कविताको आङ किन जिरिङ्ग गर्‍यो ?

डा.तारानाथ शर्मा

शनिबार, भदौ २८, २०७६

Reading Time: 10 minutes

कविताको आङ किन जिरिङ्ग गर्‍यो ?

कवितालाई नचिन्ने त्यस ताक कीर्तिपुरको सेरोफेरो कोही पनि थिएन । हुन पनि कविता पनि कविता नै थिई छन पनि ।

चपक्क टन्कारेर बाँधेको सारी र तनक्क तन्काएर लगाएको चोलीमा त्यसको सलक्क परेको जीउ पाई नसक्नुको देखिन्थ्यो ।

जब ऊ कामिनी, छाया, शम्पा र नीलिमाबाट घेरिँदै महिला छात्रावासबाट फुत्त निस्केर लमकलमक उकालो लम्कन्थी, उसको फुर्ती, उसको रवाफ र उसको सुन्दरताले सारा सडक मगमगाउँथ्यो र डगमगाउँथ्यो ।

कवितालाई एक्कै झमट देख्न पाउँदा पनि कछुवाको चालले ओहोरदोहोर गर्ने युवकहरुको छातीमा भुइँचालो जान्थ्यो ।

उसै त कामिनी, छाया, शम्पा र नीलिमा तँछाड् र मछाड् गर्दै युवकहरुलाई भुतुक्क पार्ने शैलीको हिँडाइमा प्रख्यात थिए, त्यहीँमाथि भर्खरै दार्जीलिङलाई थर्काएर काठमाडौँ नै चकित पार्न आइपुगेकी कविताजस्ती कल्कलाउँदो र सुक्सुकाउँदो शरीर भएकी युवतीसमेत त्यस डफ्फामा मिसिएपछि त सम्पूर्ण कीर्तिपुरे पाखो तिनै रुपवतीहरुको प्रशंसामा एकोहोरियो ।

चाहे राजनीति-शास्त्रको कक्षामा होस्, चाहे अर्थशास्त्रको कोठामा होस् अथवा चाहे चिया खाजा खान बटुलिँदा शिक्षाशास्त्रको चमेना घरमा नै होस् जताततै अब कविताकै कुरो मात्र हुन्थ्यो ।

कतै ऊ बरन्डाबाट हिँडी पो हाल्छे कि, कतै सडकमा उससित जम्काभेट भई पो हाल्छ कि अथवा चमेनै घरमा उसको सुरिलो आवाजको गफ सुन्न पाई पो हालिन्छ कि भनेर कीर्तिपुरको सारा विश्वविद्यालय क्षेत्रका ठिटाहरु सम्भावित इच्छापूर्तिको आशामा आफ्ना उत्सुक उत्सुक आँखा ओछ्याइरहन्थे ।

एक्ली कविता सबै ठाउँका भक्तहरुलाई त्यति सजिलै दर्शन दिन पनि सक्तिनथी, फेरि ऊ आफ्नो पढाइका झमेलाहरुबाट धेरजसो फुत्कनै पनि पाउँदिनथी र आफ्नो अङ्ग्रेजी विभागमा चिर्बिराउँदा चिर्बिराउँदै, आफ्ना प्राध्यापकहरुसित लाडिँदा लाडिँदै र आफ्नो डफ्फाका युवती सँगिनीहरुसित लहरिँदा लहरिँदै उसको समय पनि त्यसै त्यसै बिती पनि हाल्थ्यो ।

कविता बीस टेकेर एक्काईस कुल्चँदै गरेकी केटी थिई ! आफ्ना समग्र आकाङ्क्षा, समस्त इच्छा र सम्पूर्ण सपनाहरुलाई ठूल्ठूला रसिला आँखामा बोकेर ऊ दार्जीलिङको पढाइ सकिएपछि काठमाडौँ आएकी थिई ।

चैनपुरको रमाइलो न रमाइलो बजारमा जन्मेर हुर्केकी कविता छ पनि पुग्दा नपुग्दै दार्जीलिङ पुर्‍याइएकी थिई र त्यहाँको लरेटो कन्भेन्ट भन्ने अङ्ग्रेजी पाराको विद्यालयमा भर्ना गराइएकी थिई ।

उसले त्यहाँ पढिसकेपछि सन्त जोसेफ महाविद्यालयमा तीन वर्ष गुजारेकी थिई । स्नातक हुने बित्तिकै ऊ काठमाडौँ आएकी थिई र उसले अङ्ग्रेजी विषय लिएर कीर्तिपुरको विश्वविद्यालयलाई सुगन्धित पारेकी थिई ।

अनेकौँ आश, अनेकौँ प्यास र अनेकौँ त्रास छातीमा गुम्स्याएर छ वर्षकी कविताले चैनपुरबाट बिदा लिएपछि उसको परिवार पनि अरु अरु सम्पन्न परिवारहरुझैँ पहाडलाई चटक्क माया मारेर मोरङ झरेको थियो ।

त्यस्ता धेरैजसो परिवार त डाँडाका टुप्पामा अवस्थित चैनपुरलाई एक्लै बतासमा हुन्हुनाउन छाडेर तल खाँदबारीको ब्याँसीमै भए पनि खाँदिन पुगेका थिए, तर कविताको बुबा रामबहादुर श्रेष्ठ भने भएभरका घरजग्गा बेचेर जम्मै पूँजी पोल्टामा बेरी विराटनगरतर्फ पूरै बसाइँ सरिसकेको थियो ।

त्यसै हुनाले गालामा चैनपुरको लाली र आँखामा अरुण नदीको गहिराइ बोकेकी भए पनि कविताले बिदा बिताउन घर फर्कँदा विराटनगरमै सन्तुष्टि लिनुपथ्र्यो ।

ऊ पहाडे फूल थिई, लालुपाते थिई र लालीगुराँस थिई, तर उसका हिउँदे बिदाहरु भने सधैँ नै विराटनगरको धूले आकाशमुनि छरिएका थिए ।

अरु अरु पहाडे मिर्गका पाठाहरुले झैँ हरिया वनले चिटिक्क परेका डाँडामा ऊ आफ्ना चुल्बुले आँखा बजार्न चाहन्थी, तर आँखा दुखुन्जेल फिँजारिएको मोरङको घुर्मैलो फाँटमा ऊ आफ्ना तुल्बुलहरु, तलतलहरु र तिर्खाहरु छरपुस्टिएको मात्र देख्थी ।

आफूलाई त्यस नौलो विस्तृतिमा परिचित गराउन खोज्दा खोज्दै उसको बिदा माछाझैँ चिप्लेर गइहाल्थ्यो अनि ऊ मायालु आमाबुबा, प्यारा दाजुभाउजू र आँखामा राख्ता पनि नबिझाउने छरछिमेकीहरुसित बिदा भएर निन्याउरो अनुहार, गह्रौँ चाल र खिन्न मनले दार्जीलिङतिर फर्किन्थी ।

तर दार्जीलिङ उसका लागि यस्तो ओखती थियो जसले जस्तै निन्याउरो अनुहारलाई पनि मुसुक्क हँसाउँथ्यो, जस्तै गह्रौँ चाललाई पनि हलुको, फुर्तिलो र जाँगरिलो तुल्याउँथ्यो र जसले खिन्न मनलाई पनि सङ्लो गराउँथ्यो, खुशी पाथ्र्यो र मक्ख बनाउँथ्यो ।

दार्जीलिङ व्यथित हृदयको रामबाण ओखती हो ।

हुन त कविता हृदयकी व्यथित थिइन, तापनि जुन नियास्रोपन बुबाको विराटनगरे घर छाडेर जोगबनीतिर रिक्सामा कुनै अभिभावकसित बसी रेल चढ्न जाँदा र जोगबनीबाट कटिहारसम्म र कटिहारबाट सिलगडीसम्म दुई दुई पल्ट रेल चढ्दै ओर्लँदै गर्दा ऊ अनुभव गर्थी, त्यो सिलगडीबाट उकालो लागेर तीनधारे पुग्दा नपुग्दै हर्षमा फेरिइसक्थ्यो र खरसाङपछि सोनादह र सोनादहपछि घूम काटेर बतासे डाँडामा गाडी पुग्ने बित्तिकै झ्यालबाट दार्जीलिङ मुस्काइरहेको दृश्य आँखामा पर्नासाथ कविताको जीउ पुलकित हुन्थ्यो ।

ऊ पानीबाहिर निकालेको माछालाई नदीमा फेरि हेलिदिएजस्तो अनुभूतिले दङ्ग पर्थी । तीन महिनासम्म खोरमा जबर्जस्ती थुनेर राखेको हरिनलाई एक्कासि जङ्गलमा छाडिदिँदा हुने आनन्दले ऊ आत्मविस्मृत हुन पुग्थी ।

