धनुषामा बम आतंक, ‘कपडाको पोको’ देख्दा समेत प्रहरीको खोजी ! | Khabarhub Khabarhub

धनुषामा बम आतंक, ‘कपडाको पोको’ देख्दा समेत प्रहरीको खोजी !


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबार राति बम विस्फोट हुँदा धनुषामा प्रहरी निरीक्षक (इन्सपेक्टर)सहित ३ जनाको ज्यान गयो ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित राजेश्वर साहको घरमा अज्ञात समूहले राखेको बम ‘चलाउन खोज्दा’ विस्फोट हुँदा ३ जनाले ज्यान गुमाए ।

शुक्रबार रातियता धनुषा जिल्लामा मात्रै आधा दर्जन बढी शंकास्पद बस्तु फेला परेका छन् । शंकास्पद बस्तु देखिएका ठाउँमा प्रहरीले ‘सिल’ गरेर डिस्पोजका लागि सेनालाई बोलाउने गरेको छ । सोमबार बिहान मात्रै धनुषाका विभिन्न ३ ठाउँमा शंकास्पद बस्तु फेला परेका २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले जानकारी दिएको छ ।

फेला परेका सबै शंकास्पद बस्तुलाई सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायव उपरीक्षक अंशु कुमार सिंहले खबरहबलाई जानकारी दिए ।

‘शुक्रबार रातिको घटनापछि मात्रै आधा दर्जनभन्दा बढी ठाउँमा शंकास्पद बस्तु फेला परेका छन्,’ २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका डिएसपी सिंहले खबरहबसँग भने, ‘शंकास्पद बस्तु भेटिएका ठाउँलाई प्रहरीले सिल गरेर डिस्पोजका लागि सेनालाई खबर गर्ने गरेका छौं ।’

स्थानीयमा बमको आतंक, बम भनिएको बस्तु कपडाको पोको

आइतबार राति एक स्थानीयले धनुषा प्रहरीको कन्ट्रोल रुम (१०० नम्बर) मा फोन गरी बाह्रबिधास्थित रंगभूमि मैदान नजिक बम भेटिएको जानकारी दिए ।

बम भेटिएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली बाह्रबिधातर्फ परिचालन भयो ।

प्रहरीको टोली पुग्नासाथ स्थानीयले एउटा कपडाको पोकोजस्तो देखिने एउटा हरियो बोरा देखाए । उक्त बोराभित्र बम भएको स्थानीयको भनाइ थियो ।

प्रहरीले डिस्पोजका लागि सेनालाई सम्पर्क गर्‍यो । नेपाली सेनाको बम डिस्पोजल गर्ने टोली भने सोमबार बिहान मात्रै ‘बम’ भेटिएको ठाउँमा पुग्यो । सोमबार बिहान डिस्पोज गर्ने क्रममा बोरामा पुरानो र थोत्रो कपडा मात्रै भेटियो ।

‘डिस्पोज गरिएको बस्तुको प्रकृति हेर्दा कसैले काम नलाग्ने कपडाहरु पोको पारेर फोलको जस्तो देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय धनुषाको एक प्रहरी अधिकारीले भने, ‘तर, हामीले त्यसबारे अनुसन्धान गरिरहेका छौं । कुनै व्यक्तिले आतंक सिर्जना गर्न पनि कपडाको पोकोलाई शंकास्पद देखिने जस्तो गरेर त्यहाँ राखेको पनि हुन सक्छ ।’

खबरहबको सम्पर्कमा आएका जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी अधिकृत शुक्रबारको घटनापछि स्थानीयहरु बम आतंकले त्रसित बनेको स्वीकार्छन् ।

‘शुक्रबार पनि एउटा शंकास्पद बस्तु भेटिएको थियो । तर, पछि उक्त बस्तु टाइम सेटिङ गरिएको बम भएको फेला पर्‍यो । अन्य ठाउँमा पनि त्यसरी नै विस्फोट पो हुने हो कि ! भन्ने सन्त्रास यहाँका स्थानीयमा छ,’ धनुषा प्रहरीका ती अधिकृतले भने ।

अनुसन्धानका लागि विशेष ब्यूरोको टोली धनुषामा

शुक्रबार राति भएको बम विस्फोटको घटना र त्यसपछि लगातारजसो फेला परिरहेका शंकास्पद बस्तुबारे विस्तृत रुपमा अनुसन्धान गर्न प्रहरीको विशेष ब्यूरोको टोली धनुषा पुगेको छ ।

बिशेष ब्यूरोबाट एकजना प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वमा ७ जनाको टोली धनुषा पुगेको हो ।

आतंकवाद र त्यससँग सम्बन्धित अपराधका घटनाको अनुसन्धानका लागि प्रहरीको विशेष ब्यूरोले काम गर्ने गर्छ ।

शुक्रबारको विस्फोट पनि ‘आतंकवादी’ घटनाअन्तर्गत पर्ने भएका कारण केन्द्रबाट विशेष ब्यूरोको टोली आएर अनुसन्धान शुरु गरेको धनुषा प्रहरी स्रोतले जानकारी दिएको छ ।

विशेष ब्यूरोको टोलीले स्थानीय स्तरमा घटनास्थलको अवलोकन, संभावित संलग्न व्यक्तिहरुको लोकेशन ट्रयाक, टेलिफोन रेकर्डको अनुसन्धान लगायतका काम शुरु गरेको जनाइएको छ ।

शुक्रबार भएको घटनाको अनुसन्धानका लागि स्थानीयस्तरमा पनि प्रहरी निरीक्षक (इन्सपेक्टर) उमाशंकर साहको नेतृत्वमा पनि टोली गठन गरिएको छ ।

शंकाको सुइ विप्लव समूहतिरै

शुक्रबार भएको बम विस्फोट प्रकरणमा प्रहरीले सोमबार बिहानसम्म करिब ८ जनालाई पक्राउ गरिसकेको छ ।

३ जनालाई आइतबार नै पक्राउ गरिसकेको प्रहरीले सोमबारसम्म थप ५ जनालाई पक्राउ गरिसकेको छ ।

‘घटनाको अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिइएको छ, केही अझै पनि शंकाको घेरामा छन्,’ प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेलले खबरहबसँग भने, ‘अहिले नै घटनामा कसको संलग्नता थियो भनेर यकीन भने भइसकेको छैन । अनुसन्धान जारी छ ।’
प्रहरीले फक्राउ गरेका ८ जना नै नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)मा आवद्ध व्यक्ति हुन् ।

प्रहरी स्रोतका अनुसार क्षिरेश्वरनाथ नगरपालिका–५ का राजेश्वर साह ब्याजमा पैसा लगाउने ‘कारोबारी’ हुन् । उनले केही व्यक्तिसँग आफूले दिएको ऋण फिर्ताका लागि पटक पटक ताकेता गर्दै आएका थिए । ऋण लिने व्यक्तिले पछि विप्लव समूहका केही व्यक्तिमार्फत साहलाई धम्की समेत दिएका थिए ।

साहले पनि आफूले जुनसुकै हालतमा ऋण असुल गरिछाड्ने भनेर ऋणीलाई चेतावनी दिएका थिए ।

पछि, तिनै ऋणीले विप्लव समूहका कार्यकर्तामार्फत उनको घरमा चेतावनी दिन बम राख्न लगाएका हुन सक्ने धनुषा प्रहरी स्रोतको भनाइ छ ।

उक्त बम विस्फोटमा राजेश्वर साह र उनका १६ वर्षीय छोरा आनन्दको पनि मृत्यु भयो ।

शुक्रबार भएको बम विस्फोटको घटनाको अनुसन्धान गरिरहेका घनुषा प्रहरीका एक कर्मचारीले भने, ‘यसमा विप्लव समूहकै केही व्यक्ति संलग्न भएको प्रमाणहरु पनि छन् ।’

यद्यपि, प्रहरीले भने साहबाट ऋण लिने कुनै पनि व्यक्तिलाई अहिलेसम्म पक्राउ नगरिएको बताएको छ । ‘ऋण लिएका व्यक्ति पनि बम विस्फोटमा संलग्न हुन सक्छन् भन्ने आशंका बलियो छ । तर, प्रमाण नपुग्दै पक्राउ पनि गर्नु भएन,’ धनुषा प्रहरीका एक अधिकारीले भने, ‘अनुसन्धानका क्रममा फेला परेका प्रमाणका आधारमा पक्राउ गरिन्छ ।’

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  १ : १८ बजे

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल

विपक्षीले अपव्याख्या गरे, हाम्रो सरकार २०८४ सम्म जान्छ : खगराज अधिकारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) बाट लाभका

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित 

वासिङ्टन– अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