नेपालीको वास्तविकता– विपन्न देशका सम्पन्न नागरिक « Khabarhub
Logo
६ असार २०७८, आइतबार

नेपालीको वास्तविकता– विपन्न देशका सम्पन्न नागरिक



विगत केही वर्षयता पहाडी भेगमा विरलै खरको छाना भएको घरहरु देखिन्छन् । बाटो–घाटोको सञ्जाल व्यापक विस्तार भएको छ । भीरपहिरो छिचोल्दै पहाड चिरेर पर्ती जमिनमा (सरकारी स्वामित्व भएको जमिनमा) डोजर कुदाएर निर्मित सडकहरुले गाउँ तथा शहरी क्षेत्रहरु जोडेको अवस्था छ । सडक निर्माणले गर्दा मानिसलाई मात्र होइन गधा, खच्चड, भेडा, च्यांग्रा आदिको काँध तथा ढाडलाई राहत मिलेको छ । मधेसमा पनि फुसका घरहरुको संख्या घट्दै गएको छ ।

विगतमा ढुवानीका साधनको रुपमा रहेका बयल–गाडा, हात्ती–घोडाहरुलाई ट्याक्टरले विस्थापित गरिसकेको सकेको छ । पहाड मधेस जताततै गाउँ घरमा मोटर साइकलहरुले घर आगनसँगै निर्माण भएका गोठहरुमा देखिने गाईवस्तुलाई विस्थापित गर्न थालेका छन् । चामल, चाउचाउ अन्य पेय पदार्थ लगायत, लुगाफाटो, दैनिकी संचालनका आवश्यकता सामग्रीदेखि, निर्माण सामाग्रीहरु जस्तै सिमेन्ट, पोलेको इट्टा आदि वस्तुहरु सुलभ उपलब्ध हुन थालेका छन् ।

विगतमा शौचका लागि छेकटो खोज्ने पहाडका नागरिक र मैदान जाने तराईका नागरिकको चेतनास्तरमा सुधार आएको छ र यसलाई शौचालयले विस्थापित गरेको छ ।  खाली खुट्टा र फाटेको लुगा लगाएका मानिसहरु विरलै भेटिन्छ । पहाड मधेश सबै ठाउँहरुमा युनिफर्म लगाएका केटा केटीहरु विद्यालय गइरहेका भेटिन्छन् । स्कूल तथा स्वस्थ्य चौकी भवनहरु पनि बनिरहेका छन् ।

पहाडी भेगमा बाँझो जमीनहरु प्रशस्त देखिन थालेको छ । मधेसमा भने दुई तीन बाली खेती हुन थालेका छन् । पहाडी भेगमा जमिन बाँझो हुनुको प्रमुख कारण श्रमको अभाव हो । तराईमा भने उत्पादन धेरै हुने र कृषि कर्म सहज भएका कारण जमिनहर बाँझो देखिएको छैन ।

पहाडमा वन जंगलहरु उत्साहजनक रुपमा फैलेको छ तर मधेसमा भने जंगल र आवादी बीचको दूरी बढ्दो छ । भौगोलिक विविधताका कारणले रमणीय मुलुक त्यही भौगोलिक बनावटकै कारणले गर्दा समस्यामा परेको छ ।  प्रायः सबै नदीहरु उत्तर दक्षिण बग्छन् । पहाडलाई चिरेर जमिन भन्दा धेरै गाहिराइमा नदीहरु बग्ने गर्दछन् । वर्षायाममा खोला नालाहरुमा बाढी आउँछ र ढुंगा बालुवाहरु डाँडापाखाबाट बगाएर समतल खण्डहरुमा थुप्रने गर्दछ ।

त्यसरी थुपारिएका ढुंगा बालुवाहरुले खहरे खोलाहरुको सतह समतल जमिन भन्दामाथि तुल्याउने क्रमले द्रूत गति लिन थालेको छ । यही करणले गर्दा खहरे नदी नालाहरुमा आउने वर्षायामको बाढीले पनि धेरै खेत बारीहरुलाई खेती गर्न नमिल्लने बगरमा परिणत गर्ने क्रम बढेको छ ।

जमिनको स्लोप उत्तर दक्षिण भएको हुनाले सिचाई सहज छैन । हाम्रो अधिकांश खेती प्रणाली सिंचाईमा आधारित छ । तर पर्याप्त मात्रामा सिचाईको व्यवस्था हुन सेकेको छैन । विगतमा जमिनको उर्भराशक्ति बढाएर उत्पादन बढाउने अभ्यासहरुले सिमित सफलता हासिल गरेको छ ।

शहरी क्षेत्रको विस्तार भने अपूर्व रुपमा भएको छ । साना ठूला शहरी क्षेत्रहरुमा सुविधाहरु ओइरन थालेको देखिन्छ । निजी सवारी साधन कार, मोटरसाइकल, स्कुटर, तिन पाङ्ग्रे रिक्सा, जीप, टिप्पर तथा ट्रकहरुको बाक्लो उपस्थिति पाइन्छ । नयाँ–नयाँ घरहरु, पेट्रोल तथा डिजेलबाट सञ्चालन हुने सवारी साधनहरुको बढ्दो चाप तथा मानिसमा देखिने लवाइखवाई आदिबाट शहरी क्षेत्रको आय ग्रामीण क्षेत्रको भन्दा निक्कै बढी भएको अनुमान काट्न सकिन्छ ।

शहरी क्षेत्रहरुमा बढी आय हुने रोजगारीको सम्भावना लगायत वैदेशिक रोजगारीका सुलभ अवसरहरु प्राप्त हुने हुँदा पहाड मधेशबाट शहरी क्षेत्रतर्फ मानिसको आकर्षण बढ्दो छ ।  ग्रामीण क्षेत्रमा बस्नेहरु देशका प्रमुख शहरी क्षेत्रहरुतर्फ आकर्षित हुँदै बसाई सर्ने क्रममा बृद्धि आएको छ ।

विकासका परिसूचकहरुलाई आधार मान्ने हो भने हाम्रो अवस्था विपन्न राष्ट्र कै छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण भए पनि हामीसँग प्रमाणित बहुमूल्य खनिज पदार्थहरु छैनन् । जमिनको उत्पादन तथा उत्पादकत्व न्यून भएका कारणले कृषिमा आधारित श्रमजीवीहरुको आय अत्यन्तै कम छ । प्राकृतिक प्रकोप जस्तै बाढी पहिरो आदिका कारण उत्पादन सोचे अनुरुप हुन सकेको छैन ।

अर्को तर्फ बजार तथा मूल्य व्यवस्था बिचौलियाहरुको मुठ्ठीमा परेको हुनाले किसानहरुले परिश्रम अनुरुपको लाभ पाउन सकिरहेका छैनन् । उनीहरुले आफ्नो लागतसमेत उठाउन नसक्ने अवस्था बनेको छ भने उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्था छ ।

आधारभूत उद्योगधन्दाहरु सुकेनास रोग लागेको जस्तो अवस्थामा छन् । औद्योगिक क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा पु¥याउने योगदान स्थिर छ वर्षौंदेखि ।सरकारले जतिसुकै औद्योगीकरणको ढोल पिटे पनि राजनीतिकरण जस्ता कारणहरुले गर्दा उद्योगधन्दा फस्टाउन सकिरहेको छैन ।

नदीहरुको चरम दोहनका कारण ढुंगा, गिट्टी, बालुवा तथा पहाड खनेर सिमेन्ट उत्पादन आधारित उद्योगहरु फष्टाएका छन् र केही उद्योगी र विचौलीयालाई फाइदा पुगेको छ । यसले केही व्यक्तिलाई फाइदा पुगे पनि राष्ट्रिय आयामा खासै सहयोग भएको देखिएको छैन ।

सरकारको राजश्व संकलन वर्षेनी बढ्दै गएको छ । संकलित राजश्व रकमको बृद्धिसँगै सरकार सञ्चालन अर्थात् साधारण खर्चमा पनि वृद्धि आउन थालेको छ । विकास खर्च, जुन सरकारको लगानी खर्च हो त्यसमा भने वृद्धि हुन सकेको छैन । सरकारी आयमा आएको वृद्धिसँगै सरकार सञ्चालकहरुको बिलाशिता खर्चमा अभिवृद्धि भएको छ ।

निजी क्षेत्रले पनि उत्पादनको क्षेत्रतर्फ लगानी बढाउन भन्दा बढी विलासितामा खर्च गर्न थालेका छन् ।  फलस्वरुप विदेशी विलासी साधन तथा सामानहरुको खपतमा अत्याधिक वृद्धि आउन थालेको छ ।

सर्वसाधरणले विदेशमा बनेका सामानहरु सुलभ उपलव्धताको भरपुर उपयोग गरिरहेका छन् । जसका कारण हाम्रो आयतमा वृद्धि भएको छ । हामी परजीवि भएका छौं । आयातमा वृद्धि अझैं बढ्दै जाने सम्भावना उच्च छ ।

हाम्रो आय तथा क्रयशक्तिमा वृद्धि हुनाको प्रमुख कारण वैदेशिक रोजगारीबाट भित्रिने पूँजी, बढ्दो सरकारी खर्च, विभिन्न गैरसरकारी संस्थाहरुको देशको विभिन्न स्थानमा भएको उपस्थिति पनि हो ।

रेमिट्यान्सले पारिवारिक आयको ठूलो हिस्सा ओगटेको छ । वास्तवमा कति नेपाली श्रमशक्ति विदेश पलायन भएको छ भन्ने यकिन तथ्यांक सरकारसँग पनि छैन । किनकी वैधानिक किसिमबाट विदेश जाने अनि आर्जेको रकम संस्थागत माध्यमबाट पठाउनेहरुको संख्या कम छ ।

देशमा रोजगारीका अवसरहरुको अभावका कारणले गर्दा श्रमजीवीहरु अर्थोपार्जनका लागि अन्य मूलुकमा जाने हुन् । विदेशमा जस्तै रोजगारीको अवसर र आय हुने सम्भावना हुने हो भने युवाहरु विदेश पलायनतर्फ आकर्षित हुने थिएनन् ।

असुरक्षा लगायतका कारण पनि सरकारले प्रतिवन्ध लगाएका देशमा जाने बारे त युवा श्रमशक्तिले सोच्ने नै थिएन । मुलुकले विदेशमा उपलब्ध हुने जस्तै रोजगारीको अवसर तथा आय दिन नसक्नुको कारण गरिबी नै हो ।

कस्तो विडम्वना नागरिकहरुको आयमा वृद्धि भएको हुनाले सम्पन्न छन् । तर त्यो सम्पन्नताको मूल श्रोत मुलुक बाहिरबाट भएको कमाइ हो ।

अन्त्यमा, देशको अर्थतन्त्र कमजोर छ, निर्यातभन्दा आयात धेरै छ । विश्वको गरिब देशको सूचीमा नेपाल पर्छ, तर पनि नेपालीहरुमा विलासिताका वस्तुहरुको क्रय क्षमतामा वृद्धि भएको छ । दुःख पाएकाहरुको भन्दा सुकिला–मुकिलाहरुको उपस्थिति समाजमा धेरै देखिन्छ त्यसकारण यस अवस्थामा रहेको देशलाई ‘सम्पन्न नागरिकको विपन्न देश’ भन्दा अनुपयुक्त नहोला कि ?


भर्खर

0