गाई पालेर स्वरोजगार भएका निराजन भन्छन्–कामगर्ने इच्छा शक्ति भए अवसर कतिकति | Khabarhub Khabarhub

गाई पालेर स्वरोजगार भएका निराजन भन्छन्–कामगर्ने इच्छा शक्ति भए अवसर कतिकति



काठमाडौं-ललितपुरको इमाडोल घर भएका निरजान भण्डारीको घरमा शुक्रबार साँझ पुग्दा उनी भ्याईनभ्याई भएर काम गरिरहेका थिए ।

निक्कै कामकाजी देखिने उनी गाईगोठ वरपर गाईकै स्याहारचाकरमा व्यस्त थिए। हामीलाई देखेपछि गोबर लतपतिएको हात जोड्दै भने, ‘नमस्कार, बस्नुहोस् । मेरो यो व्यस्त समय ।’ उनले बस्नुहोस भन्न नभ्याउँदै उनकी श्रीमतीले कुर्सी ल्याइन । उनको दैनिकी के छ भनेर जान्न हामीलाई धेरै समय लागेन । उनले मेहनत गर्न सके हामी नेपालीलाई सँधै भ्याइनभ्याई हुने भन्दै आफूले बिहान उठेपछि बेलुका नसुन्जेलसम्मको कार्यतालिका सुनाए ।

३ वर्ष साउदीमा बसेर काम गरेका उनी बिदेशमा बगाएको पसिना नेपालमै बगाउँदा नेपाली भूमिबाट सुन फलाउन सकिन्छ भन्ने विश्वास गर्छन । अहिले उनको जीविका पनि नेपाली भूमिका सुन फलाउने योजनासहितको छ । गोठभरी गाई पालेका निराजनले दैनिक ४० लिटर दूध बेचिरहेका छन् । उनले यो पेशालाई विस्तारै व्यवस्थित र अझै ठूलो बनाउने योजना बनाएका छन् ।

बाल्यकालमा नपसेको गोठमा अहिले दैनिकी

जीवनका उत्तारचढाव धेरै हुने भन्दै उनले बुबाआमाको पेशालाई व्यवस्थित गर्न बिदेशले सिकाएको बताए । सेनाका जागिरे उनका बुबाको पुख्यौली पेशा कृषि र पशुपालन नै रहेछ । बुबाले घरमा ४/५ माउ गाई पाल्दा आफू गोठमै नटेकेको स्मरण गर्दै अहिले दैनिकी गोठमै बिताउँदा रमाइलो महशुस हुने गरेको सुनाए ।

पहिला बुबाले पालेभन्दा केहिमात्र बढी पालेर व्यवसायिक बनेका उनी व्यवसायलाई समयसापेक्ष बनाउँदै लैजानुपर्ने अनुभव सुनाउँछन् ।

परिवारका माइलो सन्तान उनका एक दिदी र एक भाई छन् । नेपाली आम युवाका लागि अनुकरणीय जीवनशैली बनाएका निराजनको दैनिकी ०५६ सालबाट फेरिएको रहेछ । एसएलसी अनुर्तिण भएका निराजनले दोहोर्‍याएर परीक्षा दिएनन । बुबाले थापिदिएको किराना पसल चलाए । निजी विद्यालय पढेपनि फेल भएको तीतो यतार्थ उनले सुनाए ।

०६० सालमा कौशलटारकी अमिशा भण्डारीसँग दाम्पत्य जीवन गाँसेका उनले त्यसपछि व्यवसायिक बन्ने अनेक प्रयास गरे । पसल छाडेर कुखुरा पालन गरेका उनले त्यसलाई व्यवसायिक बनाउन सकेनन् । पहिलो सन्तानका रुपमा छोरी जन्माएका उनले थप जिम्मेवारी थपिएको भन्दै आर्थिक रुपमा सम्पन्न बन्न विदेशको सपना देखे ।

त्यसपछि उनी खाडी भासिए । ९ सय रियल आधारभूत र ५ सय रियल भत्ता खाएर चारपांग्रे सवारी चलाउँथे । साउदीले राम्रै बनाएको उनको दैनिकीलाई अमेरिकी डिभी चिठ्ठाले खलबल्यायो । अमेरिका जाने सपनामा धेरै खर्च गरेका उनले अन्तिम अन्तर्वार्तामा विफल भएपछि जीवनले नयाँ मोड लिएको प्रसंग निराजनले एक स्वासमा सुनाए ।

साउदीको कमाई अमेरिकी सपनाले सिद्धाएपछि उनी फेरि घरको न घाटको बने । त्यहीबेला छोरीलाई पथरी भएपनि त्यसको उपचार गर्न लाग्ने खर्च जुटाउने धेरै मेहनत गर्नुपर्‍यो ।

यी सबै पीडाबाट आजित भएका उनी अन्ततः गाईको स्याहारचाकर गरेर रोजगार बन्ने सपना देख्न थाले । बुबाले पालिरहेका गाईलाई नै उनले आफ्नो पेशा बनाउने निधो गरेर त्यसलाई व्यवसायिक बनाउन थाले । त्यहीबेला बुबा बिरामी हुँदा उनलाई केही अफ्ठ्यारो भएपनि विगतमा दुःख सम्झँदै गाईको चाकरबाट मोहर कमाउने निधो गरे ।

अहिले उनी यति अभ्यस्त भएका छन् कि गाईको सम्पूर्ण भाषा बुझ्छन् । गाई भोकाउनुभन्दा अघि खानेकुरा दिन्छन् । सुकिलो मुकिलो बनाउन हरसम्भव प्रयास गर्छन् । ‘गाईलाई सारो गाह्रो परेको र बिरामी भएको इशाराले नै बुझ्छु,’ उनी भन्छन्, ‘गाईको मन मानिसको भन्दा कोमल हुन्छ।’

गोठमा ७ जर्सी, १ होलस्टेन र २ लोकल गरी १० वटा दुहुना गाई पालेका उनका गोठमा व्याउने कोरला पनि छन् । उनले गोठमा भएका चिल्ला र राम्रा गाई देखाउँदै भने, ‘यो रातु हो, यो पनि आमा भइसकेको छ । राते, छिरबिरे पनि चाँडै आमा बन्दैछन् ।’ गोठमा भएका गाईको नाम, स्वभाव र उनीहरुको उत्पादनबारे उनले एक टकमा सबै सुनाए । अहिले उनको गोठमा रहेका तिखे, बाख्री, ठुटे र सेते गाइले दुध दिँदैछन् । एउटा गाईले एक पटकमा १५ मानासम्म दूध दिँदो रहेछ । थाक्नेबेलामा भने ३ मानामात्र दिने गरेको पनि उनले सुनाए ।

प्रविधिले सजिलो

पहिला गाईलाई गर्भाधान गर्न गोरु खोज्नुपर्ने, गोठमै गोरु पाल्नुपर्ने बाध्यता भएपनि अहिले प्रविधिको विकाससँगै धेरै सहज भएको उनले बताए । आफूले चाहेको जातको क्रस गराउन सुईबाटै गर्भाधान गराउने हुँदा गाईको नश्ल सुधारका लागि पनि उपयोगी हुने गरेको उनको विश्वास छ ।

पशु प्राविधिकले गोठमै आएर गर्भाधान गराउँदा ५ सय रुपैयाँ खर्च लाग्दो रहेछ । तर गाईलाई लाग्ने रोकको समयमै उपचार नहुँदा भने किसानले ठूलो क्षति व्यहोर्नुपरेको छ । भर्खरै मात्र उनको गोठको आकर्षणका रुपमा रहेको ढ्यांग्रे नामको गाईको मृत्यु भयो ।

१० वर्षसम्म गोठको सोभा भएर बसेको ढ्यांग्रे बिरामी भएपछि निराजनले बचाउन सकेनन् । त्यसको ठूलो पीडा छ उनलाई । उनी भन्छन् पशु पनि परिवारको सदस्य जस्तै हुँदो रहेछ । ढ्यांग्रेलाई सम्झेर उनी भाबुक बने ।

घरघरमा दुग्ध सेवा

उनले घरमा उत्पादन गरेको दूध ग्राहकका घरघरमा पुर्‍याउने गरेका छन् । उनले दैनिक ४० लिटर दुध बेच्ने गरेका छन् । दूधको मूल्य पुरानो ग्राहक र नयाँका लागि फरकफरक तोकेका छन् निराजनले । पुराना ग्राहकलाई ८० रुपैया र नयाँ ग्राहकलाई ९० रुपैया प्रतिलिटर लिएर घरघरमै दूध पुर्‍याउने गरेको उनले सुनाए । ठट्यौली पारामा दूध भनेर कति पानी बेच्नुहुन्छ भन्ने प्रश्नले उनी मुस्कुराए । हाँस्दै भन्छन्, ‘अलिअलि पानी नै बेच्ने गरी त दूधमा पानी मिसाइन्न । तर पखालपुखुल अलिअलि त भईहाल्छ नी।’

गाईको स्याहारका लागि उनले पराल, पिठो, ढुटो, दाना, चोक्करलगायतका खुराक ख्वाउने गरेका छन् । उनले महिनामा २ लट दाना किन्ने गर्दछन् । त्यसका लागि एक लटमा १८ हजार रुपैयाँसम्म खर्च गर्ने गरेका छन् ।

यस्तो छ बिहान साढे ४ देखिको दैनिकी

बिहान अबेरसम्म सुत्ने राजधानीबासीका लागि उनको दैनिकी अचम्मै लाग्ने हुन्छ । किनकी उनी धेरै मानिस आधा निन्द्रामा रहेका बेला गाईको गोठ पुग्छन् । बेलुका दानापानी दिएर राखिएका गाईको अवस्था कस्तो छ पहिला उनले बुझ्छन् । अनि गाईको गोबर सोहरेर, गोठ सफा गर्न र दूध दुहुन थाल्छन् । यो काममा उनलाई श्रीमतीको साथ रहन्छ । एक घण्टामा उनको यो काम सकिन्छ ।

त्यसपछि पहिल्यै किनेको पुरानो मोटरसाइकलमा दूधका क्यान लोड गरेर साढे ५ बजे घरबाट निस्कन्छन् । ललितपुरको गणेशस्थान, ग्वार्काे, महालक्ष्मीस्थान, लगनखेल, शंखमूल हुँदै सहुगल, भेलाछे, बगंलामुखिसम्मका आफ्ना उपभोक्तालाई दूध पुर्‍याएर साढे १० बजे घर पुग्छन् । यो उनको प्रत्यके दिनको दैनिकी हो । धेरैले आधार लिटरमात्र दूध किन्ने भएकाले प्रत्येक दिन ८० घरमा पुग्ने गरेको उनले सुनाए ।

दूध बेच्दाका दुःख

घरघरमा दूध लिएर जानु त्यति सजिलो छैन । तर, साउदीको कामभन्दा आनन्द लाग्ने नै काम भनेर उनी चित्त बुझाउँछन् । बाइकमा ढुवानीका लागि हिँड्दा पाएको दुःख उनी बिर्सँदैनन् । थोरै ढिलो भए ग्राहकले दिने गालीले पनि बेचैन बनाउँछ उनलाई । तर, आफ्नो पेशा सम्झेर उनी रिसाउँदैनन । बरु आज ढिलो भयो माफी दिनुहोस भन्छन् ।

समयमै दूध खोज्ने ग्राहकले भनेको समयमा पैसा नदिँदा चाँही उनलाई रिस उठ्दो रहेछ । काम र पेशाको सम्मान नगर्नेलाई धेरै सम्झाउन मन लाग्छ उनलाई तै पनि समयले विस्तारै सिकाउँछ भन्ने उनको बुझाई छ । ‘पछिल्लो समय ४० हजार जति बजारमै रहेको बताउँदै अहिलेसम्म घरघरमा पुर्‍याएको दूधको पैसा १ लाख रुपैयाँजति गुमेको पनि छ’, उनले भने, ‘विभिन्न बहानामा मान्छेले ठग्ने गर्दछन् । त्यो राम्रो होइन ।’

दूधवाला निराजनको मार्क्स मोह

उनको पहिचान दूधवालामात्र होइन । मास्र्कवाला पनि हो। उनका ग्राहकले उनको सक्कल अनुहार देखेकै छैनन् । किनकी उनको अनुहारमा मास्र्क कहिल्यै टुट्दैन । उनको मास्र्क पहिचान लुकाउनका लागि नभई धुलो, धुँवा र चिसोबाट बच्नका लागि हुने गरेको छ ।

मासिक २५ हजार बचत

गाई पालन व्यवसाय थालेपछि उनलाई आर्थिक संकट कहिल्यै परेन । १२ लाख ऋण लिएर थालेको यो कामले उनलाई स्वरोजगार त बनाएको छ नै आम्दानी पनि बढाएको छ ।

छोराछोरीलाई राम्रो स्कुलमा पढाएका उनले सबै खर्च कटाएर मासिक २५ हजारभन्दा बढी बचत गर्ने गरेका छन् । योबीचमा उनले सबै ऋण तिरिसके ।

कक्षा ४ र कक्षा ७ मा पढ्ने दुई छोराछोरी नजिकैको बोडिङमा पढ्छन् । उनीहरुको पढाईमा पनि मासिक १५ हजारबढी खर्च हुने गरेको छ । गोठमा बुढाबुढी भएर काम गर्दा सजिलो पनि भएको उनी बताउँछन् । बाहिर काम गर्न जाँदा २५ हजार पनि नकमाईने भन्दै उनले आफ्नो त्योभन्दा बढी बचत हुने भएकाले यो पेशाबाट निक्कै सन्तुष्टि मिलेको सुनाए ।

उनी भन्छन्–‘अब सबै नेपाली युवा स्ववलम्बन हुने काम गर्नुपर्छ । जागिरे सोचलाई त्यागेर आफैं उद्यमशिल बन्नुपर्छ । काम गर्ने अठोट, सीप र इच्छाशक्ति भए नेपाली माटोमै सुन फाउन सकिने उनको दृढ विश्वास छ । विदेशको कमाई क्षणिक भएकाले दीर्घकालीन कामका लागि सबै एक जुट भएर लाग्नुपर्ने उनको सुझाव छ ।

सामाजिक सञ्जालमा पनि अभ्यस्त उनी सामाजिक सञ्जालकै माध्यम तथा टिभी र रेडियोबाट देशविदेशका घटना पनि सुन्छन् । अनि भन्छन्, अब विश्व साँधुरिएको छ । विश्वका गतिविधि हामी हाम्रो हातबाट थाहा पाउँछौं । हाम्रो व्यवसायलाई प्रविधिमैत्री बनाउनुपर्छ । हामी अवश्य सफल बन्नेछौं ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ७ : ५४ बजे

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।