बिगुल’ फुकेको तीनधारा पाठशाला, जसले राजालाई घुँडा टेकायो !

काठमाडौं- १ सय ४ वर्षे राणा शासनले जकडिएको मुलुकमा २००४ सालदेखि नै राजनीतिक अभ्यासका आधारहरु खोजिँदै थिए । १९४२ मा वीर शम्सेरले निःशुल्क खाने बस्ने व्यवस्थासहित संस्कृत अध्ययनका लागि राखेको तीनधारा पाठशालाका ६ जना विद्यार्थीहरुले २००४ साल जेठ १५ गते संस्कृत विभाग र राणा शासकमा विन्तिपत्र हाले ।

अहिले जुनकुनै संस्थाले मागपत्र राखेर ज्ञापनपत्र बुझाउने शैलीमा त्यसबेलाका मागमा इतिहास, भूगोल पढ्न पाउनुपर्ने, ती विषय पढाउन शिक्षक नियुक्ति हुनुपर्ने, पूर्व मध्यमा(एसएलसी सरह) सम्मका परीक्षा दिन बनारस जानुपर्ने भएकाले परीक्षा नेपालमैं दिन पाउनुपर्ने र छुट्टै संस्कृत महाविद्यालय स्थापना गर्नुपर्ने ४ मुख्य माग राखिएका थिए । माग पूरा गर्न १५ दिन अल्टिमेटम दिइएको थियो ।

माग पूरा नभएपछि २००४ साल असार १ गते विद्यार्थीहरुले आन्दोलन शुरु गरे । अर्थात यही तीनधारा पाठशालाबाट नै राणा शासन विरुद्ध अघोषित रुपमा ‘विगुल’ फुकिएको थियो ।

जहानिया शासनका बेलामा आन्दोलनको बिजारोपण गर्नेमा श्रीभद्र शर्मा, कमलराज रेग्मी, काशीनाथ गौतम, पूर्णप्रसाद ब्राह्मण, अच्यूतराज रेग्मी र राजेश्वर देवकोटा थिए ।

तत्कालीन जहानिया राणा शासकलाई आफू विरुद्धका आवाज मन पर्ने कुरै रहेन । छात्रावासमा खान बस्न नपाउने तथा अन्य कुनै पनि सरकारी विद्यालयमा पढ्न नपाउने नियमसहित उनीहरुलाई छोडियो ।

त्यसबेलाका आन्दोलनकारी मध्येका एक वरिष्ठ राजनीतिज्ञ राजेश्वर देवकोटाले केही वर्ष पहिले यस लेखकसँग भनेका थिए : ‘तपाईहलाई पत्याउन अप्ठ्यारो लाग्ला सामाजिक शिक्षा, अर्थशास्त्र जस्ता विषय पढ्नबाट हामी वञ्चित थियौं । तिनै विषय पढ्न पाउनुपर्ने माग गरेर हामीले आन्दोलन थालेका थियौँ ।’ जयतु संस्कृतम्का नामले चिनिने यही आन्दोलन त्यसबेला राजनीतिक परिवर्तनको मुख्य मियो थियो ।

मुलुकका हरेक राजनीतिक परिवर्तनमा मुख्य भूमिका यहीँका विद्यार्थीहरुको थियो । त्यसैले पनि हरेक वर्ष असार १ गते अद्यापि जयतु संस्कृतम्को सम्झना र्‍याली निकालेर विविधि कार्यक्रमसाथ गरिन्छ ।

प्रजातन्त्र पुनर्वाहलीका लागि पनि तीनधारा पाठशालाको ठूलो भूमिका रहेको छ । तत्कालिन समयमा गणेशमान, गिरिजा लगायतका नेतालाई पाठशालामा ल्याएर राजनीतिक प्रशिक्षण लिने र प्रजातन्त्र प्राप्तिका लागि योजनाहरु हुने गरेको थियो । प्रजातान्त्रिक आन्दोलनबाट राजालाई घुँडा टेकाउन यो पाठशालाको महत्वपूर्ण भूमिका रहेको छ ।

प्रजातान्त्रिक पद्धतिको सूत्रपात 

देशमा प्रजातन्त्रको सूत्रपात गराउन संस्कृत शिक्षा अध्ययन गरेकाको भूमिका उल्लेखनीय छ । संस्कृत शिक्षाका शिक्षार्थीहरुले ‘छात्र कार्य संघ’ नामक संस्था खोलेका थिए । २००७ सालमा ‘छात्र कार्यसंघ’ आवद्ध विद्यार्थीहरुकै मुख्य भूमिका थियो ।

यही छात्र कार्य संघको अगुवाईमा जयतु संस्कृतम् आन्दोलन बढेको थियो । यस संघको नेटवर्क देशभर फैलदै गयो । २०२१ सालको तत्कालीन सरकारले प्रतिबन्ध लगाउँदा संघका सभापति डा. बासुदेव त्रिपाठी थिए । तीनधारा पाठशालका पूर्व विद्यार्थी वाल्मिकी विद्यापीठमा प्राध्यापनरत नवराज कट्टेल भन्छन् : ‘संस्कृत छात्र संघको ५०/५५ जिल्लामा शाखा गठन गरिएको थियो । त्यसबेला देशभर २३३ जति पाठशाला थिए । सबै पाठशालाबाट चुनिएर आउनेले संघ चलाउने हुँदा संघ संसद्को भूमिकामा थियो ।’

यो जति नेटवर्क भएको अन्य संस्था थिएन । उनी थप्छन् : ‘अनेरास्ववियु, नेविसंघ यही संघ बन्द गरिएपछि खुलेका थिए ।’ हालको प्रजातान्त्रिक पद्धतिको सुत्रपात संस्कृत पाठशालाबाटै भएको हो ।

छात्र कार्य संघको साथमा तीनधारा पाठशालाभित्र छात्र कार्यसमिति पनि थियो । छात्र कार्य संघले देशभरको प्रतिनिधित्व गथ्र्यो भने समितिले तीनधाराको मात्र । छात्र कार्यसंघ बन्द पश्चात् तीनधाराभित्र छात्र कार्यसमितिले यसको भूमिका निभाउँदै गयो ।

प्रजातान्त्रिक पद्धति

प्रजातन्त्र पद्धति हो, संस्कार हो । विधिसम्मत चलाइने अभ्यास हो । यसको सूत्रपात तीनधारा संस्कृत पाठशालाबाटै भएको थियो । यहीँबाट अभ्यस्त प्रशिक्षित विद्यार्थीहरु मुुलुकका मुख्य राजनीतिक पददेखि मन्त्री, सचिवलगायत महत्त्वपूर्ण भूमिकामा आफूलाई अब्बल साबित गरेका थिए र छन् पनि ।

संस्कृत पाठशालाका पूर्व विद्यार्थी एवं हाल पाठशालामा सुपरिवेक्षक रहेका अर्जुनबाबु दाहाल भन्छन् ः ‘७५ जिल्लामा ४४ बढी सिडियो त यहीँ पढेका विद्यार्थी हुन्थे । राजनीतिक संस्कारको बिजारोपण यहीबाट भएको विभिन्न घटनाक्रममले पनि पुष्टि गरेका छन् ।’ तीनधारा संस्कृत पाठशालामा बसेर अध्ययन गरेकाहरु विश्वप्रसिद्ध हाबर्ड विश्वविद्यालयदेखि राजनीति, कुटनीति, प्रशासन लागयत सबै क्षेत्रमा आफूलाई अब्बल साबित गरेका थिए ।

छात्रबासका बसेका केही चर्चित अनुहारहरु

राष्ट्रकवि माधवप्रसाद घिमिरे
कविशिरोमणि लेखनाथ पौड्याल
पूर्वमन्त्री नरहरि आचार्य
जयराज आचार्य
राजेश्वर देवकोटा
रामेश्वर नेपाल
सिद्धराज ओझा
चिरञ्जिवी वाग्ले
केशव भट्टराई (हाल बेलायतमा प्राध्यापनरत )
थानेश्वर तिमल्सिना (हाल साउथ वेष्ट्रन यूनिभर्सिटी अमेरीका)
दिवाकर आचार्य (हाबर्ड युनिभर्सिटीमा पूर्वीय दर्शनमा प्राध्यापनरत)
वाचस्पति देवकोटा
नन्दकृष्ण जोशी
पुरुषोत्तम दाहाल
कृष्ण ज्ञवाली
नवराज लम्साल
घनश्याम खतिवडा
बद्री पाण्डे

संसदीय अभ्यासको सूत्रपात अर्थात् विधान परिषद् 

तीनधारा पाठशाला सञ्चालन व्यवस्थित गर्नका लागि विधान परिषद् गठन गरिएको थियो । विधान परिषद् संसद्को झैं मुख्य भूमिकामा रहन्थ्यो । परिषद्मा प्रकाश, हिमाञ्चल, गोर्खाली र पण्डित टोलबाट छानिएर आउनुपथ्र्यो । अर्थात् यी टोलबाट चुनिएर आउने चार जनाले नै छात्र कार्यसमितिमा सभापतिदेखि मन्त्री हुनेसम्मका कारणले यो विधान परिषद्मामा छानिनका लागि चुनावमा झैं भोट माग्ने चलन थियो । अलि बढी क्रियाशील, जुझारु व्यक्तिहरु यसमा चुनिएर आउँथे । विधान परिषद् १७ जनाको रहन्थ्यो ।

जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव र अरु सदस्य रहन्थे । विधान परिषद्को मिटिङ एक महिनामा एक पटक अनिवार्य बस्नुपथ्र्यो । अन्य भने आवश्यकता अनुसार बस्न सक्थ्यो । विधान परिषद्ले पारित गरेका नियम, कार्यसूचीका आधारमा छात्र कार्यसमितिले काम गथ्र्यो ।

छात्राबासमा लामो समय बसेर अहिले नेपाली कांग्रेसबाट सांसद् बनेका बद्री पाण्डे विधान परिषद्लाई संसद्को भूमिकाका रुपमा लिन्छन् भने छात्र कार्यसमितिलाई मन्त्रिपरिषद्को भूमिकामा रहेको बताउँछन् । खासगरी भ्रष्टाचारका मुद्धा विधान परिषद्मा बढी पुग्थे । तर भ्रष्टाचार गर्नेलाई तेब्बर तिराउने नियम थियो ।

छात्र कार्यसमिति

छात्रावासभित्र नियमित कार्य सञ्चालन÷व्यवस्थापनका लागि एक समिति छ जसलाई छात्र कार्य समिति भनिन्छ । सभापति, ४ जना मन्त्री र बांकी सदस्य गरी समितिमा ७ जना रहने व्यवस्था छ ।

छात्राबासभित्र गर्ने सबै कार्यहरु छात्र कार्यसमितिको मातहत हुने गर्दछ । छात्र कार्यसमिति मन्त्रिपरिषद्को रुपमा थियो । सभापति प्रधानमन्त्रीको जत्तिकै अधिकारमा रहन्थे । सभापतिले गरेको निर्णय अनिवार्य थियो । छात्र कार्यसमितिभित्र ७ जना रहन्थे । अन्य ४ जना मन्त्रीमा नियुक्त हुन्थे ।

त्यसमा सञ्चार, खाद्य, खेलकुद र शिक्षा मन्त्री थिए । सञ्चार मन्त्रीले पत्रपत्रिका व्यवस्थापनको काम गर्नुपथ्र्यो भने खाद्य मन्त्री गृहमन्त्रीको हैसियतमा रहन्थे समग्र खानेकुराको व्यवस्थापन उसैले गर्ने गर्नुपथ्र्यो, शिक्षा मन्त्रीले त्यहाँ रहेको पुस्तकालयको व्यवस्थापन गर्ने र पढ्नका लागि वातावरण मिलाउनुपथ्र्यो । पुस्तकालयमा भएका पुस्तकहरु हरेक दिन सांझ ७ बजेदेखि ९ बजेसम्म पढ्न पाइने चलन थियो ।
कसैले पुस्तक लगेर पढ्न पाउँथ्यो तर पुस्तक निर्धारित समयभित्रै फिर्ता नगरे उसको नाम कार्य समितिको बोर्डमा टाँसिन्थ्यो । कतिले लाजले फिर्ता गर्थे कतिले लाज पचाएर पुस्तक पचाउँथे पनि ।

खेलकुद मन्त्रीले खेलकुदका गतिविधि सञ्चालन गर्ने गर्थे । कार्यसमितिले छात्रावासभित्रै विभिन्न खेल खेल्ने वातावरण मिलाउने गर्थे ।

छात्र कार्यसमितिमा कसरी छानिन्छन् ?

छात्रावासमा बस्ने विद्यार्थीहरुलाई व्यवस्थित गर्न छात्र कार्यसमिति नामक संस्था थियो । संस्थामा छानिन हरेक टोलबाट चुनिनुपथ्र्यो । छात्रावासमा ४ टोल थिए । विद्यार्थीहरु बस्ने मुख्य ठाउँलाई चार भागमा गरिएको विभाजन अनुसार प्रकाश टोल, पण्डित टोल, हिमाञ्चल र गोर्खाली टोल भनी नामाकरण गरिएको थियो ।

छात्राबासमा लामो समय बसेर हाल वाल्मिकी विद्यापीठमा प्राध्यापनरत केशव कोइराला भन्छन् : ‘प्रकाश टोल सडकसंगै जोडिएको र विहानको सूर्योदयको झुल्को आउने हुँदा बढी प्रकाश आउने भएपछि प्रकाश टोल भनी नामाकरण गरिएको थियो । पण्डित्याई गर्नेहरु अलि बढी बस्ने स्थानलाई पण्डित टोल भनिन्थ्यो । सुदुर र पहाडका बस्नेलाई हिमाञ्चल र गोर्खा लगायतका बस्ने भएर गोर्खाली टोल भनिएको अनुमान छ । त्यसमा बस्नलाई निकट वा बन्धुबान्धवको भूमिका मुख्य हुनाले उल्लेखित दायरा हुनैपर्ने प्रावधानचाहिँ अनिवार्य थिएन । ’

यिनै चार टोलबाट हरेकका ४ जनाका दरले विधान परिषद्मा चुनिएर आउँथे । विधान परिषद्बाट छात्र कार्यसमितिको निर्माण गरिन्थ्यो ।

तरकारी र खाद्यका रोचक प्रसंग

१ सय ६ जनामध्ये रोलक्रममा तरकारी किन्न जाने चलन थियो । तरकारी बोक्न कर्मचारी हुन्थे । के कस्तो तरकारी खुवाउने भन्ने विषय तरकारी किन्नेमा निर्भर रहने हुँदा तरकारी किन्ने प्रसंग ज्यादै रोचक थियो ।

१ सय ६ जनाबाट पाँच रुपैयाँका दरले उठ्ने रकमको तरकारी किन्न जाने चलन थियो । बिहान सांढे ५ बजे तरकारी किन्न असन पुगेर तरकारी ल्याउनुपथ्र्यो । कसैले सबै रकमको तरकारी किनेर ल्याउँथे भने कसैले केही तरकारी किनेर बांकी रकम झ्वाम पार्थे । तर तरकारी किनेको हिसाब सार्वजनिक गर्नुपर्ने भएकाले बिल मिलाउन चलखेल गर्थे ।

तरकारीमा गुन्द्रुक पूर्णतः बन्देज थियो । मासु त हुने कुरै भएन । भ्रष्टाचार गर्न चाहनेले सस्तोमा धेरै आउने तरकारी खरिद गरी बढी रुपैयाँमा खरिद गरेको बताउँथे ।

भ्रष्टाचारको आधार : चाउचाउ र बिस्कुट

भान्छामा हुने सबै खाद्यान्नको व्यवस्थापन मिलाउने मुख्य जिम्मा विभागीय मन्त्री अर्थात् खाद्यमन्त्रीको हुन्थ्यो । विहान ९ बजेदेखि ९ः३० भित्र र सांझ ६ देखि ६ः३० भित्र खाना खाइसक्नुपर्ने नियम थियो ।

खाना खानका लागि बिहान ९ बजे बेलुका ६ बजे घण्टी लगाइन्थ्यो । यदि निर्धारित समयमैं कसैले खाना नखाएमा उसले खाना पाउन मुस्किल पथ्र्यो । खाना खानका लागि धोती अनिवार्य थियो ।

पेटी गन्जीमा धोती बेरेर पिर्कामा बसी औसनी हालेपश्चाद् खाना खान दिने नियम थियो । खाना पकाउने उपाध्याय ब्राह्मणले धोती फेरेर खाना पकाउनुपथ्र्यो । भान्छामा अन्यलाई प्रवेश निषेध थियो ।

यदि नियमभित्रै खाना नखुवाए वा खानाको व्यवस्थापन हुन सकेन भने छात्र कार्यसमिति मुख्यतः खाद्यमन्त्री र सभापति नै जिम्मेवार हुन्थे । छात्रावासमा चामल, दाल, तेल लगायत भान्छाको व्यवस्थापन गर्ने ठेकेदारले तत्काल वाइवाई चाउ चाउ र कोकोनट बिस्कुटको व्यवस्थापन गर्नुपथ्र्यो । अन्यथा कार्य समितिले कारबाही गर्न सक्थ्यो ।

त्यसैले ठेक्का लिएकाले तत्काल कोकोनट र वाइवाई चाउचाउ लिएर आइपुगिहाल्थे । नियम यति कठोर थियो कि खाने चामलमा किरा परे तरकारीमा किरा परेको पत्तो लागे सबै फालेर पुनः पकाउनुपथ्र्यो ।

मन्त्री बनेकाको अनुभव

बद्री पाण्डे, राष्ट्रिय सभाका सांसद् नेपाली कांग्रेस

म २०४४ देखि ५४ सम्म १० वर्ष छात्रावासमा बसेँ । छात्र कार्यसमितिको सभापतिदेखि खेलकुद, खाद्य मन्त्री बनेँ । मेरै पालादेखि खेलकुदका सामग्री राख्ने गरी छुट्टै कोठा राखियो । राजनीतिक प्रशिक्षण वा पूर्वाभ्यास त्यहीँबाट भएको हो ।

मेरो विचारमा अहिले पनि हामी जसरी जनताबाट चुनिएर आउँछौँ त्यसबेला पनि नियम यस्तै थियो । ४ टोलबाट ४ जना चुनिएर आउने गरिन्थ्यो । उसको कार्यकाल ६ महिनाको हुन्थ्यो । छात्र कार्यसमितिको सभापति चाहिँ साधारण सभाले चुन्थ्यो । १७ जनाको विधान परिषद् यसरी बनेको हो । मैले छात्र कार्यसमितिलाई मन्त्रिपरिषद् मानेको छु किनकी त्यो कार्यसमितिले त्यहाँ सबै कार्यसञ्चालन गर्ने गथ्र्यो । विधान परिषद्चाहिं संसद्को अभ्यास हो ।

संसद्ले सरकारलाई नियन्त्रण गरेजस्तै विधान परिषद्ले छात्र कार्यसमितिलाई अवाञ्छित हुनबाट रोक्थ्यो । मन्त्री हुनु पनि सानकै विषय थियो । यसरी चुनिने छात्र कार्य समितिको म्याद तीन महिनाको हुन्थ्यो भने विधान परिषद् ६ महिनाको हुन्थ्यो । चुनिएर आउन चाहनेले हाल नेताले भोट मागेजस्तै आफ्ना टोलभित्र मत माग्ने एजेण्डा राख्ने गर्नुपथ्र्यो ।

अहिले प्रधानमन्त्री शक्तिशाली भएजस्तै कार्य समितिका सभापति पनि शक्तिशाली हुन्थे । मन्त्री पद टोलअनुसार बार्गेनिङमा चलाइन्थ्यो । यसमा कार्य समितिका सभापतिको तजबिजीलाई पनि हेरिन्थ्यो । विधान परिषद्को म्याद ६ महिनामा सकिएपछि सम्पूर्ण छात्रावासलाई नै सिंगो नेपाल मानेर राष्ट्रिय चुनावझैँ विधान परिषद्को गठन गरिन्थ्यो ।

डा. नवराज लम्साल वरिष्ठ सञ्चारकर्मी, गीतकार

म छात्रावासमा लामो समय बसेँ । ४५ सालतिर हुनुपर्छ म सभापति थिएँ । राजनीतिक पूर्वाभ्यास कठिन थियो । तर छात्रावासमा प्रहरीले त्यति धेरै नजर नलगाउने हुँदा हामीले राजनीतिक प्रशिक्षण लिन पाउँथ्यौं । ४५ सालमा गणेशमान सिंहलाई डाकेर हामीले अभिनन्दन ग¥यौँ ।
तर राजनीतिक कार्यक्रमका लागि प्रहरीले पक्राउ गर्ने भएकाले हामीले मुल गेटमा ताल्चा लगायौँ । छात्रावासभित्र रहेको हलमा सार्वजनिक कार्यक्रम ग¥यौँ । पछि त्यहीँ बस्नुुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई पनि राखेर अभिनन्दन गर्‍यौँ ।

संसदीय अभ्यासको थलो नै त्यहाँ हो । मलाई सम्झना छ गणेशमानले त्यतिबेलै अबको १ वा डेढ वर्षभित्र मुलुकमा प्रजातन्त्र पुनःबहाली हुने उद्घोष गर्नुभएको थियो । लगत्तै ४७ सालको आन्दोलन भयो । छात्रावासका धेरै साथीहरुको त्यहाँ ज्यादै उल्लेखनीय भूमिका रह्यो ।

डा. घनश्याम खतिवडा, चलचित्रकर्मी

म शिक्षामन्त्री भएकाे थिएँ । मेरै पालामा जयतु संस्कृतम् विशेष कार्यक्रम भएको थियो । जसमा हामीले गिरीजाप्रसाद कोइरालालाई प्रमुख अतिथिका रुपमा डाकेका थियौँ ।

अँ, २०४६ सालमा नेताहरु खाना खान र प्रहरी दमनबाट लुक्न त्यहाँ आउँथे । जति पनि प्रजातान्त्रिक गीत कविता त्यहीँबाट रचना गरिन्थ्यो । राजनीतिक गतिविधिका एजेण्डादेखि अन्य कार्यक्रम पनि सबै त्यहीँ तय गरिन्थ्यो ।

भिन्न राजनीतिक आस्था राख्नेहरु पनि त्यहाँ अटाउँथे । ४७ सालम कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका बेला त्यहाँ विशेष कार्यक्रम गरियो । त्यसको संयोजन म लगायतका साथीले गरेका थियौँ । त्यसबेला किसुनजी भन्नुहुन्थ्यो –प्रजातान्त्रिक बिजारोपण नै यहीँबाट भएको हो ।

पछि राजाले मन्त्रिमण्डल गठन गर्दा त्यहीँको पद्धति अपनाएको दाबी गर्नुभएको थियो । किसुनजीले त जति पनि जेल समयमा सबै त्यहाँबाट पुस्तक लगेर पढ्नुहुन्थ्यो भनेर जानकारी गराउनुभएको थियो । उहाँ भन्नुहुन्थ्यो– मैले यस पुस्तकालयका सबै पुस्तक अध्ययन गरेको छु ।’

भर्खर

0