रातका 'उल्लू' रुसी राष्ट्रपति पुटिनका १५ रोचक किस्सा | Khabarhub Khabarhub

रातका ‘उल्लू’ रुसी राष्ट्रपति पुटिनका १५ रोचक किस्सा


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विश्वका शक्तिशाली नेता हुन् । सन् १९९९ मा तत्कालीन रुसी राष्ट्रपति बोरिस याल्त्सिनले प्रधानमन्त्री नियुक्त गरेयता पुटिन निरन्तर रुसी सत्तामा छन् ।

निकै चर्चामा आइरहने नेता भएपनि उनका बारे केही त्यस्ता तथ्यहरु छन्, जुन सबैलाई थाहा नहुन सक्छ । उनी ‘फिटनेस’मा निकै ध्यान दिने गर्छन् ।

सामान्यतया ‘फिटनेस’का लागि बिहान सबेरै उठेर रातमा चाँडै सुत्नुपर्छ भन्ने धारणा हुने भएपनि यो मामिलामा पुटिन नितान्त फरक छन् । न्युजविकका बेन जुडाले गरेको अनुसन्धान गरी आफ्नो पुस्तक ‘फ्रेगैल एम्पाएर’मा पुटिनको ‘रुटिन’बारे लेखेका छन् ।

विहान चाँडो उठ्दैनन्

राष्ट्रपति पुटिन बिहान अबेरसम्म सुत्छन् । नास्ता खाँदा दिन आधा ढल्किसकेको हुन्छ । उनको नास्तामा एक कचौरा हलुवासँग एउटा ठूलो अम्लेट हुन्छ । योसँगै बटेरको अण्डा र फ्रुट जुस पनि लिन्छन् । नास्ता गरिसकेपछि भने पुटिन कफि पिउन मन पराउँछन् । न्युजविकको रिपोर्ट अनुसार, पुटिनका लागि यी सबैकुरा रूसका धार्मिक नेता ‘पैत्रिआर्क किरिल’को ‘फर्मल्याण्ड स्टेट’बाट आउँछन् ।

दैनिक दुई घण्टा स्विमिङ्

पुस्तकमा उल्लेख भएअनुसार उनी दैनिक दुई दुई घण्टा स्विमिङ् गर्छन् । स्विमिङ् गरिरहेकै बेला देशलाई लिएर आफ्नो दिनभरको योजना बनाउँछन्, पानीभित्रै । स्विमिङ् सकिएपछि उनी जिम गर्न थाल्छन् । ६५ वर्षको उमेरमा पनि एथलिट् जस्तो उनको शरीर सँधै चर्चाको विषय बन्छ । सन् २०१५ मा रूसका प्रधानमन्त्री दिमित्री मेदवेदेवसँग एक्सरसाइज गरिरहेको फोटो सार्वजनिक भएको थियो ।

आधा दिनबाट कामको थालनी

राष्ट्रपति पुटिन आधा दिनबाट आफ्नो काम थालनी गर्छन् । सबैभन्दा पहिला उनी आफ्नो टेबुलमा ‘नोट्स् अफ ब्रिफिङ्’ पढ्छन् । यसमा ‘डोमेस्टिक इन्टेलिजेन्स’ र ‘फरियन अफेयर्स’को रिपोर्टदेखि लिएर रसियन प्रेस र अन्तर्राष्ट्रिय मिडियाबाट आएका ‘क्लिप्स्’ पनि सामेल हुन्छन् । न्युजविककै अनुसार, कामसँग सम्बन्धित चीज बाहेक पुटिन धेरै पढ्ने मान्छे भने होइनन् ।

रातमा दिमाग तेज चल्छ

न्युजविकका अनुसार, उनी राति अबेरसम्म काम गर्छन् । दिनमा भन्दा रातमा उनको दिमाग तेज चल्छ । त्यसैले उनलाई रातको ‘उल्लू’ भनियो भनेपनि अतिशयोक्ति नहोला । यद्यपि हप्तान्तमा उनको तालिका स्थिति अनुसार हेरफेर हुने जनाइएको छ । यस अवधिमा उनको अंग्रेजी कक्षादेखि लिएर प्रार्थनासम्म सबै तालिकामै सामेल हुन्छन् ।

मदिराबाट टाढा

कहिलेकाहीँ औपचारिक समारोहकमा बाहेक पुटिन मदिराबाट टाढै बस्न रुचाउँछन् । आफ्नो ‘टेटोटलिजम्’ व्यक्तित्व पेश गर्नु उनको राजनीतिक चाल पनि हुन सक्छ । राजनीतिज्ञको भनाइमा, रूसी राष्ट्रपटि देशमा फैलिएको मदिराको महामारी विरुद्ध एक ‘सिम्बोलिक स्ट्याण्ड’ लिइरहेका छन् । र स्वयंलाई पूर्ववर्ती बोरिस याल्तसिनको विरोधाभासी देखाएका छन् ।

केजीबीका पूर्व जासुस

भ्लादिमिर पुटिन तत्कालिन सोभियत संघको जासुसी निकाय केजीबीका जासुसका रुपमा कार्यरत थिए । सन् १९९१ मा राजीनामा दिनुअघि केजीबीको जासुसका रुपमा उनले १६ वर्ष काम गरेका थिए । केजीबीमा विदेशी जासुसी अधिकारी रहेका उनी लेफ्टिनेन्ट कर्णेलको पदसम्म पुगेका थिए ।

जर्मन भाषामा निपूर्ण

भ्लादिमिर पुटिन जर्मन भाषामा निपूर्ण मानिन्छन् । केजीबीमा काम गर्ने क्रममा सन् १९८५ देखि ५ वर्ष पूर्वी जर्मनीमा बिताएका उनले त्यहाँ रहने क्रममा जर्मन भाषा सिकेका थिए । उनको जर्मन भाषामा निपूर्णताको जर्मन पत्रकार तथा राजनीतिज्ञले पनि प्रशंसा गर्ने गरेका छन् । त्यसबाहेक कहिलेकाहीँ उनले जर्मन पत्रकारलाई जर्मन भाषामै पनि अन्तरवार्ता दिने गरेका छन् ।

शक्तिशालीसँगै धनी

भ्लादिमिर पुटिन संसारको सबैभन्दा धनी रहेको हुनसक्ने अड्कलबाजी हुने गरेको छ । उनको सम्पत्तिको श्रोत केही नभएपनि ठूलो धनराशी उनको वा उनका साझेदारको नाममा रहेको हुनसक्छ । उनको कूल सम्पत्ति करिब २ खर्ब अमेरिकी डलर बराबर रहेको हुनसक्ने अनुमान गरिन्छ । हरेक वर्ष अर्बपतिको सूची सार्वजनिक गर्ने अमेरिकी अखबार फोब्र्सले समेत पुटिनको सम्पत्ति कति छ भन्ने थाहा नपाएर उनलाई अर्बपतिको सूचीमा राख्ने गरेको छैन ।

जुडोमा ब्लाक बेल्ट

भ्लादिमिर पुटिन मार्शल आट्र्स धेरै नै मन पराउँछन् । मार्शल आट्र्समा पनि उनी जुडोमा निकै राम्रो खेलाडी हुन् । किशोरावस्थादेखि साम्बो खेलमा रुची रहेका उनले केजीबीमा काम गर्दा जुडो पनि सिक्न थालेका थिए । जुडोमा उनले ब्लाक बेल्ट समेत लिइसकेका छन् । कुशल जुडोका खेलाडी रहेका उनी बेलाबेला सेतो पोसाक लगाएर जुडो खेल्दै गरेको तस्बीरमा समेत देखिँदै आएका छन् ।

अझै पनि टाइपराइटरको प्रयोग

रुसी राष्ट्रपति भएपनि उनी टाइप राइटरमा काम गर्छन् । सन् २०१३ यता उनले टाइपराइटरबाट काम गर्ने गरेका हुन् । खासमा आधुनिक कम्प्युटरको प्रयोग गर्दा अमेरिका वा पश्चिमा मुलुकले रुसी राज्य सञ्चालनको गोप्य जानकारी चोर्नसक्ने भएकाले उनले टाइपराइटरको प्रयोग गर्ने गरेका हुन् ।

अर्थोडक्स इसाई

सोभियत संघमा नास्तिक परिवारमा हुर्केका पुटिन निकै आस्थावान अर्थोडक्स इसाई हुन् । सन् १९९० को दशक आफ्नी जीवनसाथीको सडक दुर्घटना भएको तथा घरमा आगलागी भएपछि उनी चर्च धाउन थालेका हुन् । त्यसयता उनी रुसी अर्थोडक्स चर्चप्रति निकै श्रद्धावान् छन् । उनका नीति तथा कार्यक्रमलाई त्यहाँको रुसी अर्थाेडक्स चर्चबाट पनि ठूलो समर्थन मिल्दै आएको छ ।

हट्टाकट्टा व्यक्तित्व

भ्लादिमिर पुटिनको व्यक्तित्व निकै नै हट्टाकट्टा छ । उनी कहिले जङ्गलमा शिकार खेल्न निस्कन्छन्, कहिले साइबेरियाको चिसो तालमा पौडी खेल्न । उनी कहिले कहीँ लडाकु विमान पनि उडाइरहेका हुन्छन् । त्यस्तै, उनी मोटर स्पोट्र्समा निकै रुची दिने गर्छन् । त्यो बाहेक पुटिन आइस हकी खेलमा पनि सहभागी हुँदै आएका छन् । रुसी सञ्चारमाध्यमले उनका यस्ता अनेक गतिविधिबाट उनलाई निकै हट्टाकट्टा व्यक्तित्वका रुपमा प्रस्तुत गर्ने गरेको छ ।

महङ्गा घडी लगाउन मन पराउने

भ्लादिमिर पुटिन निकै महङ्गो घडी लगाउन मन पराउँछन् । उनी ५ लाख अमेरिकी डलर बराबरको घडी लगाउने गर्छन् । उनले लगाउने अ लान्ज एण्डा सोह्ने कम्पनीको टर्बोग्राफ पो ले मेरिट घडीमा १८ क्यारेट सुन रहेको छ भने घडीका डायल चाँदीको छ । त्यस्तै, उनको घडीको फित्ता गोहीको छालाले बनेको छ । घडी नबिग्रियोस् भन्ने हेतुले उनी आफ्नो दाहिने हातमा घडी बाँध्ने गर्छन् ।

हरेक वर्ष पत्रकार सम्मेलन गर्ने

भ्लादिमिर पुटिन आफ्ना जनताको दुखेसो र गुनासो सुन्न हरेक वर्ष पत्रकार सम्मेलन गर्ने गरेका छन् । पत्रकार सम्मेलनमा रुसका विभिन्न स्थानबाट गुनासो र समस्या लिएर उनलाई टेलिफोन आउने गर्छ । त्यसबाहेक पत्रकारहरुले पनि उनलाई विभिन्न प्रश्नहरु सोध्ने गरेका छन् । उनको यो पत्रकार सम्मेलनको समारोह निकै रोचक हुने गरेको छ ।

कुकुरका शौखिन

उनी कुकुर खुबै मन पराउँछन् । उनले घरमा केही कुकुर पालेका छन् भने विदेशी मुलुकका नेताहरुले पनि उनलाई कुकुर उपहार दिने गरेका छन् । त्यसबाहेक उनले कुकुरलाई अरुलाई तर्साउनका लागि पनि प्रयोग गर्दै आएका छन् । यसैक्रममा सन् २००७ मा जर्मन चान्सलर एङ्गेला मर्केलसँग भेटवार्ता गर्नेबला मर्केल कुकुरसँग निकै डराउने जान्दा जान्दै पनि पुटिनले कुकुर कोनीलाई पनि सँगै ल्याएका थिए।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ८ : ५४ बजे

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले नियम विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल