रुखमा रेष्टुरेन्ट बनाएर उदाहरणीय बनेका लिम्बू दाजुभाइ | Khabarhub Khabarhub
Logo
२९ मंसिर २०७६, आइतबार

रुखमा रेष्टुरेन्ट बनाएर उदाहरणीय बनेका लिम्बू दाजुभाइ



काठमाडौं–चारैतिर हरियाली जंगल । चिरबिर-चिरबिर चराको आवाज । सुनसान वातावरण । जंगलको बीचमा ठूलो बरको रुख । बरको रुखमाथि निलो र रातो रङले सजाइएको रेष्टुरेन्ट ।

सुन्दा अचम्म लाग्न सक्छ रुखमा पनि घर बन्छ र ? किनकि हामीले काठबाट बनाएको घर मात्र देखेका छौ । तर सीप, विचार र क्षमता हुनेहरुले रुखमै पनि घर बनाएका छन् । व्यवसाय गरिरहेका छन् ।

व्यवसाय गर्नका लागि शहरी क्षेत्र नै चाहिन्छ भन्ने होइन । ग्रामीण क्षेत्रमै होस् तर नयाँ व्यवसाय होस जुन युवावर्गको रोजाईमा परोस् । यस्तै सोच राखेर धनकुटाका एक दौतरीले बरको रुखमा रेष्टुरेन्ट सञ्चालन गरेका छन् ।

रोजगारीको खोजीमा परदेशका मरुभूमिमा दिनरात पसिना बगाइरहेका नेपालीहरुका लागि यी दौतारी एक उदाहरणीय पात्र बन्न सक्छन् ।

परदेशमा मात्र होइन । पछिल्लो समय जन्मथलो छोडेर कामका शिलशिलामा विभिन्न शहरतिर पस्नेहरुको संख्या बढिरहेको छ । शहरमा मात्र होइन नयाँ ढंगले व्यापार शुरु गर्न सकेमा गाउँघरमै पनि राम्रो हुने रेष्टुरेन्ट सञ्चालक हेम लिम्बू बताउँछन् ।

खेर गइरहेको स्रोत र साधन परिचालन गर्न सकेमा गाउँ मै काम गर्न सकिने र आम्दानी पनि हुने हेमको भनाइ छ ।

वि.स. २०४५ सालमा धनकुटा जिल्लामा हेमको जन्म भयो । उनी परिवारका एक्लो छोरा हुन् । भनाइ नै छ ‘एक्लो सन्तान सबैको प्यारो हुन्छ’ । तर हेमको जीवनमा त्यो कहिल्यै लागू भएन ।

धनकुटाकै एक सरकारी विद्यालयमा अध्ययन गरे उनले । घरबाट १ घण्टा हिड्नुपथ्र्यो विद्यालय पुग्न । परिवारको आर्थिक अवस्था पनि न्यून थियो । सानै उमेरदेखि बिहान बेलुका खेतवारीको काम गर्ने र दिउँसो विद्यालय जाने गर्थे उनी ।

विगतका दिनहरु सम्झना गर्ने क्रममा उनी भन्छन, ‘सानो छँदा बिहान र बेलुका खाना समेत आफैं पकाएर खाएर स्कुल पढ्न जान्थे ।’ पढाइ निरन्तर चलिरहेकै थियो ।

सानै उमेरमा आमाबुबा गुमाउँदाको पीडा

घरमा आमा सामान्य बिरामी हुनुहुन्थ्यो । हेम १२ वर्षको हुँदा उनको परिवारमा दुखद घटना घट्यो । ती दिनहरु सम्झिँदा अझै पनि उनको आँखा रसाउँछन् । ‘म १२ वर्षको थिएँ आमाले मलाई सधैका लागि छोडेर जानुभयो’ हेमले निराश हुँदै भने ‘आमा बिनाको सन्तान भए घरमा बुबा र म मात्र भयौं ।’

सानै उमेरमा आमाको मृत्यु भएपनि बुबाले उनलाई आमाको समेत माया दिएर हुर्काएका थिए । गाउँमा खेतीपातीको काम प्रशस्त हुन्थ्यो । हेम बुबालाई सघाउनका लागि स्कुल समेत बिदा लिन्थे । यसकारण पनि उनी सानै उमेरबाट व्यवहारिक बने ।

बालकपनदेखि नै जागरिलो चलाख स्वभावका हेम अध्ययनमा पनि निकै रुचि राख्थे । पढाइको क्रम चलिरहेकै थियो । तर उनले ०६६ सालमा बुबालाई पनि गुमाए ।

‘आमा पछिको एउटै सहारा बुबा थिए’ ती दिनहरु सम्झँदै उनी भन्छन्, ‘बुबा पनि २१ वर्षको उमेरमै बित्नुभयो ।’

बुबाआमाको मृत्युपश्चात उनले अध्ययनलाई त्यही बिट मारे । सानै उमेरदेखि संघर्षमय जीवन बिताएका हेमलाई भविष्यको निकै चिन्ता लाग्थ्यो । त्यसमाथि बुबाआमा नहुँदाको पीडा त छदै छ ।

यसैक्रममा ०६८ सालमा वैवाहिक सम्बन्धमा बाँधिए उनी । नयाँ व्यवसाय गर्ने सोच पहिल्यै देखि थियो उनको । तर लगानी गर्न उनीसँग पर्याप्त रकम थिएन । यसैबीच उनले पैसा कमाउनका लागि विदेश जाने सोच बनाए ।

‘गाउँघरमा बसेर जसोतसो चलेकै थियो’ हेमले खबरहबसँग भने ‘तर जीवन उकास्नका लागि चलेर मात्रै नपुग्ने रहेछ ।’

पैसा कमाउन कतार पुगे

परदेश गएर पैसा कमाउने र स्वदेश फर्किएर केही व्यवसाय थाल्ने सोच आयो उनको । तर परदेश जानका लागि पनि उनीसँग पैसा थिएन । त्यससँगै परदेश जाने सोचले धनकुटाबाट राजधानी आइपुगे उनी ।

परदेश जानुभन्दा अघि केही सीप सिकेर गए आफैलाई त्यहाँ आफैंलाई राम्रो हुने थियो भन्ने सोचे ललितपुरको सातदोबाटोमा इलेक्ट्रिोनिक तालिम सिके ।

९० दिन तालिम लिए उनले । डेढ लाख रुपैयाँ ऋण लिएर कतार पुगे ०६९ सालमा । राम्रो जागिर पाइएला र पैसा कमाइएला भन्ने सोच बोकेर कतार पुगेका उनी सुरुवाती दिनहरुको याद स्मरण गर्दै भन्छन्, ‘भाषामा निकै समस्या भयो हिन्दी नि नआउने अंग्रेजी पनि २ महिनासम्म त धेरै गाह्रो भयो ।’

विस्तारै बानी बन्दै गए उनी । ‘सप्लाई कम्पनीमा कामको ८ सय र खानाका लागि थप २ सय दिन्थ्यो १ हजार हुन्थ्यो’ उनले थपे ‘त्यो भनेको नेपाली २८ हजारसम्म हो ।’

कामको खोजीमा परदेशसम्म पुगेका हेमलाई डेढ लाख ऋण तिर्नका लागि करिब साढे दुई वर्ष लाग्यो । जसोतसो ऋण तिरेर केही रकम जम्मा गरेका हेम साढे ३ वर्षपछि अर्थात् ४२ महिनामा स्वदेश फर्किए ।

पुष ०७३ सालतिर स्वदेश फर्किएका हेमले नयाँ व्यवसाय खोल्ने सोच बनाए ।

जन्मभूमिमा व्यवसाय गर्ने सोच

धेरै युवाहरुको सोच हुन्छ । परदेश जाने पैसा कमाउने र स्वदेशमा केही व्यवसाय गर्ने । धेरैले यो सोच पुरा गरेका पनि छन् । प्रायजसो युवाहरुको रोजाइमा होटल, रेष्टुरेन्ट नै पर्ने गर्छन् । तर अधिंकाशले शहरी क्षेत्रमा विशिष्टका तरिकाले खोल्ने गर्छन् ।

तर हेमले आफ्नै जन्मभूमिमा रेष्टुरेन्ट खोल्ने सोच बनाए । अहिलेसम्म देखिएका रेष्टुरेन्टभन्दा भिन्न रेष्टुरेन्ट खोल्न सोचेका थिए उनले । तर कसरी गर्ने भन्ने बारे केही सोचेका थिएनन् ।

बरको रुखमा रेष्टुरेन्ट खोल्ने सोच

गाउँघरमै छिमेकी प्रेम लिम्बूसँग भेट भयो हेमको । नयाँ साथीभाइ मिलेर केही व्यवसाय गरौं भन्ने कुराकानी चल्यो उनीहरुबीच । नाताले प्रेम हेमको भाइ पर्छन् ।

‘भ्यू टावर बनाउने सोच थियो भाइको’ हेमले भने ‘भ्यू टावर बनाउनुभन्दा रेष्टुरेन्ट खोलौं न मैले भने ।’

हेमको घर छेउमै ठूला दुइवटा बरका रुख थिए । रुखमा रेष्टुरेन्ट बनाउन सके कस्तो होला ? उनले मनमनै सोचे । भाइसँग सल्लाह गरे ।

५ लाखमा ट्रि हाउस

रुखमै होटल खोल्ने सोचेका उनीहरुले अहिलेसम्म काहीकतै यसरी होटल सञ्चालन गरेको देखेका भने थिएनन् । ‘अरुले नगरेको काम पो गर्नपर्छ सबैले गरिरहेको काम त के गर्नु’ कुराकानीका क्रममा उनले भने ‘त्यसकारण रुखमै होटल बनाउन शुरु गर्‍यौं ।’

काठ र जस्ताले चिटिक्क पारेर रेष्टुरेन्ट बनाउन ५ लाख लगानी लागेको बताउँदै उनी भन्छन्, ‘काठहरु आफ्नै बारीको प्रयोग भएको छ ।’

यसरी गाउँमा उदाहरणीय पात्र बनेका यी दौतरीलाई स्थानीयले केही समयसम्म त हासोको पात्र नै बनाएका थिए । तर जब रुखमा चिटिक्क साना घरहरु देखिन थाले सबै अचम्मित बनेका छन् ।

अहिले आन्तरिक र बाह्य पर्यटकको केन्द्रविन्दू बनेको छ ‘छुमलुङ ट्रि हाउस’ । ट्रि हाउसमा धनकुटा स्थानीय परिकारहरु पाइन्छन् भने रुखमा बनेको घरमा आन्नदले बस्ने सुविधासमेत छ ।

अबको सोच

छुमलिङ ट्रि हाउसकै छेउमा अर्को ठूलो बरको रुख रहेकाले अबको केही समयपछि अर्को रुखमा पनि ट्रि हाउस सञ्चालन गर्ने उनीहरुको सोच छ ।

२०२० लाई सरकारले पर्यटन वर्ष घोषणा गरेको छ । त्यसकालागि सबै निकायले आफ्नो स्तरबाट काम गरिरहेका छन् । त्यस्तै हेम र प्रेमको लक्ष्य पनि धनकुटालाई ट्रि हाउसले चिनाउने र बढि भन्दा बढि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

‘स्वदेशमै काम गर्नका लागि आह्वन समेत गर्छौं’अन्तमा उनले भने, ‘सिर्जनात्मक काम गरेर गाउँलाई विकास गर्ने नै हामी युवाहरुको काम हो ।’


भर्खर