‘जात्रै जात्रा’ एक दमदार सिक्वेल

अर्घेलो थापा

शनिबार, जेष्ठ ४, २०७६

Reading Time: 5 minutes

केही वर्षयता सिनेमाको सिक्वेल बन्ने प्रवृत्तिले सिनेकर्मीको ध्यान खिचेको छ नेपालमा । सिक्वेल भन्दा पनि सिनेमाको नाम सापटी लिएर दोस्रो, तेस्रो भाग निर्माण गर्ने प्रवृत्ति सिनेमा क्षेत्रमा झनै बाक्लिएको छ । एक अर्थले यस्तो सिनेमाको निर्माणले प्रचारमा त राम्रै फाइदा गरेको छ, तर पहिलो सिनेमाका तुलना पछिल्लो सिनेमा थप कमजोर बन्दा सिक्वेलको मेकिङमाथि नै बहस हुन थालेको छ ।

प्रदीप भट्टराई निर्देशित ‘जात्रै जात्रा’ भने फरक कथालाई सिक्वेलका रुपमा स्वीकार्नुपर्ने बाध्यताबाट टाढा छ । यो सिनेमा ‘जात्रा’ को निरन्तरता हो । ‘जात्रा’ ले छोडेका कतिपय प्रश्नको उत्तर पस्कँदै ‘जात्रै जात्रा’ को कथा सकिन्छ । निर्देशक प्रदीप भट्टराईले ‘जात्रा’ को अन्त्यमा टेकेर ‘जात्रै जात्रा’ मा गज्जबको कथा उठान गरेका छन् ।

दुई वर्षअघि चौतर्फी चर्चा कमाएको थियो, ‘जात्रा’ ले । त्यही ‘जात्रा’ का तीन पात्र फणिन्द्र (विपिन कार्की), जोयश (रविन्द्रसिंह बानियाँ) र मुन्ना (रविन्द्र झा) को जीवनमा आउने उतारचढाव नै ‘जात्रै जात्रा’ को कथानक हो । ‘जात्रा’ मा फणिन्द्रले भेट्टाएको पैसासँगै कथान मोडिन्छ भने ‘जात्रै जात्रा’ मा फणिन्द्रले सुन भेट्टाएपछि घटनाक्रम रोचकताका साथ अगाडि बढ्दै जान्छ ।

फणिन्द्रले भेट्याएको सुन कसरी तीनै पात्रले बाँड्नुपर्ने अवस्था आउँछ र उक्त सुन पचाउन यी तीन पात्र सफल हुन्छन् या हुँदैनन् भन्ने कथावस्तु नै सिनेमाको एकसरो कथा हो । सिनेमाले दर्शकलाई शुरुदेखि अन्त्यसम्म फुत्किनै नदिने गरी बाँधेर राख्छ । यो ‘जात्रै जात्रा’ को शक्ति हो ।

चलचित्र ‘जात्रै जात्रा’ को एक दृश्यमा दयाहाङ राई ।

सिनेमामा जति पनि कलाकार छन्, ती कलाकार सुहाउँदा छन् । ती पात्रको उपस्थितिले सिनेमामा महत्त्व राख्छ । सिनेमाका शीर्ष अभिनेता हुन् फणिन्द्र (विपिन कार्की) । फणिन्द्रको भूमिका निभाएका विपिन यो भूमिकामा गज्जबले जमेका छन् । उनको चरित्र कस्तो छ भन्ने त सिनेमा ‘जात्रा’ हेरेका दर्शकले सजिलै अनुमान लगाउन सक्छन् । दोस्रो भागमा पनि फणिन्द्रकै जीवन वरिपरि सिनेमाको कथा उनिएको छ । विपिन कार्कीको अभिनय तारिफयोग्य छ । चरित्रलाई उनले जस्ताको तस्तै पर्दामा उतारेका छन् । यद्यपि उनी बेलाबेला फणिन्द्रको चरित्रभन्दा बाहिर गएका हुन् कि भन्ने लाग्छ ।

यस्तै सिनेमामा शीर्ष भूमिका निभाएका रविन्द्रसिंह बानियाँको अभिनय पनि उत्तिकै दमदार छ । अर्का शीर्ष कलाकार रविन्द्र झाको काम पनि उत्तिकै सशक्त छ । मुन्नाको भूमिकामा उनी ‘फिट’ छन् । उनले बोल्ने हरेक संवादले दर्शकलाई हँसाउँछ । सिनेमामा फरक भूमिकामा देखिएका दयाहाङ राईको अभिनयले पनि दर्शकको मन जित्छ । केन्द्रीय कथाले फणिन्द्र र उसका साथीलाई फलो गरेकाले दयाहाङ केही ओझेलमा परेको अनुभूति हुन्छ । यद्यपि उनको काम तारिफयोग्य छ ।

यस्तै छोटो भूमिकामा वर्षा राउतले उत्तिकै ‘नोटिसेबल’ अभिनय गरेकी छिन् । बालकलाकार अर्विन खड्काले पनि अभिनयद्वारा चित्त बुझाएका छन् । सिनेमाका अन्य कलाकारको काम पनि उत्तिकै सशक्त छ । यो सिनेमामा क्लीसे संवाद र भद्दा दृश्य राखेर दर्शक हँसाउने प्रयन्त गरिएको छैन ।

सिनेमाको सशक्त पक्ष भनेको यसको स्किृप्ट हो । कथा यसरी अगाडि बढ्दै जान्छ कि, दर्शकले सिनेमा सकिने बेलासम्मै रोमाञ्चक भइरहन्छन् । चलचित्रमा कैयन् ‘ट्वीस्ट एण्ड टर्न’ छन् । सिनेमाका हरेक संवादहरु आवश्यक र चोटिला लाग्छन् । प्लट र संवादलाई बलियोसँग माझ्न सक्नु निर्देशक तथा लेखक प्रदीप भट्टराईको खुबी हो । यो सिनेमासँगै निर्देशक भट्टराईले आफूलाई सफल निर्देशकका रुपमा अझै खारेका छन् ।

सिनेमाको छायांकन पक्ष औसत छ । ‘क्लोज अप’ शटको बढ्ता प्रयोग गरिएको छ । कोठाभित्रका कतिपय शटहरु दोहोरिएकोझैँ लाग्छ । सिनेमामा समावेश गीत संगीतले रिलिजअघि नै तारिफ पाइसकेका थिए । बीचमा आउने गीत कथाअनुसार अगाडि बढ्दै जान्छ । यस्तै सिनेमामा पार्श्वसंगीतको पनि कुशल संयोजन गरिएको छ ।

सिनेमामा मनोरञ्जन मात्र छैन, कला पनि छ । संवेदनासँगै द्वन्द्व पनि छ ।

यति हुँदाहुँदै पनि सिनेमाले कहीँकतै भने दर्शकलाई अलमल बनाउँछ । दयाहाङ राईको चरित्रमा केही नपुगेको हो किझैँ लाग्छ । दोस्रो हाफ अलिक तन्काइएको महसुस हुन्छ । सिनेमाको क्लाइमेक्स भने कल्पना गरिएभन्दा पृथक छ । रोचक छ ।

यो सिनेमा ‘जात्रा’ को तुलनामा केही कमजोर पक्कै छ । तर, नेपाली सिनेमा उद्योगले लामो समयको ग्यापपछि एउटा राम्रो सिनेमा पाएको छ । नेपाली सिनेमा हेर्ने दर्शकले मात्र होइन, विदेशी सिनेमा हेर्ने बानी परेका दर्शकले पनि यो सिनेमा हेर्नुपर्छ । जसले कमेडी सिनेमा हेर्न रुचाउँछ, उसले त छुटाउनै नहुने सिनेमा हो जात्रै जात्रा

भर्खर

0