‘डाक्टरको सफलता बिरामीको सफल उपचारपछि मात्र’ « Khabarhub
Logo
१८ फाल्गुन २०७७, मंगलबार

‘डाक्टरको सफलता बिरामीको सफल उपचारपछि मात्र’



काठमाडौं– डाक्टर धर्मकान्त बाँस्कोटा मेडिकल शिक्षामा परिचित नाम हो । ४ दशकअघिदेखि मेडिकल शिक्षा र उपचारको क्षेत्रमा सक्रिय रहेका डा बाँस्कोटाले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र नेपाल मेडिकल काउन्सिलको मुख्य जिम्मेवारीमा रहेर समेत काम गरेका छन् ।

डा.बाँस्कोटा चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमका प्राध्यापक तथा त्रिवि शिक्षण अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ पनि हुन् ।

डाक्टर बाँस्कोटा हालैमात्र त्रिभुवन विश्व विद्यालयमा उपकुलपतिको पदमा नियुक्त भएका छन् । डाक्टर बन्ने सपना लिएर ४ दशकअघि काठमाडौं छिरेका डा बाँस्कोटाले मेडिकल शिक्षा र बिरामीको उपचारमा लामो अनुभवहरु संगालेका छन् ।

नेपाल मेडिकल काउन्सिलमा रहँदा नक्कली डाक्टर पक्राउ तथा काउन्सिलको नीति निमय निर्माण कामलाई धेरैले प्रशंसा पनि गर्छन् । त्रिभुवन विश्व विद्यालयको उपकुलपति पदमा नियुक्त हुँदा राजनीतिक नियुक्ती भएको भन्दै उनको अलोचना गर्नेहरु पनि छन् । तर डा बाँस्कोटाभने त्यस्ता आलोचनालाई वेवस्ता गर्दैआफ्नो काममा लाग्ने बताउँछन् ।

‘म को हुँ ? मलाई राम्रोसँग थाहा छ, मेरो जिम्मेवारी, काम कतव्र्य र अधिकारप्रति मात्रै ध्यान दिन्छु,’ डा बाँस्कोटा भन्छन्, ‘यदी गल्ति गरेभने त म आफैलाई प्रश्चाताप लाग्छ त्यसैले म माथि लाग्ने आलोचनालाई म वेवास्ता गर्छु ।’

डा बाँस्कोटा आफू सामान्य किसानको छोरा भएकाले खेतबारी, गोठालो गर्दै शिक्षा आरम्भ गरेर आफ्नो संर्घष र मेहनतले यो स्थानसम्म आइपुगेको बताउँछन् ।

बाँस्कोटा २०१४ सालमा पाँचथरको रानीगाउँमा जन्मिएका हुन् । बाँस्कोटाले पाँचथरमा भने धेरै समय बस्नु परेन ।
विकट पहाडी जिल्ला पाँचथरमा खानेपानी लिनै डेढघण्टासम्म पैलद हिड्नुपर्ने बाध्यताका कारण उनको परिवार झापामा बसाइ सर्‍यो । जतिबेला बाँस्कोटा ४ वर्षका मात्रै थिए ।

२०१८ सालमा झापा बसाइ सकेपछि बाँस्कोटाका आमा–बुबाले खेतीकिसानी गरेर जीविका चलाउन थाले । बाँस्कोटाले बाल्यकाल र विद्यालय शिक्षा झापामै पुरा गरे ।

स्कुल जानुअघि र फर्किपछि घाँस काट्नुपर्थ्यो 

डा बाँस्कोटाको अहिलेको जीवनलाई बाहिरबाट हेर्नेहरु उनलाई सुखी र सम्पन्न देख्छन् । तर बाँस्कोटा भने आफुले विगतमा धेरै मेहनत र परिश्रम गरेर यो स्थानसम्म आएपुगेको बताउँछन् ।

बाल्यकालमा स्कुल जानुअघि र फर्किएपछि गर्नुपर्नेको घाँसदाउरा र गोठालो जीवन स्मरण गर्छन् ।

‘म सामान्य किसानको छोरा । ९ कक्षासम्म पढ्दा मेरो कुनै सपना थिएन, घरमा भैसी पालेको थियो, भैसी चराउने घाँस काट्ने, अनि १० बजे स्कुल जाने गरिन्थ्यो,’ बाँस्कोटाले बाल्यकाल सम्झिए, ‘बेलुका स्कुलबाट फर्किएर पनि त्यही काम हुन्थ्यो, एउटा किसानको छोराले गर्ने सबै काम गरेरै यहाँसम्म आइपुगेको हुँ, त्यतिबेला डाक्टर बनुला भनेर सोच नै थिएन ।’

भाउजुको आँखाको समस्याले जन्मायो डाक्टर बन्ने सपना

बाँस्कोटा कक्षा ९ मा पुग्दासम्म उनीसँग भविष्यका लागि कुनै सपना थिएन । स्कुल जाने, पढ्ने र घर फर्किपछि उही भैसी चराउने र घाँसदाउराको काम । उनका लागि त्यही स्कुल,खेतबारी अनि घर नै संसार थियो ।

भविष्यको विषयमा कुनै योजना थिएन । तर कक्षा ९ मा पढ्दै गर्दा उनको भाउजुलाई आँखाको समस्या भयो । बुबाले धेरै अस्पतालहरुमा लगेर उपचार बताए । खर्च पनि धेरै नै भयो । तर भाउजुको आँखाको दुखाइ ठिक भएन ।

भाउजुको आँखाको समस्याले उनको मनमा डाक्टर बन्ने सपना जन्मायो ।

‘मेरो भाउँजु आँखाको समस्या भयो भनेर दुख्यो भन्नुहुन्थ्यो, बुबाले धेरै खर्च गरेर उपचार गर्नुभयो तर भाउजुको आँखा ठिक भएको थिएन, त्यो बेला आफुले केही सहयोग गरेर त्यो दुखाइ कम गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो,’ डा बाँस्कोटा सम्झन्छन्, ‘त्यतिबेला कक्षा ९ मा पढ्थे । भाउजुको पीडा देख्दा डाक्टर बन्नुपर्छ भन्ने लाग्न थालेको थियो ।’

तर डाक्टर बन्न कहाँ सहज थियो र । ५ जना दाजुभाइ र ४ जना दिदीबहिनीको पढाइ र लालनपालनको खर्च बाबुआमालाई धान्न मुस्किल नै थियो ।

बाँस्कोटाले जनता माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी पास गरेका हुन् । नेपालभरी प्रथम श्रेणीमा एसएलसी उत्तिण हुने १ सय ६७ जना भित्र उनी परेका थिए ।

उनी आफ्नो एसएलसीमा आएको अंकले नै आफुलाई उच्च शिक्षा अध्ययनमा सहयोग पुर्‍याएको बताउँछन् ।
‘मैले जनता माध्यमिक विद्यालयबाट एसएलसी दिएको हुँ, मैले ६७ पर्सेन्ट ल्याएर फस्ट डिभिजनमा एसएलसी पास गरेको थिएँ,’ बाँस्कोटाले विगत सम्झिए, ‘एसएलसीको त्यो अंकले मलाई मेडिकल शिक्षा पढ्न सहयोग पुर्‍यायो ।’

छात्रवृत्तिमा मेडिकल शिक्षा अध्ययन

एसएलसी पास भएपछि बाँस्कोटा चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएममा मेडिकल साइन्स साढे दुईवर्ष अध्ययन गरेर राम्रो अंकमा पास भए ।

सामान्य किसानका छोरा थिए बाँस्कोटा । स्कुल पढ्दादेखि नै राम्रो अंकमा पास हुने बाँस्कोटाकमा मेडिकल शिक्षा अध्ययन गर्नका लागि वौद्धिक क्षमता थियो । तर परिवारसँग मेडिकल शिक्षाको शुल्क तिर्न सक्ने आथिर्क सक्षमता भने थिएन ।

तर क्षमता भएकालाई त्यतिबेला अध्ययन गर्ने अवसर पाउन भने गाह्रो थिएन । शिक्षा मन्त्रालयबाट छात्रवृत्तिमा नाम निकालेपछि विदेशी मेडिकल कलेजमा अध्ययन गर्न जान पाइन्थ्यो ।

डाक्टर बन्ने सपना लिएर काठमाडौं छिरेका बाँस्कोटासँग विकल्प थियो एकवर्ष सरकारले भनेको ठाउँमा सेवा दिएर छात्रवृत्तिमा मेडिकल शिक्षा पढ्ने ।

बाँस्कोटाले मेडिकल शिक्षाको अध्ययनको सपना पुरा गर्न २०३६ आइओएम अन्तर्गतकै विरगञ्ज क्याम्सपमा रहेको टिचिङ असिस्टेन्टको काम गर्न गए ।

बाँस्कोटाले कामसँगै छात्रवृत्तिका लागि तयारी पनी गरे । उनले शिक्षा मन्त्रालयको छात्रवृत्तिमा रसियाको पिपुल्स फेन्डसीप युनिर्भसिटीमा एमबीबीएस अध्ययन गर्ने अवसर पाए ।

‘मैले राम्रै अंक ल्याएर अढाइवर्षको मेडिकल साइन्सको कोर्ष पुरा गरेको थिए, त्यतिबेला छात्रवृत्ति पाउन कम्तिमा पनि एकवर्ष सेवा गर्नुपर्ने हुन्थ्यो । मैले सेवा गर्दै विदेश जाने तयारी पनि गरे र शिक्षा मन्त्रालयबाट छात्रवृत्तिमा छनोट पनि भए,’ बाँस्कोटाले विगत सम्झिए, ‘म सामान्य किसानको छोरा अहिलेको जस्तो शुल्क लाग्ने भएको भए मैले डाक्टर पढ्न पाउँदिनथें, मेडिकल शिक्षा पढ्ने हैसियत थिएन ।’

चिकित्सकको खुसी सधै बिरामीको सफल उपचारमा हुन्छ । चिकित्सहरु आफुले उपचार र परामर्श दिएको व्यक्ति स्वास्थ्य भएको हेर्न चाहन्छ । रोग व्यथाले सताएर उपचारको आसामा आएका बिरामीको उपचार गरेर निको बनाउनु नै चिकित्सकहरु सपना हो ।

पिपुल्स फेन्ड्रसीप युनिर्भसिटीमा ब्याज फष्ट

शिक्षा मन्त्रालयको छात्रवृत्तिमा पिपुल्स फेन्ड्रसीप युनिर्भसिटीमा अध्ययन गरेका बाँस्कोटा उक्त मेडिकल कलेजको उत्कृष्ट विद्यार्थी थिए । उनले उक्त आफ्नो ब्याजमा सबैभन्दा उत्कृष्ट अंक ल्याएर युनिर्भसिटीबाट ‘अनर’पाप्त गरे । ७ वर्षमा अध्ययन पुरा गरेपछि सन् १९८८मा नेपाल फर्किएर उनी टिचिङ अस्पतालमा काम गर्न थाले ।

दुईवर्ष टिचिङ अस्पतालमा सेवा गरेपछि उनले आइओएमबाटै नाक, कान घाँटी रोग (इएनटी) मा डिप्लोमा अध्ययन पुरा गरे ।

पाकिस्तानमा कठोर अध्ययन

डाक्टर बाँस्कोटा टिचिङमै कार्यरत रहँदा २००२ मा इएनटीमा नै ४ वर्षको विशेष कोर्ष ( फेलोसिप)का लागि पाकिस्तान गए ।

डा बाँस्कोटा पाकिस्तानको फेलोसिप गर्न ४ वर्ष पाकिस्तान बसेको समयलाई आफ्नो जीवनको कठिन समय ठान्छन् ।

‘पाकिस्तानको रोयल कलेजमा इएनटीमा ४ वर्षको कोर्ष पढे । त्यो अध्यननलाई म मेरो कठिन डिग्री मान्छु,’ डा बाँस्कोटाले भने, ‘किनकी त्यो कलेजमा पास रेट १८ प्रतिशत मात्रै हुन्थ्यो, फेलर रेट हाइ थियो । मनिटरिङ स्ट्रोङ हुन्थ्यो ।’

कलेज अफ फिजिसियन इन सर्जनमा डिग्री गरेपछि उनलाई उक्त कलेजले प्रशंसा पनि गर्‍यो । उनको अध्ययन सकिएसँगै रोयल कलेजले नेपालमा पनि पिजी प्रोगामका लागि सहयोग गर्‍यो । रोयल कलेजको कलेज अफ फिजिसियन इन सर्जन अन्तर्गत नेपालमा शुरु भएको पिजी कार्यक्रममा बाँस्कोटा रिजनेरल डाइरेक्टर भएर १३ वर्ष काम गरे । ४ वर्षअघि नेपाल मेडिकल काउन्सिलको अध्यक्ष भएपछि उनले सो पदबाट राजीनामा दिएका थिए ।

डा बाँस्कोटाले मेडिक शिक्षामा प्राध्यापकको काम सँगै उपचार अनुभवहरुलाई व्रिटिस मेडिकल जर्नल, पाकिस्तान र भारतमा प्रकाशित हुने जर्नलहरुमा प्रकाशित समेत गरेका छन् । उनको मेडिकल शिक्षा सम्बन्धि ५३ वटा कृर्तिहरु प्रकाशित भएको छ । विभिन्न देशले गरेको करिव १ सय २३ वटा अनुसन्धानका समेत उनको विचारलाई राखिएको छ ।

बिरामीको उपचारमा पाएको खुसी

चिकित्सा शिक्षा क्षेत्र र बिरामीको उपचारमा ४० वर्षसम्म विताएका डा बाँस्कोटासँग अनुभव र खुसीका संगालो नै छ । आफुले उपचार गरिदिएपछि बिरामीमा देखिएको खुसीका पलहरु उनले आफ्नो स्मरणमा अझैसम्म ताजा राखेका छन् ।

जुन खुसी डा बाँस्कोटाले यसरी सुनाए

नेपालको धेरै ठाउँमा नाक,कान, घाँटी रोगको शिविरहरु चल्थें । म अmभै सम्झन्छु, १५ वर्ष अगाडी घनकुटा जिल्लाको बसन्तपुर नजिकै स्कुलमा क्याम्प गरेका थियौं । एउटा १३, १४ वर्षको बालक बोल्दैन र कान पनि सुन्दैन भनेर उसका बाबुआमाले लिएर आए । मैले नियालेर उनसको कानमा हेरे । त्यहा लालगेडी भन्ने बनस्पतीको फल पाउने रहेछ । सानोमै हुँदा उसनको दुबै कानमा त्यो लालगेडी कसैले हाल्दिएको रहेछ । त्यो लालगेडीले गर्दा उनसको कान पुरै बन्द भएर सुन्न छाडेको रहेछ । जब साउन्ड व्रेनमा जाँदैन तब उ बोल्न सक्दैन, त्यसैले उ बोल्न र सुन्न नसक्ने अवस्थामा थियो ।

त्यो कानमा बसेको लालगेडी बेहोस् नपारी निकाल्न सकिदैन थियो । तर शिविरमा सम्भव दिएन । तर मैले अतिकति दुख्द खप्छौं भने झिक्न सकिन्छ भनें । बालकले ‘खप्छु’ भनेर इसारा गर्‍यो ।

मैले दुबै कानको लालगेडी निकाल्दिए । लालडेगी निकालेपछि उनले कान सुन्यो । उ त्यो दुईवटा लालगेडी हातमा लिएर खुसीले ठूलो स्वारमा चिच्याएर रमायो । शिविर भएको ठाउँ ठूलो चउर थियो । त्यो चउरमा बोल्न र सुन्न नसक्ने १४ वर्षको बालकको मैले कानमा अड्किएको लालगेडी निकालिदिएपछि ‘मैले कान सुने’ भन्दै चिच्याउदै ४ फन्को लगाएर दौडियो । त्यो पल म अझै सम्झन्छु । यस्ता थुप्रै खुसीका घटनाहरु छन् ।

जब रोगबारे थाहा पाएर उपचार गर्ने प्रविधि हुँदैन

चिकित्सकको खुसी सधै बिरामीको सफल उपचारमा हुन्छ । चिकित्सहरु आफुले उपचार र परामर्श दिएको व्यक्ति स्वास्थ्य भएको हेर्न चाहन्छ । रोग व्यथाले सताएर उपचारको आसामा आएका बिरामीको उपचार गरेर निको बनाउनु नै चिकित्सकहरु सपना हो ।

उपचार पश्चात बिरामीमा फर्किएको खुसी र नयाँ जीवनले चिकित्सकहरु आफ्नो पेसाप्रति गर्व गर्छन् । तर कहिलेकाही चिकित्सकले नचाहँदा नचाहदै पनि त्यो खुसी पाउन सक्दैनन् । जुन बेला बिरामीले रोगका कारण दुखी हुन्छ भने चिकित्सकहरु सफल उपचार गर्न नपाउँदा । यस्तै दुखद् घटनाहरु पनि डा बाँस्कोटाको उपचार अनुभव भित्र छ ।

दुखद् अनुभव 

आफुले चाहेर पनि बिरामीलाई निको पार्न नसकेका केसहरु छन् । आजभोलि त यो समस्या छैन । बच्चाहरुले केही कुरा खाँदा सर्काउछन्, अड्काउँछन् । त्यो खानेकुरा फोक्सोमा जम्मा भएर हुन्छ । फोक्सोमा भएर जम्मा हुँदा स्वास फेर्न गाह्रो हुने र निमोनिया डेपलभ हुन्छ ।

त्यो निकाल्ने प्रविधि आजभन्दा १२ वर्षअघि थिएन । उपचार भएन भने १२ दिनपछि बच्चाको मृत्यु नै हुन्छ । २०५२ साल अगाडी यस्तो केसहरु आउथें, केही केसहरु मैले नै हेरे । उनीहरु उपचारको लागि आए, केस थाहा छ उपचार कसरी गरिन्छन् भन्ने पनि थाहा छ तर प्रविधि नहुँदा भारतमा रेफर गर्नुपर्ने हुन्थ्यो । भारत जानसक्नेहरु बाच्थें नसक्नेहरुको मृत्यु नै हुन्थ्यो । त्यतिबेला निकै पीडा हुन्थ्यो । अहिले व्रङ्कोस्कोपी भन्ने मेसिनबाट व्रङ्कोस्कोपी गरेर उपचार हुन्छ ।

तर १२ वर्षअघि त्यो प्रविधि नहुँदा उपचार गर्न सकिने भएपनि लामो समय सम्म बालबालिकाले निमोनियाको समस्या भोग्नुपर्ने हुन्थ्यो । कतिको मृत्यु हुन्थ्यो ।

अहिलेको मेडिकल शिक्षा 

डा बाँस्कोटाले सरकारको छात्रवृत्तिमा मेडिकल शिक्षा अध्ययन गर्ने अवसर पाए । पहिलाभन्दा अहिलेको मेडिकल शिक्षा धेरै महंगो भएको उनको भनाइ छ ।

‘पहिला पहिला एमबीबीएसको फि जति थियो, उता बीएसीको फि पनि त्यति नै हुन्थ्यो, त्यसमाथि पहिला–पहिला स्कलरसिपमा पढ्न धेरै प्रतिष्पर्धा हुँदैन थियो,’ डा बाँस्कोटाले भने, ‘अहिलेको मेडिकल शिक्षा महंगो भएको छ, स्कलरसीपमा पनि डिमाण्ड तीन हजार जति छ, कोटा जम्म साढे दुईसयजति होला । त्यसैले नाम निकाल्नेले त पढ्छन् तर बाँकीले पैसा छ भने मात्रै पढ्न पाउँछन्, नत्र मेरिट भएर पनि पढ्न पाउँदैनन् ।’

आवश्यकता अनुसारको शिक्षा दिन जरुरी छ

डा बाँस्कोटा हालै मात्र त्रिभूवन विश्व विद्यालयको उपकुलपतिमा नियुक्त भएका छन् । नेपालमा उच्च शिक्षा अध्ययन गरेर पनि वेरोजगार जनशक्ती धेरै भएकाले आवश्यकता अनुसारको शिक्षामा फोकस गर्नुपर्ने उनको धारणा छ ।

‘योजना आयोगसँग छलफल गरेर सरकारलाई कुन क्षेत्रमा जनशक्ति आवश्यक छ, त्यहि अनुसारको शिक्षा दिनु आवश्यक छ, साथै टेक्निकल एजुकेशनमा फोकस गर्नुपर्ने आवश्यकता छ,’ बाँस्कोटा भन्छन्, विद्यार्थीहरुलाई टेक्निकल एजुकेशनमा फोकस गर्ने । हाम्रो डिग्रीलाई क्षेत्रिय स्तरमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमा र्पुयाउने योजना छ । त्यो भयो भने हाम्रो उत्पादनहरु सार्क लेबलमा र्पुयाउन पनि मद्दत गर्छ ।’


भर्खर

0