देशभर झण्डै ४० हजार वैध हतियार, गृहमन्त्रालयको भद्रगोल तथ्याङ्क | Khabarhub Khabarhub

देशभर झण्डै ४० हजार वैध हतियार, गृहमन्त्रालयको भद्रगोल तथ्याङ्क



काठमाडौं– फागुन २२ गते राति प्रहरीले कपिलवस्तुमा एक व्यक्तिको घरमा छापामारी एसएमजी राइफल, गोली, म्यागेजिन, पेस्तोलसहित ठूलो परिमाणमा हतियार बरामद गर्‍यो । त्यसअघि इटहरी र पोखराबाट पनि हतियार बरामद भएको थियो । यी सबै अवैध हतियार हुन् । श्रङ्खलावद्ध देखिएका यी घटना हेर्दा पछिल्लो समय पुनः हतियारको चलखेल बढ्न थालेको देखिन्छ ।

यसरी बढेको हतियारको चलखेलसँगै वैध हतियारको दुरुपयोग हुने सम्भावना समेत बढेको छ । नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) जयबहादुर चन्द भन्छन्, ‘संक्रमणकालीन अवस्थामा वैध हतियार पनि सुरक्षा चुनौती हुनसक्छ । त्यसैले कस्ता व्यक्तिका हातमा वैध हतियार छन् त्यसको मुल्याङ्कन गरी निगरानी बढाउनु आवश्यक छ ।’

आपराधिक पृष्ठभूमिकै व्यक्तिहरूले इजाजत पाउँदा हतियारको दुरुपयोग बढेको प्रहरीको ठहर छ । हतियार देखाएर धम्क्याउँदै रकम असुली गर्ने र ठेक्कापट्टा कब्जा गर्न सक्रिय हुने जस्ता घटना देखिएका छन् । यसअघि वैध हतियारको आडमा मिटर ब्याजको धन्दा चलाउने, अवैध वन्यजन्तुको शिकार गर्ने, धम्क्याउने, चन्दा असुल्ने, हप्ता असुली गर्ने गरेका घटना पनि सार्वजनिक भएका थिए ।

नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदी नेपालमा हुने अपराधिक घटनामध्ये ९५ प्रतिशत हतियारको आडमा हुन्छन् । सुवेदी भन्छन्, ‘लुटपाट, गुण्डागर्दी, फिरौती र धम्कीलगायतका घटनामा हतियारको प्रयोग बढेको देखिन्छ ।’

कस्ता छन् वैध हतियार ?

२००७ सालको परिवर्तनपछि सरकारले साना हतियारमाथिको नियन्त्रण गर्न कानूनी व्यवस्था नै गरेको थियो । कुनै व्यक्तिले राज्यको अनुमतिमा पनि साना हतियार राख्न नपाउने व्यवस्था थियो । तर, पञ्चायतकालमा दरबारको अनुमति र हुकम प्रमाङ्गीबाट पहुँचवाला व्यक्तिले साना हतियार राख्न थाले ।

पञ्चायतपछि बहुदलीय व्यवस्थामा पनि पहुँचवालाहरुले साना हतियार राख्न थाले । मन्त्रिपरिषद्ले विशेष निर्णय गरेर ‘सुरक्षा’का लागि भन्दै पहुँचवालाहरुलाई हतियार दिने व्यवस्था गरियो ।

अहिले भने सरकारले १२ बोर र २२ बोर राइफलका साथै हवाइफायर गर्न मिल्ने बन्दुक मात्रै व्यक्तिले राख्न पाउने व्यवस्था गरेको छ । यसबाहेक अन्य हतियार राख्ने छुट छैन । १२ बोरको राइफलका लागि १ सय राउन्ड गोली राख्न पाउने कानूनी व्यवस्था छ भने २२ बोरका लागि २ सय राउन्ड ।

कति छन् इजाजत प्राप्त हतियार ?

पछिल्लो ३ वर्षयता देशभर कतिले हतियारको इजाजत लिए त्यसको आधिकारिक तथ्याङ्क गृह मन्त्रालय सँग नै छैन । तर, मन्त्रालयका अनुसार, २०७२ असारसम्ममा देशभर इजाजत प्राप्त हतियारको संख्या ३४ हजार ३ सय १४ वटा थियो । त्यसमा पेस्तोल, रिभल्वर, भरुवा बन्दुक, १२ बोरको बन्दुक लगायत छन् ।

 

इजाजत प्राप्त हतियारको संख्या
पेस्तेल ३१२
रिभल्वर ११७
१२ बोरको बन्दुक १३८९२
२२ बोरको बन्दुक ४६६१
भरुवा बन्दुक १२०९१
हावादारी बन्दुक १०१०
अन्य २२३१
जम्मा ३४३१४

 

यी मध्ये काठमाडौंमा मात्रै ११ हजार अनुमति प्राप्त हतियार छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यका अनुसार अहिले पनि हतियार लिन चाहनेहरुको संख्या बढेको छ । जिल्ला प्रशासन कार्यालयमा हतियारको इजाजत लिनका लागि निवेदन दिनेको संख्या अहिले पनि उल्लेख्य मात्रामा रहेको प्रजिअ आचार्यले जानकारी दिए ।

अहिले देशभरका जिल्ला प्रशासन कार्यालयमा हतियार राख्ने अनुमतिका लागि निवेदन दिने र हतियार लिइसकेकाहरुको संख्या जोड्ने हो भने सुरक्षा निकायभन्दा बढी हतियार नागरिकले राख्न चाहेको देखिन्छ । नेपालमा अधिकांश हतियार अमेरिका, सिंगापुर, बेलायत, इटाली र जर्मनीमा बनेका हतियार ल्याउने गरिएको जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका हतियारको विवरणबाट स्पष्ट हुन्छ ।

कस्तो छ हतियार इजाजतको प्रावधान ? 

हातहतियार तथा खरखजाना ऐन २०१९ अनुसार, आफ्नो सुरक्षाको लागि जुनसुकै नेपाली नागरिकले पनि जिल्ला प्रशासन कार्यालयमार्फत इजाजत लिएर तोकिएको हतियार राख्न सक्छ । तर, त्यसका लागि उसले निश्चित मापदण्ड पूरा गर्नुपर्छ । प्रक्रिया अनुसार, हतियार राख्न सर्वप्रथम जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ ।

त्यो निवेदनसँगै सम्बन्धित व्यक्ति मानसिक र शारीरिक रुपमा स्वस्थ भएको चिकित्सकको सिफारिस पनि चाहिन्छ । निवेदनमाथि जिल्ला सुरक्षा समितिले अनुसन्धान गर्छ र ठिक लागेमा गृह मन्त्रालयमा सिफारिस गर्छ । मन्त्रालयले त्यसलाई स्वीकृत गरेपछि बल्ल जिल्ला प्रशासन कार्यालयले इजाजत दिन्छ ।

कानून अनुसार, एक व्यक्तिले एउटा अनुमतिपत्रका आधारमा ३ वटासम्म हतियार राख्न पाउँछ । अनि, एक घर परिवारमा ६ वटासम्म हतियार राख्न पाइन्छ । मन्त्रिपरिषद्द्वारा संशोधित हातहतिहार खर–खजानासम्बन्धी नियमावली, २०६७ मा लाइसेन्सवाला हतियार नामसारी गर्दा वा बेच्दा दस्तुर लाग्ने व्यवस्था छ ।

को सँग छ वैध हतियार ?

गृहमन्त्रालयको तथ्याङ्क अनुसार, वैध हतियार राख्नेमा ठूला उद्योगी र दलका नेताहरु बढी छन् । त्यस्तै सभ्रान्त वर्गले सोखका लागि पनि हतियार राख्ने गरेको पाइएको छ । ती बाहेक नाम कहलिएका थुप्रै गुण्डा नाईकेहरुसँग पनि हतियारको इजाजत छ ।

राजनीतिक दलका भात्रृसंगठनका केही नेता तथा कार्यकर्तासँग पनि हतियार रहेको तथ्याङ्क छ । नेपालका सबै बैंकले पनि हतियार राख्ने इजाजत लिएका छन् । एउटा बैंकसँग कम्तीमा ५ देखि ८ हतियारसम्म रहेको गृहमन्त्रालयको तथ्यांक छ ।

पूर्वएआइजी जयबहादुर चन्द भन्छन् – नागरिकलाई हतियारको इजाजत दिनै नहुने भन्ने होइन, तर हतियारको इजाजत दिँदा, इजाजत लिने व्यक्ति कस्तो पृष्ठभूमीको हो ? के गरिरहेको छ ? हतियार राख्न आवश्यक व्यक्ति हो कि होइन सवै कुरा विचार गरेर मात्रै दिनुपर्छ । तर, अहिले हतियारको इजाजत लिने व्यक्तिहरुको रेकर्ड हेर्ने हो भने अधिकांश इजाजत होल्डर कुनै न कुनै आपराधिक क्रियाकलापमा जोडिएका छन् । यसकारण पनि वैध हतियारको दुरुपयोग बढेको हो । त्यसैले इजाजत दिँदा हतियारको संवेदनशीलता ध्यानमा राखेर इजाजत दिनु राम्रो हुन्छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ११ : ०५ बजे

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को

राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरि काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको औचित्य पुष्टि