लेखकहरु नै पढ्दैनन् ! | Khabarhub Khabarhub

लेखकहरु नै पढ्दैनन् !


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‘यति सानो मुलुकमा कति धेरै लेखक जन्मिएका?’ कहिलेकाहीँ म आफैँसँग प्रश्न गर्ने गर्छु ।

मञ्जरी पब्लिकेसनसँग सम्बद्ध हुनुको नाता हरेक दिनजसो नयाँ–पुराना लेखकहरु पङ्तिकारको सम्पर्कमा आउनु हुन्छ । आफ्नो कृति प्रकाशनका लागि । कहिलेकाहीँ त दुई–तीन जना पनि । कोही फेसबुकबाट सम्पर्क गर्नु हुन्छ, कोही प्रत्यक्ष भेटेर । सरदर सातामा दश जनासँग पङ्तिकारले एकैखाले कुरा गर्नुपर्ने हुन्छ ।

पुराना कृति प्रकाशनलाई प्राथमिकता दिने भएकाले स्थापित स्रष्टाहरुसँग कुरा गर्ने हाम्रो आफ्नै तरिका छ । तर नयाँ स्रष्टाको हकमा भने पङ्तिकारले मात्र दुइटा प्रश्न गर्ने गरेको छः ‘तपाईंले पढ्नु भएको पछिल्लो पुस्तक कुन हो ?, अनि पढेमध्ये सबैभन्दा बढी कुन पुस्तकले छोयो ?’

पङ्तिकारको मान्यता हो–लेखनमा आउन चाहने कोही पनि नवोदित स्रष्टा बजारमा आएका पुस्तकबारे जानकार हुनै पर्छ । यसको अर्थ बजारमा आएजति सबै पुस्तक पढ्नु पर्छ भन्ने होइन । कम्तीमा आफ्नो विधाका पुस्तकमा चै पढ्नै पर्छ । गजल बिधाका स्रष्टाले गजल, कवि हूँ भन्नेले कविता, उपन्यासकारका रुपमा चिनिन चाहनेले उपन्यास पढेकै हुनुपर्छ । सबै नसके पनि नेपाली साहित्यमा राम्रा मानिएका आफ्नो विधाका कृति छिचोलेकै हुनुपर्छ ।

स्थापित कृतिहरु पढ्दा त्योभन्दा राम्रो कसरी लेख्ने भन्ने हुटहुटी लाग्छ । हिनता र संकोच भाग्छ । अरुभन्दा फरक हुने आत्मविश्वास जाग्छ । भाषा, शैली र कथ्यमा सुधार हुने त छँदैछ, कतिपयमा प्रतीभाहरुमा नौलो शैलीको प्रस्फूटन पनि हुन सक्छ ।

तर दुःखको कुरा, पङ्तिकारको सम्पर्कमा आउने अधिकांश स्रष्टा पहिलो प्रश्नको उत्तरमै फेल हुन्छन् । किनकि लेखनमा आउन चाहने उनीहरु बजारमा आएका पछिल्ला पुस्तकबारे जानकार नै हुँदैनन् । निशङ्कोच स्वीकार्छन्, ‘मैले खास पढ्न भ्याएकै छैन । अथवा ‘खास मैले अरुका कृति पढ्ने गरेकै छैन ।’ दुःख मान्दै पङ्तिकारले उनीहरुसँग भन्ने गर्छ– ‘तपाईँ आफू अरु स्रष्टाका कृति पढ्नु हुन्न भन्ने अरुले तपाईंको पढ्छन् भन्ने के ग्यारेन्टी छ ?’

कतिपयले चाहिँ बजारमा आएका यस्ता पुस्तकको नाम लिन्छन् कि तिनलाई आफ्नो बहुमूल्य समय दिएकोमा पङ्तिकार आफैँलाई लज्जाबोध हुन्छ ।

भेट्न आउनेमध्ये धेरैजसोलाई पहिलो प्रश्नैले काण्ड पुर्‍याउँछ । दोस्रो प्रश्न सोध्ने आवश्यकतै पर्दैन ।

खासमा दोस्रो प्रश्नचाहिँ पङ्तिकारले उक्त लेखकको बौद्धिक हैसियत अर्थात् चेतनाको स्तर थाहा पाउनलाई सोध्ने गर्छ । उसले आफूलाई मन परेको उपन्यासमा धच गोतामे, पारिजात, विश्वेश्वरप्रसाद कोइराला, डा. तारानाथ शर्मा, राजेश्वर देवकोटाका कृति आदिको नाम लिन्छन् कि अहिलेका बजारु उपन्यासको ? त्यसबाट ती लेखकलाई आफूले कति महत्व दिने भन्ने निक्र्योल निकाल्छ ।

पङ्तिकारको अपेक्षा हुन्छ–कथाको पाण्डुलिपि लिएर आउनेले पुष्कर समेशर, विजय मल्ल, मनु ब्राजाकी, परशु प्रधान, प्रेमा शाह, माया ठकुरी आदिको नाम लिइदिउन् । कविताकृति छापियोस् भन्नेहरुले ईश्वरबल्लभ, बासु शशी, मोहन कोइराला आदि पढेका होउन् । निबन्धकृतिका कुरा गर्नेले रामलाल अधिकारी, गणेशबहादुर प्रसाई, कृष्ण धरावासी आदिलाई समेत कृतिगत रुपमै चिनेका होउन् । भैरव अर्यालका व्यङ्ग्य–इतर रचना छिचोलेका होउन् । तब न गफिन पनि मजा हुन्छ !

उनीहरुका उत्तरबाट पङ्तिकार आफू निराश हुनु परे पनि उनीहरुलाई सकेसम्म उत्साहित नै बनाउन खोज्छ । पठन संस्कृतिको महत्व बुझाउँछ । अरुका कृति पढ्नुका फाइदाका बारे बताउँछ । नेपाली साहित्यका स्थापित स्रष्टाहरुका कृति पढ्ने त्यसपछि आफ्ने कृतिको स्व–सम्पादनमा लाग्ने सल्लाह दिन्छ । कथाकार बन्न चाहनेलाई कथाकै कृति सुझाउँछ, उपन्यासकार बन्न चाहनेलाई उपन्यासकै ।

तर विडम्बना, पङ्तिकारले सल्लाह दिएको बढीमा एक महिना नबित्दै अर्को अमूक प्रकाशन संस्थाबाट ती स्रष्टाको कृति नै बजारमै आइपुग्छ । उदाहारण अनेकौँ छन् ।

बाटोमा कहीँ जम्काभेट भइहाल्यो भने हान्ने गोरुले जस्तै गरी हेर्छन् । आँखाको भाकाबाट भनिरहेका हुन्छन्– ‘तैले नछापेर के भो ? मैले किताब बजारमा ल्याइहालेँ ।’

वर्षभरिमा दुई सयप्रति पुस्तक पनि नबिकेपछि तिनैहरु नै फेसबुकमा लेख्छन्–‘प्रकाशकहरु सब चोर रहेछन् ! लेखकलाई चुसेर धनी हुनेहरु !’ तिनलाई प्रकाशकको पीडा के थाहा ?

कति छन् साहित्यिकारहरु !

केही वर्षयता देशमा गजलको माहौल छ । एक अनुमानअनुसार प्रत्येक जिल्लामा ५० जनाको हाराहारीमा गजलकार छन् । २५ जनाको हाराहारीमा कवि अनि उपन्यासकार तथा निबन्धकारहरु १०–१२ जनाको हाराहारीमा छन् । कुनै जिल्लामा बढी छन्, कुनैमा कम । यो आँकडा औसतका आधारमा निकालिएको हो ।

यस आधारमा हर्दा गजलकारहरु करिब चार हजार गजलकार, दुई हजार जति कवि अनि एक–एक हजारको संख्यामा उपन्यासकार तथा निबन्धकारहरु छन् । नेपाल प्रज्ञा प्रतिष्ठान र अन्य साहित्यिक संघसंस्थाहरुले निकालेका साहित्यिकारहरुका चिनारी पुस्तक तथा साहित्यिक अनुसन्धानात्मक कृतिहरुमा समेटिएका र छुटेका नामहरु हेर्दा मात्रै पनि देशभर रहेका साहित्यकारहरुको अनुमानित संख्या प्रष्ट हुन्छ । तपाईंले आफ्नै गृह जिल्लाभरमा कवि भनेर चिनिएकाहरुको संख्या कति छ भनेर मनमनै गन्नु भयो भने पनि औसतका आधारमा देशभरको अनुमानित संख्या निस्कन्छ ।

यदि स्रष्टाहरुले एक–अर्काको नयाँ कृति किनेर पढ्ने संस्कार भैदिने हो भने सबैभन्दा बढी मालामाल गजलकारहरु हुन्थे । लेखेरै बाँच्ने मात्रै होइन, कार चढेर हिँड्न सक्ने हैसियतमा पुग्थे । तर विडम्बना, नाम चलेका केहीका बाहेक अधिकांश गजलकारका कृति पाँच सयप्रति पनि बिक्दैनन् । आफूलाई गजलकार भनेर चिनाउन चाहनेहरुका घरमा बूँद राना, प्रकट पंगेनी शिव, ज्ञानुवाकर पौडेलका कृति हुँदैनन् । कृष्णहरि बरालको ‘गजल सिद्धान्त र परम्परा’ पढ्ने त झन् देशभरमा दुई सय गजलकार पनि नहोलान् ।

कविहरु झनै पढ्दैनन् । कविता–वाचनको कार्यक्रम सुन्नासाथ सब काम छाडेर दौडिने छन्दकविहरुमध्ये धेरैजसोका घरमा कविशिरोमणि लेखनाथ पौड्याल र जगन्नाथ गुरागाईका कृति पनि हुँदैनन् । तिनले चक्रपाणि चालिसे, सोमनाथ सिग्द्याल मात्रै होइन अहिलेका सुदेश सत्याल पनि चिन्दैनन् । दर्शकदीर्घामा दुई जना स्रोता भए पनि कविता सुनाउन मरिहत्ते गर्ने तिनीहरुले अरु स्रष्टाका कृति किनेर पढेनन् भन्नु नै बेकार हो ।

गद्य–कविहरुमा पनि त्यही रोग छ । नयाँ पुस्ताका धेरैजसो कविहरु मनु मञ्जिल, रमेश क्षितिज, नवराज पराजुली हुने सपना देख्छन् । कतिपयले वाचनमा ठ्याक्कै पराजुलीकै देखासिकी गर्ने गरेको पनि देखिएको छ । तर पुराना पाका स्रष्टाहरु बम देवान, जसराज किराती, तुलसी दिवस, तीर्थ श्रेष्ठ, दिनेश अधिकारी आदिलाई तिनले चिन्दा पनि चिन्दैनन् । ती स्रष्टाका कृति बजारमा देखे भने पनि किन्दा पनि किन्दैनन् ।

नव–कविहरुको यही रोगका कारण धेरैजसो प्रकाशकहरु कविता–कृतिमा लगानी गर्नै चाहँदैनन् । अरुका कृति किनेर नपढ्ने त्यस्ता कविहरुका छेउ पर्नै चाहँदैनन् ।

तर तिनै कविहरु गुनासो पोख्छन्–‘प्रकाशकहरुले कविताकृति छाप्दैनन् ।’ उनीहरुलाई पङ्तिकारको भनाइ छ– एकले अर्काको कृति किनेर पढ्ने अभियान चलाउनोस् तपाईँहरुको लेखन परिकृष्त र परिमार्जित हुन्छ नै, तपाईंमा आत्मविश्वास पनि बढ्छ । प्रकाशकहरुबीच कविताकृति छाप्ने होडबाजी चल्छ । रोयल्टीले नै तपाईँहरुको घरको चूल्हो बल्छ । लेखनमा परिष्कार र निखार ल्याउनु भयो भने वाचनका लागि ठाउँ–ठाउँबाट बोलावट हुन्छ । तपाईंले चढ्ने कार अर्कैले धुन्छ । घरभित्रै तपाईँलाई सम्मानित ढङ्गले हेरिन्छ । समाजमा तपाईंको प्रतिष्ठा फेरिन्छ ।

नयाँ उपन्यासकारहरु चै केही हदसम्म पढ्छन् । त्यही कारण राम्रा मानिएका उपन्यास दुई हजारको हाराहारीमा बिक्छन् पनि । तर अध्ययनको जुन प्यास, छटपटी हुनुपर्ने हो त्यो चै देखिएको छैन । त्यही कारण नयाँ पुस्ताबाट गतिलो उपन्यास लेखिएको छैन ।

पछिल्ला वर्षको साहित्यिक पुस्तकको माहौल सँगै केही उपन्यासकारहरु रोयल्टीबाटै कार चढ्ने हैसियतमा पुगेका छन् । लेखेरै बाँच्नेहरुको संख्या बढ्दै गएको छ । नवोदित लेखकहरु तिनैहरुजस्तै हुन सपना देख्छन् । तर तिनीहरु कुन खालको सङ्घर्षबाट त्यो अवस्थामा पुगेका हुन्, तिनले कस्ताकस्ता खालका कृति पढ्छन्, अध्ययनमा दैनिक कति समय लगाउँछन् जस्ता कुरामा पटक्कै ख्याल गर्दैनन् ।

लेखकहरुमा अरुका कृति पढ्ने संस्कारको विकास हुने हो भने त्यसबाट समाजमा सकारात्मक प्रभाव पर्ने पक्का छ । साहित्यमा लागे दुःख पाइन्छ भन्ने आम धारणालाई परिवर्तन गरी साहित्यमा लागेर सेलिब्रेटी बन्न सकिन्छ भन्ने मान्यता स्थापित गर्न सकिन्छ । स्रष्टाका छोरा–छोरी, भाञ्जा–भाञ्जी, भतिजा–भतिजीले पनि पाठयक्रमबाहेकका पुस्तक पनि पढ्नुको महत्व अनुभूत गर्न पाउँछन् ।

गाउँसमाज, नातागोता र आफन्तमा पढ्ने संस्कारको विकास हुन्छ । अप्रत्यक्ष रुपमै भए पनि समाजलाई सुसंस्कृत र सभ्य बनाउनमा मद्दत पुग्छ । एउटा अध्ययनमा भनिएको छ– किनिएको एउटा पुस्तक औसतमा दश जनाले पढ्छन् । तर दुःखको कुरा पछिल्लो सयम स्थापित भनिने स्रष्टाहरु नै पुस्तक किनेर पढ्दैनन् । नयाँ पुस्ताले पढेन भनेर के गुनासो गर्नु ?

(मञ्जरी पब्लिकेशनका कार्यकारी प्रमूख अविरल उपन्यासकार तथा गीतकार हुन् ।)

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ९ : १६ बजे

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु