विश्वका ‘दानी’ अर्बपति बिल गेट्सलाई लागेको थियो कम्प्युटर चलाउन बन्देज | Khabarhub Khabarhub
Logo
२६ मंसिर २०७६, बिहीबार

विश्वका ‘दानी’ अर्बपति बिल गेट्सलाई लागेको थियो कम्प्युटर चलाउन बन्देज



बिल गेट्सको नाम नसुन्ने सायदै कोही होलान् । प्रायः सबैले संसारकै सबैभन्दा धनी व्यक्तिका रुपमा बिल गेट्सलाई चिन्ने गरेका छन् ।

निकै लामो समयसम्म उनी फोर्ब्स नामक अमेरिकी अखबारको सबैभन्दा धनी व्यक्तिको सूचीको शीर्षस्थानमा अटाएका थिए । हाल विश्वको सबैभन्दा धनी व्यक्तिको शीर्ष स्थानमा उनको नाम त छैन, तैपनि अझै सम्म पनि उनी धनाढ्य व्यक्तिको पर्यायका रुपमा रहेका छन् ।

हाल फोर्ब्स अखबारमा धनाढ्यहरुको सूचीको दोश्रो स्थानमा आउने उनको सम्पत्ति १ खर्ब अमेरिकी डलरभन्दा धेरै छ । यो सम्पत्ति धेरै मुलुकहरुको कुल अर्थतन्त्रभन्दा धेरै हो ।

उनको अर्को पहिचान छ – उनी माइक्रोसफ्ट कम्पनीको संस्थापक समेत हुन् । उनैले आफ्ना साथी पउल एलेनसँग मिलेर माइक्रोसफ्ट नामक प्राविधिक कम्पनीको स्थापना गरेका थिए । माइक्रोसफ्ट कम्प्युटर प्रविधिको क्षेत्रमा सबैभन्दा प्रभावशाली कम्पनी मानिन्छ । त्यसबाहेक उनी संसारको सबैभन्दा धेरै दान गर्ने संस्था बिल एण्ड मेलिण्डा गेट्स फउण्डेसनका सहअध्यक्ष समेत हुन् ।

उनी कम्प्युटर सेन्टर कर्पोरेसन सीसीसी नामक कम्पनीमा कम्प्युटर चलाउन जाने गर्थे । यो बेला उनी र उनका तीन साथीहरुले सीसीसीको कम्प्युटरको अपरेटिङ सिस्टममा त्रुटि फेला पारी आफूहरुलाई धेरै समयसम्म सित्तैमा कम्प्युटर चलाउने बनाएका थिए । यो कुरा पत्ता लगाएपछि सीसीसीले ती चारै जनालाई कम्प्युटर चलाउन बन्देज लगाइदिएको थियो

विलियम हेनरी गेट्स तृतीयको जन्म सन् १९५५ मा अमेरिकाको वाशिंटन राज्यको सिटल शहरमा भएको थियो । १३ वर्षको उमेरमा लेकसाइड निजि विद्यालयमा अध्ययनरत भर्ना भए । यसबेला अहिलेजस्तो कम्प्युटर प्रणालीको विकास र विस्तार भइसकेको थिएन । सोही कारण कम्प्युटर प्रयोग गर्न पनि धेरै संघर्ष गर्नुपर्थ्यो ।

उनले सोही निजि विद्यालयमा कम्प्युटरसँग परिचित भएका थिए । उनले त्यसबेला कम्प्युटरका सफ्टवेयरले कसरी काम गर्छन् भन्नेमा खुबै चासो राख्थे । त्यहीबेलाबाट उनले कम्प्युटर प्रोग्रामिङ्बारे चासो राख्न शुरु गरेका थिए । सोही अनुसार पछि उनले कम्प्युटरको बिगिनर्स अल पर्पज सिम्बोलिक इन्ट्रोडक्सन कोड बेसिक नामक प्रोग्रामिङ ल्याङ्ग्वेज सिके ।

यही सिक्ने क्रममा उनले टिक ट्याक टो नामक खेल समेत बनाएका थिए । यसपछि उनी कम्प्युटर सेन्टर कर्पोरेसन सीसीसी नामक कम्पनीमा कम्प्युटर चलाउन जाने गर्थे । यो बेला उनी र उनका तीन साथीहरुले सीसीसीको कम्प्युटरको अपरेटिङ सिस्टममा त्रुटि फेला पारी आफूहरुलाई धेरै समयसम्म सित्तैमा कम्प्युटर चलाउने बनाएका थिए । यो कुरा पत्ता लगाएपछि सीसीसीले ती चारै जनालाई कम्प्युटर चलाउन बन्देज लगाइदिएको थियो ।

पछि सीसीसीले ती चारजनालाई कम्पनीको कम्प्युटर सिस्टममा त्रुटिहरु फेला पार्न बोलायो । सीसीसीले उनीहरुलाई बदलामा धेरै समय कम्प्युटर चलाउन पनि दिने भयो । उनले सीसीसीको प्रस्ताव स्वीकार गरे । सीसीसीबाटै उनले फोर्टार्न, मेसिन कोड र लिस्पजस्ता प्रोग्राम सिके । उनले सीसीसी कम्पनी विघटन हुँदाको समय सन् १९७० सम्म त्यहीँ काम गरे ।

कम्प्युटर प्रोग्रमिङमप्रतिको लगावकै कारण उनी सन् १९७३ मा हार्डवर्ड विश्वविद्यालयमा गणित र कम्प्युटर साइन्स अध्ययनार्थ भर्ना भए । उनले कम्प्युटर प्रोग्रामिङबारे यहीँबाट औपचारिक ज्ञान हासिल गरे । तैपनि उनमा आफ्नै किसिमले कोडिङको विकास गरी प्रोग्राम बनाउने तीब्र इच्छा भएकाले उनले हार्डवर्ड विश्वविद्यायलको औपचारिक अध्ययन अध्ययनमा उति ध्यान लगाउन सकेनन् ।

माइक्रोसफ्टको स्थापना

उनको जीवनको प्रमुख मोड लियो । सन् १९७५ को जनवरीमा उनी आफ्ना साथी पउल एलेनसँग पपुलर इलेक्ट्रोनिक्स नामक म्यागजिनमा माइक्रो इन्स्ट्रुमेन्टेसन एण्ड टेलिमेट्री सिस्टम मिट्स नामक कम्प्युटर निर्माता कम्पनीको अल्टेर ८८०० माइक्रोकम्प्युटरबारेको लेख पढिरहेका थिए ।

उक्त लेख पढेसँगै उनीहरु भविष्यमा कम्प्युटरको मुल्य घट्ने र कम्प्युटर सफ्टवेयरको व्यापार फष्टाउने निष्कर्षमा पुगे । त्यसपछि उनीहरुले मिट्सलाई सम्पर्क गरी अल्टेरका लागि आफूहरुले बेसिक इन्टरप्रेटरको विकास गरिरहेको जानकारी दिए । तर वास्तवमा उनीहरुसँग न त अल्टेर कम्प्युटर नै थियो, न त उनीहरुले अल्टेरका लागि बेसिक इन्टरप्रेटरको विकास नै गरिरहेका थिए ।

मिट्सका तत्कालिन अध्यक्षले उनीहरुसँग केही सातापछि भेट गर्न न्यू मेक्सिको राज्यको अलबुकर्की शहरमा आउन आग्रह गरे । त्यहीबीचमा एलेन र गेट्सले अर्को कम्प्युटरलाई अल्टेर कम्प्युटरकै शैलीमा रुपान्तर गरी बेसिक इन्टरप्रेटर विकास गर्न थाले । योसँगै दुबैको कामबाट मिट्स प्रभावित भएर उनीहरुलाई अल्टेर–बेसिकका नाममा अल्टेर माइक्रोकम्प्युटरका लागि बेसिक इन्टरप्रेटर विकास गर्ने ठेक्का दिइयो । त्यसपछि मिट्सका लागि काम गर्न हार्डवर्ड विश्वविद्यालयबाट केही समयका लागि विदा मागेर गेट्स अलबुकर्की आए । त्यसपछि उनी पढ्नका लागि कहिल्यै हार्डवर्ड फर्केनन् ।

गेट्स र एलेनले आफ्नो साझेदारीलाई ‘माइक्रो कम्प्युटरमा प्रयोग हुने सफ्टवेयर’ नामबाट माइक्रो–सफ्ट नामकरण गरे । पछि बीचको ड्यास हटाएर उनीहरुले ‘माइक्रोसफ्ट’ कम्पनी न्यू मेक्सिकोमा दर्ता गरे । यससँगै माइक्रोसफ्ट कम्पनीको औपचारिक स्थापना भयो । सन् १९७७ मा मिट्स कम्पनी अर्कै पेर्टेक नामक कम्पनीमा विलय भयो । माइक्रोसफ्टले विभिन्न कम्पनीका लागि सफ्टवेयरहरु विकास गर्न लाग्यो ।

विण्डोज

सन् १९८० माइक्रोसफ्ट कम्पनीका लागि ठूलो टर्निङ पोइन्ट बन्यो । त्यसबेलाको सबैभन्दा ठूलो पर्सनल कम्प्युटर निर्माता कम्पनी इन्टरनेशनल बिजनेश मेसिन कर्पोरेसन आईबीएमले माइक्रोसफ्टलाई आफ्नो पर्सनल कम्प्युटर पीसीका लागि बेसिक इन्टरप्रेटर र अपरेटिङ सिस्टमको विकास गरिदिन भन्दै पत्र लेख्यो । माइक्रोसफ्टले आईबीएम पीसीका लागि माइक्रोसफ्ट डिस्क अपरेटिङ सिस्टम (एमएस डीओएस) नामक अपरेटिङ सिस्टम र इन्टरप्रेटरको विकास गरे । त्यसबेला आईबीएमकै शैलीका पीसी लोकप्रिय बन्दै गयो ।

अन्य कम्पनीहरुले पनि पीसीको विकासलाई तीब्र गतिमा अघि बढाए । योसँगै माइक्रोसफ्टले आफ्ना एमएस डीओएस सफ्टवेयरको विक्रीलाई पनि बढाउँदै लग्यो ।

माइक्रोसफ्टले सन् १९८५ मा विण्डोज नामक नयाँ किसिमको अपरेटिङ सिस्टमको विकास गर्यो । माइक्रोसफ्ट विण्डोज नाम अपरेटिङ सिस्टमले त्यसबेलाको कम्प्युटर अपरेटिङ सिस्टमको क्षेत्रमा क्रान्ति नै ल्याइदियो ।

परम्परागत अपरेटिङ सिस्टमभन्दा आधुनिक र परिष्कृत रहेकाले धेरै कम्प्युटर निर्माता कम्पनीहरुले विण्डोजको अपरेटिङ सिस्टमको प्रयोग गर्न थाले । यससँगै माइक्रोसफ्ट कम्पनी समृद्ध बन्दै गयो ।

सन् १९९० मा माइक्रोसफ्टले विण्डोजलाई परिष्कृत गरी अपरेटिङ सिस्टम ल्यायो । यो अपरेटिङ सिस्टममा प्रयोगकर्ताको व्यवहारलाई मध्यनजर गर्दै सिस्टममा प्रयोग हुने टेक्स्टलाई प्रतिस्थापन गरी नयाँ ग्राफिक्स, फाइल म्यानेजर र खेलहरु राखिएको थियो । त्यसबेलाका अन्य अपरेटिङ सिस्टमभन्दा पृथक रहेकाले विण्डोजको यो संस्करणको अपरेटिङ सिस्टमले कम्प्युटर अपरेटिङ सिस्टमका क्षेत्रमा हलचल नै ल्यायो ।

दान गर्ने उद्देश्यबाट स्थापित फाउण्डेसनलाई समय दिनका लागि उनले सन् २०१४ मा माइक्रोसफ्टको दैनिक गतिविधीबाट सन्यास लिएका हुन् । उनको संस्थाले अहिलेसम्म ३६ अर्ब अमेरिकी डलर दान‍ गरेको छ ।

पछि सन् १९९५ मा माइक्रोसफ्टले अर्को संस्करणको विण्डोज अपरेटिङ सिस्टम सार्वजनिक गर्यो । ३२ बिटसम्मका सफ्टवेयर सपोर्ट गर्ने भएकाले यसले आगामी संस्करणको विण्डोजका लागि नयाँ मापदण्ड निर्धारण गर्यो । एकपछि अर्को गर्दै विण्डोज अपरेटिङ सिस्टमले सफलता हात पार्दै जाँदा माइक्रोसफ्ट कम्पनी कम्प्युटर अपरेटिङ सिस्टमका क्षेत्रमा सबैभन्दा महत्वपूर्ण कम्पनीको रुपमा स्थापना भइसकेको छ ।

अर्बपतिको सूचीमा परेको ८ वर्षमा सबैभन्दा धनी

माइक्रोसफ्ट कम्पनीले एकपछि अर्को गरी सफलता हासिल गरेसँगै सन् १९८७ मा पहिलोपटक अर्बपतिको सूचीमा परेका थिए । उनी त्यसबेलाका कान्छो अर्बपति समेत बनेका थिए । ८ वर्ष नपुग्दै उनी सन् १९९५ मा संसारकै सबैभन्दा धनाढ्य समेत बन्न पुगे । त्यसयता उनी संसारको सबैभन्दा धनाढ्यको सूचीमा आफ्नो नामक शीर्ष स्थानमा लेखाउन सफल भएका थिए । सन् २००० यता धनाढ्यहरुको सूचीको शीर्षस्थानमा उनको नाम १३ पटक अटाएको छ ।

उनी २० औं शताब्दीका प्रभावशाली व्यक्तिको सूचीमा समेत अटाएका छन् भने संसारकै सबैभन्दा शक्तिशाली व्यक्तिको सूचीमा समेत उनको नाम आउने गर्छ ।

त्यसपछि…

माइक्रोसफ्टमा उनले सन् २००० मा प्रमुख कार्यकारीको पदबाट राजीनामा दिएका थिए । तैपनि माइक्रोसफ्टका अन्य दैनिक गतिविधिमा भने उनी नियमित संलग्न रहँदै आएका थिए । उनी बेलाबेला माइक्रोसफ्टको विज्ञापनमा समेत देखिने गरेका थिए ।

पछि सन् २०१४ मा उनले माइक्रोसफ्ट कम्पनीका दैनिक गतिविधिबाट सन्न्यासको घोषणा गरे । तैपनि प्राविधिक सल्लाहकारका रुपमा उनी अझै पनि माइक्रोसफ्टमा आबद्ध छन् ।

दान

बिल गेट्सले आफ्नी श्रीमती मेलिण्डा गेट्ससँग मिलेर सन् २००० मा बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनको स्थापना गरेका थिए । उनीहरुले आफ्नो सम्पत्तिलाई गरीब मुलुकमा व्याप्त रोग, भोकमरी, अशिक्षालाई निवारण गर्नका लागि खर्च गर्नेगरी स्थापना गरिएको उक्त फाउण्डेसनको कोषमा दानका लागि ५० अर्ब अमेरिकी डलर भन्दा धेरै रकम छ ।

यो फाउण्डेसनमा अर्का धनाढ्य अर्बपति वारेन वफेटले समेत योगदान दिएका छन् । साँच्चै भन्दा दान गर्ने उद्देश्यबाट स्थापित यही फाउण्डेसनलाई समय दिनका लागि उनले सन् २०१४ मा माइक्रोसफ्टको दैनिक गतिविधीबाट सन्यास लिएका हुन् । उनको संस्थाले अहिलेसम्म ३६ अर्ब अमेरिकी डलर दान‍ गरेको छ ।


भर्खर