राष्ट्रिय अवार्डकै धज्जी !

‘राष्ट्रिय अवार्डले आसेपासेलाई राहत, अरुलाई आहत’

अर्घेलो थापा

सोमवार, असार ३०, २०७६

Reading Time: 7 minutes

राष्ट्रिय अवार्डकै धज्जी !

काठमाडौं – दुई दिनअघि शीतल निवासमा गुपचुप गरिएको सिनेमा क्षेत्रको एक मात्र ‘राष्ट्रिय अवार्ड’ले एउटा साख जोगायो ।

जे होस्, राष्ट्रपतिको व्यस्तता देखाउँदै ३ वर्षदेखि हुन नसकेको राष्ट्रिय अवार्ड यस वर्ष सम्पन्न भयो । शौलाचयको कमोडमा बस्ने व्यवस्था मिलाएर भए पनि अवार्ड वितरण समारोहमा कलाकारलाई प्रस्तुति दिन लगाइयो ।

सिनेकर्मी र सिनेमा क्षेत्रका जानकारलाई यो अवार्ड कार्यक्रम हुने खबरले आशा दिलाएको थियो । धेरैलाई लागेको थियो, तीन वर्षदेखि थलिएको अवार्ड समारोह भव्य र निष्पक्ष हुनेछ ।

तर, त्यसो भएन । अवार्ड वितरण सम्पन्न नहुँदै यसको आलोचना हुन थाल्यो । चलचित्र विकास बोर्डले नै आसेपासेका सिनेकर्मीलाई सम्मान दिएको भन्दै चर्को आलोचना भयो । राजधानीमा निजी क्षेत्रबाट वितरण गरिने अवार्ड समारोहभन्दा यो अवार्ड फरक बन्न सकेन ।

सीमित पत्रकार र कलाकारलाई निमन्त्रणा गरिएको ‘भव्य’ अवार्ड समारोहमा निजी क्षेत्रका अवार्ड समारोहभन्दा फरक बन्न नसक्नु राष्ट्रकै दुर्भाग्य हो । चलचित्र विकास बोर्डले आयोजना गरेको उक्त अवार्ड वितरण समारोहपछि सरकारी अवार्ड पनि ‘आसेपासे’ लाई दिइएको आरोप खेप्नु अस्वभाविक थिएन ।

यति मात्र होइन । राष्ट्रपति निवासमा गरिएको अवार्ड कार्यक्रम पनि विवादित बन्यो । अवार्डजस्तो कार्यक्रम राष्ट्रपति निवासमा गर्ने कि अन्यत्र गर्ने भन्नेमा पनि विवाद रह्यो ।

नायिका करिश्मा मानन्धरले सामाजिक सञ्जाल फेसबूकमा लेखिन् – एकादेशको कथा, पहिले पहिले देशमा राजा हुन्थ्यो । र, राजा पनि प्रज्ञा प्रतिष्ठानको हलमा कलाकारलाई हेर्न आउँथे । घर गएर नाच्नु बिल्कुलै स्वीकार्य छैन । बाहिर आउनुस्, तपाईं हाम्रो आमा हो । हामी तपाईंका लागि ज्यान दिन्छौँ ।

मानन्धरले अवार्ड समारोहको विरोध गरेकी छिन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीकै निवासमा गएर गरिएको अवार्ड वितरण शैलीको विरोध गरेकी छिन् ।

यद्यपि राष्ट्रपतिको हातबाट अवार्ड पाउने कलाकारले भने यो अवार्ड समारोहको सम्मान गरेका छन् । यतिसम्म कि, यस्ता सेटिङ मिलाएर गरिएको आरोप लागेका अन्य अवार्ड समारोह (खास गरी निजी क्षेत्रका) को बारम्बार विरोध गर्नेहरुले नै उस्तै प्रवृत्तिको अवार्ड समारोहको खुलेर तारिफ गरेका छन् । र, उनीहरुले स–सम्मान आफू गौरवान्वित बनाएको उदाहरण दिएका छन् ।

सिनेकर्मी तथा समीक्षक मनोज पण्डित भन्छन् – अवार्ड भनेको टर्फी होइन, यो त मूल्याङ्कनको श्रेष्ठता हो । सिनेमाप्रतिको विश्वास हो ।

त्यसो हो भने के हामी राष्ट्रिय अवार्ड समारोहसँग पूर्ण रुपमा सहमत छौँ ? राष्ट्रिय अवार्डजस्तो गौरवका रुपमा रहेका अवार्डमा छनोटमा परेका ‘निर्णायक’ यसका लागि दाबेदार छन् ?

निजी क्षेत्रमा अवार्डमा पैसाको चलखेल हुने गरेको आरोप त अब पाच्य भइसकेको छ । तर, पूरै सिनेमा क्षेत्रको विश्वास बोकेको राष्ट्रिय अवार्ड पनि त्यसैको प्रतिबिम्बजस्तो देखिएको छ ।

नेपालमा अवार्ड जितेका सिनेमाहरु कस्ता छन्, ती सिनेमाले नेपालको मात्र नभएर विश्व बजारमा पनि नेपाली सिनेमाको प्रतिनिधित्व गर्छन् । के ती सिनेमाहरु अवार्डका लागि दाबेदार छन् ? यो प्रश्न पटकपटक सोच्न जरुरी छ ।

नेपालमा हुने अवार्ड वितरणमा निहित स्वार्थहरु जोडिएको मनोज पण्डित स्वीकार्छन् । उनी भन्छन्, ‘नेपालमा विश्वसनीय अवार्डको परिकल्पना गर्न सकिँदैन, संसारमा हुने केही अवार्ड किन पनि विश्वसनीय छन् भने ती अवार्डमा संसारभर कहलिएका फिल्ममेकरहरु जुरीका रुपमा रहन्छन्, तर दुर्भाग्य यहाँ कस्तो निर्णायक छान्ने भन्नेमा नै स्पष्टता छैन ।’

एक सिनेकर्मी भन्छन्, ‘अरु अवार्डको विरोध गर्नेहरुले नै सेटिङ मिलाएर अवार्ड लिएजस्तो देखिन्छ, आफ्नो नजिककाले ‘लबिङ’ गरेका आधारमा अवार्ड वितरण गरिनु खेदपूर्ण छ ।’

ती सिनेकर्मीका अनुसार नेपालमा राष्ट्रिय स्तरको अवार्डमा सेटिङ हुनु राम्रो होइन । राज्यले पनि कस्ता सिनेमालाई महत्त्व दिने भन्नेमा कुनै खाका तयार पार्न सकेको छैन ।

राष्ट्रिय स्तरको गौरवसँग जोडिएको अर्को लाजमर्दो कुरा त के हो भने अवार्डजस्तो कार्यक्रम पनि राष्ट्रपति निवासमा लगेर गरिनु । केही दशकअघि राजाका पालामा राष्ट्रिय नाचघर, नेपाल प्रज्ञा प्रतिष्ठान जस्ता सांस्कृतिक महत्त्व र इतिहास बोकेका स्थलमा अवार्ड समारोह हुन्थे । त्यहाँ राजपरिवार कलाकारको इज्जत गर्दै कार्यक्रममा सहभागि भइदिन्थे ।

तर, अहिले ? अवस्था यस्तो छ कि, अवार्ड समारोह गर्न पनि राष्ट्रपतिको समय हेरेर उनकै निवासमा कार्यक्रम गरिदिन पुग्नुपर्ने अवस्था छ ।

के राष्ट्रपति पद राजाभन्दा माथि हो ? पुराना पुस्ताका कलाकारले यो प्रश्न उठाएका छन् ।

वरिष्ठ कलाकार सरोज खनालले सामाजिक सञ्जालमा एक अजिबको तस्वीर राखेर आफ्नो गुनासो पोखेका छन् । जुन गुनासोले नै देखाउँछ कि, राष्ट्रिय अवार्डको दुर्दशा कस्तो थियो ।

संसारभर अवार्डका समारोहलाई हेर्ने हो भने अवार्ड पाएका कलाकारको चौतर्फी चर्चा हुने गर्छ । तर, नेपालमा ठ्याक्कै यसको उल्टो छ ।

आफ्नो प्रस्तुति देखाउन शौचालयको कमोडमा बसेर पालो कुरिरहेको तस्वीर सार्वजनिक गर्दै उनी लेख्छन् – सम्मानित हुने र सम्मान गर्ने त सोफामा विराजमान थिए । तर, हामी प्रस्तुति दिने करीब ३५ जनालाई ८/१० वटा कोठामा कोचेर राखे । म चाहिँ ट्वाइलेटको कमोडमा बसेर आफ्नो पालो पर्खिबसेँ । के गर्नु, आफ्नो क्षेत्रको दुर्दशा पब्लिकलाई देखाएर आफ्नै बेइज्जत हुन्छ ।

यसबाट नै प्रष्ट हुन्छ, शीतल निवासले कसरी कलाकारको अपमान गरेको छ । अवार्ड पाउने विशिष्ठ कलाकार र प्रस्तुति दिने तल्लो स्तरका कलाकार पक्कै होइनन् । विकास बोर्डले यस्ता कुरामा ख्याल गर्नुपर्ने थियो ।

राष्ट्रिय अवार्डमा सरकारले कस्ता सिनेमालाई महत्त्व दिनुपर्ने हो, सिनेकर्मीलाई कस्ता खालका सिनेमा निर्माण गर्न प्रोत्साहन गर्नुपर्ने हो भन्नेमा सरकारी निकाय स्पष्ट देखिएको छैन । त्यसो त ‘अवार्ड वितरण समारोह’ साँच्चिकै अवार्ड वितरणकै लागि गरिएको एक कामचलाउ कार्यक्रमजस्तै भएको छ । जुन समारोह मन्त्रिपरिषदको बैठकजस्तो सुटुक्क गरिएको थियो । राष्ट्रिय स्तरको अवार्ड वितरण कार्यक्रमको यो बिजोग हुनु भनेको सरकारको सिनेमाप्रतिको धार नै स्पष्ट नहुनु हो ।

‘स्पष्ट कुरा गर्ने हो भने सिनेमाको विषयमा कसरी अगाडि बढ्ने भन्नेमा चलचित्र अवार्डको नियत नै खोक्रो देखिन्छ, खोक्रोपनाको नियतले गर्दा कस्ता सिनेमालाई सरकारले प्रोत्साहन गर्ने भन्ने सरकार आफै अल्झेको छ,’ मनोज पण्डित भन्छन्, ‘आफूसँग सम्बन्धित विचारधाराका मान्छेहरु र तत्कालीन मिडियामा आएका कुरालाई अवार्डमा महत्त्व दिइएको छ ।’

संसारभर अवार्डका समारोहलाई हेर्ने हो भने अवार्ड पाएका कलाकारको चौतर्फी चर्चा हुने गर्छ । तर, नेपालमा ठ्याक्कै यसको उल्टो छ । अवार्ड पाउने कलाकारलाई शंकाको दृष्टिले हेर्नुपर्ने अवस्था आउनु भनेको एक अर्थमा अवार्डकै बेइज्जत हो । अर्कातिर अवार्डको पनि साख गएको स्पष्ट छ ।

यस्ता खालका अवार्डले राम्रो गर्न खोज्ने सिनेकर्मीलाई पाखा लगाउने र व्यावसायिक सिनेमा बनाउन चाहने सिनेकर्मीलाई प्रोत्साहित गर्ने देखिन्छ । तर, सरकारले समाजलाई प्रभावमा पार्ने र सामाजिक र सांस्कृतिक रुपमा सशक्त सिनेमा बनाउन खोज्नेलाई हेयको दृष्टिले हेरेको छ ।

खासमा सिनेमाले समाजमा कस्तो परिवर्तन पार्छ, भविष्यमा सिनेमाको दीर्घकालीन असर के हुन्छ भन्ने विषय उठाएका सिनेमाले महत्त्व पाउनुपर्ने हो । राष्ट्रिय अवार्ड नै व्यावसायिक देखिएपछि नेपाली सिनेमाको बजार कता जान्छ ?

‘अवार्ड प्रदान गर्न कतिपय ठाउँमा साँच्चिकै लज्जास्पद हुने गरी निर्णायक राखिएको छ, सत्ताका वरिपरिका मान्छेलाई जुरीका रुपमा राखिएको छ,’ पण्डित भन्छन् ।

निजी क्षेत्रमा वितरण गरिने अवार्डको विषयमाथि ठूलो बहस भइरहेका बेला अवार्डकै बेइज्जत हुने गरी गरिएको राष्ट्रिय अवार्ड वितरण कार्यक्रमले पक्कै सकारात्मक सन्देश दिँदैन । मनोज पण्डितले भनेजस्तै अवार्ड पक्कै पनि टर्फी मात्र होइन, यसको आफ्नै महत्त्व र विश्वास हुन्छ ।

अवार्ड आफैलाई लाज लाग्ने गरी हुने ‘राष्ट्रिय अवार्ड’ त सिनेमा क्षेत्रका लागि झन् देशकै प्रतिनिधि हो । यस्तो अवस्थामा राष्ट्रिय स्तरकै अवार्ड नै ‘आसेपासे’ का लागि दिइने हो भने कि त दीपकराज गिरीले जस्तै अवार्डका कार्यक्रम बहिष्कार गर्नुपर्‍यो, होइन भने लुरुलुरु अवार्ड लिनुपर्‍यो । यस्तो अवार्डले सम्रग सिनेमा क्षेत्रमा दीर्घकालीन प्रभाव पार्छ ।

नेपालमा अवार्ड जितेका सिनेमाहरु कस्ता छन्, ती सिनेमाले नेपालको मात्र नभएर विश्व बजारमा पनि नेपाली सिनेमाको प्रतिनिधित्व गर्छन् । के ती सिनेमाहरु अवार्डका लागि दाबेदार छन् ? यो प्रश्न पटकपटक सोच्न जरुरी छ ।

भर्खर

0