महरामाथिको प्राविधिक अनुसन्धान सकियो, अब बयान मात्रै बाँकी | Khabarhub Khabarhub

महरामाथिको प्राविधिक अनुसन्धान सकियो, अब बयान मात्रै बाँकी



काठमाडौं– जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) मुद्दामा प्रहरी हिरासतमा रहेका पूर्व सभामुख कृष्णबहादुर महरामाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

प्रहरीका अनुसार महरामाथि लागेको बलात्कार प्रयास मुद्दाको प्राविधिक अनुसन्धानको पक्ष टुंगिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले अब महराको बयान लिन मात्रै बाँकी रहेको बताए । ‘प्राविधिक परीक्षण र घटनाको बाँकी अनुसन्धन लगभग पूरा भएको छ,’ खबरहबसँगको कुराकानीमा सुवेदीले भने, ‘अब उहाँ (महरा)को बयान लिन मात्रै बाँकी छ ।’

महरामाथि संघीय संसद सचिवालयमा कार्यरत महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । असोज १२ गते (आइतबार) महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै संसद सचिवालयकी महिला कर्मचारीले सोमबार मिडियामार्फत घटना सार्वजनिक गरेकी थिइन् ।

प्रहरीले घटना भएको दिनदेखि नै अनुसन्धान शुरु गरेको जनाए पनि असोज १७ गते महिलाको उजुरी परेपछि मात्रै महरालाई पक्राउ गर्ने प्रक्रिया अगाडि बढाएको थियो ।

जरुरी महत्वको कार्यासञ्चालनका लागि गठन भएको काठमाडौं जिल्ला अदालतको इजलाशले असोज १९ गते महरालाई पक्राउ गर्न अनुमति दिएको थियो ।

अदालतको अनुमतिसँगै महरा १९ गते पक्राउ परेका थिए । पक्राउ परेको दोस्रो दिन (सोमबार) महराको ब्लड स्याम्पल (रगतको नमूना) लिइएको थियो ।

प्रहरीले घटना भएको तेस्रो दिन घटना भएको भनिएको स्थल (पीडित महिला)को कोठाबाट समेत सबूत प्रमाण शंकलन गरेको थियो । प्रहरीले महिलाको कोठाबाट रक्सीको बोत्तल, रक्सी पिउन प्रयोग भएको गिलास, फुट्टेको चस्माको फ्रेम, जुत्ताको तलुवा, भान्सामा प्रयोग भएका केही भाँडाकुँडा संकलन गरेको थियो ।

प्रहरीले घटनास्थल (पीडित महिलाको कोठा)को भिडियो खिचेर भिडियो फुटेजलाई पनि आवश्यक प्रमाणका रुपमा पेश जनाएको छ ।

प्रहरीले महराबाट ब्लड स्याम्पल लिएर डीएनए लगायतका फरेन्सिक परीक्षणको कार्य सकिएको जनाएको छ । प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा परीक्षण गरेर रिपोर्ट समेत आइसकेको प्रहरी स्रोतले खबरहबलाई जानकारी दियो ।

‘पीडित’ महिलाले गराइनन् स्वास्थ्य परीक्षण

महरामाथि यौन दुर्व्यवहारको आरोप लगाउने महिला कर्मचारीले भने अनुसन्धानमा ‘सहयोग’ नगरेको प्रहरी स्रोतले जनाएको छ ।

महानगरीय अपराध महाशाखाको सहयोगमा महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरको टोलीले महरामाथि लागेको यौन दुर्व्यवहारको घटनाको अनुसन्धान गरिरहेको छ ।

अनुसन्धान टोलीले महाराबाट ‘यौन शोषणमा परेकी’ महिलाको बयान लिनेसँग उनको स्वास्थ्य परीक्षणका लागि समेत प्रयास गरेको थियो । तर, पीडित महिलाले ‘स्टेबल’ बयान नदिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन् ।

‘पीडित महिलाको बयान स्टेबल छैन । उहाँका बयानहरु परिवर्तन भइरहेका छन्,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, ‘उहाँकै बयानलाई भर पर्ने अवस्था छैन । जबरजस्ती करणी उद्योगमा पीडितको बयानका अतिरिक्त प्राविधिक पाटो पनि महत्वपूर्ण पक्ष हुन्छ । हामीले अहिले घटनाको प्राविधिक पक्षलाई जोड दिएर अनुसन्धान अगाडि बढाइरहेका छौं ।’

पीडित महिलाले आफ्नो स्वास्थ्य परीक्षण समेत गर्न मानेकी छैनन् । घटना भएको दिन (असोज १२ गते) नै पीडित महिलालाई स्वास्थ्य परीक्षण गराउन भनिए पनि उनले स्वास्थ्य परीक्षण नगराएको प्रहरीले स्रोतको भनाइ छ ।

बयान लिन चिकित्सकको राय पर्खिदै सरकारी वकिल

प्रहरीले घटनाको प्राविधिक विश्लेषणसहितको प्रारम्भिक अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाइसकेको छ ।

अब सरकारी वकिलको कार्यालयले महरासँग बयान लिएर अनुसन्धान प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी थालेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं स्रोतका अनुसार अहिले प्रहरीको प्राविधिक अनुसन्धानको प्रतिवेदनलाई ‘एकीकृत’ गर्ने काम भइरहेको छ ।

‘प्राविधिक अनुसन्धानका विषयमध्ये कतिलाई प्रमाणको रुपमा लिन सकिने र कतिलाई लिन नसकिने भनेर एकीकृत गर्ने काम भइरहेको छ,’ जिल्ला सरकारी वकिल कार्यालय स्रोतले खबरहबसँग भन्यो ।

बाँकी प्रक्रिया भने महरासँग बयान लिएपछि मात्रै शुरु हुने सरकारी वकिल कार्यालय स्रोतको भनाइ छ ।

सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख (सह–न्यायाधीवक्ता) चन्द्रकान्त खनाल पनि बयान लिन नपाइएका कारण बाँकी प्रक्रिया रोकिएको बताउँछन् ।

‘उहाँ (महरा) अहिले उपचारका लागि अस्पताल भर्ना हुनुभएको छ,’ खनालले खबरहबसँग भने, ‘अस्पतालले उहाँको उपचार जारी रहेको जनाएको छ । अस्पतालले उहाँलाई बाहिर (सरकारी वकिलको कार्यालय)मा ल्याएर बयान लिन सकिन्छ भन्ने जनाएपछि हामीले बयान शुरु गर्ने हो ।’

उच्च रक्तचापका बिरामी रहेका महरा अहिले उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । बुधबार साँझ (असोज २२ गते) श्वासप्रश्वासको समस्या देखिएपछि महरालाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

घटनाको अनुसन्धानका क्रममा महरासँग प्रारम्भिक बयान (रेकर्ड नहुने) लिइए पनि अभियोग पत्रमा उल्लेख हुने गरी भने बयान लिइएको छैन ।

‘प्रहरीले नै उहाँसँग प्रारम्भिक बयान लिएको हो । उक्त बयान अभियोग पत्रमा उल्लेख गर्ने गरी लिइएको हैन,’ जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं स्रोतले भन्यो, ‘गत बुधबार दिउँसो हामीले पनि उहाँसँग बयान लिने भनेका थियौं । तर, स्वास्थ्य समस्या देखिएका कारण पछि उहाँलाई अस्पताल भर्ना गरियो ।’

म्याद थप्न बाँकी, मंगलबार अदालतमा उपस्थित गराइने

लामो समयको सार्वजनिक बिदाको समयमा जरुरी महत्वका अदालती काम कारबाही गर्न अदालतमा एकजना न्यायाधीशको इजलाश गठन गरिएको हो । दशैं बिदाको समयमा काठमाडौं जिल्ला अदालतले न्यायाधीश ब्रजेश प्याकुरेलको जरुरी महत्वको इजलाश गठन गरेको थियो ।

ब्रजेश नेतृत्वकै जरुरी महत्वको इजलाशले महराविरुद्ध असोज १९ गते पक्राउ पूर्जी जारी गर्ने अनुमति दिएको थियो । अदालतले अनुमति दिएकै दिन पक्राउ परेपनि सार्वजनिक बिदाका कारण महरालाई अदालतमा उपस्थित गराइन पाइएको थिएन ।

कोजागत पूर्णिमा पछि मात्रै अदालती कामकारबाही शुरु गर्ने प्रचलन हुन्छ । जसअनुसार आज (सोमबार) महरालाई अदालतमा उपस्थित गराइने तयारी थियो । तर, पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा सोमबार पनि देशभरका सबै तहका अदालत बन्द रहे ।

अब, मंगलबार मात्रै महरालाई अदालतमा उपस्थित गराइएने छ । महरालाई अदालतमा उपस्थित गराइएपछि उनीमाथि अनुसन्धानका लागि म्याद थप हुने छ । अदालतले पक्राउ परेको दिनदेखि लागू हुने गरी म्याद थप गर्ने छ ।

१९ गते पक्राउ परेका महरा सोमबारसम्म गरी ९ दिन प्रहरी हिरासतमा रहिसकेका छन् । प्रहरीले महराको बयान लिने लगायतका केही काम बाँकी रहेकाले पुनः म्याद थपका लागि अनुरोध गरिने जनाएको छ ।

महराको बयान लिनेसहितको अनुसन्धान प्रक्रिया सकिए पछि मात्रै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दायर गर्ने छ ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  २ : ३५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०