आकस्मिक गर्भ निरोधक औषधिले महिलाको स्वास्थ्य जोखिममा

रिता लम्साल

बिहिबार, असोज ३०, २०७६

Reading Time: 6 minutes

आकस्मिक गर्भ निरोधक औषधिले महिलाको स्वास्थ्य जोखिममा

काठमाडौं– दिदी ‘७२ घण्टे औषधि दिनुस् न !’ अन्दाजी २१ वर्षकी एक युवती ठमेलमा रहेको एक फार्मेसीमा आइपुगिन् ।

फार्मेसीकी फर्मासिस्टले ७२ घण्टे आकस्मिक गर्भ निरोधक चक्की उनको अगाडी टेवलमा राख्छिन् ।

ती युवतीले यताउता एक नजर डुलाइन्, २ सय ५० रुपैयाँ दिएर ७२ घण्टे औषधि झोलामा हालेर आफ्नो बाटो लागिन् ।

ठमेलको उक्त फार्मेसीमा आकस्मिक गर्भ निरोधक साधन ७२ घण्टे औषधिहरुको व्यापार राम्रै छ । साँझ परेपछि ‘७२ घण्टे औषधि दिनुस् न’ भन्दै धेरै युवा र युवती र केही अधबैंसे पुरुषहरु फार्मेसीमा आउँछन् ।

‘साँझ परेपछि ७२ घण्टे औषधि खोज्न धेरै नै आउँछन्,’ नाम नबताउँने सर्तमा फार्मेसीकी फर्मासीस्टले खबरहबसँग भनिन्, ‘दिनमा ५ देखि १० जनासम्म महिला र २० देखि २५ जना पुरुषहरु महिलाले खाने ७२ घण्टे गर्भ निरोधक चक्की माग्न आउँछन् ।’

७२ घण्टे गर्भ निरोधक चक्की आकस्मिक गर्भ निरोधक चक्की हो । तर केही महिलाहरु यो चक्की खोज्दै नियमित जस्तै आउने गरेको उनले सुनाइन् । नियमित जस्तै आउने केही युवतीलाई धेरै प्रयोग नगर्नु भन्ने गरेको उनी बताउँछिन् ।

‘ठमेल क्षेत्र भएर पनि होला, ७२ घण्टे चक्की लिन केही युवतीहरु त नियमित नै आउँछन्, धेरै पटक ७२ औषधि खोज्दै आउने केही युवतीलाई मैले सम्झाएको पनि छु, यो औषधि धेरै प्रयोग गर्नु हुँदैन भनेर,’ उनले भनिन्, ‘उनीहरु मेरो कुरा सुन्छन् मात्रै अन्तिममा त्यहि औषधि लिएर जान्छन्, उनीहरुको व्यक्तिगत कुरामा मैले धेरै बोल्ने कुरा भएन, उनीहरुको बारेमा सोधखोज गर्ने फुर्सद पनि हुँदैन ।’

७२ घण्टे आकस्मिक गर्भ निरोधक चक्की खोज्दै आउन मध्ये केही महिला र पुरुषले भने यसको असरबारे पनि सोध्ने गरेका उनको भनाइ छ ।

‘कोही कोही महिला, पुरुषले चाँही केही असर हुन्छ यो खाँदा भनेर सोध्छन्, उनीहरुलाई असरबारे बताएपछि कुनै पुरुषले त नलिइ फकिन्छन्,’ उनले भनिन्, ‘सायद उनीहरुले पछि आफ्नो पार्टनरलाई असर पर्छ भनेर सोचेर होला । तर धेरैजस्तोले तत्कालिन केही त हुँदैन नि भनेर मात्रै सोध्छन् । अनि लिएरै जान्छन् ।’

ठमेलको उक्त फार्मेसी मात्र होइन काठमाडौं लगायत शहरी क्षेत्रका अधिकांश फार्मेसीमा आजभोली आकस्मिक गर्भ निरोधक ७२ घण्टे साधनहरुको विक्री बढेको छ ।

