फिल्म केका लागि बनाउने ? « Khabarhub
Logo
३० जेठ २०७८, आइतबार

फिल्म केका लागि बनाउने ?



काठमाडौं– फिल्म मनोरञ्जनका लागि हो भनी बहस गर्दै आएका अभिनेता/निर्माता दीपकराज गिरीले दर्शकलाई मनोरञ्जन दिने उद्देश्यसहित ‘छक्का पञ्जा ३’ मा शिक्षा क्षेत्रमा देखिएका विकृतिलाई समेटे । सोही नाम राखेर निर्माण गरिएका उनका अन्य फिल्मका तुलनामा यो फिल्मले गाली कम, तारिफ ज्यादा कमायो । यद्यपि फिल्म वृतमा ‘छक्का पञ्जा’ टिमले पहिलेको जस्तै सस्तो ‘कमेडी सेन्स’ प्रयोग गरेर दर्शक हँसाएको आरोप पनि खेप्यो ।

निर्देशक प्रदीप भट्टराईले ‘शत्रु गते’ निर्देशन गरेपछि कति दर्शक तथा समीक्षकले उनलाई सस्तो कमेडीका आधारमा फिल्म बनाएको आरोप समेत लगाए । यद्यपि दर्शकलाई हलसम्म तान्ने मामिलामा ‘छक्का पञ्जा ३’ झैँ यो फिल्म पनि वर्षकै उत्कृष्ट सिनेमामा गनियो ।

निर्देशक भट्टराई यतिबेला फिल्म ‘जात्रै जात्रा’ को निर्देशनमा व्यस्त छन् ।

निर्देशक भट्टराई भन्छन्, ‘पहिले हामीले घरेलु दर्शकलाई आफ्नो स्वादका फिल्म दिएर हलसम्म तानौँ, त्यसपछि विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्न सक्ने फिल्म बनाऔँ, पहिले हलसम्म दर्शक तान्नैपर्छ ।’

उनका अनुसार नेपाली फिल्मले दर्शकलाई हलसम्म तान्न सकेका छैनन् । हुन पनि हो, केही फिल्मलाई छोड्ने हो भने, अहिले फिल्मले दर्शकलाई हलसम्म तान्न सकेका छैनन् । तर, नेपाली हलमा विदेशी फिल्म हेर्ने दर्शक पर्याप्त छन् ।

वर्षको अन्तिमतिर आइपुग्दा व्यापारको हिसाबले नेपाली फिल्मको अवस्था ज्यादै नै निराशाजनक देखिएको छ । केही सीमित फिल्मले बाहेक अन्य कुनै पनि फिल्मले आशाजनक व्यापार गर्न सकेनन् । कतिपय फिल्म त हलमा आएको र गएको समेत पत्तो भएन दर्शकलाई ।

एकथरी फिल्ममेकर भन्छन्, ‘फिल्मले उद्देश्य बोक्नुपर्छ, भिजन हुनुपर्छ, होइन भने नेपाली फिल्मले आफ्नो लय नै गुमाइसक्यो ।’

तर, पछिल्लो समय फिल्म क्षेत्रमा के देखिएको छ भने नयाँपनको खोजी गर्दै बनेका प्रयोगात्मक फिल्मले पनि दर्शक तान्न सकेका छैनन् । फिल्ममेकरले ‘दर्शक हराएको सूचना’, हलमा ‘झिँगा धपाउँदै छु’ जस्ता व्यङ्ग्यात्मक स्टाटस लेखेर अरु फिल्मप्रति कटाक्ष गरिरहेका छन् ।

किन जान छोडे हलमा दर्शक ?

नेपाली सिनेमाको बजार नेपालमा मात्र सीमित छ । विदेशमा भएका नेपालीमाझ पनि राम्रो प्रतिक्रिया आएका फिल्म प्रदर्शन गर्ने गरिए पनि धेरै फिल्मले सन्तोषजनक प्रतिक्रिया पाउने गरेका छन् । नेपाली फिल्मले नेपाली दर्शकको नै चित्त बुझाउन नसकिरहेका बेला केही फिल्ममेकर भने विदेशमा हुने विभिन्न अवार्डलाई केन्द्रमा राखेर फिल्म बनाइरहेका छन् ।

कलाकार दीपकराज गिरी भन्छन्, ‘पैसाले मात्र फिल्म बन्दैन, फिल्म भनेको विचार हो र विचार भनेको स्किृप्ट हो ।’

धेरैजसो नेपाली निर्माताहरु यो क्षेत्रमा फिल्म निर्माणको प्रक्रिया नबुझीकन फिल्ममा मनपरी पैसा खन्याउँछन् । यसरी पैसा खन्याउँदा अरु कलाकार तथा प्राविधिकलाई त दुई/चार पैसा कमाइ भएको छ तर कतिपय निर्माताको घरबास उठेको छ । किनकि, निर्माताले बजार नबुझी फिल्ममा पैसा खन्याउँछन् । फिल्ममेकर चिन्दैनन् ।

दीपकराज गिरीको बुझाइमा अहिलेका फिल्म सङ्ख्यात्मक धेरै र गुणात्मक कम बनिरहेका छन् । निकै सानो नेपाली बजारमा पनि यति धेरै फिल्म निर्माण भइरहेका छन् कि, जुन जरुरी नै छैन । त्यसो त फिल्मकर्मीलाई फिल्म फ्लप हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि किन यसरी फिल्ममा लगानी भइरहेको छ ? त्यो बुझ्न कठिन छ ।

वरिष्ठ कलाकार हरिवंश आचार्यको धारणा पनि उस्तै छ । उनी भन्छन्, ‘नेपालको फिल्म मार्केट सानो छ, धेरै फिल्म नै चाहिँदैन, यहाँ चाहिनेभन्दा धेरै फिल्म बनिरहेका छन् ।’

फिल्म धेरै बन्दा राम्रा फिल्म समेत मारमा परेको आचार्यको बुझाइ छ । आचार्य भन्छन्, ‘हाम्रोमा एउटा समस्या के छ भने कलाकार अलिकति चल्दैमा हाइ डिमान्ड गर्न थाल्ने प्रवृत्ति भयो, यसले गर्दा फिल्मको निर्माण प्रक्रिया महंगो पर्‍यो । अर्कातिर तिनै कलाकारको वर्षमा पाँचवटासम्म फिल्म रिलिज हुन्छ, ओभर एक्स्पोज हुँदा कलाकारको स्टारडम घट्छ, फिल्म हेर्न दर्शक हलसम्म जाँदैनन् ।’

त्यसो त राम्रो फिल्म भए एउटै फिल्म काफी हुन्छ भन्ने बुझेका मेकर पनि नेपाली फिल्म क्षेत्रमा हुँदै नभएका होइनन् । वर्षपिच्छे फिल्म बनाउनुपर्छ/खेल्नुपर्छ भन्ने त छैन तर यहाँ धेरै निर्माताले लगातार फिल्ममा लगानी गरिरहेका छन् । यसको प्रत्यक्ष असर सोही निर्मातामा मात्र देखिए पनि यसले फिल्म क्षेत्रको विकासक्रमलाई नै धक्का दिएको छ ।

हरिवंश आचार्य थप्छन्, ‘फिल्म बनाउने दर्शकलाई मनोरञ्जन दिनकै लागि हो, हामीले पहिले सन्देशमूलक फिल्म पनि निर्माण गर्‍यौँ, ती फिल्ममा पनि हामीले मनोरञ्जनलाई नै प्राथमिकता दिन्थ्यौँ ।’

नेपाली फिल्मदेखि दर्शक टाढिँदै जानुको अर्को कारण फिल्ममा अश्लील संवाद तथा द्वीअर्थी संवादहरुको बढ्दो प्रयोग पनि भएको आचार्यको बुझाइ छ । यसरी डुबेका फिल्ममा ‘पण्डित बाजेको लौरी’, ‘मिस्टर भर्जिन’ ताजा उदाहरण हुन् ।

महाकविले वर्षैपिच्छे मुनामदन लेखेको भए के हुन्थ्यो ?

अहिले नेपाली फिल्ममा लेखकहरुले पनि उस्तै फिल्म लेखिरहेका छन् भने निर्माताहरुले पनि उस्तै सस्ता फिल्ममा लगानी गरिरहेका छन् । जस्तो कि, फिल्म ‘लूट’ प्रदर्शनपछि यस्तै शैलीका फिल्म निर्माणको सानोतिनो बाढी आयो । फिल्म ‘कबड्डी’ निर्माणपछि पनि त्यसमै आधारित भएर लेखिएका अरु थुप्रै फिल्म निर्माण भए । तीमध्ये थोरै फिल्मले मात्र व्यावसायिक रुपमा सफलता हासिल गरे । दुवै फिल्ममा अभिनेता दयाहाङ राई थिए । त्यसपछि दयाहाङ राईको फिल्म मेकरबाट यति डिमाण्ड भयो कि, शायद दयाहाङलाई पनि थाहा छैन– उनले कति फिल्ममा साइन गरे !

धेरै फिल्म फ्लप भए । र, हुने क्रम जारी छ ।

फिल्म कस्तो बन्नुपर्छ भन्ने थाहा नभएका निर्माताहरु जस्तो फिल्म चल्छ, त्यसकै पछि आँखा चिम्लेर लाग्ने गरेको कतिपय फिल्म विश्लेषक बताउँछन् । निर्देशक नरेशकुमार केसी यो क्षेत्रमा निर्माताभन्दा पनि बाह्य क्षेत्रका लगानीकर्ता लगानी गर्न आउने गरेको स्वीकार्छन् ।

खासमा फिल्म मेकिङ पनि पढ्नुपर्ने विषय हो । यो प्रयोग नेपालमा भने भित्रिसकेको छैन । अर्को समस्या के छ भने यहाँ नेपाली फिल्म हामीले भनेजस्तो हुनुपर्छ भनेर एउटा घेरामा डोर्‍याउन खोज्ने फिल्ममेकर पनि छन् । तर, दर्शकले तिनै मेकरका फिल्मप्रति पनि चासो दिएका छैनन् । जसको प्रभाव समग्र फिल्मको विकास क्रममा स्वभाविक रुपमा पर्दछ ।

किन चल्दैनन् सिनेमा ?

दर्शकले नेपाली फिल्मलाई माया गर्नका लागि फिल्मले दर्शकको मन जित्ने हुनुपर्छ । नेपाली फिल्ममा देखिएको सबैभन्दा ठूलो समस्या दर्शकको भावनालाई समेटेर फिल्म बनाउन नसक्नु भएको कतिपय फिल्मकर्मीको बुझाइ छ ।

‘दर्शक हलमा नेपाली फिल्मलाई माया गरौँ भनेर जाने होइनन्, मनोरञ्जनका लागि जाने हुन्,’ दीपकराज गिरीको भनाइ छ, ‘पैसा तिरेर दर्शक बन्द कोठामा किन जाने ? फिल्म मनोरञ्जनका लागि बनाउने हो, यदि फिल्म स्तरीय छैन भने दर्शकले नेपाली भनेर फिल्म हेर्नुहुन्न, किनभने उहाँहरुसँग अरु विकल्प पनि छन् ।’

हो, अहिले दर्शकसँग नेपाली फिल्म नै हेर्नुपर्ने बाध्यता छैन । संसारकै उत्कृष्ट भनिएका फिल्महरु एकैछिनमा हेर्न पाउने प्रविधि छ, दर्शकको हातमा ।

दीपकराज गिरी भन्छन्, ‘नेपाली सिनेमाको बिडम्बना भन्नुपर्छ, ८० प्रतिशत फिल्मले टाउको दुखाउँछ, बाँकी फिल्म राम्रा भएपनि चल्दैनन् ।’

हरिवंश आचार्य पनि दर्शकसँग फिल्मका लागि छुट्याइएको सीमित पैसा मात्र हुने बताउँछन् । उनी भन्छन्, ‘धेरै फिल्म हुँदा कुन फिल्म हेर्न जाने भनेर मन पनि मर्छ ।’

फिल्म के का लागि ? र किन चलेनन् भन्ने भन्दा पनि अहिले फिल्म दर्शकको संवेदना र भावनालाई समेटेर मनोरञ्जनका लागि बन्नुपर्ने कतिपय सिनेकर्मीको धारणा छ । एक विश्लेषक भन्छन्, ‘सिनेमामा नयाँ प्रयोग खोजिनुपर्छ, तर दर्शकको रुचिका फिल्म बन्नुपर्छ, पहिले हलसम्म दर्शक ल्याउन सक्यो भने नेपाली फिल्म हेर्न दर्शकलाई पनि बानी पर्छ ।’


भर्खर

0