बंगलादेशले पनि नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न सक्छ– राजदूत शाम्स

ईश्वरदेव खनाल

शुक्रबार, साउन ३१, २०७६

Reading Time: 11 minutes

बंगलादेशले पनि नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न सक्छ– राजदूत शाम्स

नेपालले एक अर्ब डलर बराबरको वस्तु विदेश निर्यात गर्दै आएको छ, जसमा केबल १ करोड १० लाख डलर बराबरको वस्तुमात्र बंगलादेश मात्र निर्यात हुने गरेको छ । विश्वव्यापी व्यापारको बदलिँदो समयमा यो एकदमै सानो हो ।

नेपाल र बंगलादेशबीचको सम्बन्ध शताब्दीऔं पुरानो हो । दुई मुलुकबीच द्विपक्षीय सम्बन्धबारे राम्रो समझदारी समेत रहँदै आएको छ । तीब्र गतिमा आर्थिक वृद्धि गरिरहेको मुलुकका रुपमा रहेको बंगलादेशले नेपाली व्यापारी र पर्यटकले त्यहाँको आर्थिक विकासबाट पनि अवसर प्राप्त गर्छन् । त्यसबाहेक बंगलादेशमा नेपाली मूलका नागरिकहरु पनि छन्, जो विभिन्न कारणले तीन वा चार पुस्ताअघि त्यहाँ पुगेका थिए ।

नेपालले बंगलादेशमा विद्युत निर्यात गरेर पनि लाभ लिन सक्छ । यही पृष्ठभूमिमा खबरहबका ईश्वरदेव खनालले नेपालका लागि बंगलादेशी राजदूत मास्फी विन्टे शाम्ससँग कुराकानी गरेका छन् । प्रस्तुत छ त्यसैको सम्पादित अंश–

नेपाल र बंगलादेशबीचको सम्बन्धलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

नेपाल र बंगलादेशबीचको सम्बन्ध अत्यन्त राम्रो छ । राजनीतिक सम्बन्धको कुरा गर्दा पनि गज्जबको सम्बन्ध छ । दुई मुलुकबीचको शीर्षस्थ नेतृत्वमा पनि राम्रो समझदारी छ । साँच्चै भन्दा दुई मुलुकबीचको सम्बन्ध शताब्दीऔं पुरानो हो । र, सन् १९७१ को हाम्रो स्वतन्त्रता संग्रामका बेला पनि नेपाल राम्रो मित्रको रुपमा रहेको थियो ।

बंगलादेशले यसको सरहाना गर्दै आएको छ भने यही अनुसार नेपालप्रति पनि सकारात्मक व्यवहार गर्दै आएको छ । उदाहरणका लागि सन् २०१५ को विनाशकारी भूकम्पको बेला पनि बंगलादेशले सहयोगको हात बढाएको थियो भने अरु बेला पनि बंगलादेशले नेपाललाई सहयोग गर्दै आएको छ ।

तपाईंले दुई मुलुकबीचको सम्बन्ध उत्कृष्ट रहेको बताउनुभयो, दुई मुलुकबीच रहेको जनस्तरको सम्बन्धबारे तपाईंको धारणा कस्तो छ ?

मेरो विचारमा दुई मुलुकबीचको जनस्तरको सम्बन्ध राजनीतिक सम्बन्धभन्दा अत्यन्त बलियो छ । हरेक वर्ष धेरै ठूलो सङ्ख्यामा नेपाली विद्यार्थीहरु बंगलादेश जाने गरेका छन् । हरेक वर्ष ५ सयभन्दा धेरै नेपाली विद्यार्थीहरु उच्च शिक्षाका लागि जाने गरेका छन् र यो सङ्ख्या हरेक वर्ष बढ्दो छ । मेडिकल साइन्सबाहेक नेपाली विद्यार्थीहरु इन्जिनियरिङ, फर्मासिटिकल्स, व्यवस्थापन, छाला तथा कपडा प्रविधि, कृषि लगायतका अन्य क्षेत्रमा अध्ययनका लागि पनि बंगलादेश जान्छन् । रोचक कुरा के पनि छ भने, आजकल नेपाली विद्यार्थीहरु कृषि शिक्षा अध्ययनका लागि बंगलादेशी विश्वविद्यालयतर्फ आकर्षित हुँदै आइरहेका छन् ।