दार्जीलिङले उसलाई शिक्षा दिएको थियो, गर्विली पारेको थियो र संसार चिनाएको थियो ।

दार्जीलिङको परिवेशले उसलाई संस्कृति सिकाएको थियो, शिष्टता सिकाएको थियो र संस्कार सिकाएको थियो । उसले आत्मसम्मान, आँट र स्वाभिमान कञ्चन्जङ्घाकै काखमा सिकेकी थिई । चैनपुरमा त जन्मी मात्रै ऊ ।

विराटनगरमा त अताल्लिई मात्र ऊ, अल्मलिई मात्र ऊ र अन्योलमा परी मात्र ऊ । दार्जीलिङमा नै उसले आफूलाई आविष्कार गरेकी थिई ।

लरेटो कन्भेन्टमा छउन्जेल उसले खेल खेलेर, गीत गाएर र पढाइमा अरुलाई उछिनेर नाउँ कमाएकी थिई । महाविद्यालयमा पुगेपछि गीतमा त ऊ चम्कँदै नै गएकी थिई, त्यसका साथै नाटकहरुको अभिनयमा र तर्कसभाहरुमा समेत उसले आफूलाई चुलीमा नै पुर्‍याएकी थिई ।

कञ्चनजङ्घाजस्तो सङ्लो थियो उसको मन, कञ्चनजङ्घाजस्तो उच्च थियो उसको आकाङ्क्षा र कञ्चनजङ्घाजस्तो शुभ्र, स्वच्छ र सफा थियो उसको चरित्र पनि ।

अनि यसरी दार्जीलिङ थर्काएर ऊ काठमाडौँ पसेकी थिई ।

कीर्तिपुरको महिला छात्रावासमा कविताले शोभा प्रधान भन्ने अछामकी केटीसित एउटै कोठामा ठाउँ पाई ।

शोभा शिक्षामा स्नातक गर्न लागेकी सुईखुट्टी थिई । फुकीढल शोभा र फस्टाउँदी कविताको शारीरिक जोडी मिल्दैनथ्यो र दिउँसो पढाइको कक्षा पनि नमिल्ने हुनाले ती दुई कहिल्यै सँगै देखिँदैनथे, तर कविता यस्ती केटी थिई जसले जस्तै मान्छेलाई पनि आफ्ना आत्मीय बोलीवचनले, हँसिलो अनुहारले र फरासिलो र न्यानो व्यवहारले जितिहाल्थी । शोभालाई पनि कविताले आफ्नी आत्मीय साथी बनाइछाडी ।

शोभा सुईखुट्टी मात्र थिइन, निकै होची पनि थिई । अनुहार हिस्सी परेको भए पनि र पछाडिबाट हेर्दा पुष्ट र आकर्षक नितम्ब भएकीले युवती हो भन्ने चिनिए पनि ऊ चिटिक्क परेका लुगा लगाउँदिनथी ।

झ्याम्ल्याङ्ग लुगाले ऊ जीउ छोप्थी मात्र । कपाल पनि राम्ररी तह लगाएर कोर्न उसलाई झर्को लाग्थ्यो । छात्रावासका अरु केटीहरुसित एक वचन बोल्दा पनि पैसा असुल गरुँली जस्ती देखिने शोभा अनौठै ठिटी थिई ।

उन्नाईस हिउँद पचाइसकेकी शोभाले दरिद्रताको घिनलाग्दो अनुहारलाई राम्ररी चिनिसकेकी थिई । संसारमा स्वार्थको शासनले सास्ती दिएको उसले देखेकी थिई, भोगेकी थिई ।

आफूले पाँच वर्ष कुल्चँदा नकुल्चँदै आमा छ छ महिनासम्म सिट्ठी भएर सुक्तै सुक्तै मास छर्न माथितिर लागिदिँदा उसको बुबाले पल्लो डाँडाको कुन्ती गाउँकी छँडुल्नी छोरेट्टीलाई भित्र्याएर घरको घाउमा नून थपेको थियो । बेलामा उसले खान पाइन, मन पराएको नाना लाउन पाइन र बुबाआमाको मायाको मलम मनमा घस्न पाइन । टुहुरी भई शोभा र समयले उसलाई आफैँ हुर्कायो, बढायो र पढायो पनि ।

यत्रो विशाल विश्वमा उसलाई आमाले भन्दा बढी माया गर्ने, बाबुले भन्दा बढी स्नेहालु सुरक्षा दिने र ईश्वरले भन्दा बढी उज्यालो भविष्यको आशा उमार्ने एउटै व्यक्ति उसको दाजु श्यामलाल थियो ।

श्यामलालले नै उसलाई बाँच्ने उत्साह, हुर्कने उद्देश्य र पढ्ने प्रेरणा दिएको थियो । दाजु नभइदिएको भए उसले उहिल्यै रिडीकोटबाट तल साँफेबगरमा झरेर बूढीगङ्गामा आफूलाई झ्वाम्म पारिसक्ने थिई । तर उसको दाजु भविष्यमा पत्यार राख्ने साहसी र बाठो अछामे युवक थियो ।

तेल घसेर, चेपार्‍याइँ पारेर र गफका कर्णाली उरालेर माथ्ला पद सम्हाल्न पुगेकाहरुका अगाडि कसरी रोई कराई, बिन्तीभाउ गरी र चाकरी गरी आफूलाई र आफ्नी बहिनीलाई छात्रवृत्ति मिलाउन सकिन्छ भन्ने कुरो उसलाई आफ्नो आवश्यकताले सानैदेखि सिकाइसकेको थियो ।

‘हजुर’ र ’बक्सियोस्‘ जस्ता चिल्ला शब्दहरुको सडकमा आकाश–पाताल जोड्ने कथाको गाडी चिप्ल्याउन खप्पिस श्यामलाल सौतेनी आमाको मुतमा बगेका बाबुको एउटै दमडी पनि नलिई भूगोल विषयमा आचार्य हुन सकेको थियो र आफूभन्दा छसात वर्ष कान्छी बहिनी शोभालाई शिक्षाशास्त्रमा स्नातक गराउँदै थियो ।

‘तपाईँ त उसो भए छात्रवृत्ति पो पाउनुहुँदो रहेछ जी !’

बयलपाटाको विद्यालयमा पढुन्जेल उसले कहिल्यै पनि शुल्क तिर्नु परेन अनि उसलाई चाहिने किताप र कापीका लागि भनेर विद्यालयको तर्फबाट उसले वर्षको पाँच सय रुपियाँ पनि पाउँथी ।

म्याट्रिक गरेपछि श्यामलालले आफ्नी बहिनी शोभालाई पनि काठमाडौँमै झिकायो । तीन तीन वर्षदेखि ऊ मासिक चार सय रुपियाँ छात्रवृत्ति पाउँदै आएकी थिई र त्यही कीर्तिपुरको महिला छात्रावासमा जमेकी थिई ।

‘महिनाको चार सयले त रानीजस्तो सोख गर्न सकिन्छ बाबै ! त्यो मोरी शोभौरी भने झुम्री, झुत्री र झ्वार्लाङ्ग भएर बसिरहन्छे । कन्जुसीको पनि हद हुन्छ हौ !’ जुन दिन कामिनीले यस्तो आलोचनाको काँडले छड्के हिर्काएकी थिई, त्यस दिनदेखि शोभा कामिनीहरुलाई देख्ने बित्तिकै साउने कालो बादलको जस्तो अँध्यारो अनुहार पारेर अर्कातिर लाग्थी ।

‘तपाईँ जहिले पनि घुम्दै फिर्दै रुम्जैटार भनेजस्तो यता फर्के पनि दाजु, उता फर्के पनि दाजु, दाजु नै दाजुको रट लगाइरहनुहुन्छ । तपाईँका दाजु देउता हुनुहुन्छ कि क्या हो ?’

शोभाको आफ्नो भन्नु दाजुबाहेक कोही थिएन । उसको रट नलगाए अरु कसको लगाउने त ? तबैतारे !

बरु शोभा बिस्तारी बिस्तारी आकाशे फुल पार्न लागिरहेकी थिई, कल्पनाको भवन ठड्याउन लागिरहेकी थिई र आकाशकुसुम फुलाउन लागिरहेकी थिई । कविताजस्ती कोमलाङ्गीलाई दाजुको काखमा सुम्पन पाए उसको मायाको संसारमा चँदुवा टाँगिने थियो ।

‘हो त कविता, मेरा दाजु देउता नै हुनुहुन्छ ।’ आफ्नो स्वभाववश शोभा भावनाको गहिराइमा डुब्दा निकै चिन्तित देखिई ।

उसले काठमाडौँ टेकेको तीन वर्ष बितिसक्दा पनि उससित एकै छिन पनि सँगै बसेर आत्मीय कुरा गरिदिने साथी उसले भेटेकी थिइन । रिडीकोटमा सौतेनी आमाले उसलाई जगल्ट्याउँथी मात्रै, सराप्थी मात्रै र भोकै राखेर लोग्नेका आँखा छली छली चिरिकचिरिक चिमोट्थी मात्रै ।

च्याट्ट मिलेका ढुङ्गाले छाएको पुख्र्यौली घर उसको आश्रयस्थल नभएर यातनागृहझैँ भएको थियो । घरको सबै कामधन्दा हतार हतार सकेर भोकभोकै उकालो लाग्न पाएपछि बल्ल उसलाई मुक्ति मिल्ने गथ्र्यो ।

दुब्ली, निन्याउरी र चिम्सी शोभा बयलपाटा बजारमा लर्खराउँदै विद्यालय पुग्थी र डाँडाबाट चारैतिर आँसु आँसु भरिएका आँखाले झिमझिम हेर्दै प्रार्थना गर्थी, ‘दाजु, मेरा देउता दाजु, मलाई यस नरकबाट चाँडै मुक्ति दिनुहोस् !’

‘कहाँ हुनुहुन्छ त तपाईँका देउता दाजु अचेल ? खोइ, म आईकन त एक पल्ट पनि तपाईँलाई भेट्न आउनुभएन त देउता दाजु ! तपाईँ रेला कुरा गर्दै हुनुहुन्छ कि क्या हो जी !’

आफ्ना दाजुको परिचय पाउने उत्सुकताले कवितालाई खर्लप्पै निलेको थाहा पाउँदा भित्रभित्रै मक्ख परी शोभा, ‘तपाईँको जी पनि गजपकै छ । कति जी जी दोहोर्‍याइराख्या हँ ?’

‘कुरा नबङ्ग्याउनोस् न सुश्री शोभा प्रधान । तपाईँका दाजुले खोइ त तपाईँलाई माया गरेको ? हो त रे त जी !’ खित्का छाडी कविताले ।

‘मेरा दाजु मलाई महिला छात्रावासमा भर्ना गराएको एकै महिनापछि अमेरिका गइहाल्नुभयो नि । उहाँ अहिले यहाँ कहाँ हुनुहुन्छ र ? अहिले त उहाँ परीहरुको मुलुकमा हुनुहुन्छ, सुश्री कविता श्रेष्ठ, परीहरुको मुलुकमा !’

शोभाले आफ्नो दाजु समुद्रपारि गएको कुरालाई कविताका अगाडि आकर्षक पाराले प्रकट गरी ।

अमेरिकाको कुरो उक्किने बित्तिकै कविताको आङ जिरिङ्ग गर्‍यो । यसरी सारा शरीरमा कम्प छुटेपछि कविताजस्ती बोलक्कड र फरासिली मान्छेलाई पनि ओठ खोलेर चिर्बिराउन प्रकृतिले पटक्कै दिएन ।

‘अहिले पुस्तकालय जान्छु ल । मेरो कत्ति पढ्नु बाँकी नै छ । छि, कामिनीहरु मलाई पर्खँदा पर्खँदा रिसाई पनि सके होलान् जी !’

(डा. शर्माको ‘नेपालदेखि अमेरिकासम्म’ उपन्यास कथ्य, प्रस्तुति र शिल्पका दृष्टिले निकै बेजोड मानिन्छ । तीसको दशकको त्रिभुवन विश्वविद्यालय र काठमाडौंको परिवेशमा लेखिएको यो उपन्यासले निकै जिवन्त शैलीमा तात्कालीन समय बोलेको छ । आख्यान लेखनमा अभ्यास गरिरहेकाहरुलाई निकै उपयोगी हुने ठानेर यसै हप्ताबाट हामीले यसको श्रृङ्खला शुरु गरेका छौँ–सं.)

(डा. शर्माको वहुचर्चित उपन्यास ‘नेपालदेखि अमेरिकासम्म’बाट ।)

भर्खर

0