कांग्रेस नेताको विश्लेषण– सरकार आफैंमा अन्योलग्रस्त र दिग्भ्रमित छ | Khabarhub Khabarhub

कांग्रेस नेताको विश्लेषण– सरकार आफैंमा अन्योलग्रस्त र दिग्भ्रमित छ


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केपी शर्मा ओलीले सरकार सम्हालेको आज १ वर्ष पूरा भएको छ । सरकारले पहिलो वर्षमा आगामी वर्षहरुका लागि आधारशिला तयार गरेको र सरकार ऐतिहासिक रुपमा सफल भएको विहीबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दाबी गरेका छन् । यसै सन्दर्भमा सरकारको काम कारवाहीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताले कसरी हेरेका छन् भन्ने विषयमा हामीले कुराकानी गरेका छौं । 

पूर्व अर्थ एवं जलश्रोत मन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर काकी नेपाली कांग्रेसका प्रभावशाली नेता हुन् । प्रतिनिधिसभा सदस्यरहेका उनै कार्कीसँग  खबरहबले प्रतिपक्षीको नजरमा केपी ओली नेतृत्वको सरकारको एक वर्षको समीक्षा गने प्रयास गरेका छौं । प्रस्तुत छ  कांग्रेस नेता कार्कीसँग गरिएको कुराकानीको सम्पादित अशं–

दुईतिहाई बहुमतसहितको केपी ओली नेतृत्वको वर्तमान सरकारको एक वर्षलाई प्रमुख प्रतिपक्षी दलको एक जना नेताको रुपमा कसरी मूल्यांकन गर्नुभएको छ ?

वर्तमान सरकारको एक वर्षको अवधिलाई प्रतिपक्षीको रुपमा नभइ सामान्य नागरिकको रुपमा हेर्दा सरकारले हिमाल, पहाडवा मधेसमा बसेको नेपालीको जीवनमा उपलव्धि हासिल हुने गरि केही काम गर्न सकेको छैन ।

एक वर्ष लामो अवधि हो । अहिलेको सरकारका निमित्त धेरै अनुकुल अवस्था छ । नेपाली कांग्रेस जस्तो जिम्मेवार र संसदीय मूल्य मान्यतालाई अवलम्बन गर्ने प्रतिपक्षी अहिले छ, संक्रमणकाल सकिएको छ, बन्दहड्ताल, तालाबन्दी छैन । यस्तो अवस्थामा पनि सरकाले गति लिन सकेको छैन । यसबाट के प्रष्ट हुन्छ भने सरकार आफैंमा अन्योलग्रस्त र दिग्भ्रमित भएको छ ।

सरकार स्थिर छ तर वातावरणलाई अस्थिर बनाएको छ जसका कारण मुलुक नै अलमलिएको जस्तो देखिएको छ । सरकार विस्तारै शुरु मै अधिनायकबाद तर्फ जान्छ भन्ने आकलन थियो तर विस्तारै अधिनायकवाद तर्फ पाइला चालिरहेको छ ।  समग्रमा भन्नुपर्दा एक वर्षमा सरकार मुलुकका लागि एउटा सस्तो नारा दिने सरकारको रुपमा मात्र चित्रित भएको छ ।

नेकपाको मात्र स्पष्ट बहुमत छ तर पनि सरकारले राम्रो काम गर्न सकिरहेको छैन भन्नु भयो, नसक्नुको कारण चाहिँ के होला ?

यति अनुकुल वातावरण हुँदा पनि सरकारले काम गर्न नसक्नुमा पहिलो कुरा यो सरकारको नियत खराब छ । यो सरकार नेपाली जनताको सरकार हो तर यो मुठ्ठि भर कार्यकर्ताको हितमा मात्र चल्न खोजेको छ । आफ्ना कार्यकर्तामा मात्र सत्ताको शक्ति रहोस् भन्ने दृष्टिकोण राखेर यो सरकार अगाडि बढेको छ ।

यो सरकारले गर्छु भन्ने अठोट गरेको भए अहिले धेरै शुभ संकेतहरु देखिनुपर्थ्यो । अहिले भै हाल्थ्यो त म भन्दिन तर संकेतहरु देखिनु पर्थ्यो ।
यो सरकारमा अनुभवहीनताको पनि पराकाष्ठा छ । अहिले हरेक मन्त्री काममा भन्दा भाषणमा केन्द्रित छन् । त्यतिकै लान्छना लगाएको होइन, हरेक ठाउँमा दण्डहीनता, भ्रष्टाचार संस्थागत रुपमा अगाडि बढेको छ ।

एमाले र माओवादीबीचको एकताले सरकारको गतिलाई तीब्रता दिन्छ भन्ने कतिपयको आँकलन थियो तर त्यस्तो देखिएको छैन, दुई पार्टीबीचको एकता र यसको दीर्घजीवनमाथि तपाईंले कस्तो दृष्टिकोण बनाउनुभएको छ ? 

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता मुलुकको हितका लागि हुनुपर्थ्यो । तर उनीहरुको एकता आफ्नो स्वार्थका निमित्त भएको छ । दुई पार्टीको स्वार्थ पनि बाँझिएको दखिएको छ । जुन मुलुकको लागि राम्रो कुरा होइन ।

यस्तो राम्रो परिस्थितिमा पनि मुलुक जहाँको त्यही रहनु राम्रो होइन । तथ्यांकहरुले बताएको छ, विश्व बैंकको ड्रिम बिजनेस रिपोर्टका अनुसार देशमा लगानीको वातावरण कमजोर भएको छ । यो हामीले बनाएको रिपोर्ट होइन । त्यस्तै ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टले गत वर्षभन्दा दुई अंकले बढेर १२४ को अंकमा भ्रष्टाचार पुगेको देखाएको छ । जसले जनता निराश भएका छन् । जनतामा जुन आशा र उत्साह थियो, त्यो बिस्तारै मरेर गएको छ । यो समाजका लागि खतराको संकेत हो । सरकारले जुन किसिमको अवसर पाएको थियो, उच्च राजनीतिक संस्कृतिको विकास गर्दै एकता तर्फ अघि बढ्नुपर्थ्यो तर त्यसतर्फ गएन । सरकार संकीर्ण सोचका साथ अधिनायकवादी बाटोमा अग्रसर भएर मुलुकलाई अशुभ बाटोतिर लैजान उद्यत भएको छ कि भन्ने आशंका उत्पन्न भएको छ ।

सरकारले राम्रो काम गर्न सकेन भने त्यसमाथि औंला उठाउने काम प्रतिपक्षीको हुन्छ । जसलाई जिम्मेवार प्रतिपक्षी पनि भनिन्छ तर प्रतिपक्षी पनि कमजोर भयो भन्ने प्रश्न उठ्न थालेको छ ?

हाम्रो एउटा मनोविज्ञान के छ भने तुरुन्त सबै कुरा भइहालोस् भन्ने छ । हामी जिम्मेवार प्रतिपक्ष हौं र हामीले जिम्मेवार प्रतिपक्षको रुपमा जुन भूमिका सदनमा र आवश्यकता पर्दा सडकमा पनि देखिएका छौं यसतर्फ पनि मुल्यांकन गर्न जरुरी छ । मन्त्रीको सुटकेस नै खोस्ने, मन्त्रीलाई रोष्ट्रममा भाषण नै गर्न जान नदिने तालाबन्दी गर्ने, अराजकताको सिर्जना गर्ने खालको काम गर्नु हुन्न र जरुरी छैन ।

संसदमा अंक गणितको महत्त्वपूर्ण भूमिका छ, तर सरकारले अल्पमतको भावनालाई पनि कदर गरेर अघि बढ्नुपर्छ । तर त्यो रुपमा सरकार अघि बढिरहेको छैन । त्यसलाई हामीले पनि गम्भीर रुपले लिएका छौं । पार्टीले संसदमा सशक्त भूमिका खेल्न हामीलाई निर्देशन दिएको छ । हामी सरकारको नराम्रा काम कारवाहीमा औंला उठाइरहेका छौं र आवश्यक पर्दा सरकार विरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्न तयार छौं ।
सरकारले एक वर्षमा गर्नुपर्ने काम  गर्न सकेको छैन, त्यसबारे सरकारलाई सचेत गराउँछौं ।

सरकारले पूर्वाग्रही ढंगमा काम गरिरहेको छ यसले जनताको भावनामा ठेस पुगिरहेको छ । अहिलेको विकास भनेको आवश्यकताको आधारमा हुनुपर्छ । विकासको सूचकांकको आधारमा कुन क्षेत्रमा विकासको आवश्यकता छ त्यस आधारमा गर्नुपर्छ । त्यस दिशातर्फ सरकार नगएर पहुँचको आधारमा अगाडि बढिरहेको छ । यस कुरालाई हामी प्रतिपक्षीको रुपमा जनताको बीचमा लिएर जान्छौं र सरकारका हरेक गतिविधिलाई चनाखो भएर खबरदारी गर्छौं ।

कांग्रेसको संसदमा उपस्थित अत्यन्तै कमजोर छ, त्यसमा पनि पार्टीभित्रको गुट–उपगुटको कुराले कांग्रेस आन्तरिक रुपमा विभाजित जस्तो देखिएको छ, यस्तो अवस्थामा सशक्त प्रतिपक्षीको भूमिका कसरी खेल्ला ? जनताले कसरी विश्वास गर्ने ?

कांग्रेस जनताले विश्वास गरेको पार्टी हो । कांग्रेस पनि यो मुलुकको अत्यन्तै कठिनतम अवस्थामा नेतृत्व गरेको पार्टी हो । अहिलेको कुरा गर्दा कांग्रेसलाई जनताले सुध्रन र एक भएर आउन भनेको छ । र अहिले हाम्रो अगाडि गुट निर्माण होइन,  पार्टी निर्माण गरेर जनतालाई कांग्रेस एक भएको देखाउनु छ, कांग्रेसकै नेतृत्वमा हाम्रो हक अधिकारकार संरक्षित हुन्छन् र कांग्रेसकै नेतृत्वमा मुलुक समृद्ध हुन्छ भन्ने विश्वास दिलाउनु छ । त्यो विश्वास देखाउनका निमित्त हिजोका भन्दा बढी सामर्थ्यका साथ प्रतिवद्धताका साथ र इमान्दारिताका साथ काम गर्नुपर्ने अहिलेको दायित्व छ ।

त्यसका लागि कांग्रेसले के गर्दैछ, तत्कालीन र दीर्घकालीन रुपमा ?

तत्कालीन रुपले हामी जनताका जल्दाबल्दा समस्याहरुलाई संसदको मार्फबाट मुखरित गर्छौ र आवश्यकता पर्दा जनतामा भन्न जान्छौं । दीर्घकालीन रुपमा भन्नुपर्दा कांग्रेस सिट संख्याको रुपमा कमजोर भएपनि जनमत कम भएको छैन । जनमतलाई बढाउँदै नेपाली कांग्रेसले मात्र लोकतन्त्रलाई संरक्षण गर्न सक्छ र तीव्र रुपले विकास गर्नेछ भन्दै हामी जनतामा जान्छौं र आगामी निर्वाचनमा सबैभन्दा लोकप्रिय, शक्तिशाली र सबैभन्दा व्यवस्थित पार्टीको रुपमा स्थापित हुन्छौं ।

देशको विकासका लागि सबैसँग हातेमालो गरेर जाने कुरा बेलाबेलामा प्रधानमन्त्री ओलीले गर्ने गरेका छन्, कांग्रेस सरकारमा सामेल हुने कुनै सम्भावना रहन्छ ?

यो कुरामा म स्पष्ट छु । नेपाली जनताले हामीलाई पाँच वर्षका निमित्त तिमीहरु प्रतिपक्षमा बसेर आफ्नो भूमिका निर्वाह गर र आफूलाई हेर भन्ने म्यान्डेट दिएका छन् । तिम्रा कमीकमजोरी कहाँ छन् हेर भन्ने जुन जनादेश दिएका छन्, त्यही जनादेश अनुसार हामी अगाडि बढ्छौं । कांग्रेसका निमित्त सरकार अत्यन्तै गौण कुरा हो । जनताको समृद्धि जनताको हक अधिकार महत्त्वपूर्ण कुरा हो । कांग्रेसको नेतृत्वमा हामीले राजनीतिमा युगान्तकारी परिवर्तन गरेका छौं र हामी कांग्रेसकै नेतृत्वमा मुलुकलाई आर्थिक रुपले पनि जनताले महशुस गर्ने गरेर चाँडोभन्दा चाँडो देखाउन चाहन्छौं । त्यो दिशामा हामी अग्रसर हुनुपर्छ र हामीलाई जनता र इतिहासले दिएको जिम्मेवारी पनि त्यही हो ।

फरक प्रसंगमा कुरा गरौं, कांग्रेसमा महाधिवेशनको कुरा चलिरहेको छ । पुरानाले सकेनन् नयाँले नेतृत्व लिनुपर्छ भन्ने आवाज पनि उठिरहेको छ, आफ्नो बारेमा र नयाँ नेतृत्व बारेमा तपाईको धारणा के छ ?

म एउटा राजनीतिशास्त्रको विद्यार्थी हुँ । यो समाजको बनोटलाई र नेपाली कांग्रेसको इतिहासलाई पनि हामीले हेर्न जरुरी छ । नेपाली कांग्रेस पार्टीको जुन जनआधार छ त्यसलाई पनि बुझ्न जरुरी छ । नेपाली कांग्रेस पार्टी तीन पुस्ताको त्रिवेणी हो । हजुरबा पुस्ता पनि कांग्रेसमा छ, छोरा पुस्ता पनि छ र नाती पुस्ता पनि छ । यसलाई सन्तुलन कायम गरेर अगाडि बढायो भने मात्र यो पार्टी ठूलो पार्टी, भरपर्दौ पार्टी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विस्वास गर्न लायक पार्टी बन्छ । केवल भावनामा उत्तेजनामा आएर अथवा आग्रह र पूर्वाग्रहका कुरा गरेर मात्र अहिलेको चुनौतीलाई सामना गर्ने पार्टी बनाउन सकिँदैन ।

एउटा जापानीले केही दिनअघि मसँगको कुराकानीमा भनेको थियो, देश विकास गर्न १५/२० जना मान्छे समर्पणका साथ जनताले विश्वास गरेका मान्छे लाग्ने हो सम्भव छ । ठूल्ठूलो सिद्धान्तको ठेली पढ्नुपर्दैन भन्थे, मलाई त्यो विश्वास लागेको छ । त्यसैले नेपाली कांग्रेसलाई रोल मोडलको रुपमा हिजोको भन्दा अहिलेको परिस्थितिलाई सामना गर्ने किसिमको पार्टी बनाउनु पर्दछ । त्यो अहिलेको आवश्यकता हो । हिजो विपी, गणेशमानले यो गर्नुभयो भनेर मात्र जनताले मान्ने छैन । अब हामी यो गर्छौं भन्ने योजनाका साथ अगाडि बढ्नु परो त्यसका लागि समाजले पत्याउने व्यक्तित्व पनि चाहियो ।

अब मेरो कुरा, तीनपटको निर्वाचित केन्द्रीय सदस्य हुँ, सधै केन्द्रीय सदस्यको निर्वाचन लड्ने कि के गर्ने साथीहरुसँग सल्लाह गरेर कुन भूमिका निर्वाह गर्दा पार्टीलाई योगदान गर्न सक्छु भन्ने निश्कर्ष निकाल्नुपर्छ भन्ने सोचिरहेको छु ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  २ : ३७ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका