जसरी पनि बैठक चलाउने ‘मुड’मा देउवा, बोहराटारमा पौडेल पक्षको छलफल | Khabarhub Khabarhub

जसरी पनि बैठक चलाउने ‘मुड’मा देउवा, बोहराटारमा पौडेल पक्षको छलफल



काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई पेलेरै अगाडि बढ्ने मनस्थितिमा पुगेका छन् ।

गत विहीवारदेखि बस्न नसकेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज(बुधवार) का लागि बोलाइएको छ ।

विहीवारको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले बहिष्कार गर्दै आएका छन् । नेता पौडेललाई फकाउन निवास मै पुगेपनि पार्टी सभापति शेरबहादुर देउवा सफल हुन सकेका छैनन् ।

पार्टी भित्रको समस्या समाधान गर्नका लागि दुबै समूहबाट वार्तासमिति बनेपनि समस्या समाधन भने हुन सकेको छैन ।

मंगलबार दिनभरको प्रयासबाट पनि कुनै उपलव्धि हासिल नभएपछि पार्टी सभापति देउवाले आजको लागि बोलाइएको बैठकमा पनि असन्तुष्ट पक्षको सहभागीता नभएपनि बैठक सञ्चालन गर्ने मुडमा पुग्नुभएको देउवा पक्षका नेता विमलेन्द्र निधिले बताए ।

पार्टी उपसभापति समेत रहेका निधिले धेरै जसो समस्या समाधान तर्फ उन्मुख भएपनि असन्तुष्ट पक्ष बैठकमा सहभागी नहुँदा समस्या उत्पन्न भएकोले सभापतिले आजको बैठक सञ्चालन गर्ने मनस्थिति बनाएको बताए ।

‘पार्टीमा देखिएको धेरै जसो समस्या समाधान तर्फ उन्मुख भइसकेका छन्’ निधिले भने,‘उहाँहरु(पौडेल पक्ष)का मागका विषयमा पनि छलफल भइरहेको छ, तर उहाँहरु बैठकमै नबस्ने कुरा त्यति उपयुक्त नभएका कारण सभापति ज्यूले आजको बैठक अगाडि बढाउने मनस्थिती बनाउनु भएको छ ।’

तर, पौडेल पक्षका नेता एवं वार्ता समितिका एक जना सदस्य हृदयराम थानीले भने समस्या समाधान तर्फ संस्थापन पक्ष गम्भीर नभएको आरोप लगाए ।

‘नेविसंघका विषयमा कुरा केही मिल्ला जस्तो भएपनि विभाग र तरुण दलका विषयमा कुरा मिल्न सकेको छैन,’ नेता थानीले भने,‘१४ औं महाधिवेशनमा पनि कुरा मिल्न सकेको छैन ।’

पौडेल निवासमा मिटिङ

यसैबीच असन्तुष्ट पक्षका नेताहरु अहिले वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा छलफलमा जुटेका छन् । ‘समस्या समाधानको लागि हामी छलफलमा छौं’ नेता थानीले भने,‘हेरौं के हुन्छ ।’

उनले संस्थापन पक्षसँग कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकले केही निकाश निकाल्ने बताए । बोहराटार बैठकपछि मात्र आजका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुने वा नहुने भन्ने निष्कर्ष निस्कने उनको भनाइ छ।

कांग्रेस संस्थापन पक्ष १४ औं महाधिवेशनको कार्यतालिका ल्याउन तयार भएका कारण पनि आजको बैठकमा पौडेल पक्षको सहभागीता हुन सक्ने सम्भावना रहेको संस्थापन पक्षका एक नेताले बताए ।

संस्थापन पक्षका नेता निधिले १४ औं महाधिवेशन २०७७ मै गर्न सभापति देउवा तयार भएको बताए ।

‘उहाँहरुले २०७७ सालको मंसिर पहिलो साता महाधिवेशन गरौं भन्ने प्रस्ताव राख्नु भएको छ’ नेता निधिले भने,‘यसबारे छलफल गर्न सकिन्छ तर, २०७७ को फागुन हामीले प्रस्ताव गरेका छौं ।’

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।

नेविसंघबारे सहमति नजिक, विभाग र महाधिवेशनले अन्योल

असन्तुष्ट पक्षका नेता हृदयराम थानीका अनुसार नेविसंघका बारेमा संस्थापन पक्षसँग सहमति नजिक पुगेको बताए । तर कस्तो खालको सहमति हो भन्ने बारे उनले खुलाएनन् । अब विभाग, तरुण दल र महाधिवेशनको कार्यतालिका बारेमा समस्या रहेको उनको भनाइ छ ।

नेपाली कांग्रेसमा नेविसंघ र तरुण दलको नेतृत्व चयन साथै विभाग गठनको विषयमा समस्या देखिएको छ । संस्थापनले विधानमा व्यवस्था भएको २८ को सट्टा ४१ विभाग प्रस्ताव गरेपछि पौडेल र सिटौला पक्ष असन्तुष्ट बनेका हुन् । उनीहरूले विधानअनुसार नै २८ वटा मात्रै विभाग गठन गर्नुपर्ने बताउँदै आएका छन् । तर, मुख्य विभागमा भाग पाए संस्थापनको संख्या बढाउने तयारीमा सहमति गर्न सकिने सन्देश उनीहरुले संस्थापन पक्षलाई दिएका छन् ।

पौडेल पक्षले नेविसंघ र तरुण दल दुवैमा नेतृत्व दाबी गरेको छ । नियमित समयमा महाधिवेशन गर्न संस्थापनपक्षीय नेतृत्व असफल भएको निष्कर्ष निकाल्दै सो समूहका नेताहरूले नेतृत्व नै दाबी गरेका हुन् ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  १२ : १८ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द