नेपालले हरेक वर्ष ठूलो सङ्ख्यामा बंगलादेशी पर्यटकलाई भित्र्याउने गरेको छ– हरेक वर्ष ३५ हजार भन्दा धेरै पर्यटक । बंगलादेशको अर्थतन्त्र तीब्र गतिमा विकसित भइरहेको छ र यसकारण नेपाल भ्रमण गर्ने बंगलादेशी पर्यटकको सङ्ख्या भविष्यमा बढ्नसक्ने सम्भावना छ । बंगलादेशीहरुले हालैमात्र विदेश भ्रमणमा रुची राख्न थालेका हुन् । नेपाल र बंगलादेश भौगोलिक रुपमा नजिक छन्, दुई मुलुकबीच एक घण्टाको हवाई यात्राको दूरी छ । बंगलादेशीहरु हिमालको दृश्यावलोकन र ऐतिहासिक तथा सँस्कृतिक महत्वको क्षेत्र भ्रमणका लागि नेपाल आउन रुचाउँछन् । यदी बंगलादेशमा प्रवर्द्धन कार्यक्रम अघि बढाउने हो भने नेपालले आगामी वर्षहरुमा बंगलादेशी पर्यटकको सङ्ख्या दुई गुणा बढाउन सक्नेमा म विश्वस्त छु ।

तपाईंले नेपाल भ्रमण गर्ने बंगलादेशी पर्यटकहरुको सङ्ख्यामा उल्लेखनीय बृद्धि हुने सङ्केत गर्नुभयो, अर्को वर्ष नेपालले भ्रमण वर्ष २०२० मनाउँदै छ । अर्कोवर्ष के नेपालले बंगलादेशबाट अझ धेरै पर्यटक आउने अपेक्षा गर्नसक्छ ?

अवश्य पनि, नेपालले अपेक्षा गर्नसक्छ । तैपनि मैले यसअघि पनि भनेँ, नेपालले बंगलादेशमा प्रवर्द्धनात्मक गतिविधिलाई अघि बढाउनु आवश्यक छ । नेपालले बंगलादेशका टेलिभिजनमा विज्ञापन गरेर वा सडक महोत्सव वा अन्य कुनै किसिमका कार्यक्रम गरेर नेपालको पर्यटन प्रवर्द्धन गर्न सकिन्छ भन्ने मलाई लाग्छ । वर्तमान समयमा बंगलादेशबाट नेपाल आउने अधिकांश पर्यटकहरु कुनै प्रवर्द्धनात्मक कार्यक्रबाट जानकारी पाएर भन्दा पनि नेपाल पुगेका आफ्ना साथी वा अरुले दिएको सल्लाहमा मात्र आउने गरेका छन् ।

अर्को कुरा नेपालले सडकमार्गको प्रयोग गरी नेपाल आउने पर्यटकलाई लक्षित गर्न सक्छ । पूर्वी नेपाल बंगलादेशसँग अत्यन्त नजिक छ । साँच्चै भन्दा कञ्चनजङ्घा हिमालको दृश्यावलोकन गर्न धेरै बंगलादेशी पर्यटकहरु भारतको दार्जेलिङ जाने गरेका छन्, उनीहरुलाई नेपालको इलामबाट कञ्चनजङ्घा देखिन्छ भन्ने थाहा छैन । नेपालले उत्तरी बंगलादेशमा बसोबास गर्ने मानिसहरुलाई पनि सम्भावित पर्यटकका रुपमा लक्षित गर्न सक्छ । त्यस्तै, काठमाडौं र ढाकाबीच प्रत्यक्ष बस सेवा सञ्चालनमा आउने हो भने पनि विशाल सङ्ख्यामा बंगलादेशीहरु नेपाल भ्रमण गर्न सक्छन् । यदी नेपालले इलाम, जनकपुर र लुम्बिनीमा पर्यटन क्षेत्रको विकास गर्ने हो भने यसले नेपालको आर्थतन्त्र लाभान्वित त हुन्छ नै, यसबाट दुई मुलुकबीच जनस्तरको सम्बन्ध पनि सुमधुर हुन्छ ।

नेपालमा बंगलादेशको प्रमुख प्राथमिकता के हो ?

