उपनिर्वाचनमा होमिए राजनीतिक दल, कांग्रेस र नेकपाबीच मुख्य प्रतिस्पर्धा | Khabarhub Khabarhub

उपनिर्वाचनमा होमिए राजनीतिक दल, कांग्रेस र नेकपाबीच मुख्य प्रतिस्पर्धा


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि सप्तरीमा मनोनयन दर्ता भएपछि निर्वाचनको गतिविधिसमेत तीव्र बनेको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा उक्त पदका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी नौ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनुभयो । राजनीतिक दलबाट छ र स्वतन्त्रबाट तीनजना गरी नौ जनाले मनोनयन दर्ता गराएका हुन् ।

उम्मदेवारी दर्ता गर्नेमा नेकपाका तर्फबाट अच्छेलाल यादव, नेपाली कांग्रेसका तर्फबाट शिवनारायण मण्डल तथा राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीका तर्फबाट संयुक्त उम्मेदवार प्रमिलादेवी यादव छन् ।

राजपाका जिल्ला संयोजक हरेराम यादव र समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदारप्रसाद यादवले संयुक्त विज्ञप्ति जारी गर्दै चुनावमा सहकार्य गर्ने उद्देश्यले दुवै पार्टीको संयुक्त उम्मेदवार उठाउने सहमति भएको बताए ।

यस्तै राप्रपाबाट गजेन्द्र मण्डल, नेपाल लोकतान्त्रिक पार्टीबाट सकलदेव साह र सिके राउत नेतृत्वको जनमत पार्टीबाट दिनेशकुमार यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै स्वतन्त्ररूपमा उम्मेदवारी मनोनयन दर्ता गर्नेमा धीरेन्द्रकुमार यादव, नुरहुसेन मन्सुरी र रञ्जीतकुमार यादव रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा राजपाबाट वडाध्यक्ष पदमा निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो । सो वडामा ६४६ महिला तथा ७५७ पुरुष गरी कूल एक हजार ४०३ मतदाता छन् ।

उपनिर्वाचनका लागि छिन्नमस्ता–७ हाटीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा (क) र (ख) गरी दुई मतदान केन्द्र कायम गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैबीच स्थानीय तहको उपनिर्वाचनका लागि मनोनयन दर्ता भएसँगै सप्तरीमा पनि चुनावी वातावरण तातिएको छ । अहिले विभिन्न राजनीतिक दलका कार्यकर्ता मत माग्न घरदैलो अभियानमा जुटेका छन् । उनीहरुले आफ्नो उम्मेदवारलाई विजयी बनाउन र जिताउन चुनावी अभियानलाई निरन्तरता दिएका हुन् ।

यसैबीच वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका एक जनाको उम्मेदवारी रद्द भएको छ । उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये स्वतन्त्र उम्मेदवार रञ्जीतकुमार यादवको मनोनयन रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यादवको उमेर १९ वर्ष मात्र पुगेकाले मनोनयन रद्द गरिएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले बताए ।

स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०७६ अनुसार स्थानीय तहको अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख वा वडाध्यक्ष पदका लागि उम्मेदवार हुन चाहने व्यक्ति नेपाली नागरिक भएको र २१ वर्ष उमेर पुगेको हुनुपर्नेछ । यादवको मनोनयन रद्द भएपछि वडाध्यक्ष पदमा आठजनाको उम्मेदवारी कायम भएको छ ।

भोजपुर : भोजपुरमा उपनिर्वाचनले तीव्रता पाएको छ । बुधबार मनोनयन दर्ताभएसँगै नेता तथा कार्यकर्ता आफ्नो दलको उम्मेदवारलाई जिताउनका लागि जुटेका छन् । भोजपुरमा पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा वडाध्यक्षका लागि निर्वाचन हुँदैछ । उक्त पदका लागि नेपाल कम्युनिष्ट पाटी (नेकपा)का तर्फबाट जीतेन्द्र राई, नेपाली कांग्रेसको तर्फबाट समरबहादुर कार्की र मङ्गोल नेशनल अर्गनाइजेशनका तर्फबाट कला राई गरी तीनवटा दलको मात्र उम्मेदवारी परेको छ । यहाँ मुख्य प्रतिस्पर्धा नेकपा र कांग्रेसबीच देखिएको छ ।

यसअघि २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा यो वडामा नेपाली कांग्रेसले जीत हासिल गरेको थियो । तर दुई पार्टीको एकता भएपछि भने यहाँ नेकपाको बलियो पकड देखिएको छ । पौवादुङमा–१ मा नेपाली कांग्रेसका उम्मेदवारले ४३४ मत ल्याएर विजयी बनेका थिए भने तत्कालीन नेकपा एमालेका उम्मेदवारले २३९ मत ल्याएको देखिन्छ ।

त्यस्तै तत्कालीन नेकपामा माओवादीले २२७ मत ल्याएको थियो । सो समयमा दलहरुले एकलरूपमा प्रतिस्पर्धा गरेका गरेका थिए । तर अहिले दुई कम्युनिष्ट पार्टी मिलेसँगै त्यहाँ नेकपा उम्मेदवारको पक्षमा मत देखिन्छ । यसअघिको निर्वाचनमा दुई पार्टीका उम्मेदवारले ल्याएको जम्मा मत ४६६ रहेको छ । जुन त्यस समयमा कांग्रेसले ल्याएको मतभन्दा ३२ मत बढी हो ।

यो उपनिर्वाचनमा ८९२ महिला र ७७४ जना पुरुष गरी एक हजार ६१६ मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

लमही : दाङ क्षेत्र नं ३ (ख) को प्रदेशसभा सदस्यको उपनिर्वाचनको वातावरण तातिएको छ । निर्वाचनमा सहभागी सबै दल प्रचारप्रसारमा व्यस्त छन् । चुनाव आफ्नो पक्षमा पार्न विभिन्न स्थानमा सभा, घरदैलो कार्यक्रमका साथै प्रचारप्रसारलाई दलहरुले तीव्रता दिएका छन् । कोही घरदैलोमा छन् भने कोही सभामा छन् ।

पश्चिम दाङका चौतारा तथा चियापसलदेखि खेतबारीसम्म चुनावी बहस हुनाका साथै चुनावमय भएका छन् । सानासाना समूह बनाएर घरदैलो गर्नेदेखि चियापसलमा चुनाव आफ्नो पक्षमा पार्न दलका कार्यकर्ता तथा नेताहरुले मतदाताहरुलाई बुझ्ने र बुझाउने काम भइरहेको छ । जिल्लाका ठूला दुई दलदेखि अन्य चुनावमा भाग लिएका दलका केन्द्रीय नेता, जिल्ला नेता तथा कार्यकर्ताहरु पश्चिम दाङमा केन्द्रित भएका छन् ।

विभिन्न स्थानमा सम्पर्क कार्यालयहरु खोलिएको छ । त्यस्तै गाडीहरुमा झण्डा फरफराउँदै नेता तथा कार्यकर्ताहरु पश्चिम दाङमा हुइँकिने गरेका छन् । सर्वसाधारणहरु भने केही खेतीबाली स्याहार्न व्यस्त छन् भने केही चुनावको प्रचारमा लागेका छन् ।

खेतबारीमा पनि चुनावको बहस नै हुने गरेको छ । सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै ठाउँठाउँमा सुरक्षाकर्मीहरुले चेकपोष्ट स्थापना गर्नाका साथै मोबाइल गस्तीलाई समेत बढाएका छन् ।

“पश्चिम दाङ चुनावमय भएको छ, सबै नेता तथा कार्यकर्ताहरु यहीँ केन्द्रित छन्”, स्थानीयवासी गङ्गा केसीले भने । उपनिर्वाचनमा आफूहरुले चाहेको उम्मेदवारलाई मत दिन आफूहरु आतुर भएको उनले बताए ।

त्यस्तै स्थानीयवासी मुना बुढाथोकीले पनि पश्चिम दाङमा चुनावी वातावरण तातिएको बताए ।  उनले दैनिक गाडी, मोटरदेखि सबै दाङमा क्रियाशील दलका नेता तथा कार्यकर्ताहरु पश्चिम दाङमा आउने गरेको बताए ।

