महँगा मेसिन प्रयोगविहीन, बिरामी सेवा लिनबाट बञ्चित | Khabarhub Khabarhub

महँगा मेसिन प्रयोगविहीन, बिरामी सेवा लिनबाट बञ्चित


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि भन्दै अस्पतालहरुमा हरेक वर्ष विभिन्न किसिमका उपकरणहरु खरिद हुन्छन् । अस्पतालका प्रमुखहरु उपकरण खरिद गर्न सफल भयौं भन्दै ठूलै खुशी मनाउँछन् । सरकारले अस्पतालमा उपकरण खरिदका लागि वार्षिक अर्बौं रकम खर्च गर्दै आएको छ । तर अस्पतालहरुमा खरिद भएका उपकरणहरु भने प्रयोगमै आउन सकेका छैनन् ।

महालेखा परीक्षकको कार्यलयले केही दिन अघिमात्रै सार्वजनिक गरेको प्रतिवेदनमा  देशरभरका १८ वटा अस्पतालहरुमा खरिद भएका ३५ थरिभन्दा बढीका उपकरण तथा मेसिनहरु प्रयोगविहीन रहेको उल्लेख छ ।

कुन अस्पतालका उपकरण प्रयोगविहीन ?
भक्तपुर अस्पताल
भक्तपुर अस्पतालमा २०७२ सालमा खरिद भएको उपकरण अझैसम्म सञ्चालनमा ल्याइएको छैन । अस्पतालले २०७२ सालमा १० लाख ४७ हजार रुपैयाँमा खरिद गरेको जेनेरेटर प्रयोगमा नआएको हाे ।

खरिद भएको तीन वर्ष भइसक्दा पनि प्रयोगमा नआएको जेनेरेटर अस्पताल परिसरमा थन्किएर बसेको छ । भक्तपुर अस्पतालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त गरेको फुल्ली एटोमेटेड एनलाइजर नामक उपकरण पनि प्रयोग विहीन बनेको छ ।

जिल्ला अस्पताल गुल्मी
जिल्ला अस्पताल गुल्मीलाई स्वास्थ्य सेवा विभागले एक्सरे र सीओटु सिलिण्डर उपलब्ध गरायो । जिल्ला अस्पताल गुल्मीमा ईसीजी, माइक्रोस्कोप लगायतका उपकरणहरु पनि खरिद भएका छन् । तर ती सबै उपकरणहरु प्रयोगमा आएको छैनन् ।

दक्ष प्राविधिक जनशक्ति तथा चिकित्सकको अभावका कारण उपकरणहरु सञ्चालन गर्न नसकेको अस्पतालको भनाइ छ ।

शहीद धर्मभक्त  राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा २०७४ सालमा १९ लाख ९९ हजारमा खरिद भएको ट्रान्सफरमर प्रयोगमा आएको छैन ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले २०७४ सालमा खरिद गरेको टेस्ला एमआरआई मेसिन सञ्चालनमा आएको छैन । अस्पतालले १० करोड ६२ लाख २ हजार रुपैयाँमा खरिद गरेको सो मेसिन प्रयोगविहीन अवस्थामा छ ।

प्रतिष्ठानमा भएको सीटी स्क्यान मेसिन पनि २०७४ साल भाद्रबाट बिग्रिसकेको छ भने २ वटा भेन्टीलेटर एक वर्षदेखि प्रयोगविहीन छन् । भएका उपकरण सञ्चानलमा नआउँदा र बिग्रिएका मेसिनको पनि मर्मतसंम्भार नहुँदा प्रतिष्ठानले आफ्नो अस्पतालमा आउने बिरामीलाई अन्यत्र रेफर गर्ने गरेको छ ।

वीर अस्पताल

काठमाडौंमा रहेको केन्द्रीय अस्पताल वीर अस्पतालमा दुई वटा भेन्टीलेटर एकवर्षदेखि प्रयोगविहीन छन् ।

धौलागिरी अञ्चाल अस्पताल

धौलागिरी अञ्चल अस्पतालमा यूएसजी, ईसीजी र इण्डाेस्कोपी मेसिन प्रयोगविहीन अवस्थामा छन् । प्राविधिक जनशक्तिको अभावका कारण मेसिन सञ्चालन गर्न नसकेको अस्पतालले बताएको छ ।

धौलागिरी अञ्चल अस्पतालमा ४ वटा हेमोडाइलासिस मेसिन रहेपनि २ वटा मात्रै सञ्चालनमा छन् । दुईवटा मेसिन मात्रै सञ्चालनमा आउँदा सातामा ६ जना बिरामीले मात्रै सेवा पाउँछन् । स्वास्थ्य सेवा विभागले प्रभावकारी डाइलासिस सेवा उपलब्ध गराउने भन्दै २०७४ सालमा ३६ लाख ९७ हजार मूल्यका दुई वटा हेमोडाइलासिस मेसिन उपलब्ध गराएको थियो ।

तर अस्पतालले उक्त मेसिन सञ्चालन गरेको छैन । अस्पतालमै भएको मेसिन प्रयोगमा नआउँदा डाइलासिसका लागि दैनिक २० जना बिरामीले पालो कुरेर बस्नुपर्ने बाध्यता छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल केन्द्रीय सरुवा रोग अस्पताल हो । २०७४ सालमा सेभ द चिल्ड्रेनले रगत सम्बन्धी विभिन्न परीक्षणहरु गर्न सकिने पीसीआर मेसिन अस्पताललाई उपलब्ध गराएको थियो ।

१ लाख ८२ हजार अमेरिकी डलर पर्ने उक्त मेसिन अस्पतालको प्रयोगशाला भवनमा प्रयोगविहीन छ । तर अस्पतालले भने विधिवत रुपमा हस्तान्तरण नभएको भन्दै मेसिन सञ्चालन नगरिएको जनाएको छ ।

महाकाली अञ्चल अस्पताल

महाकाली अञ्चल अस्पतालको आइसीयु सेवा सञ्चालनका लागि ३ वर्ष अघि उपकरणहरु खरिद भयो । तर उपकरण खरिद भएको ३ वर्ष वितिसक्दा पनि सञ्चालनमा आएको छैन ।

महाकाली अञ्चल अस्पतालले हेमाटोलोजी इनालाइजर, इसीजी मेसिन,पेसेण्ट मोनिटर, ओटी टेबुल, पोर्टेबल एक्सरे मेसिन समेत गरी ३१ प्रकारका उपकरण खरिदका लागि २०७४ सालमा २ करोड २५ लाख बजेट पाएको थियो ।

अस्पतालले बजेट अनुसारको उपकरण खरिदका लागि स्वास्थ्य सेवा विभागमा पत्राचार पनि गरेको थियो । तर विभागले ती उपकरणहरु खदिर नगरिदिँदा बजेट फ्रिज भयो ।

मालाखेती अस्पताल, कैलाली

कैलालीमा रहेको मालाखेती अस्पतालमा एक्सरे मेसिन र इपी मेसिन छ तर अस्पतालसँग उक्त मेसिन राख्ने  सुरक्षित कोठा ( सेफ्टी रुम) नै नभएको कारण अस्पतालले मेसिन सञ्चालनमा ल्याएको छैन ।

मेची अञ्चल अस्पताल

स्वास्थ्य सेवा विभागले २०७४ सालमा मेची अञ्चल अस्पताललाई नवताज शिशू सघन उपचार कक्ष सञ्चालनका लागि ३३ लाख ३६ हजार मूल्यको उपकरणहरु उपलब्ध गराएको थियो । तर जनशक्ति र स्थानको अभावका कारण सो उपकरण पनि प्रयोगविहीन बनेको छ ।

हेटौंडा अस्पताल

मकवानपुरको हेटौंडा अस्पतालले ३ सय शय्या थप गर्ने क्रममा खरिद गरेको १० प्रकारका २४ लाख ८३ हजार मूल्य बराबरको उपकरणहरु  प्रयोगविहीन छन्।

राप्ती अञ्चल अस्पताल

राप्ती अञ्चल अस्पतालमा अर्थोपेडिक तथा आइसीयू उपकरण, एनआईसीयू, सीटी स्क्यान तथा इण्डोस्कोपी मेसिन रहेके छ । तर अस्पतालमा भएको उक्त उपकरणहरु सञ्चालनमा आएको छैन । अस्पतालले भएका उपकरण भण्डारमा राखेर उपचारका लागि आउने बिरामीलाई अन्यत्र रेफर गर्ने गरेको छ ।

क्षेत्रीय मेडिकल स्टोर, बाँके

क्षेत्रीय मेडिकल स्टोर बाँकेमा हुम्ला र डोल्पाका अस्पतालका लागि खरिद भएका सोलार प्यानल थन्किएका छन् । विद्युत आपूर्तिका लागि अस्पतालमा पुग्नुपर्ने सोलार स्टोरमै हुँदा बिरामीले सहज रुपमा उपचार सेवा पाउन सकेका छैनन् ।

जाजरकोट अस्पताल

जाजरकोट अस्पतालमा जीए मेसिन तथा डिजिटल एक्सरे मेसिन थियो तर बिग्रिएपछि त्यसलाई मर्मत गरिएन । अस्पतालमा रहेको मेसिन मर्मत नहुँदा अस्पतालले सेवा लिन आउने बिरामीलाई अन्तै रेफर गर्नुपर्ने बाध्यता छ ।

बाजुरा अस्पताल

बाजुरा अस्पतालको अवस्था पनि जाजरकोट अस्पतालको जस्तै छ । अस्पतालमा भएको एक्सरे मेसिन र वेवी वार्मर दुई वर्षदेखि बिग्रिंदा सेवा प्रभावित बन्दै आएको छ ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा चीन सरकारले २०६८ सालमा एक्सरे र अल्ट्रासाउण्ड मेसिन उपलब्ध गरायो । तर अस्पतालमा मेसिन आएको ७ वर्ष भइसक्दा पनि सञ्चालनमा ल्याइएको छैन ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा विभागले हेमोडाइलासिसको लागि १२ वटा मेसिन उपलब्ध गराएको थियो । तर, उक्त मेसिनमध्ये दुई वटा मेसिन भण्डारमा थन्क्याइएको छ । अस्पतालले १० वटा मेसिनबाट दैनिक ३० जनालाई मात्रै डाइलासिस सेवा दिंदै आएको छ ।  अस्पतालमा भएको मेसिन स्टोरमा राख्दा डाइलासिस गर्नुपर्ने बिरामीलले भने पालो कुर्नुपर्ने बाध्यता छ ।

कोशी अञ्चल अस्पताल

कोशी अञ्चल अस्पतालले ४७ लाख ५८ हजार मूल्यमा खरिद गरेको एक सय थान मेमोग्राफी र पीसीआर मेसिन सञ्चालनमा ल्याएको छैन ।

प्रभावकारी स्वास्थ्य सेवाका लागि भन्दै अस्पतालहरुले वार्षिक रुपमा नयाँ-नयाँ उपकरण र मेसिन खरिदका लागि टेण्डर आह्वान  गर्छन् ।  अस्पतालका लागि उपकरण खरिद गर्न सरकारले वार्षिक अर्वाै‌‌ बजेट विनियाेजन गर्छ ।

उपकरणहरु खदिर भएपछि जनशक्ति र चिकित्सककाे अभावकाे कारण देखाउँदै अस्पतालहरुले खरिद भइसकेको उपकरण परिचालन, मर्मतसम्भार र संरक्षण गर्न भने वेवास्ता गर्छन् । सरकारी बजेटबाट खरिद भएका ती उपकरणहरु प्रयोगविहीन बन्दा उपकरण खरिदमा सरकारले गरेको लगानी उपलब्धिविहीन बनेकाे छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ५ : ३२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन