दमकल आफै बले आगो कसले निभाउने ?

राजीव खत्री

बुधबार, जेष्ठ १, २०७६

Reading Time: 7 minutes

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एकपटक पाँचजना दृष्टिविहीनलाई हात्तीबारे जान्ने उत्सुकता जागेछ । पाँचैजना दृष्टिविहीन हात्तीसारमा पुगेर बाँधिएको एउटा हात्तीलाई छाम्न थालेछन् । सुँड छाम्ने दृष्टिविहीनले भनेछ – ओहो ! हात्ती त केराको थाम जस्तो पो हुँदोरहेछ । अर्कोले पुच्छर छाम्दै प्रतिक्रिया दिएछ – होइन, हात्ती त डोरीजस्तै हुँदो रहेछ । तेस्रोले कान छामेर भनेछ – धत्, हात्ती भनेको त नाङ्लोजस्तै हो ।

अर्कोले हात्तीको खुट्टा मुसार्दै भनेछ – हात्ती भनेको डोरी, नाङ्लो, केराको थामजस्तो होइन – यो त खम्बा जस्तो रहेछ । अन्त्यमा पाँचौ दृष्टिविहीनले हात्तीको पिठ्युँ छाम्दै सबैलाई झपारेछ – मूर्ख हो, तिमीहरू जस्ता स्वाँठलाई के थाहा ? हात्ती भनेको भित्ताजस्तै हुन्छ । पाँच दृष्टिविहीनको यो कथा हामीले कतै न कतै सुनेको या पढेकै हुनुपर्छ । नेपालमा लोकतन्त्र र प्रेस स्वतन्त्रताको परिभाषा यही हात्तीको कथाजस्तै गरी दिनेहरू यहाँ धेरै छन् ।

आफ्नो विषयमा वकिल र अरुका विषयमा न्यायाधीश बन्ने प्रवृत्ति नेपाली समाजको गहना बन्दै गएको छ । आफूबाहेक समाजका हरेक व्यक्तिलाई चोर, फटाहा, दलाल, भ्रष्टाचारी, लुट, तस्कर, अनुशासनहीनको करारनामा दिन एकले अर्कालाई उद्यत देखिन्छन् । नेता, कार्यकर्ता, पत्रकार, वकिल, डाक्टर, इन्जिनियर, शिक्षक, व्यवसायी सबका सब यही ‘उपमा’ भित्र पर्दछन् । लाग्छ, यो देशमा सत्य पेशा अङ्गाल्ने मान्छे कोही पनि छैन ।

केही समययता एक टेलिभिजन अन्र्तवार्ताबाट उब्जिएको घट्नाक्रमले आमसञ्चार र सामाजिक सञ्जाल सही र गलतको पृष्ठपोषणले रंगिएको छ । देखिएको तत्कालीन कारणको सहतमा रहेर ठीक र बेठीकको तर्क–वितर्कमा बौद्धिक भनिएका वर्ग पनि रुमल्निनु दुर्भाग्यपूर्ण नियति हो ।

हामीले आज ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा घन्काउँदै गर्दा बौद्धिक र सचेत समाजको परिकल्पना कति गरेका छौँ भन्ने सोचनीय विषय बन्दै गएको छ । समद्धिको बाटो तय गर्दै गर्दा खुला चेतनासहित बौद्धिक बहस आजको आवश्यकता बनेको छ । यी सबै कुरालाई ढाकछोप गरेर विकृतिको अँध्यारोमा बसिरहने कि अर्घेल्याइँका पर्दाहरू च्यातेर सभ्य संसारको पंक्तिमा जान प्रयास गर्ने ? यो प्रश्न जटिल त हैन तर निकै गम्भीर छ ।

भारतका सुप्रसिद्ध पत्रकार एवं लेखक खुशवन्त सिंहले एकपटक कतै ठट्टैठट्टामा बुद्धिजीवीका बारेमा भनेका थिए, ‘संसारमा वेश्यावृत्तिभन्दा पनि निकृष्ट तीनवटा पेशा पत्रकारिता, वकालत र राजनीति हुन् । यी तीनवटै पेशा मैले गरिसकेको छु । सो भनाइमा सत्यता होस् या नहोस् तर त्यसले दक्षिण एसियाका जनतामा वकालत, राजनीति र पत्रकारिताप्रतिको धारणालाई प्रष्ट पार्छ । ‘वादे वादे जायते तत्वबोध’ लाई नस्वीकार्नेहरू सधै ‘हठी’ भएर आफ्नै कुरालाई मात्र सर्वमान्य बनाउन चाहन्छन् । तर वास्तविकता तबमात्र प्रमाणित हुन्छ, जब त्यसलाई बहुसङ्ख्यक व्यक्तिले हार्दिकताका साथ स्वीकार्छन् ।

पत्रकारले सोधेको प्रश्नको जवाफ दिनैपर्छ भन्ने व्यक्तिलाई हुँदैन । तर, देशको जिम्मेवार उपप्रधानमन्त्रीले प्रश्नबाट हटेर हैन, बरु डटेर जवाफ दिन सक्नुपर्छ । उपेन्द्र यादव व्यक्ति होलान् तर उपप्रधानमन्त्री पद व्यक्तिगत हुँदैन । सार्वजनिक पद धारण गरेको व्यक्तिले सार्वजनिक जिज्ञासाको जवाफ दिनुपर्छ । हो, बरु मुख्य कुरा चाहिँ यस्ता ओहदाका व्यक्तिहरूले टिभीमा अनुहार देखाउने नचाहिँदो रहर त्याग्न पनि सक्नुपर्छ । सोध्ने र भन्ने कुरा निश्चित नभई श्रव्य दृश्य मिडियामा अन्तर्वार्ता दिन जानु ती व्यक्तिको आफै कच्चा काम हो । आमसञ्चारलाई आफूअनुकूल बनाउन खोज्ने र कुण्ठा पोख्ने थलो बनाउन खोज्नु राजनैतिक कर्ममा लागेकाहरूको धर्म हुँदै होइन ।

अर्को कुरा पत्रकारहरूले पनि नेतालाई अपराधीलाई जसरी प्रस्तुत गरेर अन्तर्वार्ता लिनु राम्रो हुँदैन, यो गलत शैली हो । अन्तर्वार्ता लिने व्यक्तिले अन्तर्वार्ता दिनेको मर्यादालाई ख्यालमा राखेर कुरा छोटो र शालीन भएर राख्न सक्नुपर्छ । आफू धेरै बोल्ने भन्दा पनि जनताको कुरा सोध्ने हो । अनि जवाफ सुन्ने पनि हो । चिच्याएर र रुखो भाषा प्रयोग गरेर होइन कि, बरु तार्किक रुपमा जनताले चाहेको जिज्ञासाको जवाफ सोध्न सक्नुपर्छ । आरोप प्रत्यारोपको बारेमा केही सार्वजनिक गर्ने चाहना छ भने विज्ञहरूलाई बोलाएर तिनका बीचमा बहस चलाइदिन संयोजन गर्ने हो ।

क्यामेराको अगाडि माईक्रोफोन पाएँ भन्दैमा जे मन लाग्यो, त्यही शब्द र शैलीमा पत्रकार प्रस्तुत हुनु गैरपेशागत कार्य हो । यस्ता पत्रकारहरू जनताका मिडिया हैनन् । हुन सक्दैनन् । तर पत्रकारले प्रश्न सोधेकै आधारमा संचार गृहको भौतिक सम्पत्ति तोडफोड गरिन्छ भने यस्तो दादागिरी र गुण्डागिरी सहन सक्ने कुरा पनि हुँदैन । अनि फेरि लाग्छ, यस्ता उदण्ड कार्यकर्ताका नेता र त्यस्ता पत्रकारमा कति पनि फरक छैन ।

एकपटक चीनका दार्शनिक कन्फ्युसियसलाई सोधियो, ‘तपाईंलाई राष्ट्रिय सरकारको प्रमुख बनाइयो भने पहिलो काम के गर्नुहुन्छ ?’

उनको उत्तर थियो– ‘निःसन्देह पहिलो काम भाषाको सुधार हुनेछ ।’

आफ्नो आशय थप प्रष्ट पार्दै उनले भने, ‘भाषा ठीक भएन भने जे भन्न खोजिएको हो, ठीक अर्थ लाग्दैन । अर्थ नखुलेपछि त्यो काम पनि हुन पाउँदैन । गरिनुपर्ने काम हुन नसकेपछि नैतिक मान्यता र कला अधोगतिमा जान्छ । यसको परिणाम न्याय व्यवस्थाको स्थिति बिग्रन्छ । यसबाट मानिस भयावह अन्योलमा पर्छन् । त्यसो हुँदा जे भनिने हो, त्यसमा स्वेच्छाचारिता अपनाइन हुँदैन । सबैभन्दा यो महत्वपूर्ण विषय हो ।’

नेपाली पत्रकारिता क्षेत्र पनि पछिल्लो समय अराजक, भ्रामक, अमर्यादित र तथ्यहीन भइरहेका छन् । तात्तातो समाचार प्रवाह गर्ने होडबाजीमा जे पायो त्यही लेखिएको छ । टीआरपी (टेलिभिजन रेटिङ प्वाइन्ट) बढाउने होडमा मनलाग्दी बोलिएको छ । केही अनलाइन मिडिया छाडिदिने हो भने सबै ‘फेक न्युज’को भण्डार मात्र भएको छ । युट्युब च्यानलको त कुरै अर्को, शीर्षक एउटा र भित्रै अर्कै विषयवस्तु हुन्छ ।

पाठक, दर्शक र श्रोताका स्वाद पनि अर्कै छ । पत्रकारिताको मर्यादामा रहेर शालीन ढंगले प्रश्न गर्ने पनि छन् । अनि जनताको नाम बेचेर ‘जनता जान्न चाहन्छन्’ भन्दै बेतुकको प्रश्न तेस्र्याउने पनि यहाँ छन् । समाजमा पनि बेतुक कै प्रश्नको प्रभाव बढी छ । उपप्रधानमन्त्रीको निहुँमा बाँकी पत्रकार अपमानित राम्रो सन्देश होइन ।

भाषा ठीक भएन भने जे भन्न खोजिएको हो, ठीक अर्थ लाग्दैन । अर्थ नखुलेपछि त्यो काम पनि हुन पाउँदैन । गरिनुपर्ने काम हुन नसकेपछि नैतिक मान्यता र कला अधोगतिमा जान्छ । यसको परिणाम न्याय व्यवस्थाको स्थिति बिग्रन्छ । यसबाट मानिस भयावह अन्योलमा पर्छन् ।

संचारकर्मकै कारण आम नागरिकले ढुक्क भएर कान ठाडो पार्दै सुसूचित हुने अवसर पाएका छन् । नेपालमा दैनिक साधारण ज्याला मजदुरी गर्ने मजदुरले दश रुपैयाँ पत्रिकाका लागि छुट्याउँछ । मासिक ४ सय रुपयाँ केवल टेलिभिजनका छुट्याउँछन् । बिहानै उठ्नेबित्तिकै चियाको तलतलसँगै समाचारको भोक मेटाउँछन् । बेलुकीको प्राइम टाइम समाचार हेरेसँगै निद्रा पुर्‍याउँछ । भोलि आउने उज्यालोको विश्वासमा वर्तमानको पीडासँग पौंठेजोरी खेल्छ ।

नेपालमा छापिने पत्रपत्रिका, सिडी, डिभीडी, अनलाइन पत्रिका, रेडियो, टिभी च्यानलले गर्ने प्रत्यक्ष प्रसारणमा समेत उनीहरूको सक्रिय सहभागिता रहने गरेको छ । एक हातमा गैंती र अर्को हातमा फोन बोकेर स्रोताको कर्तव्य निभाउने तिनीहरूको इच्छाशक्ति साँच्चै प्रशंसायोग्य छ । देशको राजनीतिमाथि खबरदारी गर्नदेखि लोकगीतमा छमछमी नाच्न भ्याएकै छन् ।

कतै भाषाका खेती गर्ने र भाषणका खेती गर्नेले ति श्रमजिवी प्रति अन्याय त गरेका छैनौ सोच्ने बेला आएको छ । सधै सरकार र नेतालाई खबरदारी गर्ने पत्रकारिता क्षेत्र आफै स्वच्छ र इमानदार हुनुपर्छ भनेर बहस गर्ने बेला भएन र ?

एउटा गाडी दुर्घटना भयो भने पहिले कसले मार्ने अनि कति बढी मार्ने भन्ने प्रतिस्पर्धा मिडियामा बढेको देखिन्छ । भएका मिडिया जिम्मेवार र जवाफदेही हुन नसकिरहेका बेला बाढीसरह खुलेका अनलाइन पत्रिकाको गैरजिम्मेवारी अत्यासलाग्दो छ । एउटाले उत्पादन गरेको समाचार झन् रहस्यपूर्ण बनाएर घटनालाई आनको तान फरक बनाउनु आफ्नो धर्म हो भन्ने बुभाई परिपक्क बन्दै गएको छ ।

दमकलको काम नै आगो निभाउनु हो । तर आगो निभाउने दमकल आफै बल्यो भने मान्छेहरूले दमकलप्रति विश्वास गर्न छाड्नेछन् । जहाँका प्रत्येक क्षेत्रमा कर्तव्य पूरा गर्ने जिम्मा लिएर बसेकाहरू चाकडी, चाप्लुसी, व्यक्तिगत स्वार्थ र धन कमाउने होडमा लाग्ने गर्छन् – त्यहाँ आगो निभाउने दमकल आफै बल्नु र एम्बुलेन्सले नै मान्छेलाई धक्का दिनु कुनै आश्चर्य हुँदैन ।

दमकल आफै बल्नु हुँदैन । यो प्रतिकात्मक कथनको अर्थ जिम्मेवार व्यक्तिहरुले पनि बुझ्न अब ढिला गर्न नहुने आवश्यकता देखिएको छ ।

भर्खर

0