त्यस्तै सबै दलका उम्मेदवारहरुले आफूहरुले जित्ने दाबी गर्दै आएका छन् । उपनिर्वाचनमा नेपाली कांग्रेसबाट केशवकुमार शर्मा आचार्य, नेकपाबाट विमला कुमारी खत्री (वली), राप्रपाका तर्फबाट भुपाल रावत, साझा पार्टीबाट शिवकुमार चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट धनराज सुनार, नेपाल मजदूर किसान पार्टीबाट सुरेश परियार, राप्रपा संयुक्तबाट छोटीलाल थारू, नेकपा मालेबाट हरिप्रसाद डाँगी, समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी, मङ्गोल नेशनल पार्टीबाट घनश्याम चौधरी, लोकतान्त्रिक पार्टीबाट झरेन्द्रबहादुर खत्री, नेपाली कांग्रेस (बिपी)बाट दीपककुमार धितालले उम्मेदवारी दिनुभएको छ ।

दाङ क्षेत्र नं ३ (ख) का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको दुर्घटनामा परी निधन भएपछि सो स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

फिदिम : एक गाउँपालिका प्रमुख र दुई वडाध्यक्ष पदमा उपनिर्वाचन हुने भएपछि पाँचथरमा चुनावी गतिविधि बढेको छ । विगतका निर्वाचनमा झैँ यो उपनिर्वाचनमा पनि समृद्धि दलहरुको मुख्य एजेन्डा बनेको छ । यस अतिरिक्त पहिचानको सवालसमेत उठिरहेको छ ।

करिब दुई वर्ष प्रदेश नं १ र सङ्घीय सरकार सञ्चालन गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भने पाँचथर विकास र समृद्धिका सवालको व्यवहारमा उत्तर दिन थालेको छ । यहाँ ठूला विकास आयोजना अघि बढ्नाका साथै स्थानीयवासीको मागका आधारमा मझौला र साना विकास योजनाका लागि प्रशस्त बजेट छुट्टिन थालेको छ । विशेषतः पूर्वाधार विकासका कार्य अघि बढेपछि नेकपाले तथ्याङ्कमै अन्य दललाई जवाफ दिन थालेको हो ।

जिल्लाको फाल्गुनन्द गाँउपालिकाको प्रमुख पदमा हुने उपनिर्वाचनलाई दुई मुख्य दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले प्रतिष्ठाको विषय बनाएका छन् । विगतमा यहाँ कांग्रेसका अमरकुमार नेम्वाङ गाउँपालिका प्रमुख हुनुहुन्थ्यो । उनको निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । यस गाउँपालिकामा पहिचान पक्षधर समाजवादी पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको उपस्थितिसमेत सशक्त छ । तर वर्तमान सरकारकै अगुवाइमा पूर्वी पहाडको विशेष महत्वका ठूला आयोजना अघि बढेपछि नेकपा विकास एजेन्डामा हावी देखिएको हो ।

पाँचथर, इलाम र धनकुटाको ठूलो क्षेत्रलाई समेट्ने राँके–रवि–भेडेटार सडक निर्माण कार्य अहिले धमाधम चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस २० गते पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ रविमा शिलान्यास गर्नुभएको १०१ किलोमिटर लामो यो सडकको कूल बजेट रु तीन अर्ब ७० करोड छ । भारतको सहयोगमा निर्माण हुने यो सडकले फाल्गुनन्दका तीनवटा वडालाई समेट्छ ।

पूर्वी पहाडमा विशेष महत्व राख्ने तमोर जलाशययुक्त आयोजना निर्माण हुने हालै निश्चित भएपछि यहाँ खुसियाली थपिएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले विशेष चासो राख्नुभएको यो आयोजना निर्माणका लागि पाँचथरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङको नेतृत्वमा सरोकार समिति गठन भई सक्रिय थियो । उपनिर्वाचनमा सांसद एवं उक्त समितिका संयोजक नेम्वाङले तमोर आयोजना निर्माणको सुनिश्चितता आफूहरुका कारण भएको उद्घोष गर्दै आएका हुन् ।

पाँचथरमा सङ्घीय सरकार र प्रदेश सरकारले करिब रु १० अर्बको विकास आयोजना अघि बढाइरहेका छन् । पूर्वी पहाडलाई द्रुत मार्गबाट तराईसम्म जोड्ने तमोर करिडोर निर्माणको कार्य तीव्र गतिमा छ । पाँचथरमा सङ्घीय र प्रदेश सरकारबाट फिदिम–फालोट सडक, फिदिम–नवमीडाँडा सडक, फिदिम–यासोक सडक, गुम्बाडाँडा–इम्बुङ–नवमीडाँडा सडक, यासोक–उत्तरेलगायत सडकको कालोपत्र तथा स्तरोन्नतिको कार्य चलिरहेको छ । यी सडकमा मात्रै रु तीन अर्बभन्दा बढी बजेट विनियोजन भएको छ ।

यहाँ चारवटा ठूला खानेपानी आयोजना निर्माण भइरहेका छन् । शिक्षा, स्वास्थ्य, खेलकूदलगायत क्षेत्रमा समेत सङ्घ र प्रदेशको करोडौँ बजेट भित्रिएपछि यहाँ विकासको लहर नै चलेको छ । पछिल्लो दुई वर्षमा अर्बौं बजेट भित्र्याएर कयौँ आयोजना सम्पन्न गरेपछि नेकपाले व्यवहारमा उत्तर दिन थालेको हो । पाँचथरको साविक आङसराङ गाविसका पूर्वाध्यक्ष देउप्रसाद आङ्देम्बेले भने, “अब चुनावमा कार्यप्रगतिको विवरण र भावी योजनाको खाका पेश गर्न सक्नुपर्छ ।” गाली गरेर चुनाव जित्नेले उल्लेख्य कामसमेत गर्न नसक्ने आङ्देम्बेको भनाइ छ ।

आफूहरुले दुई वर्षमै जिल्लामा गरेका कामको पूर्ण विवरण जनतालाई पेश गरिरहेको र भावी योजनाको स्पष्ट मार्गचित्र देखाउने गरेको सांसद नेम्वाङको भनाइ छ ।

“हामी कसैलाई गाली गर्दैनौँ । बरु प्रतिबद्धताअनुसार के कारणले कुन काम गर्न सकिएन भनेर जनतालाई बुझाउँछौँ । जनताका गुनासा सुन्छौँ”, नेम्वाङले भने ।

नेकपालाई छोटो समयमा धेरै काम गर्न अवसर मिलेकाले यहाँ यो दल अरूभन्दा फरक देखिएको हो । चालू आर्थिक वर्षमा पाँचथरमा मात्रै रु चार अर्बभन्दा बढी बजेट भित्र्याएर लोकप्रियता कमाउनुभएका प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो कतिपय स्थानीय तहका कारण बजेट खर्च गर्न समस्या भएको सुनाउँछन् ।

“बजेट खर्च गर्न अवरोध गर्ने, उपभोक्ता समितिबाट रकम माग्ने, टेन्डर प्रक्रियामा अवरोध गर्नेजस्ता प्रवृत्ति स्थानीय तहमा देखिएका छन्”, मन्त्री आङ्बोले भने, “यस्तो अवस्थालाई चिर्नैपर्ने अवस्था छ ।”

पूर्वको दुर्गम पहाडी जिल्लामा राष्ट्रिय महत्वका आयोजना निर्माण हुन थाल्नु र अर्बौंको लागतका योजनाहरु अघि बढ्नाले सत्तारूढ दललाई नयाँ उचाइमा पु¥याएको स्थानीयवासीको भनाइ छ । कतिपय स्थानीयवासी अहिलेजस्तै विकासको रफ्तार रहनसके जिल्लाको मुहार फेरिन लामो समय नलाग्ने धारणा राख्छन् ।

पोखरा : राष्ट्रिय प्रजातन्त्र पार्टीले कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा बिहीबार पोखरा महानगरपालिका–१५ मा घरदैलो गरेको छ । घरदैलोमा राप्रपाका तर्फबाट उम्मेदवार रोमबहादुर भण्डारीले नेपालको एकमात्र देशभक्त राष्ट्रवादी पार्टी राप्रपा भएको बताउँदै मतदान गर्न आग्रह गरे ।

देश चरम सङ्कटमा परेको बताउँदै उनले धर्मसंस्कृतिको रक्षाका लागि गाई चिह्नमा मतदान गरी विजयी गराउन अनुरोध गरे । ठूला पार्टीले कुरा बढी र काम शून्य गरेको आरोप लगाउँदै उनले राप्रपाले कुरा कम काम बढी गर्ने उल्लेख गरे ।

चुनावी प्रचारप्रसारअन्तर्गत आज पोखरा महानगरपालिका–९ महेन्द्रपुलबाट घरदैलो अभियान शुरु गरिने प्रचारप्रसार संयोजक सूर्य बाँस्तोलाले जानकारी दिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  १० : ४८ बजे

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज?

काठमाडौं– नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको