विश्वकप छनोट– नेपाली टोलीलाई दोस्रो चरण पार गर्न कठिन ! | Khabarhub Khabarhub

विश्वकप छनोट– नेपाली टोलीलाई दोस्रो चरण पार गर्न कठिन !



काठमाडौं–कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप तथा सन् २०२३ मा हुने एएफसी एसियन कप छनाेटमा नेपाल कठिन समूहमा परेको छ ।

बुधबार सार्वजनिक भएको ‘ड्र’ मा नेपाल समूह ‘बी’ मा परेको छ । समूह ‘बी’ मा नेपालसहित एसियाली फुटबलको ‘पावर हाउस’ अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत छन् ।

खेल तालिकामा दक्षिण एसियाली मुलुकहरुमध्ये सबैभन्दा कठिन समूहमा नेपाल परेको छ । नेपालले आफ्नो समूहका अन्य टोलीहरुसँग यसअघि खेलिसकेको भए पनि अस्टेलिया जस्तो बलियो प्रतिद्वन्दी पाउँदा नेपाली टोलीको तेस्रो चरणको सम्भावनामा भने भय पैदा भएको छ । यद्यपी सन् २०१४ को विश्वकप छनोटमा जोर्डनसँग खेलिसकेको नेपाली टोलीलाई उसको पनि उत्तिकै डर छ ।

विश्वकपको तेस्रो चरणमा पुग्न कठिन भए पनि नेपालले एएफसी एसियन कपमा छनोट हुने योजनासहित मैदान उत्रिनु पर्ने फुटबल विश्लेषक सञ्जिव मिश्र बताउँछन् ।

फुटबल विश्लेषक सञ्जिव मिश्र

‘नेपाल दक्षिण एसियाली टोलीमा सबैभन्दा कठिन समूहमा पर्‍यो। नेपालले पहिलो पटक अस्ट्रेलियासँग खेल्दैछ । अस्ट्रेलियाका खेलाडीहरु युरोपियन शैलीका छन् । त्यसैले उनीहरुसँग हामीले सम्हालिएर खेल्नु पर्ने हुन्छ,’ मिश्रले भने,‘जोर्डनसँग हामीले यसअघि पनि खेलिसकेका छौं । तर, पछिल्लो समय जोर्डन बलियो टोली बनेको छ । यस्तै, नेपालले कुवेत र चाइनिज ताइपेइसँगको खेलमा नतिजा आफ्नो पक्षमा पार्ने गरी तयारी गर्नुपर्छ ।’

फिफा वरियताको ४३ औं स्थानमा रहेको अस्ट्रेलियाले गएको वर्ष रसियामा सम्पन्न विश्वकप खेलेको थियो ।

यस्तै, फिफा वरियताको ९८ औं स्थानमा रहेको जोर्डनसँग  नेपाली टोलीले सन् २०१४ को विश्वकप छनोटमा खेलेको थियो । जसमा नेपाल ‘अवे’ खेलमा ९–० गोल अन्तरले पराजित हुँदा ‘होम’ ग्राउण्डमा १–१ गोलको बराबरी भएको थियो ।

यता, चाइनिज ताइपेइ फिफा वरियताको १ सय २५ औं स्थानमा छ भने कुवेत १ सय ५५ औं स्थानमा छ । यी दुई टोलीसँग भने नेपालले केही समय अगाडिमात्रै मैत्रिपूर्ण खेल खेलेको थियो ।

जसमा नेपालले दुवै टोलीसँग बराबरी खेलेको थियो । विश्वकप छनोटका खेलहरु ‘होम एण्ड अवे’ प्रद्धतिमा हुनेछन् । त्यसैले पनि सबै टोलीलाई ‘अवे’ खेलमा दबाब रहने मिश्र बताउँछन् ।

नेपालले पहिलो प्रतिद्वन्दीका रुपमा कुवेतलाई पाएको छ । यस्तै, कुवेतसँग नेपालले पहिलो खेल घरेलु मैदानमा खेल्नेछ । यसले पनि नेपाली टोलीलाई सहज बनाउने मिश्रको भनाइ छ ।

नेपालले पहिलो खेल ५ सेप्टेम्बरमा कुवेतसँग घरेलु मैदानमा खेल्नेछ भने कुवेतसँगको अवे खेल नोभेम्बर १९ मा खेल्नेछ ।

यस्तै, अष्ट्रेलियासँग अक्टोबर १० अवे खेल खेल्नेछ भने २०२० को मार्च ३१ मा घरेलु मैदानमा खेल्नेछ यता नेपालले जोर्डनसँग अक्टोबर १५ मा घरेलु मैदानमा खेल्दा सन् २०२० को जुन ४ गते अवे खेल्नेछ । त्यस्तै नेपालले चाईनिज ताइपेसँग सेप्टेम्बर १० मा घरेलु मैदान र सन् २०२० को मार्च २६ मा उसैको मैदानमा खेल्नेछ ।

दोस्रो चरणको छनोटमा ४० टोलीले होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गर्ने छन् । जसलाई ८ समूहमा विभाजन गरिएको छ।

‘घरेलु मैदानमा पाहुना टोलीसँग खेलेर विश्वकप छनोटको शुरु गर्दा नेपालले घरेलु मैदानको फाइदा उठाउन सक्छ । पहिलो खेलमा राम्रो नतिजा निकाल्न सकेको अवस्थामा अस्ट्रेलियासँगको अवे खेलमा पनि सम्हालियर आत्मविश्वासका साथ खेल्न सक्छ,’ विश्लेषक मिश्रले भने ।’

नेपालले समूह विजेता हुन कठिन भएपनि उत्कृष्ट ४ उपविजेताको सम्भावना बलियो बनाउन अस्ट्रेलियाबाहेकका तीन टिमसँगको खेलमा उत्कृष्ट नतिजा निकाल्न सक्नु पर्छ ।

समूहमा बलिया टोली रहेकाले नेपालले आफ्नो खेल खेल्नु पर्ने मिश्रको जोड छ । उनी भन्छन्,‘कुवेत र ताइपेइसँग हामीले डराउनु पर्दैन । आफ्नो नर्मल खेल खेल्नु पर्छ । आफ्नो स्तरको खेल खेल्न खेलाडीहरुले आफ्नो फिटनेश, पासिङ, डिफेन्सिभ खेलका लागि तयार हुनु पर्छ ।’

दोस्रो चरणको छनोटबाट ८ समूहका विजेता र ४ उत्कृष्ट उपविजेता गरी १२ टोलीले एसियाको अन्तिम छनोटमा स्थान बनाउने छन् । यस्तै उक्त १२ टोली सन् २०२३ को एसियन कपमा छनोट हुनेछन् भने अन्य २४ टोलीले एएफसी एसिया कपको छनोट खेल्नेछन् ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ५ : ४२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन