धार्मिक कार्यसँगै औषधीय गुण भएको ‘बेल’ खानुका यस्ता छन् फाइदा | Khabarhub Khabarhub

धार्मिक कार्यसँगै औषधीय गुण भएको ‘बेल’ खानुका यस्ता छन् फाइदा


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

आयुर्वेदमा बेललाई मानव स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । आयुर्वेदअनुसार पाकेको बेलले कब्जियत हटाउने, खाना रुचाउने, शरीरलाई शितलता प्रदान गर्ने गर्छ । काँचो बेल रुघा, अपच, शरीर गर्मी हटाउन तथा शरीरका भित्री रोगहरुको निर्मूलताका लागि उपयोगी मानिन्छ ।

बेलको बाहिरी कबज अत्यन्तै साह्रो हुन्छ । नरिवल झै फोड्नुपर्ने हुन्छ । पाकेको बेललाई काँचै, जुस बनाएर तथा चुर्ण बनाएर समेत प्रयोग गर्न सकिन्छ । मधुमेह रोगीका लागि पनि बेल उत्तम मानिन्छ ।

बेलको फलमा मात्र होइन पातमा पनि निकै धेरै औषधीय गुण पाइन्छ । यसका पातलाई पिनेर यसको रस दिनमा दुई पटक सेवन गर्नाले मधुमेह रोगीका लागि निकै फाइदाजन हुन्छ । त्यस्तै रक्त अल्पता भएका बिरामीहरुले सुखेको बेलको चुर्णलाई तातो दुध तथा मिश्रीसँग घोलेर खानाले निकै लाभदायक हुन्छ ।

नेपालमा प्रशस्त पाइने मौसमी फल बेल पेटसम्बन्धी विकार भएका मानिसलाई लाभदायक मानिन्छ । यसमा एन्टिफंगल, एन्टिप्यारासाइटिक गुण हुन्छ, जो पाचनका लागि धेरै फाइदाजनक हुन्छ । यति मात्र नभई बेलमा रेचक (ल्याक्जेटिभ) गुणसमेत हुन्छ ।

यसको नियमित सेवनले कब्जियत जरैदेखि समाप्त हुने मान्यता छ । यो मधुमेह रोगीका लागि पनि फाइदाजनक मानिन्छ । फलको पातलाई पिसेर रस खानाले मधुमेह रोगीका लागि फाइदाजनक हुन्छ ।

बेलमा धेरै प्रकारका पोषक तत्व हुन्छन् । यी पोषक तत्वको सहयोगले मिर्गौलाको विषनाश (डिटक्सिफाई) गरेर शरीरको फोहोर बाहिर निकालिदिन्छ । बेलमा शरीरलाई चाहिने प्रोटिन, क्याल्सियम, फसफोरस, आइरनका साथै भिटामिन प्रशस्त मात्रामा पाइन्छ ।

पाकेको बेल खानाले शरीरलाई निकै फाइदाजनक हुन्छ साथै यसले शरीरमा शक्ति प्रादान गर्छ र विभिन्न रोग लाग्नबाट बचाउँछ । बाहिरी आवरण एकदम कडा हुने यो फल भित्र ८–१५ वटा कोठाहरू हुन्छन्, जसमा बीउ र सुन्तला रङको भित्रीभाग हुन्छ । यसको प्रयोग हुने भाग फल, जरा र पातहरू नै हुन् ।

नेपालमा बेल पूर्वदेखि पश्चिमसम्म करिब ११०० मिटरसम्मको उचाइमा पाइन्छ । हाल बेलको उन्नत जातका बिरुवाको खेती गर्ने चलन पनि छ ।

बेलको जरा आयुर्वेदिक औषधीय पद्धतिमा तयार गरिने ‘दसमूल’ मा प्रयोग गरिन्छ । नपाकेको फल झाडापखाला र आउँमा उपयोगी मानिन्छ भने पाकेको फल कब्जियतमा प्रयोग गरिन्छ ।

यसको पात, फल र जरा मधुमेह रोगमा उपयोगी हुने कुरा हालका केही प्रयोगहरूले सिद्ध गरिदिएका छन् । यसको पाकेका फलको गुदीबाट सर्बत पनि बनाउने गरिन्छ ।

अंग्रेजीमा उड एपल, एलिफेन्ट एपल, मंकी फ्रुट भनेर चिनिने यो फलको जुस र जाम बनाएर प्रयोग गर्ने गरेको पाइन्छ । बेलबाट विभिन्न मिठाइ तथा केक पनि बनाउन सकिन्छ ।

के–के पाइन्छ बेलमा ?

कार्बोहाइडेड ३१.८ एमजी, चिल्लो पदार्थ ०.३ एमजी, प्रोटिन १.८ एमजी, भिटामिन ५५ एमजी, भिटामिन सी ६० एमजी, क्याल्सियम ८५ एमजी, पोटासियम ६०० एमजी, फाइबर २।९ एमजी, शक्ति १३७ केजी क्यालोरी ।

कसरी खाने बेल ?

बिहान खाली पेटमा पानीमा मिसाएर बेलको पात या रस पिउन सकिन्छ । सलादको रुपमा खाना खानुअघि खान सकिन्छ ।

नियमित रुपमा मात्रा मिलाएर जुस पिउन सकिन्छ । डेजर्टको रुपमा खानाको अन्तिम समयमा पनि बेलको मात्रा लिन सकिन्छ । बेलको जाम पनि मात्रा मिलाएर नियमित लिनाले फाइदा पुर्‍याउँछ ।

बेलका फाइदा

– शरीरमा उब्जने विकार रगतलाई शुद्धीकरण गर्न बेल फल उत्तम मानिन्छ ।
– कानसम्बन्धी समस्या भएकाहरुका लागि बेल गुणकारी मानिन्छ ।
– पेटसम्बन्धी अल्सरको समस्या हुनेका लागि बेल अमृत समान मानिन्छ ।
– युरिक एसिड हुनेका लागि पनि बेलले धेरै राहत दिन्छ ।
– अन्य फलको तुलनामा बेलमा धेरै कम कोलेस्टेरोल हुने हुँदा स्वस्थ्यका लागि हितकारी
मानिन्छ ।
– नुन, बेसार, तेल बेलमा मिसाएर दाँत माँझ्नाले गिजासम्बन्धी समस्या निदान गर्छ ।
– आधा चम्चा बेलको फूल पानीसँग खाने गरेमा एक दुई मात्राले नै बमन रोक्न मद्दत हुन्छ ।
– बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर खाएमा रुघा, खोकी र ज्वरो पनि ठीक हुन्छ ।
– बेलको एक मुठी पात पानीमा पिनेर मिस्री हालेर खाएमा झाडापखाला निको हुन्छ ।
– बेलपत्रको रस नित्य एक–एक चम्चा बिहान–बेलुका पिउने
गरेमा अजीर्ण, पुरानो आउँ रगत आदि रोग ठिक हुन्छ ।
– बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर बिहान बेलुका खाने गरेमा दमको रोग निमन हुँदै जान्छ ।
– सुकाएको बेलको बोक्रा कुटेर बिहान–बेलुका एक–एक चम्चा हालेर काँडा पकाएर खाने गरेमा पेटसम्बन्धी सम्पूर्ण रोग ठीक हुन्छ ।
– अमिलो पानी आउने, चिया खानै नहुने रोगीले पनि नियमित बेलको धुलोको काँडा खाने गरेमा पित्तको रोग ठिक हुन्छ ।
– बेलको सेवनले खाना पचाउन मद्दत गर्नुका साथै शरीरलाई शक्ति प्रदान गर्छ ।
– यसले बच्चाको पेटमा भएका किरा नष्ट पार्नुका साथै बच्चाको हड्डी बलियो बनाउनमा मद्दत गर्छ ।
– बेलको नियमित सेवनले आवाज सुरिलो बनाउन मद्दत गर्नुका साथै मुटुसम्बन्धी रोग निदान गर्छ ।
– पायल्स रोगका लागि पनि बेल एक उत्तम औषधि मानिन्छ ।
– मिर्गौलाका लागि पनि बेल उत्तम फल हो ।
– सर्पले टोकेको व्यक्तिलाई पनि बेल फलले फाइदा पुर्‍याउँछ ।
– बेलले मलेरिया लागेको व्यक्तिलाई प्राकृतिक रुपमा फाइदा पुर्‍याउँछ ।
– यौन रोग तथा नपुंसकताका बिरामीहरुलाई पनि बेल निकै लाभदायी मानिन्छ । यसले यस्ता रोग निवारणमा सहयोग पुर्‍याउँछ ।

धार्मिक कार्यमा प्रयोग

बेलको महत्व हिन्दु धर्म अन्तर्गत ऋग्वेद, शिवपुराण, अग्निपुराणमा पनि उल्लेख भएको पाइन्छ । शिव, शक्ति, गणेश आदिमा बेलपत्र चढाइन्छ । शिवरात्रिको अवसरमा समेत प्रत्येक शिवालयमा प्रशस्त बेलपत्र चढाइन्छ ।

माछामासु, मदिरा तथा अन्य तामसिक भोजनबाट टाढा रहेर हिन्दूहरुले भगवान शिवको पूजा आराधना गर्दा बेलको प्रयोग गरिन्छ । बेलपत्र विना भगवान शिवको पूजालाई अपूरो मान्ने चलन छ ।

भनिन्छ महादेवलाई एक मात्र बेलपत्र अर्पण गर्दा पनि उनी खुसी हुन्छन त्यसैले उनलाई आशुतोष भन्ने गरिएको छ । बेलपत्रको रुखलाई शिवद्रुम पनि भन्ने गरिन्छ । जो सम्पन्नताको प्रतीक, अति पवित्र तथा समृद्धिको वाहक मानिन्छ ।
बेलपत्रलाई भगवान शंकरको आहारा मान्ने गरिन्छ । त्यसैले यसलाई अति श्रद्धाका साथ शिवलिंग तथा महादेवको मूर्तिमा चढाउने गरिन्छ ।

हिन्दू धर्मावलम्बीका विश्वास अनुसार बेलपत्रमा हुने त्रिनेत्रस्वरुपको तीनै पात शिवको तीन नेत्रका लागि विशेष प्रिय हुन्छ ।
भगवान शंकरका लागि बेलपत्र अति प्रिय प्रसाद मानिन्छ । भाङ, धतुरो र बेलपत्रबाट प्रसन्न हुने भगवान शिव नै हुन भन्ने मान्यता आम हिन्दूमा छ । अझ शिवरात्रिको अवसरमा शिवलाई बेलपत्र चढाएर विशेषरुपमा पूजा गर्ने चलन छ । तीन पत्र भएको बेलपत्र सहजै उपलब्ध हुने गर्छ तर केही बेलपत्र यस्ता पनि हुन्छन जो दुर्लभ त हुन्छन नै त्यसमाथि चमत्कारिक पनि हुने गर्छन ।

श्रीमददेवी भागवतमा प्रष्टसंग यो पनि वर्णन गरिएको छ कि जो भक्त भगवतीलाई बेलपत्र अर्पण गर्छ उसलाई कुनै पनि परिस्थितिमा दुःख र कष्टको सामना गर्नु पर्दैन । उसलाई हर क्षेत्रबाट सिद्धी प्राप्त हुने र कैयौ जन्मको पापबाट मुक्ति मिल्नेछ । र , ती भक्त भगवान आशुतोषको प्रियमा पर्ने गर्दछन् । उनको सबै कामना पूरा हुने र अन्तमा मोक्ष प्राप्त हुने विश्वास गरिन्छ ।

बेलपत्रको उत्पत्तिबारे किंवदन्ति

बेलवृक्षको उत्पतिको बारेमा ‘स्कन्दपुराण’ उल्लेख गरिएको छ कि एक समय माता पार्वतीले आफ्नो निधारको पसिना पुछेर फ्याकिन् ।

जुन पसिना केही छिटा मन्दार पर्वतमा पर्न पुग्यो, त्यही पसिनाबाट मन्दार पर्वतमा बेलवृक्ष उत्पन्न हुन पुग्यो । यही वृक्षको जरामा गिरिजा, माथि गएको भागमा महेश्वरी, हाँगाविंगामा महेश्वरी, पातहरुमा पार्वती र फूलमा गौरीको वास भएको विश्वास गरिन्छ ।

बेलपत्र तोड्ने मन्त्र

बेलपत्र विशेषत ध्यान तथा सोंच विचार पुर्‍याएर तोड्नु पर्छ । यस्को पात चुँडदा बोलिने मन्त्र यसप्रकार छ-
अमृतोद्भव श्रीवृक्ष महादेवप्रियस्सदा ।
गृह्यामि तव पत्राणि शिवपूजार्थमादरात् ।।
अर्थात अमृतबाट उत्पन्न सौन्द्धर्य एवं ऐश्वर्यपूर्ण वृक्ष महादेवका लागि सदैव प्रिय छन् , भगवान शिवको पूजाको लागि वृक्षमा तिम्रो पत्र तोड्दै छु ।

यस्तै विशेष दिन या पर्वको अवसर पारेर बेलपत्र चुँडन मनाही गरिएको छ । शास्त्रमा उल्लेख भए अनुसार सोमबार,चतुर्थी,अष्टमी,नवमी, चतुर्दशी र अमावस्याको तिथिमा एवं संक्रान्तिको दिन बेलपत्र चुँड्नु हुँदैन ।

यस्तै एक पटक अर्पण गरिएको बेलपत्र धोएर सफा गरेपछि पुनः प्रयोग गर्न सकिने पनि पनि बिल्वाष्टकमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ८ : ३९ बजे

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोदार– धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

कांग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद दीपक खड्काले

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो

काठमाडौं – विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन