मागेकै भरमा ट्राफिक : सिटीदेखि चस्मासम्म दाताकै भरमा

दाताको दानमा चलेको सुरक्षा संयन्त्रलाई चुनौती कति ?

गजेन्द्र बस्नेत

बिहिबार, साउन ३०, २०७६

Reading Time: 5 minutes

मागेकै भरमा ट्राफिक : सिटीदेखि चस्मासम्म दाताकै भरमा

काठमाडौं- दाताप्रति सेवाग्राहीको व्यवहार कस्तो होला ? अनुमान लगाउनुहोस् त । तपाईं नै भन्नुहुनेछ ‘नुनको सोझो’ गर्नुपर्छ । अर्थात दाताप्रति उत्तरदायी बन्नुपर्छ । त्यसमा पनि सामान्य सहयोगदेखि व्यवस्थापनका सम्पूर्ण काममा दाताको शरण पर्नुपर्ने अवस्था आयो भने त्यो संस्था वा संगठनले कस्तो काम गर्ला ? यही प्रश्नको उत्तर खोज्ने प्रयास गरेका छौं, ट्राफिक प्रहरीले गर्ने काम र ट्राफिक प्रहरीले लिएको दाता सहयोगको विषयलाई लिएर ।

कहिँकतै नझुक्ने बहादुर नेपालीको छबि बनाएका वीर नेपाली स्वतन्त्रता र स्वाधिनताका कुरा गरेर कहिल्यै थाक्दैनन् । तर, अहिले राज्य संयन्त्रका प्रत्येक इकाइ सञ्चालनका लागि दाताको भर पर्नुपर्ने र दाताका अघि निगुरमुन्टी ‘न’ बन्नुपर्ने अवस्था छ । यही सहयोग आदानप्रदानले सरकारी संयन्त्रमा रहेका व्यक्तिको आचरण बिगारेको र भ्रष्टाचार मौलाएको आरोप लाग्ने गरेको छ ।

नेपालमा सञ्चालित सरकारी तथा गैर सरकारी अधिकांश संस्था वा संगठन दाताकै भरमा सञ्चालनमा छन् । दाताको शरणबाट सडक र सवारीको जिम्मा पाएको ट्राफिक प्रहरी पनि अछुतो छैन । ट्राफिक प्रहरी झन सिटीदेखि चस्मा खरिदसम्म दाताकै भर पर्नुपर्ने अवस्थामा छ । प्रशासनविद् काशीराज दाहाल भन्छन्–‘सरकारी निकायमा सहयोग तथा विभिन्न शीर्षकमा जब निजी क्षेत्रको लगानी बढ्छ त्यसले सेवा प्रभावित मात्रै पार्दैन भ्रष्टाचारको विजारोपण पनि गर्छ ।’

नेपालमा भने नीति निर्माणका तहदेखि तल्लो सरकारी निकायसम्म पनि बाह्य लगानी र सहयोग वा मागेको भरमा चलिरहेका छन् । जसबाट ट्राफिक प्रहरी समेत अछुतो छैन । यतिसम्म की सामान्य पोशाकदेखि सिट्ठी सम्म दाताकै दानकै भरमा चलेको छ । सुन्दा पत्यार नलाग्न सक्छ, हरेक बर्ष सवारी सचेतना अभियानका क्रममा करोडौ राजस्व जुटाउने ट्राफिक प्रहरीले सडक व्यवस्थापनको काम भने सहयोगकै भरमा धानेको छ । अनि ट्राफिक प्रहरीले प्रयोग गर्ने सामाग्री विज्ञापन प्रचारका साधन बनेका छन् ।

दानमा चलेको ट्राफिको नालिबेली

देशको सुरक्षामा खटिने प्रहरी संगठन तलब बाहेक दाताका भरमा चलेको छ । त्यसमा पनि ट्राफिक प्रहरीले लगाउने पोशाक, चश्मा, पञ्जादेखि सिट्ठीसम्म दाताको दानमा अडेको छ । सामान्य बन्दोबस्तिका साधन मात्र हैन, ट्राफिक प्रहरी बस्ने विट वा कार्यालय समेत मागेकै भरमा चलेको छ । मागेकै भरमा महानगरीय ट्राफिक प्रहरी प्रभाग कालीमाटी, दरबारमार्ग र कोटेश्वर तथा ललितपुरको सातदोबाटोका भवन बनाएको अवकासप्राप्त ट्राफिक अधिकारी सिताराम हाछेथु बताउँछन् । उनी भन्छन्– ‘ट्राफिकका लागी बजेट नै पर्याप्त छैन । सहयोग लिनु बाध्यता हो ।’ हरेक आर्थिक बर्षमा करौडौं राजस्व संकलन गर्न सक्ने ट्राफिक प्रहरीले दाता वा सहयोगीको भरमा संगठन धान्नु कतिको जायज हो त ?

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी रवीकुमार पौडेल भने पहिलेका दिनहरुमा दाताको सहयोगका भरमा चलाउन परेपनि अहिले त्यो अवस्था नरहेको दाबी गर्छन् । उनले यस्तो दाबी गरिरहँदा सडकको बीचमा उभिएर ट्राफिकले सवारीलाई दिशानिर्देश गर्ने स्थान अथवा ट्राफिक आईलाण्डलाई समेत निजी कम्पनीले बिज्ञापनको श्रोत बनाएको स्पष्ट देखिन्छ ।

अझ सडकमा लेन छुट्याउन राखिएका प्लाष्टिकका डिभाइडर, प्लाष्टिक कम्पनीले सहयोग गरिदिएका हुन् । जसलाई सोहि कम्पनिले मार्केटि¨ गर्ने स्थान बनाएको छ । अरु त अरु ट्राफिक प्रहरीले सवारी चेकजाँचका क्रममा जरिवाना वा कारबाही गर्दा काट्ने रसिद वा कारबाहीका क्रममा लिएका बिलबुक बोक्ने सानो झोला समेत दाताको सहयोगमै चलेको छ ।

यतिमात्र होइन, केहि समय अघि सवारी अनुगमन गर्ने भन्दै हौसिएको ट्राफिक प्रहरीलाई २ वटा ड्रोन क्यामेरा पनि एउटा निजी बैंकले सहयोग गरेको थियो । अनि, फ्लोरेसेन्ट ज्याकेट, सिट्टी, कालो चश्मा, मास्र्क, पञ्जालगायत सवारी साधनको चेकजाँच तथा अनुगमन र व्यवस्थापनका क्रममा प्रयोग हुने अधिकाशं सामाग्री सहयोगी संस्थाको भरमा चलिरहेको छ ।

दानले निम्त्याउने खतरा कस्तो ?

महानगरीय ट्राफिक प्रहरी महाशाखाको कमाण्ड सम्हालेका पूर्वडिआइजी केशव अधिकारी पनि ट्राफिक प्रहरीले प्रयोग गर्ने हरेक चिज दाताको दानबाटै आएको वा मागेर नै काम चलाउनु पर्ने अवस्था रहेको स्वीकार गर्छन् । तर, प्रहरीले अघि सारेका विभिन्न राम्रा योजनामा समेत ट्राफिक प्रहरीलाई आउने सहयोग ट्राफिक प्रहरीका लागि दुर्भाग्य भएको उनको ठहर छ । उनी भन्छन् – ‘सहयोग लिँदा ट्राफिकको काम कारबाही प्रभावित हुने र कारबाहीको दायरामा ल्याउनुपर्ने ब्यक्तिलाई उन्मुक्ति दिनुपर्ने अवस्था आउन सक्छ । यसरी ट्राफिक प्रहरीले मागेर काम चलाउने प्रवृत्तिले ट्राफिक प्रहरी मात्र नभई सिंगो प्रहरी संगठनको छविमा समेत नराम्रो असर पार्नेछ ।’

हुन त २०७२ सालको विनाशकारी भूकम्पपछि भत्किएका प्रहरीका कतिपय संरचना अहिले पनि बन्न सकेका छैनन् । प्रहरी संगठनका सयौं कार्यालय अझै पनि त्रिपाल मुनी नै छन् । ट्राफिक लाईट, जेव्राक्रसजस्ता आधुनिक सडक संरचना पनि ब्यवस्थापन हुन सकेको छैन । ट्राफिक प्रहरीका पोष्टहरुमा तल्लो तहका जवानहरु सुत्न र शौचालय जानसमेत पालो पर्खिनुपर्ने अवस्था छ । यो पुरै संरचना निरन्तर दान र दयाको भरमा चल्दै आउँदाको परिणाम हो । देशको सुरक्षासँग जोडिएको विषय दाताको भरमा पर्नु देशकै सुरक्षा चुनौति हुनसक्ने सुरक्षाविद्हरुको टिप्पणी पनि छ ।

भर्खर

0