अनशन रहर होइन, चिकित्सा क्षेत्र सुधारको बाध्यता हो– डा.केसी « Khabarhub
Logo
२ बैशाख २०७८, बिहीबार

अनशन रहर होइन, चिकित्सा क्षेत्र सुधारको बाध्यता हो– डा.केसी



काठमाडौं– त्रिवि शिक्षण अस्पतालको गणेशमान सिंह भवनको हलमा सोमबार बिहान सवा १० बजे डा केसी हातमा मोवाइल चलाउँदै उभिएका थिए ।

सरकारी सेवाबाट अवकाश पाएसँगै उनी त्यो भवनमा अन्तिम पटक पत्रकार सम्मेलन गर्दै थिए ।

अघिल्ला अनशन र पत्रकार सम्मेलनमा बस्ने ठाउँ समेत नपुग्ने सो हलमा आज कुर्सीहरु खाली थिए, दुई लाइन कुर्सीमा मात्रै केही पत्रकार र उनका सहयोगीहरु बसेका थिए ।

डा केसीका अगाडि पोडियममा केही थान प्रेस विज्ञप्ती थिए । अनुहारमा केही खुसी र केही निरासा प्रस्ट देखिन्थ्यो ।

‘डाक्टर साब हजुरलाई जन्मदिनको शुभकामना !’ डा केसीले मोवाइबाट नजर उठाउँदै मुसुक्क हाँसेर ‘धन्यवाद’ भने । हलभित्रका पत्रकारहरुले हाँस्दै भने ‘आज त डाक्टर साबको जन्मदिन मनाउनुपर्छ । एकपटक त अनशनमै पनि जन्मदिन मनाइएको थियो ।’

डाक्टर केसीले मुस्कान सहित भने ‘म त जन्मदिन मनाउदिँन, अनशनको बेलामा त अरुले मनाइदिनु भएको हो ।’

चिकित्सा शिक्षाका सुधारका लागि डा केसीले २०६९ साल असार २१ गते पहिलो अनशनदेखि नै टिचिङको त्यो हल प्रयोग गर्दै आएका थिए।

टिचिङ अस्पतालमै कार्यरत डा केसी यही भवनमा बसेर चिकित्सा शिक्षा र अस्पताल सुधारका लागि सरकारसँग मागहरु राख्दै सत्याग्रह गरे ।

टिचिङ अस्पतालमा हाडजोर्नी रोग विशेषज्ञको रुपमा कार्यरत डा केसीले चिकित्सा शिक्षा सुधारका लागि ७ वर्षमा १६ पटक अनशन बसे ।

यही भवनमा डाक्टर केसीले फरक–फरक राजनीतिक दलका सरकारसँग आफ्ना माग राखे, अनशन बसे र सहमति पनि गरे । आज (सोमबार) देखि ६३ वर्ष पूरा भएका डा केसीले उमेरहदका कारण टिचिङ अस्पतालको सेवाबाट अवकाश पाए ।

सरकारी सेवाबाट अवकास पाए पनि सरकारसँगका आफ्ना माग र मेडिकल शिक्षा सुधारको अभियान जारी रहेको उनले बताए । डा केसीले ‘यो भवनमा मेरो अन्तिम पत्रकार सम्मेलन हो ।’

डा केसीले पत्रकार सम्मेलन शुरु गरौं भन्दै ५ बुँदे माग र १७ औं अनशनको घोषणा सहितको दुई पृष्ठको पत्र पढे । प्रेस विज्ञप्तिपछि पत्रकारहरुको प्रश्नहरु सुने र त्यसको पनि जवाफ दिए ।

चाहेजति गर्न सकिनँ तर धेरैको माया पाएँ

त्रिवि शिक्षण अस्पतालबाट अबकाश पाएका डा केसीले आफ्ना मागहरु पूरा नभएकाले आफ्ना सत्याग्रहबाट सन्तुष्टि नमिलेको बताए ।

‘मलाई त्यो महशुस हुन्छ, अझै धेरै सुधार गर्नुपर्ने छ, चिकित्सकको हैसियतले, शिक्षक हैसियतले र एउटा नागरिकको हैसियतले थुप्रै योगदान गर्न जरुरी छ,’ डा केसीले रसिला आँखा बनाउँदै भने, ‘म आजदेखि ६३ वर्ष पूरा भएर ६४ वर्ष लागेँ, तर अझै पनि छ, जति बाँचिन्छ, कोशिस जारी रहन्छ । त्यतिबेलासम्म सन्तुष्टि मिल्न पनि सक्छ ।’

चिकित्सा शिक्षा सुधारका लागि लामो समय योगदानको प्रतिफलले धेरै सन्तुष्टि नदिएको बताउने डा केसीले जनताबाट धेरै माया पाएको भन्दै खुसी पनि व्यक्त गरे ।

उनले भने, ‘मेरो अभियानले पूर्ण सन्तुष्टि दिएको छैन, मैले केही दिन सकेँ जस्तो लागेको छैन, बरु मैले पाएँ । यो संस्थान, समाज र देशले दिएको मायाप्रति आभारी छु ।’

सधैँ चिकित्सा शिक्षा सुधार र सरकारसँगको मागका विषयमा मात्रै कुरा गर्ने डा केसीलाई पत्रकारहरुले उनको अवकाश र अवकाश पछिका दिनबारे पनि प्रश्न गरेका थिए।

अघिल्ला पत्रकार सम्मेलनहरु विषयवस्तुकै प्रसंगका प्रश्नमा सीमित रहने डाक्टर केसीले आज खुलेर आफ्नो व्यक्तिगत जीवन र आगामी दिनबारे बताए ।

अस्पतालकै क्वार्टरमा बसेका डाक्टर केसीलाई प्रश्न गरेँ ‘अब कहाँ बस्नुहुन्छ ?’

‘अब गाउँमा भूकम्पले घर भत्किएको छ, बनाएको चाँही छैन ।’ उनले अकमकाउँदै भने, ‘काठमाडौंमा भाइको घर छ, त्यहीँ बस्छु, अब काठमाडौं बसे पनि बाहिर बसे पनि आफ्नै घर कहीँ छैन । क्वार्टरको सामान भाइको घरमा सारेर आमालाई भेट्न एक पटक गाउँ जान्छु, त्यसपछि ठेगान छैन ।’

स्कुल पढ्दा डाक्टर बन्ने सोच नै थिएन

३० वर्षसम्म चिकित्सा क्षेत्रमा सक्रिय डा केसीले स्कुल पढ्दा आफूले डाक्टर बन्ने योजना बनाएका थिएनन् । डाक्टर नै बन्ने लक्ष्य नभए पनि धेरै पढ्नुपर्छ भन्ने भावना सानैदेखि थियो ।

‘मैले स्कुल पढ्दा त डाक्टर बन्छु भन्ने सोचेकै थिइन, तर जति सकिन्छ धेरै पढ्नुपर्छ भन्ने चाँही लाग्थ्यो,’ डा केसीले भने, ‘एसएलसी दिएर काठमाडौं आएपछि डाक्टर बन्न पाइने रहेछ भन्ने थाहा भयो अनि पढेँ ।’

अनशन बस्ने सोचेको थिइन समयले बनायो

डाक्टर केसीले डाक्टर बन्न मेडिकल शिक्षा पढ्दै गर्दा आफू चिकित्सा शिक्षा सुधारका लागि लड्छु भन्ने सोचेका थिएनन् ।

विकसित देशमा भएको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई नजिकबाट नियालेका डा केसीको सपना पनि अन्य चिकित्सक जस्तै कुशल स्वास्थ्यकर्मी भएर बिरामीको उपचार गर्ने थियो ।

डाक्टर भएर दुर्गम गाउँमा बिरामीको उपचार गर्न पुगेँ । त्यसपछि आफूले नेपालको वास्तविकता र मेडिकल शिक्षालाई राम्रोसँग बुझ्ने मौका पाएको बताए । । अनि मेडिकल शिक्षाको सुधारका लागि अभियान थालेको सुनाए ।

‘शहरमा बसेर हेरेको नेपाल र गाउँगाउँको अवस्था फरक थियो, अहिले जस्तो गाउँमा बाटो, सडक, हेलिकोप्टर जाँदैनथ्यो, कति हिड्नुपथ्र्यो,’ डा केसीले भने, ‘गाउँ-गाउँमा शिविर जाँदा आर्थिक अवस्था, स्वास्थ्य शिक्षालाई नजिकबाट नियालेँ । मैले विकसित तथा अर्धविकसित देशहरुमा मेडिकल शिक्षा पढेर आएँ, त्यहाँको अवस्था देखेको थिएँ, त्यहाँ र नेपालको अवस्था देखेर मन रुन्छ । त्यसैले मैले सत्याग्रह रोजेको हुँ ।’

विवाह गरेको भए अहिले नातिनातिनाको विहे हुन्थ्यो

डाक्टर पेशालाई समाजमा प्रतिष्ठित पेशाका रुपमा हेरिन्छ । डाक्टरलाई सबैले सम्मान पनि गर्छन् । त्यही प्रतिष्ठा र सम्मानलाई बचाउँन डाक्टरहरु पनि बिरामीको सेवा गर्न पाउँदा गर्व महशुस गर्छन् । त्यतिमात्रै होइन सबै मानिसहरु आफ्नो घर, गाडी र खुसी र सुखी परिवारको पनि कल्पना गर्छन् । त्यो स्वभाविक पनि हो ।
तर डा केसीले त्यो सुन्दर परिवारको कल्पना गरेनन् । उनको अहिले गाउँमा बुढी आमा मात्रै छिन् । चिकित्सा शिक्षा सुधारकै लागि खटिने डा केसीले विवाह नै गरेनन् ।

डा केसीमा आफ्नै घर, गाडी र खुसी जीवन होस् भन्ने अभिलाशा कहिल्यै देखिएन ।

‘विवाह र पारिवारिक जीवनबारे कहिल्यै सोच्नुभएन ?’ भन्ने प्रश्नमा डाक्टर केसीले मन अमिलो बनाए, अगाडि रहेको नेपकिनले मुहार पुछे, उनको मुहारको रंग परिवर्तन भयो ।

डा केसीले लामो हाँसो हाँस्दै जवाफ दिए, ‘म आजदेखि ६४ वर्ष लागेँ, पहिला मैले सोचिनँ, यदि विवाह भएको भए यतिबेला नातिनातिनाको विवाह गर्ने बेला हुन्थ्यो । अब सोच्ने कुरै आएन ।’

डा केसीले हाँस्दै पारिवारिक खुसीबारे थपे, ‘त्यतिबेला विवाहलाई त्यति सिरियस्ली लिइनँ, आमाले विवाह गर्न कर गर्दा पनि चुप लागेर बस्थें । त्यतिबेला विवाह गरेको भए अहिलेसम्म नातिनातिनाको विवाह गरिदिन पाउथें होला ।’

‘महात्मगान्दीको पनि त परिवार थियो नि । उनले आफ्नो सोचाइ र देशप्रतिको दायित्व निभाए । मैले पनि विवाह गरेकै भएपनि म सत्याग्रह गर्दिनँ थिए भन्ने होइन,’ डा केसीले भने, ‘मलाई मेरो परिवार छैन भनेर दुःख लाग्दैन, म जे छु, त्यसैमा खुसी छु ।’


भर्खर

0