अमेरिकाद्वारा प्रतिबन्धित भेनेजुएलाली राष्ट्रपति पुत्रको नेपालमा भीआईपी भ्रमण | Khabarhub Khabarhub

अमेरिकाद्वारा प्रतिबन्धित भेनेजुएलाली राष्ट्रपति पुत्रको नेपालमा भीआईपी भ्रमण



काठमाडौं- भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुएराले नेपालमा उच्चस्तरीय भेटवार्तालाई निरन्तरता दिएका छन् ।

नेपाल आएलगत्तै आइतबार अर्नेस्टोले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य वामदेव गौतमसँग भेटवार्ता गरेका थिए ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुएरासँग भेटवार्ता गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

त्यसैगरी सोमबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरुसँग भेटवार्ता गरे । भेटवार्ता दुई देशको सम्बन्धका विषयमा भएको थियो । भेटवार्तामा उनी नेपाली ढाका टोपीमा सजिएका थिए ।

सोमबारको रात्रिभोजमा अध्यक्ष प्रचण्ड, प्रवक्ता नारयणकाजी श्रेष्ठ, नेता बामदेव गौतम लगायतका केही शीर्ष नेताहरुसमेत सरिक भएका थिए ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुएरालाई खादासहित सम्मान, साथमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतको टोली ।

शनिबार नेपाल आएको राष्ट्रपतिपुत्र अर्नेष्टोसहितको प्रतिनिधिमण्डलले सोमबार नै नेपालको संसदीय अभ्यास र गतिविधिबारे जानकारी लिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगेर प्रतिनिधिमण्डलले नेपालको संसदीय अभ्यासबारे सांसदसँग जानकारी लिएको हो ।  राष्ट्रपति पुत्र अर्नेस्टोसहितको टोली मंगलबार स्वदेश फर्किने छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुएरासहितो टोलीका साथ नेकपा सचिवालय सदस्य तथा नेता वामदेव गौतम ।

अमेरिकाको प्रतिबन्धमा रहेको भेनेजुएलाको ‘इन्टरनेशनल बामपन्थी युवा शक्ति’ का प्रतिनिधिको रुपमा उनी नेपाल आएको बताइएको छ । तीन मन्त्री सहित ११ जनाको प्रतिनिधिमण्डलका साथ शनिबार सुटुक्क नेपाल आएका राष्ट्रपति पुत्र निकोलसलाई अति विशिष्टलाई गरिने सम्मान दिइयो । गृहमन्त्रालयले उनलाई मोटरसाइकल र स्कर्टिङसहितको अति विशिष्टलाई प्रधान गर्ने सुरक्षा प्रदान गरेको थियो ।

निकोलसलाई गत जुन २८ मा अमेरिकाले प्रतिबन्ध लगाएको थियो । तर, नेपालले भने नाकाबन्दी तथा प्रतिबन्धको बेवास्ता गरी निकोलसलाई उच्च सम्मान दिएको भन्दै अमेरिका रुष्ट बनेको छ । अमेरिकी प्रतिबन्धबारे जानकार हुँदाहुँदै नेपालमा उनलाई उच्च सम्मान दिइँदा अमेरिकासँग नेपालको सम्बन्धमा प्रतिकूल असर पर्ने विश्लेषकहरु बताउँछन् ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुएरासहितको ११ सदस्यीय टोलीबाट संसद भवनको भ्रमण ।

सम्बन्धमा असर पर्न सक्छ – अमेरिकी अधिकारी

भेनेजुयला र उत्तरकोरियासँगको निकटता जस्ता कुराले नेपालको अमेरिकासँगको सम्बन्धमा असर पर्ने अमेरिकाले चेतावनी दिएको छ । नाम बताउन नचाहने एक अमेरिकी अधिकारीले उनको भ्रमणलाई नोटिसमा लिएको बताएका छन् ।

ती अधिकारीले खबरहब सँग कुरा गर्दै निकोलस किन र के का लागि नेपाल आएका हुन् ? यतिमात्र होइन, उनलाई गृह प्रशासनले दिएको विशेष सम्मानलाई पनि अमेरिकाले नजिकबाट नियालिरहेको बताए । अमेरिकी सहयोग प्रभावित हुने भन्दै उनले सत्तारुढ दलले अहिले अमेरिकालाई चिढाइरहेको बताए । नेपालले कट्टर कम्युनिष्ट देशहरुसँग बढाएको विशेष सम्बन्धलाई अमेरिकाले सूक्ष्म रुपमा हेरिरहेको समेत उनले दाबी गरे ।

‘अबैध सत्ता चलाइरहेको व्यक्तिलाई नेपालमा उत्कृष्ट सम्मान दिई र विशिष्ठ भेटघाट गर्नु अस्वीकार्य रहेको’ नेपालस्थित अमेरिकी दूतावासका अधिकारीले बताए । यो विषयमा केहिदिन भित्र सरकारको आधिकारीक धारणा समेत मागिने उनको भनाइ छ ।

राष्ट्रपति, प्रधानमन्त्री, नेकपा पार्टी महासचिवबाट भेट्न अस्वीकार

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधामन्त्री केपी शर्मा ओली र नेकपा महासचिव विष्णु पौडेलले भने राष्ट्रपति पुत्र अर्नेस्टोलाई भेट्न अस्विकार गरेका छन् । सत्तारूढ नेकपाका युवा संगठनको निमन्त्रणामा अर्नेस्टो नेपाल भ्रमणमा आएको दाबी गरिएको छ ।

तर, सरकार र पार्टीले उनलाई कुनै पनि निम्तो नदिएको बालुवाटार स्रोतले जनाएको छ । १९८७ को अप्रिलमा नेपाल र भेनेजुएलाबीच कूटनीतिक सम्बन्ध कायम भएको थियो । त्यसयता दुवै देशबाट कुनै उच्चस्तरीय राजनीतिक भ्रमण भएका छैनन् ।

यसअघि नेकपा अध्यक्ष प्रचण्डले भेनेजुएलामा अमेरिकी हस्तक्षेपका कारण राजनीतिक संकट बढिरहेको भन्दै विज्ञप्ति जारी समेत गरेका थिए ।

प्रचण्डको विज्ञप्तिपछि नेपालस्थित अमेरिकी दूतावासले सरकारको आधिकारिक धारणा समेत मागेको थियो । त्यसलगत्तै परराष्ट्र मन्त्रालयले अध्यक्ष प्रचण्डकै भनाइ सदर गर्दै भेनेजुएला सन्दर्भमा कुनै पनि देशले हस्तक्षेप गर्न नहुने र त्यहाँका जनता आफ्नो फैसला आफै गर्न सक्षम रहेको भन्दै विज्ञप्ति निकालेका थियो ।

को हुन् अर्नेस्टो ?

निकोलस अर्नेस्टो मादुरोलाई अमेरिकाले प्रतिबन्धको सूचीमा राखेको छ । गत जुन २८ मा भेनेजुएलाका वरिष्ठ सरकारी अधिकारीमाथिको प्रतिबन्ध लगाउने क्रममा अर्नेस्टोलाई पनि अमेरिकाले प्रतिबन्ध लगाएको थियो ।

उनलाई राष्ट्रपति मादुरोले सन् २०१३ मा भेनेजुएलाको ‘राष्ट्रपतीय विशेष निरीक्षण दस्ता’ नामक संस्थाको प्रमुखका रुपमा नियुक्त गरेका थिए । यो दस्ताले राष्ट्रपति मादुरोले मुलुकमा लागू गरेका नीतिको प्रभावकारिताको मूल्यांकन गर्दै आएको छ ।

उनलाई सन् २०१७ मा ‘राष्ट्रपतीय प्रतिनिधिमण्डल तथा उपराष्ट्रपतीय निर्देशन’ नामक संस्थाको प्रबन्ध निर्देशक समेत नियुक्त गरिएको थियो । साथै उनलाई सन् २०१४ मा भेनेजुएलाको राष्ट्रिय चलचित्र विद्यालयका संयोजक समेत नियुक्त गरिएको थियो ।

निकोलस मादुरो राष्ट्रपति बनेयता उनको राजनीति यात्रा सन् २०१३ बाट शुरु भएको बताइन्छ । सन् २०१४ मा भएको सत्तारुढ एकीकृत समाजवादी पार्टी भेनेजुएला पीएसयूभीको महाधिवेसनमा उनलाई राजधानी कराकासस्थित एल भाल जिल्लाको तर्फबाट प्रतिनिधि नियुक्त गरिएको थियो ।

सन् २०१७ मा भेनेजुएलामा भएको विवादास्पद संविधानसभा निर्वाचनमा उनी विजयी भएका थिए । विपक्षी पार्टीहरुले वहिष्कार गरेको उक्त संविधानसभाको निर्वाचनलाई अधिकांश मुलुकले अमान्य घोषणा समेत गरेको थियो । सोही निर्वाचनलाई लिएर भेनेजुएलाभर व्यापक विरोध प्रदर्शन भएको थियो ।

उनी भेनेजुएलामा आलिशान जीवनयापन गरिरहेको बताइन्छ । राष्ट्रपति मादुरोको समाजवादी नीतिका कारण मुलुकको अवस्था दयनीय भइरहेको बेला सन् २०१५ मा एक विवाह समारोहमा उनले सयौं अमेरिकी डलरको नोट फालेको भिडियो सार्वजनिक भएको थियो । उनको जीवनशैलीलाई लिएर भेनेजुएलामा उनको व्यापक आलोचना हुने गरेको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ९ : ०६ बजे

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त

काठमाडौं– एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

नवनियुक्त महालेखापरीक्षक रायाले लिए सपथ

काठमाडौं– नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल निवासमा

मोबाइल चाेरीकाे आरोपमा एक जना पक्राउ

काठमाडौं– मोबाइल चोरी गर्दै आपराधिक लाभ लिएको आरोपमा एक जना

सार्वजनिक लेखा समितिका सदस्यले गरे हुलाकी राजमार्गको अनुगमन

वीरगञ्ज–  प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सदस्यले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत

सुरक्षा प्रत्याभूतिको माग गर्दै गृहमन्त्रीकहाँ पुगिन् रमिला श्रेष्ठ

काठमाडौं– स्वर्गीय रामहरि श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले उपप्रधान एवं गृहमन्त्री