आरोही माया भन्छिन्– प्रत्येक हिमालको आफ्नै सुन्दरता र चुनौती छ

एकराज बास्तोला

शनिबार, साउन ३२, २०७६

Reading Time: 5 minutes

आरोही माया भन्छिन्– प्रत्येक हिमालको आफ्नै सुन्दरता र चुनौती छ

काठमाडौं– माया गुरुङ सिन्धुपाल्चोक जिल्लास्थित जुगल हिमालको काखमा हुर्केकी हुन् । हिमाललाई हेर्दा उनलाई हिमाल चढ्ने इच्छा लागिरहन्थ्यो । सानो हुँदा उनलाई जुगल हिमाल सगरमाथा हो भन्ने लागेको थियो, उनले पछि पो थाहा पाइन्, त्यसो होइन रहेछ । त्यो हिमश्रृङ्खला त ग्याल्जेन हिमालसहितका ११ हिमाल रहेका जुगल हिमश्रृङ्खला पो रहेछन् । पहिचान भएका ११ हिमालमध्ये ८ हिमालहरु ६२५६ मिटर देखि ६९६६ मिटर अग्ला छन् ।

अन्ततः उनले अप्रिल १९, २०१९ का दिन बिहान ११ बजे ६१५१ मिटर उचाइको ग्याल्जेन हिमाल चढिन् ।

विश्वका सात महादेशमा रहेका सात उच्च हिमालको आरोहण गरेपछि बल्ल उनले ग्याल्जेन हिमाल आरोहण गरिन् । आफ्नै गाउँमा केही गर्ने उनको विचार थियो । पर्वतारोहीका रुपमा उनले आफ्नो गाउँमा पर्यटनको विकास गरी उनी आफैंले आरोहण गर्नुअघि कसैले नचढेको ग्याल्जेन हिमाल आरोहणलाई प्रवद्र्धन गर्ने उनको चाहना छ ।

नेपालमा सयौं हिमालहरु छन्, यदी हिमालहरुको प्रवद्र्धन भएको खण्डमा यसबाट व्यापार, होटेल व्यवसाय, रोजगारीको सिर्जना भई विकासमा पहल हुने थियो ।

काठमाडौंबाट नजिकै भएपनि यसलाई कसैले पनि आरोहण गरेका थिएनन् । ‘हामी पर्यटनका सम्भावनाहरुको खोजी गरी रोजगारी र आय बढाउन चाहन्छौं,’ उनले भनिन् ।

ग्याल्जेन हिमाल तुलनात्मक रुपमा छोटो समय तथा सानो खर्चमा पनि चढ्न सकिन्छ । हिमाल अरोहण अनुमति लिन नेपालीलाई ४ हजार र विदेशीलाई २५० डलर तोकिएको छ । ८ हजारभन्दा मुनीका हिमाल आरोहण गर्न चाहने आरोहीले यसको आरोहण गर्न सक्छन ।

उनका अनुसार सगरमाथा आरोहण गर्नुअघि आरोहीको सीप विकासका लागि तालिम दिलाउन समेत ग्याल्जेन हिमालको प्रवद्र्धन गर्न सकिन्छ । सगरमाथा आरोहण गर्नुअघि होचा हिमालहरुको आरोहण गरेको हुनुपर्ने अनिवार्य व्यवस्था गर्न सक्ने आरोहीहरु बताउँछन् । यसबाट आरोहीहरु दुर्घटनाबाट जोगिने र उनीहरुको ज्यान जोगिनुका साथै फिटनेस जाच्न सकिने उनीहरुको भनाइ छ ।

सगरमाथासहितका अन्य ७ हिमालको आरोहण गर्नु र ग्याल्जेन हिमालको आरोहण गर्नुमा धेरै नै अन्तर रहेको माया गुरुङ बताउँछिन् । उनका अनुसार पहिलोपटक आरोहण गरिएकाले ग्याल्जेन हिमाल चढ्ने बाटो क्याम्पहरुको व्यवस्था आफैं गर्नुपरेकाले ग्याल्जेन हिमाल आरोहणको हरेक कदम कोसेढुङ्गा रहेको उनको भनाइ छ । उनको आरोहण दलमा उनीसहित मिलन लामा र शर्मिला थापा पनि सामेल थिए ।

