नेपालबाटै भिसा लिई उत्तर कोरिया उड्यो भेनेजुएलाली राष्ट्रपति पुत्र अर्नेस्टो नेतृत्वको टोली | Khabarhub Khabarhub

नेपालबाटै भिसा लिई उत्तर कोरिया उड्यो भेनेजुएलाली राष्ट्रपति पुत्र अर्नेस्टो नेतृत्वको टोली



काठमाडौं– अमेरिकी नाकाबन्दी र विपक्षी सत्तालाई विश्व समुदायले मान्यता दिएसँगै अन्तर्राष्ट्रिय जगतमा एक्लिएको भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुएरासहितको टोली नेपालको चार दिने भ्रमण सकेर उत्तर कोरिया प्रस्थान गरेको छ ।

उत्तर कोरियाली विदेश मन्त्रालयको निर्देशनपछि नेपालस्थित उत्तर कोरियाली दूतावासले अर्नेस्टोसहितको टोलीका सदस्यहरुलाई तत्कालै भिसा जारी गरेको थियो ।

नेपाल भ्रमणमा रहेका प्रतिनिधिमण्डलका सदस्यहरुको पासपोर्ट लिएर भेनेजुएलाली गुप्तचर अधिकारी मंगलबार बिहानै ललितपुरस्थित उत्तर कोरियाली दूतावास पुगेका थिए । ती अधिकारीले प्रतिनिधिमण्डलको उत्तर कोरिया भ्रमणको विषयमा राजदूतसँग भेटवार्ता गरेका थिए ।  दूतावासले भेनेजुएलाली टोलीलाई  भिसासहित चीनमा ट्रान्जिट तथा अन्य झमेला नहोस् भन्ने मनसयाले कूटनीतिक पत्र समेत दिएको थियो । मंगलबार साँझ टोली चीन हुँदै उत्तर कोरियातर्फ लागेको हो ।

राष्ट्रपति निकोलस मादुरोको सत्तालाई अबैध मान्दै हुवाँ गुआइदोलाई अन्तर्राष्ट्रिय जगतले राष्ट्रपतिको मान्यता दिएसँगै एक्लिएको भेनेजुएलाको प्रतिनिधिमण्डलले अन्तर्राष्ट्रिय कम्युनिष्ट देशहरुसँगको सम्बन्ध मजबुत बनाउने प्रयास स्वरुप आफू समर्थक देशहरुको भ्रमण गरिरहेको छ ।

सोही क्रममा राष्ट्रपति मादुरोका छोरा अर्नेस्टो र भेनेजुएलाका ३ मन्त्रीसहित ११ जनाको टोली शनिबार नेपाल आएको थियो । अमेरिकाको प्रतिबन्धमा रहेको भेनेजुएलाको ‘इन्टरनेशनल बामपन्थी युवा शक्ति’ का प्रतिनिधिको रुपमा उनीहरु नेपाल आएको बताइएको छ ।

नेपाली नेताहरुले भेनेजुएलाको वास्तविक अवस्था नै नबुझी अबैध सत्तासँग मित्रता फैलाउनु दूर्भाग्यपूर्ण रहेको बताए । अमेरिकाले भेनेजुएलामा रक्तपात नहोस् भन्ने धैर्यता गरेपनि अबैध मादुरो सरकारले शान्तिपूर्ण सत्ता हस्तान्तरण नगरे अन्य विकल्पहरु तयारी गरिरहेको  बताए ।

भेनेजुएलाली उच्चस्तरीय टोली नक्सालस्थित मेरियट होटलमा बसेको थियो । टोलीले ठमेलस्थित थर्ड आई रेस्टुरेन्टमा लन्चका लागि बुकिङ गरेको भएपनि अन्तिममा स्थगित गरेको थियो । सोमबार टोलीले भिभान्त होटलमा आयोजना गरेको रात्रिभोजमा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल सहित उपस्थित थिए ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरोसँग भेटवार्ता गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल ।

अमेरिका लगायत पश्चिमा देशहरुले मादुरो सत्तालाई अबैध भन्दै नाकाबन्दी लगाएपछि कम्युनिष्ट देशहरुको भ्रमणका क्रममा भेनेजुएलाली उच्च स्तरीय भ्रमण टोली भियतनाम हुँदै नेपाल भ्रमणमा आएको थियो ।

नेपालमा उच्च सम्मानका साथ भीआईपी भ्रमण गरेको टोलीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य वामदेव गौतमसँग भेटवार्ता गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधामन्त्री केपी शर्मा ओली र पार्टी महासचिव विष्णु पौडेलले भने भेट्न अस्वीकार गरेको कारण राष्ट्रपति पुत्रले उनलाई भेट्न पाएनन् ।

सत्तारूढ नेकपाका युवा संगठनको निमन्त्रणामा अर्नेस्टो नेपाल भ्रमणमा आएको दाबी गरिएको छ । तर, सरकार र पार्टीले उनलाई कुनै पनि औपचारिक निम्तो नदिएको बालुवाटार स्रोतले जनाएको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुएरासँग सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’।

 अमेरिकी चेतावनी

दक्षिण एशिया हेर्ने अमेरिकी विदेश मन्त्रालयका अधिकारीले नाम नबताउने शर्तमा खबरहबसँग कुरा गर्दै भने,  ‘अमेरिकाबाट प्रतिबन्धित व्यक्तिलाई नेपालमा भब्य स्वागत गर्नु र सत्तारुढ दलका शीर्ष नेताहरुले भेट्नु संयोग मात्र होइन।’

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरोसँग भेटवार्ता गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल ।

उनले नेपाली नेताहरुले भेनेजुएलाको वास्तविक अवस्था नै नबुझी अबैध सत्तासँग मित्रता फैलाउनु दूर्भाग्यपूर्ण रहेको बताए । अमेरिकाले भेनेजुएलामा रक्तपात नहोस् भन्ने धैर्यता गरेपनि अबैध मादुरो सरकारले शान्तिपूर्ण सत्ता हस्तान्तरण नगरे अन्य विकल्पहरु तयारी गरिरहेको  बताए ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुएरालाई खादासहित सम्मान, साथमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतको टोली ।

अबैध राष्ट्रपति

पूर्व राष्ट्रपति ह्युगो चाभेज तथा सत्तारुढ मादुरोको समाजवादी नीतिका कारण भेनेजुएलामा आर्थिक तथा सामाजिक संकट चुलिँदै गइरहेको अवस्थामा सन् २०१५ मा भएको संसदीय निर्वाचनमा विपक्षीको जीत भएको थियो ।

मादुरोको समर्थनमा रहेको संवैधानिक अदालतले उक्त निर्वाचनलाई अमान्य घोषणा गर्दै मादुरोको सत्तालाई थप मजबुत बनाएको थियो । भेनेजुएलामा संविधान लेखनका लागि सन् २०१७ मा भएको संविधानसभा राष्ट्रिय निर्वाचनलाई विपक्षीले वहिष्कार गरेपछि अन्तर्राष्ट्रिय समुदायले उक्त निर्वाचनलाई अबैध भएको मान्यता दिएका थिए ।

सन् २०१८ मा भएको राष्ट्रपतीय निर्वाचन पनि विपक्षीले वहिष्कार गरेका थिए । सन् २०१८ मा भएको निर्वाचनमा मादुरो निर्वाचित भएपनि उक्त निर्वाचनलाई अन्तर्राष्ट्रिय समुदायले अबैध संज्ञा दिँदै आएका छन् ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरोसहितको उच्चस्तरीय टोलीसँग सामूहिक तस्वीर खिचाउँदै सत्तारूढ नेकपाको युवा संगठनका नेताहरु ।

अन्तर्राष्ट्रिय समुदायले अबैध संज्ञा दिएको राष्ट्रपतीय निर्वाचनमा विजयी भएका मादुरोको विरोधमा भएको प्रदर्शनले चर्को रुप लिएपछि गत जनवरी २३ मा विपक्षी नेता हुवाँ गुआइदोले आफूले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । उनी सन् २०१५ मा भएको संसदीय निर्वाचनबाट निर्वाचित भएका थिए ।

सोहीक्रममा राष्ट्रपति मादुरोको समाजवादी सत्तालाई अमेरिका, युरोपेली युनियनसहित विश्वका अधिकांश मुलुकले अबैध करार गर्दै विपक्षी नेता हुवाँ गुआइदोलाई राष्ट्रपतिको मान्यता दिँदै आएका छन् ।

गुआइदोको घोषणासँगै अमेरिकासँगै क्यानाडा, अधिकांश ल्याटिन अमेरिकी मुलुक, बेलायत तथा अन्य युरोपेली मुलुकहरुले गुआइदोलाई भेनेजुएलाको आधिकारिक राष्ट्रपतिको मान्यता दिँदै आएका छन् ।

त्यसयता अमेरिकाले भेनेजुएलाको सबैभन्दा ठूलो निर्यातवस्तु तेललाई लक्षित गरी नाकाबन्दी लगाएको छ । त्यस्तै, अमेरिकाले मादुरोको सत्तालाई सहयोग गर्ने क्युबालगायतका मुलुकहरुलाई लक्षित गरी नाकाबन्दीको घोषणा समेत गरेको छ ।

अमेरिकाले राष्ट्रपति मादुरोको सत्तासँग नजिकका अधिकारीहरुविरुद्ध पनि एकपछि अर्को गरी प्रतिबन्ध लगाउँदै आएको छ । गत जुन २८ मा अमेरिकाले मादुरोका छोरा अर्नेस्टोमाथि प्रतिबन्धको घोषणा गरेको थियो ।

अमेरिकी प्रतिबन्धमा रहेका अर्नेस्टोको नेपाल भ्रमणपछि अमेरिका र नेपालबीचको सम्बन्धमा असर पर्ने चिन्ता उत्पन्न भएको विश्लेषकहरु बताउँछन् ।

भेनेजुएलाका उदण्ड अर्नेस्टो

भेनेजुएलाली समाज राष्ट्रपति मादुरोको समाजवादी नीतिका कारण आर्थिक तथा सामाजिक संकटसँग जुधिरहेका बेला राष्ट्रपति पुत्र अर्नेस्टो भने भेनेजुएलामा आलिशान जीवन बिताउँदै आएका छन् ।

निकोलसितो नामबाट भेनेजुएलामा चिनिने उनी भेनेजुएलाको समाजमा उद्दण्ड र सन्काहा छविका रुपमा परिचित छन् । उनी राष्ट्रपति मादुरोका सबैभन्दा नजिकका व्यक्ति मानिन्छन् ।

सन् २०१५ मा एक विवाह समारोहमा उनले सयौं अमेरिकी डलरको नोट फालेको भिडियो सार्वजनिक भएको थियो । राजधानी कराकाससहित अन्य स्थानमा उनको नाममा दर्जनौं आलिशान बंगला र ‘याट’(लक्जरिएस पानी जहाज) रहेको बताइन्छ । व्यापक भ्रष्टाचारमा लिप्त रहेको बताइने उनको जीवनशैलीलाई लिएर भेनेजुएलामा उनको व्यापक आलोचना हुने गरेको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुएरासहितो टोलीका साथ नेकपा सचिवालय सदस्य तथा नेता वामदेव गौतम ।

उनले भेनेजुएलाको ‘राष्ट्रपतीय विशेष निरीक्षण दस्ता’ नामक संस्थाको प्रमुखका रुपमा काम गर्दै आएका छन् । यो दस्ताले राष्ट्रपति मादुरोले मुलुकमा लागू गरेका नीतिको प्रभावकारिताको मूल्यांकन गर्दै आएको छ ।

त्यस्तै, उनी ‘राष्ट्रपतीय प्रतिनिधिमण्डल तथा उपराष्ट्रपतीय निर्देशन’ नामक निकायको प्रबन्ध निर्देशक समेत हुन् । सिनेमा तथा कला क्षेत्रमा कुनै ज्ञान नभएका उनलाई राष्ट्रपति मादुरोले भेनेजुएलाको राष्ट्रिय चलचित्र विद्यालयका संयोजक समेत नियुक्त गरेका थिए ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ८ : ०३ बजे

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई सोधियाे स्पष्टीकरण

काठमाडौं– हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा,

हिरासत छल्न अस्पताल बस्ने प्रवत्तिबारे गृहमन्त्रीले गरे मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल

काठमाडौं– प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे

पानीमा डुबेर एक युवकको मृत्यु 

दैलेख– भैरवी गाउँपालिका –३ स्थित छामघाट खोलामा नुहाउन गएका एक

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

कडुना– दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त

इलाम-२ का प्रारम्भिक उम्मेदवारसँग रास्वपाको छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने