गाईजात्रा पर्व–स्वर्गीय आफन्तको सम्झना « Khabarhub
Logo
१४ माघ २०७८, शुक्रबार

गाईजात्रा पर्व–स्वर्गीय आफन्तको सम्झना



गाईजात्रा पर्वलाई नेवारी भाषामा ‘सापारु’ भनिन्छ । गाईलाई अथवा कुनै युवाले गाईको रूपमा सिंगारिएर स्वर्गीय आफन्तको सम्झनामा बाजागाजा र ख्यालीसहित नगर परिक्रमा गरी घर फर्कने एक संस्कृति गाईजात्रको नामले चिनिन्छ । यो विशेष गरी नेवारी समुदायमा आफ्ना दिवंगत पितृहरूको उद्धार गर्ने सन्दर्भमा गाईको जात्रा गरी मनाइन्छ । नेपाल सम्वत् अनुसार गुंलपगाः पारु अर्थात् भाद्र शुक्ल प्रतिपदाको तिथिमा वर्षदिनभित्र वितेका आफ्ना मान्छेको सम्झनामा धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्वका रूपमा गाईजात्रा मनाउने प्रचलन छ।

ऐतिहासिक पृष्ठभूमि

मल्लकालीन नेपालका राजा प्रताप मल्लले आफ्नो छोरा चक्रवर्तेन्द्रको नाबालक अवस्थामै मृत्यु हुँदा आफ्नी रानीलाई सम्झाउन निक्कै मुश्किल भयो । यस्तो शोक धेरै नेपालीले सहेका छन् भनी देखाउन उनले मृत्यु पीडा भोगेका परिवारलाई दरबारमा बोलाए । पछि जनताले मृतकको नाममा मान्छेलाई गाई बनाएर बाजागाजा र ख्याली बजाउँदै चित्रविचित्रका अनुहार भएका मान्छेहरूको गाइजात्रा लिई दरबारमा पुगे । त्यो सबै शोकमा डुबेकी रानीले देखिन् र एक्कासि हाँस्न थालिन् । त्यसपछि राजाले रानीको शोक मेटाउन मद्दत गरेको भनी जनतालाई इनाम दिए । त्यसपछि हरेक वर्ष गाइजात्रा पर्व मनाउन थालियो ।

गाईजात्राका बारेमा अनुश्रुति

हाम्रो समाजमा हरेक संस्कारका पछि अनुश्रुतिहरू पाइन्छन्, र गाईजात्राका बारेमा केही अनुभुतिहरु यस प्रकार छन् :

क.अघि कुनै समयमा पृथ्वीले गाईको रूप धारण गरी यहाँ घुम्न आएकी थिइन् । उनी आएको दिन भाद्र कृष्ण प्रतिपदाको दिन थियो भन्ने विश्वासमा मानिसहरूले पृथ्वीरूपी गाईको सम्मान गरी गाईजात्रा मनाउने परम्परा नै प्रारम्भ गरे (चालिसे, २०३९ : ३५) ।

ख. पृथ्वीले गाईको रूप लिएर घुम्दा उनका सेनामेना भूत, प्रेत, पिशाच, ख्याकहरू विभिन्न रूप बनाई हाँस्दै ठट्टा गर्दै कुत्सित चेष्टाहरू देखाउँदै पछि पछि लागेका थिए (चालिसे, २३९ : ३५) ।

ग. अघि चित्रगुप्तले वर्षमा एक दिन आफ्नो न्यायदरबारको ढोका खोली आफ्नो दूत कागलाई धर्तीमा मरेर छट्पटाएका मृतात्माहरू मेरो दरबारमा आएकि आएनन् बुझेर आऊ भनी भाद्र कृष्ण प्रतिपदाको दिनमा पठाएका थिए भन्ने जनविश्वासका आधारमा गाईजात्रा निकाल्न सुरु गरिएको हो ।

घ. पुराणका आधारमा स्वर्ग जाने जीवात्मा वैतरिणी नदी तर्न नसक्दा गाईको पुच्छर समाउन पाउनेले वैतरिणी तरे भन्ने कथन पाइन्छ । यस कुराको आधारमा गाईजात्रा निकाली मृतात्माको उद्धारमा लागि यो पर्व मनाउन थालिएको हो ।

ङ. कुनै बेला बुद्ध तपस्यामा बसेका बेला उनको तपभङ्ग गर्न कामदेव (चेष्टा मार) ले काम क्रोध, मोह मद आदि रूपका सेनालाई पठायो । तिनीहरूले भूत प्रेत, क्रोध मोह अनेक रूपमा ‘हा हा हू हू’ गरी बुद्धको तपस्या भङ्ग गर्न खोजेकाले केही बौद्धमार्गीहरूले गाईजात्रा पर्व मनाउन निषेध गरेको पाइन्छ ।

के हुन्छ गाईजात्रामा ? 

काठमाडौंको हनुमान ढोकाको आगनमा गाईजात्राको शोभायात्रा पुर्‍याई हाजिरी जनाएपछि मात्र आ–आफ्ना गाई र जोगी भेषभूषामा सजिएका किशोर र दर्शकहरू नगर परिक्रमा गरी आफ्नो घरमा फर्कने गर्दछन् । यो पर्व नेवार समुदाले मान्ने हुँदा नेवार वस्ती भएका गाउँ र नगरमा पनि छुट्टा छुट्टै किसिमले मनाएको देखिन्छ ।

ललितपुरका नेवारहरू पाटनदरबारमा पुगेर नगरपरिक्रमा गर्दछन् भने भक्तपुरका नेवारहरू भक्तपुरको दरबारमा पुगेर शोभायात्रा अघि बढाउँछन् । देशका विभिन्न क्षेत्रमा मनाइने यो गाईजात्रा हेर्दा सम्पन्न र सामान्य परिवारले आफ्नो गच्छे अनुसार मनाएको देखिन्छ । सामान्य परिवारले बाँसको पेरुङ्गोमा गाईको तस्वीर वा शिर राखी अनेक कपडा र गहनाले सिंगारी नगर टोल घुमाउने गरेको देखिन्छ ।

गाईजात्रा पर्व धार्मिक, सांस्कृतिक मान्यतामा आधारित संस्कृति हो । कतिपय ठाउँमा घरका मुख्य मान्छे जात्रामा जान्छन् । यो गाईजात्रा मनाउँदै गर्दा कतिपय ठाउँमा देवतालाई बली दिने र पारिवारिक भोजको आयोजना गर्ने गरिन्छ । विशेष गरी शोभायात्रा सकेर घर फर्केपछि विवाहिता छोरीले गाईको गोडा धोई त्यस गाईको पुच्छर बनाएको कपडा तानी पानीमा भिजाएर सबैलाई जल छर्कने प्रचलन रहेको छ ।

गाई नै वा गाईको रूपमा सजिएका किशोर युवाहरू अत्यन्त अनुशासित र संयमका साथ नगर परिक्रमामा निस्कन्छन् । जुन घरमा मृत्यु शोक परेको छ ती ती घरबाट गाईजात्रा निकाल्ने चलन छ । टोलबाट निकालिएको गाईलाई अन्य परिवारका सदस्यले बाटो बाटोमा भेटी मिठाई, फलफूल र पैसा चढाई पितृ आत्माको जय होस् भन्ने गरिन्छ ।

गाईजात्रा नाच आठ दिनसम्म मनाइन्छ । पछिल्ला दिनमा सरकार र संघसंस्थाहरूले पनि आ– आफ्नो किसिमले गाईजात्रालाई एक उत्सवका रूपमा मनाउँदै आएको पाइन्छ ।

गाईजात्राले ल्याएका सकारात्मक गुण

समाजमा विभिन्न संस्कृति छन् र तिनको आफ्नै महत्व रहेको हुन्छ । नेपाली समाजमा यो गाईजात्रा पर्वले ल्याएका केही सकारात्मक गुणहरू छन्, ती हुन् :

१. यस पर्वले राजा वा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीले आफूले गरेका गल्तीको बारेमा जनतालाई बोल्नसम्म दिँदैनन् तर यो दिनमाचाहि जनताले मन खोलेर सत्य बोल्न पाउने छन् भन्ने परम्परा बसेकाले शासकका कमी कमजोरी पहिल्याउने पर्वको रूपमा गाईजात्रा देखापर्छ ।

२. यस पर्वले सामाजिक वा शासकका विथितिका विरुद्धमा व्यङ्ग्य गरी समाजलाई ज्ञान र मनोरञ्जन दिँदै आएको छ ।

३. वर्तमान युगका विसङ्गति केलाउने साहित्यले पनि कथा, कविता, नाटक गीत, गजलबाट गाईजात्रा पर्न मनाउने गरेको पाइन्छ ।

४. चित्रकारले चित्रबाट पत्रकारले पत्रबाट विकृति र विसङ्गतिका बारेमा बोल्न र लेख्न पाउने विशेष पर्वका रूपमा गाईजात्रा मानिँदै आएको देखिन्छ ।

५. शासकले वा उद्यमीले आफ्नो अनुहार ऐनामा हेरे पनि म कस्तो छु के गरेको छु भन्ने वास्तविक चरित्रको ऐना हेर्न नसक्ने हुँदा जनताले पनि वास्तविक तथ्य देखाई झटारो वा व्यङ्ग्यले हँसाउने पर्व हो गाईजात्रा ।

६. दुःखी, गरीब, अनाथ जनताले आफ्नो पीडा कसैलाई भन्न सुनाउन नपाएको सन्दर्भमा उनीहरूलाई यो पर्वले एकदिन बोल्ने आँट दिएको देखिन्छ ।

७. जसरी शोकमा डुबेकी रानीले जनताको पीडा देखेर मन शान्त पारेकी थिइन्, ठीक त्यसरी नै जनताको प्रतिक्रिया वा अभिव्यक्ति पढेर सुनेर सरकारले पनि आफूलाई सुधार्ने भनेका पाउँछ, त्यसकारणले गाईजात्रा एक हाँसोको पर्वभन्दा आवश्यक पर्व बन्न पुगेको छ ।

गाईजात्राका गुण/अवगुण

गाईजात्रा विशुद्ध पितृउद्धार गर्ने संस्कारसँग सम्बन्धित पर्व हो । यसले समाजमा विथिति कहाँ कहाँ छ भनेर देखाउने हुँदा एउटा नेवाः समुदायबाट सुरु भएपनि सिङ्गो समाजलाई नै बाटो देखाउने पर्वका रूपमा गाईजात्रा महत्वपूर्ण पर्व बनेको छ ।

गाईजात्राका केही अवगुण पनि छन् ती के हुन् भने आधुनिक विज्ञान र ज्ञानको नयाँ नयाँ संसार अघि बढेको बेलामा परम्परागत विश्वासमा लागि पितृहरूको उद्धार हुने कुरासँगै अन्य सेवामूलक काममा त्यति ध्यान नपुगेको हो कि । यसरी नै मानिसहरूका आ–आफ्नै पीडा हुन्छन् जब कुनै गरीबले घरबाट गाईजात्रा निकाल्न सक्दैन तब ऊ दुःखी भएर बाँच्नु पर्ने हुन्छ । तेस्रो कुरा गरिबीको बृद्धिले यो गाईजात्रा पर्व कम खर्चमा गर्न नसकिने हुँदा एउटा नगरले वा गाउँले मिलेर सबैको हात माथि राखेर सम्पन्न गर्ने परम्परा बस्न सकेको नदेखिनु अवगुण हो ।

उपसंहार
नेपालमा नेवा : समुदायको निजी संस्कृतिका रूपमा आएको गाईजात्रा पर्व हो । यसका पछाडि धार्मिक, सांस्कृतिक, ऐतिहासिक विश्वासहरु जोडिएका छन् । गाईजात्रा किम्वदन्तिका आधारमा मात्र भन्दा युग सापेक्ष यसको उत्थान गर्न सकेमा गाईजात्रा राष्ट्रिय पर्व बन्न सक्नेछ । गाईजात्राले बढीभन्दा बढी सामाजिक मन र सद्भावको संरक्षण गर्नुपर्दछ । गाई हिन्दू बौद्ध जैन संस्कृतिको महत्वपूर्ण जनावर पनि हो ।

मलाई गाईलाई विषय बनाएर कोही अन्य व्यङ्ग्य, हाँसो, परिहासतिर मात्र ढल्कनु हुन्न भन्ने लाग्छ । यसको महत्व प्रज्ञाप्रतिष्ठान जस्ता प्रतिष्ठान र अन्य सङ्घसंस्थाहरूले पनि भव्य र सभ्य रूपमा गर्दै आएका छन् । तर यहाँ भन्नै पर्छ : ती गाई बनेर दिनभर अनुशासनको कडा नियममा बस्ने किशोरले पितृउद्धार गर्ने धर्मलाई पनि बचाई राख्न सकून् । अस्तु ।


भर्खर

0