‘हाम्रो आँखा टालिएको थियो, हामीलाई हिमालको शिखरबाहेक अरु केही थाहा थिएन । आरोहण दलका अरु आरोहीहरु अनुभवहीन पनि थिए । नयाँ साथीहरुसँग हिमाल आरोहण गर्नु ठूलो चुनौति हो । हामीले उनीहरुको स्वास्थ्यसहित सबै कुराको ध्यान दिनुपर्छ ।

हामीले ४५००० मिटर उचाईको ग्याल्गेन हिमालमा क्याम्प खडा गर्यौं । यहाँबाट जुगल श्रृङ्खलाका अरु ६ हिमाल आरोहण गर्न सकिन्छ । वातावरणमा अभ्यस्त हुन २–३ दिन सम्म हामी त्यही बस्यौँ । त्यपछि हामीले ४७०० मिटरसम्म पुग्यौं । तयसपछि फेरि ५ हजार मिटरको उचाइमा हामीले क्याम्प बनायौं । हामीले चिरा परेको दरारबाट जोगिन रातभर उकालो चढ्यौं । हामीलाई शिखर पुग्न २३ घण्टा लाग्यो । तर ओर्लिने बेला हामीले छोटो बाटो पत्ता लगायौं । यसकारण ओर्लिन भने आधा समय पनि लागेन । अहिले आरोहीहरु छोटो बाटो प्रयोग गर्न सक्छन् । ग्याल्जेन हिमालको बाटो निश्चित भइसकेको छ भने हामीले आरोहीलाई सहयोग पुगोस् भन्ने हिसाबमा हामीले नक्सा पनि तयार पारेका छौं ।

उनी आफ्नो हिमाल आरोहणको सम्झना गर्छिन् । उनीले सन् २००८ मा अरु १० महिला आरोहीसहितको ‘फस्ट इनक्युसिभ वमन सगरमाथा एक्सपिडिसन दलका साथ सगरमाथाको आरोहण गरेकी थिइन् । यससँगै उनी गुरुङ समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बन्न समेत सफल भइन् ।

पर्वतारोहणमा महिलाहरुको सहभागिता बढाउने उद्देश्यका साथ दागोम्बु शेर्पा र पेम्बा दोर्जी शेर्पाको परिकल्पनामा निर्माण भएको यो आरोहण दलमा साइली बस्नेत, पुजन आचार्य, माया गुरुङ, आशाकुमारी सिंह, निम्दोमा शेर्पा, पेमा डिकी शेर्पा र चुनु श्रेष्ठ सहित १० नेपाली महिला आरोहीको सहभागिता थियो । फरक जातीय पृष्ठभूमीका आरोहीहरुमध्ये अधिकांश पर्वतारोहणका लागि नयाँ थिए । उनीहरुले मे २००८ मा सगरमाथाको शिखरमा पुग्दै इतिहास कायम गर्न सफल भए । अनेकतामा एकता भन्ने सन्देशका साथ सगरमाथा आरोहण अभियानमा लागेको यो समूह सगरमाथाको शिखरमा पुग्ने सबैभन्दा ठूलो महिला सम्मिलत दल बन्न पुग्यो ।

त्यसपछि सन् २००९ जनवरी १ मा उनका साथ साथीहरु मिलेर ‘एभरेष्ट वुमन सेभेन समिट्स एको एक्सन’ नामक समूह बनाएर ७ महादेशका ७ अग्ला हिमाल आरोहण गर्ने योजना बनाए । ‘टुगेदर वि आर हायर’ भन्ने नाराका साथ हरेक महादेशमा रहेका सर्वोच्च शिखर पुग्ने यो समूहको उद्देश्य थियो । उनीहरुले शिक्षा, सशक्तिकरण र वातावरणको सन्देशलाई हरेक महादेशका हरेक उच्च शिखर पुर्‍याउन चाहन्थे ।

उनीहरुले एशियाको सगरमाथा (८८४८ मिटर), अष्ट्रेलियाको काउजियास्को हिमाल (६९६२ मिटर), युरोपको एल्ब्रुज हिमाल (५६४२ मिटर) अफ्रिकाको किलिमन्जारो (६१९४ मिटर) दक्षिण अमेरिकाको अकोन्कागुवा (६९६२ मिटर), उत्तर अमेरिकाको डेनाली हिमाल (६१९४ मिटर) र अन्टार्कटिकाको भिन्सन मसिफ (४८९२ मिटर) को आरोहण गरिसकेका छन् ।

उनी भन्छिन्, ‘हरेक हिमालका आफ्नै सुन्दरता र चुनौति हुन्छन् ।’

भर्खर

0