कसले सम्हाल्ला नाइजेरियाको नेतृत्व ? | Khabarhub Khabarhub

कसले सम्हाल्ला नाइजेरियाको नेतृत्व ?



नाइजेरियामा शनिबार चुनाव हुँदैछ । ७३ जनाले राष्ट्रपतीको उम्मेद्वारी घोषणा गरेको चुनावमा मुख्य प्रतिस्पर्धा भने दुई नेताहरु वर्तमान राष्ट्रपति मुहमदु बुहारी तथा पूर्व उपराष्ट्रपति अतिको अबुबकरबीच हुनेछ ।

अफ्रिकी महादेशको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक नाइजेरियामा यसपालीको चुनावको मुख्य मुद्धा भने अन्य चुनावजस्तै भ्रष्टाचार, सुरक्षा, आर्थिक समृद्धि तथा अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या रहेको मुलुकमा रोजगारीको सिर्जना छन् ।

बुहारीले आफ्नो गृहराज्य कट्सिना र अबुबकरले आफ्नो गृहराज्य अदामाबामा आयोजित र्‍यालीलाई सम्बोधन गरी बिहीबार आ–आफ्ना चुनावी अभियान सके । चुनावी अभियानमा दुबै आकांक्षीबीच एकपछि अर्का चुनावी बाचा गर्ने होडबाजी नै चलेको थियो ।

वर्तमान राष्ट्रपति बुहारी नेतृत्वको अल पिपुल्स कङ्ग्रेस पार्टीले बुहारी अर्को कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भए मुलुकलाई ‘अर्को स्तर’ मा लैजाने बाचा गरेको छ भने अर्का प्रत्यासी अबुबकरको पिपुल्स डेमोक्र्याटिक पार्टीले अबुबकर राष्ट्रपतिमा विजयी भए जनतालाई शक्तिशाली बनाउने नारा अघि सारेको छ ।

सन् २०१५ मा राष्ट्रपतिको कार्यकाल सम्हालेका बुहारीले आफ्नो कार्यकालमा नाइजेरियामा आर्थिक समृद्धि आएको, रोजगारीको स्तर पनि बढेको तथा सुरक्षा खासगरी अतिवादी संगठन बोको हरामको गढ मानिने मुलुकको संकटग्रस्त उत्तरपूर्वी क्षेत्रमा सुरक्षाको प्रत्याभूति भएको दाबी गरेका छन् । आफू पुनः राष्ट्रपतिमा निर्वाचित भए त्यसले निरन्तरता पाउने बुहारीको तर्क छ ।

अर्कोतर्फ अबुबकरले भने बुहारीको राष्ट्रपतीय कार्यकालमा आर्थिक असमानता झनै बढेको, भ्रष्टाचार र बेरोजगारी बढेको भन्दै आफू राष्ट्रपतिमा निर्वाचित भए आर्थिक समानता, भ्रष्टाचार निवारण तथा रोजगारीको सिर्जना गर्ने जनाएका छन् ।

हुनपनि सन् २०१५ मा वर्तमान सरकार सम्हालेयता नाइजेरियामा भ्रष्टाचारको समस्या उस्तै छ भने मुलुकको गरिबीको अवस्थामा पनि परिवर्तन आउन सकेको छैन । विभिन्न तथ्याङ्कले आर्थिक असमानता निकै बढेको देखाउँछन् । अफ्रिकी महादेशका सबैभन्दा धनी व्यक्ति अलहाजी आलिको डाङ्गोटेको सम्पत्ति सन् २०१९ मा १० अर्ब आसपास रहेको फोब्र्स नामक पत्रिकाले जनाएको छ ।

अर्कोतर्फ करिब १९ करोड जनसङ्ख्या रहेको नाइजेरियाका करिब आधा जनसङ्ख्या अझै गरिबीको रेखामुनी रहेको विश्वबैंकको तथ्याङ्कले देखाउँछ । अर्कोतर्फ विश्वबैंकको तथ्याङ्क अनुसार सन् २०१५ मा मुलुकको प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन ५ हजार ८ सय ९० डलर रहेकोमा सन् २०१७ मा त्यो घटेर ५ हजार ७ सय डलरमा झरेको देखाउँछ ।

सुरक्षाको कुरा गर्दा बुहारीको कार्यकालमा अतिवादी समूह बोको हरामको सक्रियतामा कमी आएको छैन । यद्यपि सन् २०१६ मा नाइजेरियाली सेनाले चलाएको लाफिया दोले नामक सैनिक कारवाहीले केही सफलता हात पारेपनि चुनावको चार दिनअघि मंगलबार मात्रै नाइजेरियाको बोर्नो राज्यको मैदुगुरी शहरमा भएको बम आक्रमणमा राज्यका गभर्नरसहित ४४ जनाको मृत्यु भएको घटनाले बोको हरामको सक्रियतामा कमी नआएको देखाउँछ ।

बुहारीको कार्यकालमा मुलुकको उत्तरपूर्वमै लागेको खडेरी र भोकमरीबाट लाखौँ मानिसहरु शरणार्थी बनेको कुरा पनि कसैबाट लुकेको छैन । यसको समाधानका लागि पनि सरकारबाट ठोस कदम चालिएको छैन ।

पछिल्ला केही वर्षमा भ्रष्टाचार न्यूनिकरणमा पनि नाइजेरियाले खासै ठूलो उपलब्धि हासिल गर्न सकेको छैन । बुहारी नेतृत्वको सरकारका पदाधिकारी तथा सरकारी उच्च तहका कर्मचारीहरु भ्रष्टाचारमा लिप्त रहेको बताइन्छ । ट्रन्सपरेन्सी इन्टरनेशनलले हालै सार्वजनिक गरेको प्रतिवेदनमा नाइजेरिया भ्रष्टाचार हुने विश्वका १८० मध्ये १ सय ४४ औँ स्थानमा रहेको जनाएको छ ।

अर्कोतर्फ विश्वकै सबैभन्दा ठूलो मध्येको एक जनसङ्ख्या बृद्धि रहेको नाइजेरियामा रोजगारीको सिर्जना पनि हुन सकेको छैन । यसबाट युवाहरुमाझ राजनीतिप्रति वितृष्णा पैदा हुन थालेको पनि नाइजेरियाका समाचार संस्थाहरु बताउँछन् ।

शनीबारको चुनावमा पनि यिनै मुद्धाले ठाउँ पाउने छन् । अर्कोतर्फ चुनावी सुरक्षामा पनि ठूलो चुनौति रहेको बताइन्छ । यसअघि सन् २०११ मा ११ सय जनाको ज्यान जानेगरी निर्वाचनपछि भएको हिंसा यस चुनावपछि पनि दोहोरिनसक्ने चिन्ता व्यक्त भएका छन् ।

यद्यपि राष्ट्रपतिका दुई मुख्य उम्मेद्वारले आफ्ना समर्थकलाई शान्त रहन आह्वान गरिसकेका छन् । यद्यपि उनीहरुको आह्वान कति प्रभावकारी रहन्छ, त्यो समयले नै देखाउने छ ।

चुनावका समयमा धाँधली र मतदाताको सहभागितालाई लिएर पनि चिन्ता व्यक्त भएका छन् । नाइजेरियाको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगको मतदाता सङ्ख्याको प्रतिवेदनमा गम्भीर त्रुटि देखिएको बेलायतको गार्जियन समाचारपत्रले लेखेको छ । अर्कोतर्फ चुनावअघि राष्ट्रपति बुहारीले मुलुकका प्रधानन्यायाधीश वाल्टर वोन्नेगेनलाई बर्खास्त गरेपछि उनी निकै आलोचित बनेका छन् ।

मतदानमा हुने धाँधलीका विषयमा मुलुकका प्रधानन्यायाधीशको फैसला अन्तिम हुने भएकाले वोन्नेगेनको बर्खास्तीको आलोचना हुन थालेको हो । बुहारीले प्रधानन्यायाधीशको रुपमा आफूनिकट इब्राहिम टाङ्को मोहम्मदलाई नियुक्त गरेका थिए ।

त्यसबाहेक चुनावलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत् भारी मात्रामा गलत तथा छद्म समाचार आउन थालेको समेत बताइएको छ । यसअघि यस्तै गलत समाचारका कारण चलेको हल्लाले वर्तमान राष्ट्रपति मुहमदु बुहारीको मृत्यु भइसकेको र सुडानका जुब्रिल भन्ने मानिसले उनको स्थानमा राष्ट्रपतिको कार्यभार सम्हालिरहेको हल्ला चलेको थियो । यसैका कारण राष्ट्रपति बुहारीले आफू जीवितै रहेको स्पष्ट पार्न बाध्य भएका थिए ।

अर्कोतर्फ चुनावमा मतदाताको सहभागिता पनि कम हुनसक्ने चिन्ता छ । अघिल्ला केही चुनावमा मुलुकका आधाभन्दा केही बढी मतदाता मात्र मतदानमा सहभागी हुँदै आएको तथ्याङ्क छ । सन् २०११ मा भएको निर्वाचनमा जम्मा ५४ प्रतिशत मतदाताको सहभागिता थियो । सन् २०१५ मा भएको निर्वाचनमा भने त्यो सङ्ख्या घटेर जम्मा ४३ प्रतिशत मतदाता मात्रै सहभागी थिए ।

यो चुनावका दुबै मुख्य उम्मेद्वार मुसलमान धर्मावलम्बी रहेकाले मुलुकको आधाभन्दा धेरै ईसाई जनसङ्ख्या रहेको नाइजेरियाका ईसाई खासगरी दक्षिणपूर्वमा रहेका इब्गो जातीका ईसाई धर्मावलम्बीको यो चुनावमा सहभागित न्यून रहनसक्ने चिन्ता पनि उत्तिकै छन् ।
यसले चुनावलाई प्रभावित पार्नसक्ने चिन्ता पनि उत्पन्न भएका छन् ।

सन् २०१७ मा संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नाइजेरियाका ६३ प्रतिशत जनसङ्ख्या २५ वर्ष मुनीका रहेको देखाउँछ । यता राष्ट्रपतिका दुबै उम्मेद्वारको उमेर ७० भन्दा धेरै छ । यसकारणले पनि चुनावमा युवा मतदातको सहभागिता कम हुनसक्ने आँकलन छ ।

यी सबै चुनौतिबीच नाइजेरियामा शनिबार चुनाव हुँदैछ । चुनावमा विजयी हुने उम्मेद्वारको आँकलन सजिलो छैन । चुनावमा कसले बाजी मार्ला भन्नेबारे अन्तर्राष्ट्रिय विश्लेषकहरुको मत पनि विभाजित छ । आखिर कसले सम्हाल्ला त नाइजेरियाको नेतृत्व ? त्यो समयले देखाउने छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ११ : ०३ बजे

कतारका अमिर थानी काठमाडौँ आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले

कतारी अमिरको भ्रमण : खाली गरियो काठमाडौंको सडक, निजी साधन चलाउन रोक

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी सवार जहाज

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

चीन– चीनमा संस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृतिक तथा पर्यटन उपभोग