साँच्चै भन्दा व्यापार हाम्रो द्विपक्षीय सम्बन्धको महत्वपूर्ण पक्ष हो । तैपनी दुःखलाग्दो कुरा के छ भने व्यापार हाम्रो वास्तविक क्षमता भन्दा निकै कम छ । हाल हामीले नेपालमा ४ करोड देखि ४ करोड ५० लाख डलर आसपासको स्तरमा वस्तु निर्यात गरिरहेका छौं र नेपालले बंगलादेशमा १ करोड १० लाख देखि १ करोड २० लाख डलर बराबरको वस्तु निर्यात गरिरहेको छ । दुबै मुलुकले अन्य मुलुकसँग गर्ने व्यापारसँग तुलना गर्दा यो सङ्ख्या अत्यन्त सानो हो । मेरो विचारमा नेपालले बंगलादेशबाट अत्यन्त सानोस्तरमा मात्र सामान आयात गर्दै आएको छ । नेपालले विश्वभरबाट १३ अर्ब डलर बराबरको सामान आयात गर्दै आएको अवस्थामा बंगलादेशबाट नेपालले आयात गर्ने सामानको स्तर अत्यन्त सानो हो । त्यसैगरी नेपालले विश्वभर १ अर्ब डलर बराबरको सामान निर्यात गर्ने गरेको छ । यसअनुसार नेपालले बंगलादेशतर्फ सानो स्तरमा मात्र सामान निर्यात गर्ने गरेको छ । विश्वव्यापी व्यापारको विश्वव्यापी व्यापारको बदलिँदो अवस्थामा यो एकदमै सानो हो । तपाईंहरुले सीधै बंगलाबन्ध तर्फ ट्रक लगेर त्यहाँबाट ट्रकमा सामान हालेर यता ल्याउन सक्नुहुन्छ । किन मानिसहरु यसो गरिरहेका छैनन् मलाई थाहा छैन ।

तपाईंलाई मानिसहरुले त्यसो नगर्नुको कारण के होला जस्तो लाग्छ ?

यसो नगर्नुको एउटा कारण दुबै मुलुकका व्यापारिक समुदायहरु द्विपक्षीय व्यापारको क्षमताबारे जानकार नभएको हुनसक्छ । उनीहरु आफ्नो घरेलु बजारतर्फ मात्र केन्द्रित भएको हुनसक्छ । साँच्चै भन्दा बंगलादेशी व्यापारीहरुले नेपालको बजार सानो भएको र नेपालीहरु बंगलादेशी उत्पादनतर्फ आकर्षित नभएको सोचेका हुनसक्छन् । यो एउटा कल्पना हो वास्तविकता होइन ।

दुबै मुलुकले यसबारे चासो नदिएका कारण यस्तो अवस्था आएको हो भन्ने तपाईंलाई लाग्छ ?

नेपालस्थित बंगलादेशी राजदूतावासले पछिल्ला ४ वर्षयता बंगलादेश एक्सपोका नामबाट व्यापार मेला आयोजना गर्दै आएको छ । हामीले नेपाली व्यापारी, व्यावसायी र सर्वसाधारणबाट राम्रो प्रतिक्रिया पाएका छौं । तैपनी मोटरसाइकल, फर्निचर, विद्युतीय उपकरण, खाद्यान्न, ब्याट्रीहरु, सोलर प्यानलहरु, निर्माण सामग्री, स्टिलका उत्पादनजस्ता उच्च मूल्यका सामानहरु नेपाली बजारमा पुग्न सकेका छैनन् । यस्ता उत्पादनहरु नेपाल आउने क्रममा छन् । नेपाली जनताहरु बंगलादेशी उत्पादनबाट सन्तुष्ट नै छन् ।

नेपालले बंगलादेशतार्फ दलहन सामग्री निर्यात गर्दथ्यो । आजकल बंगलादेशले क्यानाडाबाट सस्तो मूल्यमा दलहन आयात गर्छ । र बंगलादेशको बजार बढिरहेकाले मैले नेपाली निर्यातकर्ताहरुलाई पस्मिना, अदुवा वा यस्तै सामानहरु निर्यात गर्न प्रोत्साहन गर्ने प्रयास गर्दै आएकी छु । केही नेपाली वस्तु निर्यात गर्ने प्रक्रिया झन्झटिलो र लामो भएको मेरो जानकारीमा आएको छ । त्यस्तै बंगलादेश सरकारले विदेशबाट निर्यात हुने सामानमा भारी कर लगाएको छ । तैपनि मैले भन्दै आएकी छु, अरु मुलुकको प्रक्रिया र नेपालको प्रक्रिया पनि उस्तै नै छ । उनीहरुले पनि विभिन्न मुलुकमा निर्यात गर्दै आएका छन् । त्यसैगरी उनीहरुले बंगलादेशतर्फ पनि सामान निर्यात गर्दै आएका छन् । यदी अरु मुलुकले बंगलादेशतर्फ सामान निर्यात गर्न सक्छन्, भने नेपालले किन सक्दैन ?

यसो भनिरहँदा हामी बंगलादेशीहरु पनि नेपालबाट सामान निर्यात होस् भन्ने चाहन्छौं । हामीले निश्चित नेपाली वस्तुहरुलाई भन्साररहित सेवाको प्रस्ताव गरेका छौं । नेपालको व्यापार मन्त्रालयले यसबारे अध्ययन गरिरहेको छ । आशा गरौं नेपालको सरोकारवाला मन्त्रालयले यस्ता वस्तुको सूची तयार पारेपछि हामी दुबै पक्षले यसलाई अनुमोदन गर्नेछ । यसले बंगलादेशमा नेपाली सामानको प्रवर्द्धन हुनेछ ।

नेपालको कस्तो क्षेत्रमा बंगलादेशले लगानी गर्नसक्छ ?

हामीले नेपालको जलविद्युत क्षेत्रमा निकै चासो दिइरहेका छौं । उर्जा क्षेत्रको सहकार्यका लागि दुई मुलुकबीच सन् २०१८ को अगष्ट महिनामा समझदारी पत्रमा हस्ताक्षार भइसकेको छ । बंगलादेश उर्जाका लागि भोको छ र अबका दुई वर्षपछि नेपालको उर्जा उत्पादन यहाँको मागभन्दा धेरै हुनेछ । त्यसैले नेपालले उर्जाका लागि बंगलादेशमा राम्रो बजार पाउन सक्नेछ र आवश्यक परेको खण्डमा बंगलादेश नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न पनि सक्छ वा यहाँको जलविद्युत केन्द्रलाई सीधै खरिद गर्न समेत सक्छ । अथवा साझा स्वामित्वको आधारमा पनि नेपालमा जलविद्युत उत्पादन गर्न सक्छौं । बंगलादेशलाई विद्युत अपरिहार्य छ । हाम्रा मन्त्रीले समेत नेपालबाट ९००० मेगावाट वा यसभन्दा धेरै विद्युत आयात गर्नसक्ने बताएका थिए ।

नेपालमा जल विद्युतबाहेक अरु कुनै त्यस्ता क्षेत्र छन्, जहाँ बंगलादेशले लगानी गर्नसक्छ ?

केही बन्देजका कारण हालसम्म बंगलादेशले तेश्रो मुलुकमा ठूलो लगानी गरेको छैन । तैपनि पर्यटन क्षेत्र र कृषि वा खाद्यान्न प्रशोधन क्षेत्रमा लगानीको सम्भावना हुनसक्छ ।

बंगलादेश–भुटान–भारत–नेपाल (बीबीआईएन) कनेक्टिभिटीको वर्तमान अवस्था के छ ?

वास्तवमा यी मुलुकहरुले यसअघि मोटरगाडीको सम्झौता गरेका थिए । तैपनि भुटान केही समयका लागि यसबाट बाहिरियो । बंगलादेश, भारत र नेपालबाट सडक सम्पर्कका लागि योजना बनाउन पहल भएको थियो । सन् २०१८ को अप्रिल महिनाबाट ढाकाबाट काठमाडौंसम्म बस सेवाको परीक्षण समेत गरिएको थियो । यो सफल नै थियो । यो परियोजनाबारे ठूलो उत्साह थियो । यो चाँडै सञ्चालनमा आउनेमा मानिसहरु आशावादी थिए । तैपनी यो परियोजना नेपालमा अड्कियो । मेरो विचारमा केही कारणले गर्दा नेपालले सडक सम्पर्कको यो परियोजनाबाट प्राप्त गर्ने लाभबारे धेरै निश्चित थिएन ।

तर, मैले स्पष्ट पार्नुपर्छ, यो सम्झौता क्षेत्रीय सम्पर्क, समायोजन र व्यापारका लागि उत्तम हो । यसबाट सामान र सेवाको पारवाहन तथा जनस्तरमा सम्पर्क स्थापनामार्फत् पर्यटनलाई प्रवर्द्धन गरी यो क्षेत्रमा रहेका व्यापारिक समुदायहरुलाई लाभ पु¥याउन सक्ने अपेक्षा थियो । यो कुनै पारवहन सम्झौताजस्तो होइन । यसका लागि अन्य संयन्त्रहरु थिए । ढाकाबाट काठमाडौं, काठमाडौंबाट नयाँ दिल्ली, त्यहाँबाट ढाका र यसैगरी मानिसहरुको आवतजावतलाई सहज बनाएर अन्तर क्षेत्रीय सम्पर्क प्रवर्द्धन गर्नका लागि मात्र यसको परिकल्पना गरिएको थियो । शुरुमा बस सेवामार्फत यात्रुहरुका लागि यातायातको व्यवस्था थियो, यसको सफलतासँगै कार्गोको आवतजावतलाई पनि अघि बढाइने तय थियो । योजस्तै नयाँ कामप्रति मानिसहरुका आ–आफ्ना संदेह हुनसक्छन् । तर, यसको अर्थ हामी हाम्रो समस्यालाई समाधान गर्ने प्रयास गरी अझ राम्रो गर्न प्रयास नै गर्नुहुन्न भन्ने होइन ।

भूपरिवेष्ठित मुलुकको रुपमा रहेको नेपालले विशेष मनन गर्न सक्छ । यो सडक सम्पर्कबारे नेपालको चिन्तालाई बंगलादेश र भारतले सोही अनुरुप समाधान गर्न विचार गर्न सक्नेमा म निश्चिन्त छु । यदी यसबारे कुनै चिन्ता छ भने नेपालले बंगलादेशसँग यसबारे छलफल गर्न सक्छ । र, यसलाई सम्बोधन गर्ने साधन र बाटो हुन सक्नेमा दुई मत छैन । त्यसबाहेक कहिलेकहीँ बसबाट यात्रा गर्नु निकै रामाइलो अनुभव हुन्छ ।

बंगलादेशको पहाडपुरमा ११ औं शताब्दीमा निर्मित प्राचिन बौद्ध गुम्बा र विहार छ । दुबै मुलुकमा बौद्ध धर्मको राम्रो सम्बन्ध छ । बंगलादेशले सम्राट अशोकको पालाको महाष्टङ्ग संरक्षण गरेर राखेको छ । उत्खननका क्रममा नेपालको कपिलवस्तुमा हामीले महाष्टङ्गमा फेला पारेजस्तै संरचना फेला परेको छ । दुई मुलुकबीचको सम्पर्क २००० देखि २५०० वर्ष पुरानो हो । त्यसैले पर्यटनलाई प्रवर्द्धन गर्नका लागि कपिलवस्तु, लुम्बिनी, पहाडपुर, महाष्टङ्गलगायतका स्थानहरु बस सञ्जालमार्फत् जोडिन सक्छन् ।

सार्कमा के भइरहेको छ ? के यसलाई पुनर्ताजगी गर्न सकिन्छ ?

शुरुमा सार्क स्थापनाको उद्देश्य दक्षिण एशियाली मुलुकहरुमा सामाजिक–आर्थिक विकास ल्याउने वा समायोजन गर्ने थियो । दक्षिण एशियाली मुलुकहरु आर्थिकमात्र नभइ राजनीतिक विकासको गतितर्फ पनि अघि बढिरहेका छन् । यसले सबैलाई फाइदा हुन्छ भन्ने कुरा निकट भविष्यमा नेतृत्वले स्वीकार गर्ने मलाई विश्वास छ । हामी सबै सँगै अघि बढ्नुपर्छ । यस क्षेत्रका सबै मुलुकहरु विकासको तीब्र गतिमा अघि बढिरहेका छन् । एक दिन सामाजिक आर्थिक मुद्धा राजनीतिक मुद्धाभन्दा माथि उठ्न सकेमा हामी एकै ठाउँमा अउन सक्छौं । यसै सन्दर्भमा हामी बिम्सटेकमा पनि काम गरिरहेका छौं । दक्षिण एशियाली क्षेत्रलाई अघि लैजान यो पनि अर्को बाटो हो । र यसको सबैभन्दा राम्रो पाटो भनेको भारत, बंगलादेश, भुटान नेपाल दुबै संगठनका साझा सदस्य हुन् । त्यसोभए, यी चार मुलुकहरु सामाजिक आर्थिक विकासका लागि महत्वपूर्ण केन्द्र स्थापनाका लागि किन अघि नबढ्ने ?

बंगलादेशमा नेपाली मूलका धेरै नागरिकहरु पनि छन् । उनीहरुबारे केही बताइदिनुहुन्छ ?

अवश्य पनि, बंगलादेशमा नेपाली मूलका धेरै नागरिकहरु छन् । यो संख्या १ लाख ५० हजारसम्म होला । उनीहरु विभिन्न कारणले गर्दा तीन वा चार पुस्ता अघि बंगलदेश आएका थिए । उनीहरु खुशीसाथ बंगलादेशमा बसोबास गरिरहेका छन् । विशेषगरी दक्षिण पूर्वी बंगलादेशको चटगाउँ हिल ट्राकमा गोर्खाहरुलाई बेलायती शासनको समयमा त्यहाँ पुर्‍याइएको थियो । शेख हसिनाको मन्त्रिपरिषद्मा नेपाली मूलका वीर बहादुरलाई चटगाउँ हिल ट्राकको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । हामीबीच शताब्दी औं पुरानो सम्बन्ध छ । व्यापार, सरकारी सेवा र राजनीतिमा पनि ।

भर्खर

0