कफी पिउने नेपाली बढे, उत्पादन बर्षेनी घट्दै | Khabarhub Khabarhub
Logo
२९ मंसिर २०७६, आइतबार

कफी पिउने नेपाली बढे, उत्पादन बर्षेनी घट्दै



काठमाडौं–लमजुङका रामकुमार तामाङ विगत केही वर्षदेखि कफी खेतीमा लागिपरेका छन् । ५ वर्षअघि १ रोपनी जग्गामा कफी खेती शुरु गरेका उनले पर्याप्त मात्रामा लगानी नहुँदा अहिलेसम्म खेती विस्तार गर्न सकेका छैनन् ।

सहज तथा शहुलियत ऋणको उपलब्ध हुन नसक्दा किसानले कफी खेती विस्तार गर्न नसकेको तामाङले खबरहबलाई बताए । ‘लमजुङमा कफी उत्पादन राम्रो छ’ उनले भने ‘तर यसका लागि स्थानीय सरकारले ध्यान दिएको छैन।’

उनकाअनुसार कफीको प्रचुर सम्भावाना हुँदाहुँदै लमजुङका धेरै किसानले आर्थिक अभावका कारण व्यवसायिक रुपमा कफी विस्तार गर्न सकेका छैनन् ।

त्यस्तै ललितपुरका फुर्बा तामाङ पनि विभिन्न समस्याले कफी खेती फस्टाउन नसकेको बताउँछन् । सिचाइँको सुविधाको अभाव, व्यवसाय प्रद्र्धधनका लागि तालिम र अध्ययन भ्रमणको व्यवस्था र उत्पादित कफीको बिक्रीका लागि बजारको व्यवस्था नभएको तामाङले बताए ।

‘त्यतिमात्र होइन आधुनिक मेशिन औजारको पनि अभाव छ’ उनले खबरहबसँग भने ‘गुणस्तरीय औषधीको अभाव छ रोग लागेमा पुरै विरुवा जलाउनुपरिरहेको छ।’

उनकाअनुसार कफीका विरुवामा धेरैजसो ‘सेतो गोवारो’ नामक रोग लाग्ने गर्छ । जसले विरुवाको काण्डलाई प्वाल पार्छ । त्यसलाई न्यूनीकरणका लागि कुनै औषधी नभएकाले पुरै विरुवा जलाएर नष्ट गर्नुपर्ने अवस्था रहेको छ ।

‘कफीका झुप्पा’सँगै फलेको पैसा

नेपालमा ११ लाख हेक्टर क्षेत्रफलमा कफीे उत्पादनको सम्भावना देखिन्छ तर अहिले २ हजार ६ सय ५० हेक्टरमा कफी खेती भइरहेको छ । तर कफी खेतीबारे सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा उत्पादनत्वमा वृद्धि हुन सकेको छैन ।

नेपालमा कफी खेती शुरु भएको लामो समय बितिसक्दा पनि एउटै जातको मात्र कफी लगाएकाले उत्पादनमा वृद्धि हुन नसकेको चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

अहिले नेपालभर अराबिका वर्णको टिपिका र बर्बन जातका कफी मात्र लगाइएको बोर्डका प्रवक्ता दिपक खनालले खबरहबलाई जानकारी दिए । अन्य जातका कफी अनुसन्धान गरेर खेती गर्न सके उत्पादकत्वमा वृद्धि हुने उनको भनाई छ ।

‘कफी खेती फस्टाउन नसक्नुको कारण त्यसप्रतिको ज्ञान पनि हो’ उनले भने ‘कफीका प्राविधिकहरु पनि छैनन् ।’

७७ जिल्लामध्ये हाल ४२ जिल्लामा व्यवसायिक रुपमा कफी खेती भइरहेको छ ।

एक वर्षमा १६ लाख किलो कफी उत्पादन, धेरै उत्पादन गर्नेमा काभ्रे

उत्पादनको अवस्था

४२ जिल्लामा व्यवसायिक रुपमा कफीको खेती भइरहे पनि यसको उत्साहजनक उत्पादकत्व भने देखिदैंन । चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७१/०७२ मा ४ सय ६३ मेट्रिक टन कफी उत्पादन भएको थियो ।

त्यस्तै आर्थिक वर्ष ०७२/७३ मा ४ सय ३२ मेट्रिक टन, ०७३/७४ मा ४ सय ६६ मेट्रिक टन र ०७४/७५ मा ५ सय मेट्रिक टन उत्पादन भएको थियो । त्यस्तै आर्थिक वर्ष ०७५/०७६ मा ५ सय ३० मेट्रिक टन उत्पादन भएको छ ।

आयत बढ्दो

पछिल्ला समय नेपालीहरुले कफी अत्याधिक मात्रामा पिउन थालेका छन् । घर, कार्यालय, क्यान्टिन, होटल, रेष्टुरा लगायतका स्थानमा कफी पिउनेको जमात देखिन्छ ।

कफी पिउनेको संख्यामा वृद्धि भएसँगै यसको माग पनि अत्याधिक बढेको छ । नेपालले आफ्नो उत्पादनले धान्न नसकेर विदेशबाट समेत कफी आयत गरिरहेको छ ।

आर्थिक वर्ष ०७४/७५ मा मात्र ६५ करोड ४६ लाख १४ हजार रुपैयाँको कफी आयत भएको भन्सार विभागले जनाएको छ ।

जसमध्ये ५८ करोड ३५ लाख ५६ हजार रुपैयाँको तयारी कफी आयत भएको थियो भने ६ करोड६९ लाख रुपैयाँको कफीको गेडा आयत भएको विभागको तथ्याङ्कले देखाएको छ । नेपालमा आयत हुने कफी भारत, चीन, बंगलादेश, मलेशिया, नेदरल्याण्ड, डेनमार्क, बेलायत लगायत देशका छन् ।

फस्टाउन सकेन ९० को दशकबाट थालिएको व्यावसायिक कफी खेती

त्यस्तै केही मात्रामा भने निर्यात भएको पनि पाइन्छ । विभागको तथ्याङ्कअनुसार गत वर्ष ९ करोड ९६ लाख ३२ हजार रुपैयाँको कफी निर्यात भएको छ ।

जसमा ४१ लाख ४६ हजार रुपैयाँको तयारी कफी र ९ करोड ५४ ८५ हजार रुपैयाँको कफीको गेडा निर्यात भएको छ ।

चीन, जापान, अमेरिका, अष्ट्रेलिया, फ्रान्स, कोरिया लगायतका देशहरुमा नेपालबाट कफी निर्यात हुने गर्छ ।

यसरी हेर्दा अन्तराष्ट्रिय बजारमा कफीको माग अत्याधिक रहेको छ । तर त्यो मागलाई धान्न सक्ने उत्पादन भने हुन सकेको छैन ।

फरक जातका कफी लगाउन विज्ञको सुझाव

नेपालमा कफी खेतीको राम्रो सम्भावाना रहेको छ भने अन्तराष्ट्रिय बजारमा पनि यसको माग उत्तिकै छ ।

लामो समयदेखि थालिएको कफी खेती व्यवसायिक रुपमा विस्ता हुादा पनि उत्पादकत्वमा वृद्धि गराउन नसक्नुमा कृषिविज्ञ कृष्णहरि आचर्य बताउँछन् ।

‘कफी उत्पादनको सम्भावना धेरै छ तर उत्पादन निकै कम छ’ खबरहबसँग कुरा गर्दै आचर्यले भने ‘अहिले अराबिका वर्णका टिपिका र बर्बन जातका कफी मात्र उत्पादन भइरहेको छ जसकारण उत्पादकत्व कम भएको पनि हो अन्य जातका कफी लगाउने हो भने उत्पादन बढ्न सक्छ।’

सरकारले किसानलाई कफी खेतीमा प्रोत्साहन गराउन सकेमा अझ विस्तार हुँदै जाने उनले बताए ।

यस्तो छ कफी खेतीको इतिहास

नेपालमा वि.स. १९९५ मा गुल्मी आँपचौर निवासी हीरा गिरीले बर्माबाट बीउ ल्याएर कफी खेतीको सुरुवात गरेका थिए । यसैक्रममा पाल्पा, स्याङ्जा, पर्वत, अर्घाखाची, कास्की, लमजुङ, तनहुँ, गोरखा, ललितपुर, धादिङ, सिन्धुपाल्चोक, काभ्रे आदि जिल्लाहरुमा कफी खेतीको विस्तार हुँदै गएको पाइन्छ ।

भौगोलिक हावापानी र माटोका हिसाबले नेपालका मध्य पहाडी जिल्लाहरुमा अराबिका कफीको राम्रो सम्भावना देखिएसँगै पूर्वका इलाम, झापा, संखुवासभा, पाँचथर, धनकुटा, भोजपुर, ओखलढुंगा लगायतका जिल्लाहरुमा व्यवसायिक कफी खेतीको सुरुवात भएको देखिन्छ ।


भर्खर