बढ्दैछ डढेलोको प्रकोप-यसरी अपनाउन सकिन्छ सावधानी

मुख्य कारण मानवीय त्रुटि

शेषकान्त काफ्ले

बुधबार, जेष्ठ १, २०७६

Reading Time: 5 minutes

बढ्दैछ डढेलोको प्रकोप-यसरी अपनाउन सकिन्छ सावधानी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विगत वर्षहरुमा झैं यस वर्ष पनि नेपालको मधेस, भित्रीमधेस र पहाडी क्षेत्रका अधिकांश बनजंगलमा डढेलो लागेको छ । डढेलोबाट वर्षेनी दशौं हजार हेक्टर बन क्षेत्रमा अवस्थित सुकेका रुख, काठहरु, स–साना वनस्पति, हरिया रुख र कैयौं वन्यजन्तुहरु नष्ट हुन्छन् ।

वनमा लागेको आगो फैलिदै गई कैयौं गाउँवस्तीहरु समेत ध्वस्त भएका छन् । नेपालमा झण्डै ९० प्रतिशत डढेलो मानवीयकारणले लाग्ने तथ्य एक अध्ययनले देखाएको छ । मानिसको नियन्त्रणमा रहेको डढेलो रोकथामको लागि समयमै प्रयासहरु नगरिँदा जैविक विविधता तथा वातावरणमा अपुरणीय क्षति पुग्न गएको छ ।

डढेलो कसरी लाग्छ ?

डडेलोका मुख्य तीन कारण हुन्छन् । अक्सिजन, जल्ने पदार्थ र आगोको स्रोतकै कारण डडेलो लाग्छ । यिनलाई हामी ‘डढेलोको त्रिभुज’ पनि भन्ने गर्दछौं । यी तीन मध्ये कुनै एकको अनुपस्थितिमा आगो लाग्न सक्दैन। डढेलोको प्रमुख कारण जंगलमा आगोको स्रोतको उपलब्धता नै हो । डढेलो दुई कारणबाट लाग्छ प्राकृतिक र मानवीय । प्राकृतिक कारणबाट लाग्ने डढेलो हावा लाग्दा वाँस वा अन्य रुखहरु घर्षण हुँदा वा चट्याङ पर्दा लाग्न सक्दछ ।

तर यस्तो डढेलो नेपालमा नगण्य हुने गर्दछ । मुख्य रुपमा नेपालमा डढेलो मानवीय कारणले हुने गर्दछ । चुरोट वा विडींका ठुटाहरु जंगलमा त्यसै फाल्नाले, वनभोज जाँदा आगो ननिभाई छाड्नाले, गाईवस्तु चराउनेहरुले एकछिन हेराई र उफ्राइको लागि मात्र तथा डढेलो पछि घाँस पलाएर आउँछ भन्ने अभिप्रायले पनि वनमा आगो लगाई दिएको पाइन्छ । घरायसी कामको लागि आगो बाल्दा सानो असावधानीवस आगोको झिल्का नजिकको वनमा सल्कन गई डढेलोको रुप लिएको धेरै भेटिएको छ ।

डढेलोले कति क्षति पुर्‍याउँछ ?

डढेलोले सबै क्षेत्र र स्थानमा एक समान क्षति पुर्‍याउँदैन । यसबाट पुग्ने क्षति जलवायु, भुवनोट, जल्ने पदार्थको मात्रा, वनजंगलको किसिम, डढेलोको निरन्तरता र प्रकार आदिमा निर्भर गर्दछ ।

वास्तवमा सुख्खा मौसम, सुकेको रुख, पातपतिङ्गर र ज्वलनशिलपदार्थको बढीमात्रा, बढी ढाल भएको क्षेत्र, जमिन मुनि वा भूइँ सतहको डढेलो आदि भएको अवस्थामा डढेलोको प्रकोप बढी हुने गर्दछ र यसबाट वनजंगल तथा वातावरणमा तुलनात्मक रुपमा बढी क्षति पुग्दछ । केहि वर्ष अघि वारा जिल्लामा गरिएको एक अध्ययन अनुसार त्यस जिल्लामा मात्रै प्रतिवर्ष २ करोड ५० लाख रुपैयॉभन्दा बढी रकम बराबरको काठ दाउरा जलेर नष्ट भएको थियो ।

नेपालमा डढेलो निभाउने तालिम प्राप्त जनशक्ति तथा औजार एवं उपकरणहरुको टड्कारो अभाव छ । वन तथा भू–संरक्षण वातावरण मन्त्रालय र अन्य सम्बन्धित निकायहरुले यस तर्फ ध्यान पुर्‍याउनु आवश्यक छ

अध्ययनबाट पुष्टि भएको छ कि डढेलोले वनक्षेत्रको सुक्ष्म हावापानी र वनस्पतिमा असर पुर्‍याउँछ, पारिस्थितिक प्रणालीमा परिवर्तन ल्याउँछ र यसबाट जैविक विविधतामा ह्रास आउँछ । सामान्यतः डढेलोले वनक्षेत्रको तापक्रम बढाउँछ, वरिपरिको वातावरणमा धुँवा(Carbon monoxide)को मात्रा बढाउँछ, जसले वायुमण्डलमा थप तापक्रम बढाउँछ र माटोको भौतिक तथा रसायनिक गुणहरुमा परिवर्तन ल्याउँछ । स–साना वनस्पतिहरुको संख्या तथा विविधतामा कमी ल्याउँछ र ठूला वनस्पतिहरुलाई क्षति पुर्‍याउँछ ।

डढेलोले प्रथमतः सुकेका रुख, पातपतिङ्गर, मुढा आदिलाई डढाउँछ, जसलाई बाल्ने दाउराको रुपमा प्रयोग गर्न सकिन्थ्यो । प्राकृतिक वनजङ्गलमा पातपतिङ्गर कुहिएर माटोमा अर्गानिक पदार्थको मात्रा थपिन्छ र यसबाट माटोमा पानी अड्न सक्ने क्षमतामा वृद्धि हुन्छ । तर डढेलो लाग्दा माटोमा पानीको मात्रा सोस्न सक्ने क्षमताको ह्रास हुन्छ । यसबाट डढेलो नलागेको क्षेत्रमा भन्दा डढेलो लाग्ने क्षेत्रमा रुखविरुवाकापातहरु छिट्टै झर्ने हुन्छन् । यसले विरुवाको प्रकाश संश्लेषण क्रियामा असर पुर्‍याउँछ । यसबाट माटो बन्ने प्रकृयामा पनि कमि आउँछ ।

डढेलोको कारणबाट माटोमा पानीको मात्रा कम हुँदा सानो वर्षामापनि भेल (runoff) बाट भूमि सतहको माटो तथा माटोमा रहेका खनिजतत्वहरु बग्छन् । आगोले स–साना विरुवा तथा रुखका बेर्नाहरुलाई मारिदिन्छ र ठूला रुखहरुलाई क्षति पुर्‍याउँछ । डढेलोले गर्दा वनको सुक्ष्म जलवायु बढि शुष्क प्रकृतिको हुन्छ । यस्तो अवस्थामा नयाँ बोट विरुवा उम्रन वा हुर्कनको लागि प्रतिकुल हुन्छ । लामो समय सम्म निरन्तर रुपमा त्यस ठाउँमा डढेलो लागेमा त्यस ठाउँको जैविक विविधतामा ह्रास हुन आउँछ ।

पंतिकारले उत्तरी थाइलैण्डको चियाङ्गमाई स्थित ‘डोय सुथेप-पुई’ राष्ट्रिय निकुञ्जमा गरेको एक अध्ययन अनुसार वनजंगललाई डढेलोबाट जोगाउदा रुखहरुको घनत्व (density) तथा आधार क्षेत्रफल (basal area) बढ्ने, भूइँ प्रजातिको विविधतामा बृद्धि हुने, माटोमा पानीको मात्रा बढ्ने, केही रुख प्रजातिहरुका पातहरु सुख्खायाममा धेरै समयसम्म रुखमै रहने गरेको पाइयो ।

साथै आगोबाट संरक्षित क्षेत्रमा सुख्खायाममा पनि हरिया पात तथा फल जस्ता आहार उपलब्धहुने भएकोले वन्यजन्तुको लागि उपयुक्त वास स्थान कायम हुने देखियो ।

डढेलो नियन्त्रणका उपायहरु

नेपालमा मानवीय कारणबाट नै डढेलो लाग्ने भएकाले जनचेतना अभिवृद्धि गरी डढेलोका त्रिभूज जल्ने पदार्थ, अक्सिजन र आगोको स्रोत मध्ये एकलाई हटाउनु पर्दछ । खास गरी आगोको स्रोत वा सुकेका पातपतिङ्गर, मूडा आदि जल्ने पदार्थ लाई सुख्खायाममा जंगलबाट हटाउनाले डढेलोबाट बनजंगललाई जोगाउन सकिन्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुमा सुकेका पातपतिङ्गर र मुढाहरु प्नि वन्यजन्तुको लागि आश्रयस्थल हुन सक्ने हुँदा त्यस्तो क्षेत्रमा आगोका स्रोत टाडै राख्ने र निश्चित दुरीमा ‘अग्नीरेखा’ बनाई डढेलोको प्रकोपलाई नियन्त्रण वा कम गर्न सकिन्छ ।

डढेलो लागे वा नलागेको अवस्था बुझ्न बढी संवेदनशील वन क्षेत्रमा डढेलो अनुगमन केन्द्रहरु स्थापना गरी सूचनाहरु प्रवाह गर्ने र तदनुसार आगो निभाउने व्यवस्था मिलाउने गर्नुपर्दछ । इण्डोनेसिया, मलेसिया, थाइल्याण्ड र सिंगापुर आदि मुलुकहरुमा डढेलो सम्बन्धी सूचना प्रवाहगर्न भू–उपग्रह (Satellites) को प्रयोग गरिएको छ । बदलिंदो विज्ञान तथा प्रविधिको युगमा सरकारले त्यस तर्फ पनि सोचाई राख्नु आवश्यक छ ।

साथै नेपालमा डढेलो निभाउने तालिम प्राप्त जनशक्ति तथा औजार एवं उपकरणहरुको टड्कारो अभाव छ । वन तथा भू–संरक्षण वातावरण मन्त्रालय र अन्य सम्बन्धित निकायहरुले यस तर्फ ध्यान पुर्‍याउनु आवश्यक छ ।

अन्तमा, डढेलोको असरहरुबारे नेपालमा अध्ययन, अनुसन्धान कममात्र हैन, भएकै छैन भन्दा पनि हुन्छ । नेपालको भौगोलिक तथा वनस्पतिक विविधताले गर्दा एक क्षेत्रको अनुसन्धानले सबै क्षेत्रलाई समेट्न सक्दैन । अझ विदेशमा गरिएका अनुसन्धानहरुबाट यहाँको क्षतिको अनुमान गर्न कठिन हुन्छ । तसर्थ वन अनुसन्धानमा संलग्न सरकारी तथा गैर सरकारी निकायबाट यस सम्बन्धि अध्ययन, अनुसन्धानलाई प्राथमिकता दिइनु अति सामयिक देखिन्छ ।

(लेखक विपद् जोखिम न्यूनीकरण विशेषज्ञ हुन्)

भर्खर

0