चर्चा, बहससँगै विवादमा तानिए पशुपति शर्मा | Khabarhub Khabarhub

चर्चा, बहससँगै विवादमा तानिए पशुपति शर्मा


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चर्चित लोकगायक पशुपति शर्मा अहिले चर्चाको शिखरमा छन् । युट्युबमा आफ्नो गीत सार्वजनिक गरेको २४ घण्टा नबित्दै आफैंले हटाएपछि उनी चर्चा, बहस र विवादको विषय बनेका छन् ।

उनले गीत हटाउनुको कारणबारे स्पष्ट पार्दै संशोधन गरेर फेरि सार्वजनिक गर्ने जानकारी दिएका छन् । तर, अहिले सामाजिक सञ्जालमा भने उनको गीतलाई सरकारले ‘प्रतिवन्ध’ लगाएको र सरकारले नै युट्युबबाट हटाएको भन्ने प्रचार भइरहेको छ । र, सरकारको चौतर्फी चर्को आलोचना पनि भइरहेको छ ।

गीतले उठाएको विषयवस्तु जेसुकै भए पनि म यहाँ युट्युबबाट गीत हटाउने पशुपतिको कदम र त्यसपछि सामाजिक सञ्जालमा ब्यक्त सरकारविरोधी प्रतिक्रियाहरूबारे केही उल्लेख गर्न चाहन्छु । पंक्तिकार म स्वयं पनि पशुपति शर्माको फ्यान हुँ । मेरा गाडीमै पनि उनका गीतका कैयौं सीडीहरू छन्, काममा जाँदा आउँदा प्रायः बजाइरहन्छु । राजनीतिक आस्था, विचार जसको पनि हुन्छ । पशुपतिको पनि होला । यद्यपि, मलाई उनको राजनीतिक आस्थाबारे जानकारी छैन । यसबारे पनि म यहाँ केही उल्लेख गर्न चाहन्न ।

पशुपति आफ्ना गीतकै कारण लोकप्रिय बनेका हुन् । उनका गीत केवल मनोरञ्जनका लागि मात्र नभई उत्तिकै चेतनामूलक हुने गरेका छन् । उनले समाजमा केही गरौं र गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्ने गरेका छन् । यसर्थ उनी आलाकाँचा र केटौले होइन्, केही हदसम्म परिपक्व मान्न सकिने गायक हुन् ।

तर्कहरू जे पनि गर्न सकिएला, गर्न सकिन्छ । तर, केवल एउटा सर्वसाधारण ब्यक्तिका रूपमा हेर्ने सुन्ने हो भने उनको यो पछिल्लो गीतमा त्यति धेरै आक्रोष पोख्नैपर्ने म देख्दिनँ । केही शब्दहरूमा असन्तुष्टि जनाउन सकिएला । तर, आकाशै खसेझैं गरी आक्रोषित हुनुपर्ने विषय थिएन ।

उनले गीतमा जेजस्ता विषय र घटना उल्लेख गर्दै त्यसमाथि प्रहार गरेका छन्, ती दिनुहँ आमसर्वसाधारणबाट ब्यक्त हुँदै आइरहेका आक्रोष हुन् । फरक यत्ति हो, त्यो जनआक्रोषलाई उनले गीत बनाए । यसर्थ, बरु सरकार र सरकारसमर्थितहरूले यसलाई अहिलेको ब्यवस्था वा सरकारको विरोध भन्दा पनि केवल गलत कामलाई सच्याउँदै सही मागर्मा अघि बढ्न गरिएको खवरदारीका रूपमा सहजै स्वीकार्न सक्नुपर्थ्यो ।

सरकार समर्थितहरूले सहजै स्वीकार्न सकेनन्, त्यो पनि ठूलो विषय होइन । हिम्मत जुटाएरै गीत बजारमा ल्याएका थिए । त्यसैले आलोचना हुन्छ, त्यसलाई सहजै पचाउने वा आत्मसाथ गर्नसक्ने हिम्मत जुटाउनुपर्थ्यो उनले । त्यो हिम्मत जुटाउन सकेनन् । यसर्थ उनी डरपोक र कायर हुन् ।

अन्यथा पशुपति शर्मा जत्तिको ब्यक्तिले यी यी विषयमा आलोचना हुनसक्छ भन्ने अनुमान नगरी अचानक फ्याट्ट गीत सार्वजनिक गरे होलान् भन्न अलि नसुहाउला । पहिला गीत सार्वजनिक गरौं, कस्तो प्रतिक्रिया आउँछ, हेरौं । अलि बढी आलोचना भयो भने संशोधन गरौंला भनेर ‘देखा जायगा’को शैलीमा ल्याएका थिए भने त्यो उनको कमजोरी हो । कि त उनले जिम्मेवार भई पहिल्यै शब्दहरूलाई अलि जिम्मेवार र मर्यादित बनाउनुपर्थो ।

कि त आफूलाई ठीक लागेरै ल्याइसकेपछि आलोचना सहन सक्ने हिम्मत जुटाउनुपर्थ्यो । त्यो साहस देखाउन सकेनन् । डराए, त्यसकारण डरपोक देखिए उनी । विरोध हुन्छन्, आलोचना हुन्छन् । तर, त्यसलाई स्वीकार्नुको सट्टा हतारिएर आफैं ‘हैन हजुर मैले गल्ती गरेँ । माफ पाऊँ । म सच्याउँछु’ भनेर उनी स्वयंले गीत हटाएका छन् ।

विरोधीभन्दा पनि उनको समर्थक बढी देखिएका थिए । देखिइरहेका छन् । तर, समर्थकको मान राख्न सकेनन् । फलस्वरूप उनका समर्थकहरूले अहिले भ्रमको सहारा लिइरहेका छन्–सरकारले उनको गीतलाई प्रतिवन्ध लगायो भनेर ।

हो, गीतले सरकार, सरकारसमर्थित दल र तिनका कार्यकर्ताको मथिंगल हल्लाइदिएको थियो । त्यसैले सरकारसमर्थित दलका कार्यकर्ताहरूले गीतमाथि प्रतिवन्ध लगाउनुपर्छ भनेर आवाज उठाएका थिए । उनले बुझ्नुपर्थ्यो, आफ्नो साथमा समर्थकहरूको पनि उत्तिकै ठूलो पंक्ति छ भन्ने । तर,  उनले त ‘चोरको खुट्टा झिक्’ भन्दा चोरले खुट्टा झिकेको शैलीमा आफ्ले साँच्चै प्रतिवन्ध नै लाग्ने गीत बनाएछु भनेझैं रुन्चे विज्ञप्ति निकालेर गीत हटाए ।

केवल अनुमान गरौं, सरकारले उनको गीतलाई औपचारिकरूपमा प्रतिवन्ध लगायो रे । यदि त्यसो भएको भए उनले आम जनताको झन ठूलो साथ, समर्थन र सहानुभूति पाउन सक्थे । तर, त्यसो हुन पाएन ।

उनी आफैं पछि हटे । उनलाई धम्की दिइयो होला । तर, उनी धम्कीदेखि डराउने होइन । डटेर मुकाविला गर्न सक्नुपर्थ्यो । यदि कसैले धम्की दिएको भए मलाई धम्की दिइयो भनेर पत्रकार सम्मेलन गरी तिनीहरूलाई नांगेझार पार्न सक्नुपर्थ्यो । त्यसो गर्ने हिम्मत गर्न सकेनन् ।

त्यसैले आफूले हिम्मत गरेर सार्वजनिक गरेको गीतलाई केही ब्यक्तिहरूले आलोचना गरे भन्दैमा अडिग भएर आफ्नो सिर्जनाको बचाउ गर्न नसकी पछि हट्नु उनको कमजोरी हो । सामाजिक सञ्जालमा अहिले उनको गीतलाई सरकारले प्रतिवन्ध लगायो भनेर भ्रम छर्ने काम भइरहेको छ ।

सरकारका कुनै पनि निकायले औपचारिक रूपमा उनको गीतप्रति आपत्ति जनाउँदै प्रतिवन्ध त के प्रतिवन्धको ‘प’ पनि उच्चारण गरेको मलाई जानकारी छैन । मैले यहाँ सरकारको बचाउ गर्न खोजिरहेको छैन । तर, यदि म गलत छु भने कोही कसैले पनि उनको गीतलाई सरकारले प्रतिवन्ध लगाएको कुनै निर्णय वा आदेश जारी गरेको आधिकारिक जानकारी गराइदिए म आभारी हुने थिएँ ।

सरकारको आपत्ति थियो होला, त्यो बेग्लै कुरा हो । तर, सरकारले गर्दै नगरेको र पशुपति आफैंले युट्युबबाट हटाएको गीतलाई सरकारले प्रतिवन्ध लगायो भन्दै सरकारको आलोचना गर्नेहरूप्रति मेरो दया छ ।

सरकारको समर्थन गरेको ठहरिए पनि कोही बात छैन । तर, सरकारको आलोचना गर्न त त्यसबेला पो मज्जा आउँथ्यो । जब सरकारले साँच्चै यो गीतलाई प्रतिवन्ध लगाएको हुन्थ्यो ।  शुपति शर्माको फ्यान हुँ भनेर मैले माथि नै भनिसकेँ । त्यसकारण उनीप्रति मेरो कुनै आग्रह, पूर्वाग्रह र गुनासो छैन ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ८ : ३७ बजे

पठन-लेखन संस्कृति बढाउन कर्णालीमा ‘संस्कृति उत्सव’

कर्णालीमा पहिलो चरणको ‘संस्कृतिको उत्सव’ सुरू भएको छ । ‘खसभूमि

‘लगानी सम्मेलन अवसरको नयाँ ढोका, सरकारको उधारो प्रतिबद्धता चल्दैन’

सरकारले यही वैशाख १६ र १७ मा गर्न लागेको चौथो

व्यासमा जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाइने

काठमाडौं– व्यास नगरपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय

व्यासमा प्लास्टिक झोला निषेध

दमौली– तनहुँको व्यास नगरपालिकाले आगामी जेठ १ गतेदेखि नगरभित्र प्लास्टिक

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स