समयमै सडक नबनाएपछि पोलदेखि सवारीसाधनमा समेत ठेकेदारको फोटो | Khabarhub Khabarhub

समयमै सडक नबनाएपछि पोलदेखि सवारीसाधनमा समेत ठेकेदारको फोटो



काठमाडौं– समयमै सडक निर्माण सम्पन्न नगरेको भन्दै विरोध स्वरुप केही दिनअघि नगरकोटका स्थानीयले चोक, बिजुलीका खम्बा र सवारीसाधनमा ठेकेदार शारदाप्रसाद अधिकारीको तस्वीर टाँसेका थिए ।

चौतर्फी विरोध भएसँगै निर्माण कम्पनीले अहिले तीव्र रुपमा काम गरिरहेका छन् । तर विरोधको शैली नगरकोटमा मात्र सीमित रहेन ।

लामोसाँघु जिरी सडक खण्डको ठेकेदारले समयमै काम नगरेको भन्दै नगरकोटको शैलीमा विरोध भएको छ ।

दोलखामा ५ वर्षसम्म निर्माण सम्पन्न नगरेको भन्दै ठेकेदार कम्पनी शंकरमाली निर्माण सेवाका प्रबन्ध निर्देशक दिपक सापकोटाको तस्वीरसवारी साधन र चोकचोकमा टाँसेर स्थानीयले विरोध गरिरहेका छन् ।

शनिवार मध्याह्नको समय पारेर दोलखाका स्थानीयले चरिकोट बजार आसपासका क्षेत्र, बिजुलीका पोल, सवारीसाधनमा तस्वीर टाँसेर विरोध गरेका छन् ।

विशेषगरी सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सोलुखुम्बुलाई राजधानीसँग जोड्ने यो सडक ५ वर्षदेखि अलपत्र रहेको छ ।

राजधानी आवातजावत गर्ने सडक ५ वर्षदेखि अलपत्र अवस्थामा रहेको भन्दै स्थानीयले पटकपटक अवरुद्ध समेत गरेका थिए । सडक अवरुद्ध भएपनि कामले गति लिन नसक्दा स्थानीयले सास्ती खेप्नुपरेको थियो ।

ठेकेदार कम्पनीको चरम लापरवाही, परामदर्शदाताको गलत नियत र सडक डिभिजन कार्यालय चरिकोटको बेवास्ताका कारण काठमाडौंदेखि चरिकोटसम्मको १ सय ३३ किलोमिटर दूरी तय गर्न १५ घण्टाभन्दा बढी समय लाग्ने गरेको यात्रुको गुनासो छ ।

भारतीय एक्जिम बैंकको ऋण लगानीमा अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको खाडीचउर देखि जिरीसम्मको लामोसाँघु जिरी सडक निर्माण दोहोरो लेनको बनाउन २०७१ सालमा ठेक्का भएको थियो ।

खाडीचउर देखि चरिकोटसम्मको ५५ किलोमिटरलाई दुइ खण्डमा बाँडेर करिब १ अर्ब २० करोड लागनीमा ठेक्का लगाएको लामो साँघु—जिरी सडक विस्तार आयोजनाले जनाएको छ ।

सिन्धुपाल्चोकको खाडीचउरदेखि मुडेसम्म २५ किलोमिटर पहिलो खण्ड निर्माण गर्न भारतीय ठेकेदार कम्पनीसँगको साझेदारीमा नेपाली कम्पनी गौरी पार्वती र सुनौलो खिम्तीले ठेक्कामा लिएका थिए ।

साथै ३० किलोमिटर दोस्रोखण्डको कामको लागि भारतीय कम्पनीको साझेदारीमा शंकर माली निर्माण सेवाले ठेक्का पाएका थियो । सुनौलो खिम्ती र त्यसका मालिक भीमसेन भण्डारी कर छली प्रकरणमा फसेपछि पहिलोखण्डको काम गौरी पर्वातीले गर्दै आएको छ ।

पहिलो खण्डको २५ किलोमिटर सडकमध्ये हालसम्म १३ किलोमिटर सडकको कालोपत्रे सम्पन्न भएको छ । दोस्रो खण्डको सडक विस्तारको काममा भने हालसम्म कुनै प्रगति हुन सकेको छैन । दुईपटकसम्म म्याद थपिसकेको ठेकेदार कम्पनी शंकर मालीले तेस्रो पटक पनि म्याद थप्ने तयारी गरेपछि स्थानीय आक्रोशित बनेका हुन् ।

स्थानीयको आक्रोश : कहिलेसम्म सास्ती भोग्ने ?

५ वर्षसम्ममा पनि सडक विस्तार हुन सकेको छैन । स्थानीयले दैनिक सास्ती खेपिरहेका छन् । लगातार पानी पर्दा यो सडकमा साना—ठूला सवारी साधन हिलाम्मे माटोमा फस्ने र सडक पार गर्न नसक्ने समस्या भइरहेको छ ।

वर्खाको समयमा यो सडकमा यात्रा गर्दा सकुशल घर पुगिन्छ कि पुगिदैन भन्दै त्रासपूर्ण यात्रा गर्न बाध्य छन् दोलखावासीहरु ।

कयौं पटक सवारीसाधन फसेर इस्क्याबेटरले तान्दै यात्रा गराउँदा सवारी चालकसमेत हैरान भएका छन् । यो दूरावस्थाका कारण आजित बनेका दोलखावासीले समयमै निर्माण सम्पन्न गर्नका लागि पटकपटक आग्रह समेत गरेको दोलखाका स्थानीय नायराण बस्नेतले खबरहबलाई जानकारी दिए ।

‘हामीले समयमै सडक निर्माण सम्पन्न गर्नका लागि ठेकेदार कम्पनीलाई पटकपटक आग्रह ग¥यौं, विरोध पनि ग¥यौं’ उनले भने ‘तर ठेकेदार कम्पनीले सिन्को भाच्ने काम गरेको छैन ।’

‘हामी कहिलेसम्म सास्ती खेप्ने ?’ उनले आक्रोश पोख्दै भने ‘सडकको अवस्था यति नाजुक छ कि हामीलाई आवतजावत गर्न निकै मुस्किल भएको छ ।’

के भन्छ ठेकेदार कम्पनी ?

सडक विस्तारका क्रममा मापदण्डभित्र पर्ने भौतिक तथा प्राकृतिक संरचना भत्काउने जीम्मा स्थानीय तहको रहेको छ । विस्तारका क्रममा यस्ता समस्या भने नरहेको कम्पनीका प्रबन्ध निर्देशक दीपक सापकोटा बताउँछन् ।

‘बिजुलीका पोल तथा भौतिक संरचनाको कारण सडक विस्तारको काम लम्बिएको होइन’ उनी भन्छन्, ‘हाम्रा भित्री थुप्रै समस्याहरु छन् जुन समस्याले गर्दा हामीले निर्माणको काम अगाडि बढाउन सकेका छैनौं ।’

सापकोटाअनुसार सडक विस्तारका लागि २०७१ सालमा भएको सम्झौताअनुसार करिब ९ महिनापछि कार्य गर्ने आदेश आएको थियो । सुनौलो खिम्ती निर्माण सेवा आयोजनाले समेत शंकर मालीमा जोइन्ट भेन्चरका रुपमा केही समय काम गरेको थियो । कम्पनीले निर्वाध रुपमा काम गरिरहेका थियो ।

‘सोही क्रममा २०७४ कार्तिक ७ गतेको पत्रबाट कर कार्यालयले सुनौला खिम्तीले कर तिरेको छैन भन्दै हाम्रो खाता रोकिदियो’ उनले भने ‘त्यतिबेला पौने ५ करोडको बिल आएर खातामा बसेको थियो ।’

साथै आयोजनाले यो कम्पनीलाई समयमै काम गर्न नसकेकाले हर्जना समेत तिराएको थियो ।

कम्पनीले गत असारमा सार्वजनिक खरिद ऐनको सातौं संशोधनअनुसार म्याद थप गर्नका लागि निवेदन समेत दिएको छ ।

७ महिनामा काम सम्पन्न होला ? 

‘आयोजना प्रमुखले बिल भुक्तानीका लागि प्रक्रिया अगाडि बढाइ दिइसकेका छन्’ उनले भने ‘१८ किलोमिटर सडकमा ग्राबेल हालिसकेको छ, आर्थिक रुपमा सहजीकरण हुनासाथ काम सुरु हुनेछ ।’

प्रक्रियागत रुपमा काम अघि बढेमा आयोजनाले ७ महिनामा काम सम्पन्न गर्ने सापकोटाले खबरहबलाई जानकारी दिएका छन् । ‘सम्पूर्ण पूर्वाधार तयारी अवस्थामा छन्’ उनले भने ‘जेठ मसान्तसम्म यो सडकमा पिचमा हिडाउँछु’ शंकर माली निर्माण सेवाका प्रबन्ध निर्देशक दीपक सापकोटाले भने ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ९ : ५६ बजे

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक