७९ वर्षीया डा. पाध्येको अनुभव– रानीले छोरी जन्माउँदा राजदरबारमा ‘विस्मात’ ! « Khabarhub
Logo
१० कार्तिक २०७८, बुधबार

७९ वर्षीया डा. पाध्येको अनुभव– रानीले छोरी जन्माउँदा राजदरबारमा ‘विस्मात’ !



काठमाडौं– साडीमाथि सेतो कोट, गलामा एप्रोन, आँखामा चस्मा, सेतै फुलेको कपाल । चाउरी परेको तर हँसिलो चेहरा । उनी हुन् उमेरले ८ दशक पुग्नै लागेकी  सिनामंगलस्थित काठमाडौं मेडिकल कजेलकी प्राध्यापक डाक्टर सरस्वती पाध्ये । ५ दशक अघि मेडिकल क्षेत्रमा लागेकी पाध्येको जोस, जाँगर र बिरामीप्रतिको समर्पण अहिले पनि उस्तै छ ।

उनले श्री ५ को सरकारको पालामा राजदरबारका सदस्यहरुसहित पूर्र्व मेचीदेखि पश्चिम महाकालीसम्मका बिरामीको उपचार गरेकी छिन् । सरकारी सेवाबाट अवकाश पाएपछि डा. सरस्वती २०५९ सालदेखि काठमाडौं मेडिकल कलेजमा प्रोफेसरको रुपमा कार्यरत छिन् ।
‘म यहाँ २०५९ सालदेखि काठमाडौं मेडिकल कलेजमा प्रोफेसर छु । मैले २०२२ सालबाट सरकारी जागिर शुरु गरेर २०५८ मा रिटायर्ड भएको हुँ, त्यसपछि यहाँ कार्यरत छुँ ’ उनले भनिन् ।

‘हावा तालमा डाक्टर बनें’ 

डा. पाध्येले चिकित्सा शिक्षा अध्ययन गरी चिकित्सा क्षेत्रमा आफूलाई समर्पित गरेको पाँच दशक भइसकेको छ । तर आफू चिकित्सा क्षेत्रमा भने थाहा नभई आएको बताउछिन् ।

‘म डाक्टर हावा तालमा बनें । मेरो रुचि र एसएसलसीसम्मको ब्याकराउण्ड म्युजिक, गृहविज्ञान र गणित थियो । मैले साइन्स पढेको थिइँन ।’
वि.स. २००८ सालमा पाध्ये पद्मकन्यामा पाँच कक्षामा पढ्थिन् । उनको पढाइ राम्रो भएकाले छ र सात कक्षा पढ्नै परेन । पाध्ये कक्षा पाँचपछि सिधैं आठ कक्षामा भर्ना भइन् । पाध्येले स्कूले जीवनमा कहिल्यै दोस्रो हुन परेन । २०१३ सालमा एसएलसी दिएकी पाध्ये एसएलसीमा पनि प्रथम श्रेणीमा पास भइन् ।

त्रिचन्द्र क्याम्पसमा पढ्न नदिएपछि विज्ञान विषय प्रतिको उनको मोह बढ्यो । त्यतिबेला एसएलसीपछि विदेशमा छात्रवृत्तिमा पढ्ने अवसरहरु आउथ्यो । विदेशमा छात्रवृतिमा पढ्ने अवसर गोरखापत्रमा छापिन्थ्यो । पाध्ये त्यहि अवसरको खोजिमा दैनिक गोरखापत्र पल्टाउँथिन् ।

पढाइमा अब्बल रहेकी पाध्येलाई आफन्त र शिक्षकहरुले त्रिचन्द्रमा साइन्स पढ्न सुझाव दिए । त्यतिबेलासम्म उनले आफू डाक्टर बन्छु भन्ने सोचेकी थिइनन् । परिवार र आफन्तको सल्लाह अनुसार साइन्स विषयको बारेमा बुझ्न उनी त्रिचन्द्र क्याम्पस गइन् ।

‘सबैले एसएलसीमा राम्रो नम्बर आएको छ, साइन्स पढ भन्नुभयो, त्यसपछि त्रिचन्द्रमा बुझ्न गए । त्यतिबेला सबै इन्डियन शिक्षक थिए, प्रिन्सिपललाई निवेदन दिएर, साइन्स पढ्न चाहन्छु भने,’ पाध्येले भनिन्, ‘तर प्रिन्सिपलले साइन्स पढ्ने ब्याकराउण्ड नभएको भन्दै हिन्दीमै थर्काएर पठाए, म लुरुक्क परेर घर फर्किएँ ।’

त्रिचन्द्र क्याम्पसमा पढ्न नदिएपछि विज्ञान विषय प्रतिको उनको मोह बढ्यो । त्यतिबेला एसएलसीपछि विदेशमा छात्रवृत्तिमा पढ्ने अवसरहरु आउथ्यो । विदेशमा छात्रवृतिमा पढ्ने अवसर गोरखापत्रमा छापिन्थ्यो । पाध्ये त्यहि अवसरको खोजिमा दैनिक गोरखापत्र पल्टाउँथिन् । एकदिन उनले गोरखापत्रमा आयुर्वेदिक शिक्षा अध्ययनका लागि छात्रवृत्तिको अवसर रहेको विज्ञापन देखिन् । त्यहाँ निवेदन दिइन् र अन्तर्वार्ताका लागि पनि गइन् । तर अन्तरर्वार्ता लिनेहरुले पनि पाध्येलाई ‘आयुर्वेदिक भन्दा साइन्स पढ्नु’ भन्ने सुझाव दिए ।

‘सिंहदरबारको झन्डामुनी राउण्ड टेबल थियो, धेरै मान्छे थिए, म अन्तर्वार्ता दिन गए, त्यहाँ अन्तर्वार्ता लिने सरले एसएससीमा यति राम्रो नम्बर आएको छ, तपाईं त साइन्स पढेहुन्थ्यो भन्नुभयो,’ पाध्येले त्यो अन्तर्वार्ता दिएको दिन सम्झिन्, ‘मैले त्यहाँ पनि आसा मारे, मलाई छानेनन् भन्ने लाग्यो ।’

सबैले साइन्स पढ, साइन्स भन्दै गर्दा साइन्स पढ्ने अवसर पाउन भने उनलाई निकै मुस्किल परेको थियो । अन्नत उनले फेरि त्रिचन्द्र क्याम्पसका प्रिन्सिपललाई भेटिन् र आफूले मेहनतका साथ पढ्ने बताउँदै अवसर दिन आग्रह गरिन् ।

साइकलमा कलेज जाँदा पनि सहज त थिएन, आफ्नो सुरुमा साइकल चलाउँदै गयो, केटाहरुले साइकल जुधाउन आउथें । उनीहरु नजिक आएपछि साइकलबाट झरेर डोर्‍याएर लान्थें । उनीहरु गएपछि मात्रै साइकलमा चढ्नुपर्थ्यो ।’

‘सबैले साइन्स पढ मात्रै भन्थें, सबैको करले मैले फरि त्रिचन्द्रको प्रिन्सिपललाई भेटे र आफूले मेहनत गरेर पढ्ने बताएपछि त्यहाँ भर्ना हुन पाएँ,’ पाध्येले त्रिचन्द्रमा पढ्न गएको दिन सम्झिइन् ।

त्रिचन्द्रमा साइन्स पढ्ने विद्यार्थीहरुमा एसएसलसीमा प्रथम श्रेणीमा पास हुने महिलामा पाध्ये र उनकी साथी सामुमैया मात्रै थिए । उनीहरु दुबैजना साइन्स क्याम्पसमा दौतरी बने ।

सेकेण्ड ह्याण्ड साइकलको दुःख

पाध्येलाई घरबाट त्रिचन्द्र कलेजमा जान डेढघण्टा हिड्नुपथ्र्याे । हिँड्न गाह्रो भएपछि ७५ रुपैयाँमा सेकेन्ड ह्याण्ड साइकल किनेको उनले सम्झिइन् ।

‘त्यतिबेला काठमाडौंमा साझा चल्दैनथ्यो । डेढघण्टा हिँडेर कलेज जान गाह्रो भएपछि मैले सेकेन्ड ह्याण्ड साइकल ७५ रुपैयाँमा किने’ उनले विगतबारे सुनाइन् ।

साइकल किनेर मात्रै उनको साइन्स क्याम्पसको यात्रा सहज भएन । बाटोमा साइकललाई ठक्कर दिँदै हेप्ने केटाहरुको पनि सामना गर्ने पर्थ्यो ।
‘साइकलमा कलेज जाँदा पनि सहज त थिएन, आफ्नो सुरुमा साइकल चलाउँदै गयो, केटाहरुले साइकल जुधाउन आउथें । उनीहरु नजिक आएपछि साइकलबाट झरेर डोर्‍याएर लान्थें । उनीहरु गएपछि मात्रै साइकलमा चढ्नुपर्थ्यो ।’ पाध्येले भनिन्, ‘त्यतिबेला धेरै मेहनत गरेर दोस्रो डिभिजनमा आइएसी पास गरें ।’

पाध्ये गाइनोकोलोजिस्ट भएकाले उनले राजा विरेन्द्र र रानी ऐश्वर्य राज्यलक्ष्मीका दोस्रो र तेस्रो सन्तान जन्मने बेलामा सुत्केरी गराएकी थिइन् । उनले विरेन्द्र र ऐश्वर्यलाई परिवार नियोजनका बारेमा समेत जानकारी गराएको बताइन्

त्रिचन्द्रमा आइएसी सकेपछि सन् १९५९ मा पाध्येले एमबिबिएस पढ्नको लागि सरकारी छात्रावृत्ति पाइन् । उनी भारतको दर्बङ्गा एमबिबिएस पढ्न गइन् ।

पाध्येले भारतको दर्बङ्गामा मेम्बर रोयल कलेज अफ अफ्ट्रिसिन्स् एण्ड गाइनोकोलोजी (member, royal college of obstetricians and gynaecology ) अध्ययन गरिन् । त्यहाँ ३ वर्षको एमबिबिएस सकेर उनी नेपाल फर्किन् ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म स्वास्थ्यसेवा

सरकारी छात्रवृत्तिमा अध्ययन गरेबापत सरकारले पाँच वर्ष चाहेको ठाउँमा खटाउन पाउने नियम थियो । वि.स.२०२२ सालमा एमबिबिएसको पढाइ सकेर नेपाल फर्किएपछि पाध्येले पाँचवर्ष विभिन्न अस्पतालमा रहेर सेवा दिइन् ।

‘एमबिबिएस पास भएर आएपछि प्रसूतिगृह, नेपालगञ्ज र मातृशिशू तथा परिवार नियोजन परियोजनामा काम गरें ’ पाध्येले सुनाइन् ।
पाध्येलाई सरकारले अस्पतालमा भन्दा पनि गाउँगाउँमा हुने शिविरमा बढी परिचालन गर्‍यो ।

‘विशेषज्ञता हासिल गरेर आएपछि देशभर शिविरहरु लिएर गएँ । त्यतिबेला हामी नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जनताको घरदैलोमा उपचार गर्न पुग्यौं ’,  प्रा .डा. पाध्येले खबरहबसँग भनिन्, ‘त्यो समयमा सरकारले क्याम्प निर्धारण गर्थो ।’

बिरामी अस्पतालमा होइन, चिकित्सक घरगाउँमा 

प्रा. डा. पाध्येले सरकारले त्यतिबेला गाउँगाउँमा सहज रुपमा स्वास्थ्यसेवा पुर्‍याउने गरेको बताइन् । उनले भनिन्, ‘त्यतिबेला सरकारले घरदैलोमा स्वास्थ्य शिविर लिएर जान्थ्यो, अहिलेका भन्दा त्यतिबेलाका जनताले धेरै राम्रो स्वास्थ्यसेवा पाएका थिए । घर दैलोमा विशेषज्ञ चिकित्सक पुगेर उपचार गर्थे।’

‘वीरेन्द्र सरकारको पालामा गाउँगाउँमा राजाको शिविर आयोजना हुन्थ्यो, बिरामीको परीक्षण हुन्थ्यो, अप्रेसन गर्नुपर्नेको त्यहि अप्रेसन हुन्थ्यो, औषधिसमेत सरकारले निःशूल्क दिन्थ्यो,’ प्रा. डा. पाध्येले थपिन्, ‘त्यतिबेलाको भन्दा अहिलेको स्वास्थ्यसेवा निकै महंगो भएको छ । एउटा बिरामी गाउँबाट डाक्टरसम्म आउनु र एउटा डाक्टर गाउँमा पुग्नुमा धेरै फरक छ नि ।’

‘त्यतिबेला गर्भमा छोरा वा छोरी के छ भन्ने थाहा हुँदैन थियो । राजपरिवारमा पनि छोरा र छोरी जन्मिदा माहोल फरक हुन्थ्यो’  रानी सुत्केरी हुँदा उपचारमा संलग्न डा. पाध्येले भनिन्

पाँच वर्ष सरकारले खटाएको अस्पतालमा काम गरेपछि पाध्येले फेरि उच्च शिक्षाको लागि इंग्ल्याण्ड पढ्नका लागि छात्रवृत्तिमा छनोट भइन् । २०२७ सालमा उनी एमडी पढ्नको लागि इंग्ल्याण्ड गइन् । त्यहाँ ३ वर्षको विशेषज्ञता हासिल गरेर उनी २०३१ सालमा विशेषज्ञ चिकित्सकको रुपमा नेपाल फर्किन् ।

सरकारी छात्रवृत्तिमा पढेकी प्रा. डा. पाध्येले विशेषज्ञता हाँसिल गरेपछि सरकारकै काममा खटिन व्यस्त भइन् । उनले २०२२ सालदेखि २०५८ सालसम्म सरकारको निर्देशनमा सरकारी स्वास्थ्यसंस्था मार्फत सेवा दिइन् ।

राजपरिवारका सदस्यको उपचार

प्रा डा. पाध्येलाई सरकारले निःशूल्क चिकित्सा शिक्षा अध्ययनको अवसर दिएको थियो । त्यसैले पाध्येले राजाको निर्देशन पालना गर्नुपर्ने हुन्थ्यो । विभिन्न रोगका विशेषज्ञसहितको चिकित्सकको टोली नै राजपरिवारको स्वास्थ्य सेवाका लागि तयारी अवस्थामा राखिने गरिन्थ्यो । त्यो चिकित्सकको टोलीमा प्रा. डा. पाध्ये पनि थिइन् । सो क्रममा पाध्येले राजपरिवारका धेरैको उपचार गरिन् ।

पाध्ये गाइनोकोलोजिस्ट भएकाले उनले राजा वीरेन्द्र र रानी ऐश्वर्य राज्यलक्ष्मीका दोस्रो र तेस्रो सन्तान जन्मने बेलामा सुत्केरी गराएकी थिइन् । उनले वीरेन्द्र र ऐश्वर्यलाई परिवार नियोजनका बारेमा समेत जानकारी गराएको बताइन् ।

‘मैले महारानी ऐश्वर्यको दोस्रो र तेस्रो सन्तान जन्मदा प्रसूति गराएको हुँ । राजपरिवारमा स्वास्थ्य परीक्षणका लागि गाइनोकोलोजि, सर्जिकल, मेडिकलको टिम नै हुन्थ्यो’ प्रा.डा. पाध्येले विगत सम्झदै‌ भनिन्, ‘सबैले मिलेर राजपरिवारको स्वास्थ्य परीक्षण गरिन्थ्यो ।’

उनले नेपालका अन्तिम राजा ज्ञानेन्द्रको छोरा पारस जन्मदा पनि आफूले सुत्केरी गराएको बताइन् । राजपरिवारको सुत्केरी गराउने चिकित्सकको टिममा प्रा.डा. पाध्ये सँगै डा. सविता गुरुङ र डा. दिव्य श्री मल्ल पनि थिए ।

राजपरिवारमा छोरा मोह

राजपरिवारमा स्वास्थ्य सेवा दिँदा पाध्ये प्रसूति तथा स्त्रीरोग विशेषज्ञ थिइन् । डा. पाध्येले लामो समय राजपरिवारका महिलाहरुलाई स्त्री तथा प्रसूति सेवा दिइन् । सो क्रममा राम्रो सेवा दिएबापत राजपरिवारले प्रा. डा. पाध्येको टिमलाई दोसल्लाले सम्मान गर्थे ।

राजाहरुको शासनको समयमा समाजमा छोरी र छोरालाई हेर्ने नजर र गर्ने व्यवहार फरक थियो । छोराछोरीबीचको विभेद जनतामा मात्रै होइन राजपरिवारमा पनि थियो । त्यो विभेदलाई प्रा. डा. पाध्येले देखेकी थिइन् ।

‘त्यतिबेला गर्भमा छोरा वा छोरी के छ भन्ने थाहा हुँदैन थियो । राजपरिवारमा पनि छोरा र छोरी जन्मिदा माहोल फरक हुन्थ्यो’ तत्कालिन रानी सुत्केरी हुँदा उपचारमा संलग्न डा. पाध्येले भनिन्, ‘रानी सुत्केरी हुने समयमा खुसियाली मनाउन दोसल्ला ल्याएर राखिएको हुन्थ्यो । सुत्केरी गराइसकेपछि छोरा जन्मिए हामीलाई पनि दोसल्ला ओडाएर सम्मान गर्थें तर छोरी जन्मिए सम्मान गर्दैन थिए, ल्याएको दोसल्ला फिर्ता गर्थे ।’

पीडा

प्रा डा. पाध्येसँग पाँच दशक लामो उपचार अनुभव छ । यो पाँच दशकमा उनले हजारौं महिलाहरुलाई प्रसूति सेवा दिइन् । हजारौं महिलाहरुको रोगको उपचार गरेर निको पनि बनाइन् । उनलाई बिरामीले भगवान् सहर मान्थे । तर एउटा घटना जसले उनलाई पाँच दशको उपचार अवधिमा रुवाएको छ ।

बिरामीलाई आत्मविश्वास बढाउन प्रेरित गर्दै उपचारमा खटिने प्रा. डा. पाध्येलाई एकजना बिरामीको निधनले रुवाएको पनि छ ।

उनले त्यो घटना यसरी सुनाइन् 

२०३४ सालमा सुर्खेतमा स्वास्थ्य शिविरमा घटेको एउटा घटनाले मलाई रुवाएको छ । शिविरमा धेरै टाढादेखि एकजना महिलालाई अप्रेसन गर्नको लागि ४ जनाले डोरीको खाटजस्तोमा बोकेर ल्याएका थिए । शिविर भइरहेको स्थानमा त्यो खाट राखेपछि बिरामीलाई गएर हेर्दा उनको मृत्यु भइसकेको थियो । उसले वर्षौदेखि झरेको पाठेघरलाई चुराको रिङमा अड्काएर राखेकी रहिछन् । उपचार गर्न आउँदा रिङ राखेको अरुले थाहा पाउँछन् भन्ने डर र लाजले आफ्नै औलाले पाठेघरको रिङ चुडाइछन् । धेरै रगत बगेर शिविरमा आइपुग्दासम्म उनको मृत्यु भइसकेको थियो । यो घटनाले मलाई धेरै दुःखी बनायो । पाठेघर झर्ने रोग मर्ने रोग होइन तर उनले जानकारी नपाउँदा मर्नुपर्‍यो । त्यतिबेला म शिविरमै धेरै रोए ।

मृत्युको मुखबाट बचाउँदा

पाँच दशकको उपचार अनुभवमा पाध्येको खुसीका पलहरु पनि धेरै छन् तर केही यस्ता खुसीहरु छन् जसले उनलाई उपचार सेवामा लाग्न सधै प्रेरित गर्छ ।

उनको त्यो खुसी उनकै भनाइमा

२० वर्ष अगाडि एकजना ३५ वर्षकी अविवाहित महिला उपचारको लागि आएकी थिइन् । उनको पाठेघरको मुख नै थिएन । पाठेघरको मुख बन्द हुँदा महिनावारीको समयमा बग्ने रगत उनको पेटभित्रै अड्किएर जम्मा भएको रहेछ । धेरै अस्पतालमा धाउँदा पनि उपचार नभएर चिन्तित अवस्थामा यहाँ आएकी थिइन् । मैले पेट चिरेर अप्रेसन गरेर उनको पेटमा महिनावारी हुँदा जमेको रगत बाहिर निकाले । उनको उपचार सफल भयो । उनी त्यतिबेला धेरै खुसी भइन् । ती महिलाको खुसीले मैले पनि आफ्नो पेसाप्रति गर्व महशुस गरे । मलाई त्यो पल एकदमै रमाइलो लाग्छ ।

जीवन रहेसम्म बिरामीकै सेवामा रहने चाहना छ 

चिकित्सा क्षेत्रमा पाँच दशक पूरा गरेकी वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्रा. डा. पाध्ये बिरामीको सेवामा कहिल्यै थाकिनन् । जीवनको अन्तिम समयसम्म पनि बिरामीकै सेवा गर्ने उनको रहर छ ।

‘मलाई अहिलेपनि सक्रिय देख्दा धेरैले ‘म्याडम अहिलेपनि अस्पताल आउँदै हुनुहुन्छ ?’ भनेर सोध्नुहुन्छ, म पनि जिस्किदै ‘किन मरिसकी भन्ने सोचेको’ भन्ने गर्छुु, अहिलेसम्म सक्रिय हुनपाउँदा बिरामीको सेवा गर्नपाउँदा खुसी लाग्छ,’ प्रा. डा.पाध्येले भनिन्, ‘अहिले आफूले जानेको कुराहरु अरुलाई सिकाउन पाउँदा खुसी लाग्छ । आफ्नो जीवन रहेसम्म बिरामीकै सेवामा रहने चाहना छ । हेरुम् जिन्दगीले कहिलेसम्म साथ दिन्छ !’


भर्खर

0