१४ थरिका आकस्मिक साधान बजारमा

औषधि व्यवस्था विभागका अनुसार आकस्मिक गर्भ निरोधक १४ थरिका चक्कीहरु नेपाली औषधि बजारमा खरिद विक्री भइरहेका छन् । तर ती औषधिहरु कति र कसरी प्रयोग भइरहेका छन् भन्ने विषयमा विभाग भने अनविज्ञ छ ।

‘हामीले नेपाली बजारमा आकस्मिक गर्भ निरोधक चक्कीको प्रयोग कति छन् भनेर संख्यात्मक रुपमा भन्न सकिदैन, यसविषयमा हामीले कुनै अध्ययन गरेका छैनौं,’ विभागमा निमित्त महानिर्देशक पान बहादुर क्षेत्रीले भने, ‘तर हामीकहाँ ७२ घण्टे चक्कीहरु मात्रै १४ वटा थरीका औषधि दर्ता छन् ।’

नेपालमा आकस्मिक गर्भ निरोधक चक्कीको दुरुपयोग भइरहेको क्षेत्री स्वीकार गर्छन् ।

‘यो आकस्मिक गर्भ निरोधक चक्कीको प्रयोग आकस्मिक अवस्थामा मात्रै गर्नुपर्ने हो, बलात्कारबाट गर्भ बस्न सक्ने हुँदा, सन्तानको रहर पुगेका दम्पतीको अनसेफ यौन सम्पर्क भएमा मात्रै प्रयोग गर्नुपर्ने औषधि हो,’ क्षेत्री भन्छन्, ‘तर हामीले पनि सुनेका छौं, यहाँ त मकै खाएजस्तो भइरहेको छ, दिनेले पनि दिएको छ, खानेले पनि केही नभनी खाएको छ ।’

आकस्मिक गर्भ निरोधक चक्कीको बढी प्रयोगले महिलाको स्वास्थ्यमा गम्भिर असर पर्ने क्षेत्री बताउँछन् ।

‘यौनसम्बन्धका लागि गर्भधारण रोक्न आकस्मिक गर्भ निरोधक चक्की धेरै प्रयोग गर्दा यसको असर पुरुषलाई छैन, तर महिलाहरुमा लामो सयमपछि पनि असर पर्छ। हरेक दिन जस्तै यस्तो औषधि खाएपछि भोली गर्भ समेत नरहने हुनसक्छ,’ क्षेत्री भन्छन्, ‘खासमा यस्ता औषधि अब चिकित्सकको सिफारिस विना बेच्न नपाइने व्यवस्था गर्नुपर्ने अवस्था आएको छ ।’

हर्मोनल औषधि भएकाले आकस्मिक गर्भ निरोधक चक्की पनि चिकित्सकको सिफारिस विना प्रयोग गर्न नपाइने भएपनि जन्मदर घटाउने सरकारी लक्ष्यले यस्ता औषधिको विज्ञापन समेत हुने गरेको उनी बताउँछन् ।

‘सरकारले जन्मदर घटाउने भनेकाले यस्ता औषधिहरुको विज्ञापन समेत भइरहेको छ, त्यसैले पनि दुरुपयोग बढेको छ ।’

चिकित्सक भन्छन्-परिवार नियोजन साधन होइन ७२ घण्टे औषधि

आकस्मिक गर्भ निरोधक चक्की धेरै प्रयोग गर्दा स्वास्थ्य समस्या देखिएर अस्पताल आउनेहरुको संख्या पनि बढ्दै गएको वरिष्ठ प्रसूति तथा स्त्रीरोग डाक्टर लता बज्राचार्य बताउँछिन् ।

‘महिनावारी गडवडीको समस्या भएको, महिनावारी हुँदा एक महिनासम्म रगत बग्ने समस्या भएको भन्दै महिलाहरु आउँछन्, शुरुमा त उनीहरुले के भयो बताउँदैनन्,’ डा बज्राचार्यले भनिन्, ‘मलाई शंका लाग्छ, यसो सोध्छु, तपाईले आइपिल खानु भएको थियो ? अनि हो भन्छन् । महिनामा ३,४ पटक सम्म आकस्मिक गर्भ निरोधक चक्की खाएकाले हर्मोन परिवर्तन हुँदा महिनाबारी गडबढी भएको हुन्छ ।’

आकस्मिक गर्भ निरोधक चक्कीहरुको दुरुपयोग बढेको डा बज्राचाय बताउँछिन् । गर्भ निरोध कै लागि समेत शतप्रतिशत ग्यारेन्टि नभएको भन्दै आकस्मिक गर्भ निरोधक चक्कीलाई परिवार नियोजन साधनको रुपमा प्रयोग गर्न नहुने उनको भनाई छ ।

‘आकस्मिक गर्भ निरोधक चक्की असुरक्षित यौन सम्पर्क भएको अवस्थामा मात्रै प्रयोग गर्ने साधान हो, तर यसको दुरुपयोग बढेको छ, कतिले त यसलाई परिवार नियोजनकै साधन जसरी प्रयोग गरीरहेका छन्,’ डा बज्राचार्य भन्छिन्, ‘आकस्मिक गर्भनिरोधक साधन हार्मोनल औषधि हो, महिलाहरुले एक महिनामा ३,४ पटक समेत प्रयोग गर्दा असर पर्छ ।’

गर्भ निरोधक चक्कीको दुरुपयोगका कारण स्वास्थ्य समस्या लिएर आउनेहरुमा २० देखि २६ वर्षका अविवाहित युवतीहरु बढी रहेको डा बज्राचार्य बताउँछिन् ।

‘अहिले अविवाहितहरुमा पनि यौन सम्बन्ध राख्ने क्रम बढेको छ, त्यसैले आकस्मिक गर्भ निरोधक चक्कीको दुरुपयोग पनि बढेको छ, २० देखि २६ वर्षका अविवाहित धेरै युवतीहरुले आकस्मिक गर्भ निरोधक चक्की प्रयोग गरेका छन्,’ डा बज्राचार्य भन्छिन्, ‘आकस्मिक साधानलाई आकस्मिक परिस्थितिमा प्रयोग गर्नु राम्रो हो तर परिवार नियोजनकै साधान जसरी प्रयोग गर्नु गलत छ ।’

आकस्मिक गर्भ निरोधक चक्कीको बढी प्रयोग गर्दा महिलाहरुमा महिनावारी गडबढीको समस्यादेखि बाजोपना, पाठेघरभित्र क्यान्सर लगायतको समस्या हुनसक्ने डा बज्राचार्य बताउँछिन् ।

आकस्मिक गर्भ निरोधक चक्की अत्याधिक प्रयोग नगर्न डा.बज्राचार्यको सुझाव छ ।

७२ घण्टे औषधि भन्दा कण्डम सुरक्षित

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा तथा यौन रोग विशेषज्ञ डाक्टर अनुप बास्तोलाका अनुसार आकस्मिक गर्भ निरोधक साधनको रुपमा ७२ घण्टे औषधि भन्दा कण्डम नै सुरक्षित भएको बताउँछन् ।

‘युवायुवतीहरुले ७२ घण्टे औषधि प्रयोग गर्नुभन्दा कण्डम नै सुरक्षित हुन्छ,’ डा बास्तोला भन्छन्, ‘कण्डमको प्रयोगले अनिश्चित गर्भ हुनबाट बात्र रोक्दैन, यसले यौनजन्य रोगहरुबाट पनि बचाउँने हुनाले नियमित रुपमा प्रयोग गर्नुपर्ने अवस्थामा ७२ घण्टे औषधि भन्दा कण्डम नै उपयुक्त हुन्छ ।’

भर्खर

0