रोगीको सफल बाख्रा पालन « Khabarhub
Logo
३० असार २०७७, मंगलबार

रोगीको सफल बाख्रा पालन



म्याग्दीको एउटा बाहुन परिवारको केटा, बाबुआमाले दुख गरेर पढाए । राम्रोसँग स्नातक पास गरे । उनी हुर्केको परिवेस हेर्दा, त्यो शैक्षिक उपलब्धी उल्लेखनीय थियो ।

उनलाई मानसिक रोगले विरामी पारिदियो । रोगले च्यापेर निकै विरामी परिसकेका रहेछन् । म त कहिलेकाहिँ विरामी जाँच्न पोखरा जाने हो । पोखराको अस्पतालमा मानसिक रोग विशेषज्ञ भएर पनि उनीहरु गएका थिएनन् । म गएका वेला परीक्षणका लागि आए ।

सिजोफ्रेनिया क्रोनिक भइसकेको रहेछ । मानसिक रोग लागेको भनेर जसले पनि छुट्याउन सक्ने अवस्था थियो ।

औषधि खाए पछि रोगले त छोड्यो, तर उनको व्यक्तित्व पहिलेको अवस्थामा आएन । काम पनि पहिले जस्तो गर्न सकेनन् । काम गर्ने चाहना, क्षमता, हिम्मत, आकांक्षा उनमा फर्किएन ।

खुसी, दुःख, इर्ष्या, डाह, पीर आदि भावनात्मक पक्षहरु पनि कमजोर भएर गए । रोग ठीक भइसकेको छ, लक्षण केही छैन तर केही गर्ने जाँगर छैन, दिनभरी सुत्ने, खाने मात्र ।

बाबुले काम गर्न लिएर जाँदा रहेछन्, कर लगाए अलिअलि गरेजस्तो गर्ने, नत्र बसिरहने । खेतमा जाँदा पनि चौतारातिर गएर सुत्ने ।

बाबुले मसँग गुनासो गरे । ‘केही काम गर्दैन, खेतमा गएर पनि सुतिराख्छ’, ‘अल्छि लाग्छ’ भन्छ, काम अह्रायो भने एकातिर हिंडिदिन्छ’ भने ।

‘तिमी पढेका मानिस, किन त्यसै वस्छौ, केही गर’ भनेर सम्झाएँ । बाबुलाई ‘तपाईँको गाउँमा चरन छ भने कमसेकम बाख्रा पाल्न लगाइदिनु न’ भनेँ ।

बाबुले, ‘खोरिया जस्तो खरवारी छ, बाली हुँदैन, रुखो पाखो छ’ भने । ‘कृषिमा विज पाइन्छ, घाँसको बिउ छरेर बाख्रा पालन गर्नु राम्रो होला’ भनेँ ।

मैले पनि खासै जानेर भनेको होइन, सुनेको भरमा । विरामी र उसको परिवारलाई उसले केही गर्न सक्छ है भनेर हौसला दिने उद्देश्यले सुझाव दिएको थिएँ । तर त्यसवारेमा मलाई खासै ज्ञान थिएन ।

बाबुले त्यसै गरेछन् । कृषिमा गएर विकासे घाँसको विउ ल्याएर जग्गालाई विभिन्न टुक्रा गरेर पालैपालो घाँस लगाउन थालेछन् । युवा बाख्रापालनमा लागेछन् । शुरुमा एक दुईवटाबाट शुरु गरेको, राम्रोसँग बढेछन् । फलिफाप हुँदै गयो ।

त्यसपछि उनी मकहाँ चारपाँच पटक आएका थिए । दुई वर्ष जति फलोअपमा आएनन् । तर औषधि नियमित खाइरहेका रहेछन् ।

दुई वर्षपछि चिटिक्क परेर राम्रो भएर हाँस्दै आए । कागज हेरेँ, निकै लामो समय भएकाले ‘बीचमा किन नआएको ?’ भनेँ ।

उनले, ‘होइन राम्रो भएको छ । औषधि छुटेको छैन, व्यावसाय पनि राम्रो भएको छ भने । बाख्रापालन सफल भएछ । आम्दानी पनी राम्रो ।

उनले बार्खा पालन व्यवसाय शुरु गरेको अहिले ७ वर्ष जति भयो । उनी एकदम सफल बाख्रापालन व्यावसायी भएका छन् ।

मैले औषधि दिनुका साथै हौसला दिएँ, उनका बाबुले उत्प्रेरणा दिनुका साथै लगानी गरिदिए, शुरुमा सवै आवश्यक सहयोग पनि गरिदिए । व्यवसायबाट भएको आम्दानी पनि उसैलाई दिए । त्यसैले उनी सफल भए ।

अहिले उनी उन्नत तरिकाले बाख्रा पाल्ने नमुना कृषक भएका छन् । परिवारले पनि विश्वास र सहयोग गरेकाले सफल भएका हुन् । बाख्रापालनबाट कमाएको पैसाले बजार छेउमा घडेरी पनि जोडेका रहेछन् ।

अहिले उनलाई विवाहका लागि विभिन्न ठाउँबाट राम्रो प्रस्ताव आएका छन् रे । विरामीलाई यसरी क्रियाशिल बनाउन डाक्टरका साथै परिवारको पनि ठूलो भूमिका हुन्छ ।

उनी म कहाँ आउँदा जहिले पनि ‘एउटा बोका राखेको छु सरका लागि’ भन्छन् ।

‘मलाई पर्दैन, सफलता सुनाएकोमा नै खुसी छ । बरु यो खुसीयाली घरमै बोका काटेर मनाऊ’ भन्ने गर्छु ।

विरामीलाई उपचार गरेर ठीक लाइनमा ल्याउन सक्यो भने जीवन सप्रिने सम्भावना प्रसस्तै हुन्छ । यो मेरो जीवनमा सफल केस मध्येको हो । धेरै खुसी छु यसबाट ।

व्यक्तित्व चकनाचुर पार्ने सिजोफ्रेनिया

ग्रीक भाषामा ‘सिजो’ भनेको टुक्राटुक्रा भएर चकनाचुर हुनु हो र ‘फ्रेनिया’ भन्नाले मस्तिष्क तथा व्यक्तित्व हो । (प्राचीन ग्रीसमा मस्तिष्क पेट र छातीको बीचको झिल्लीमा हुन्छ भन्ने विश्वासले झिल्ली अर्थात फ्रेनियालाई नै मस्तिष्क र व्यक्तित्वको स्थान मान्दथे) सम्पूर्ण व्यक्तित्व चकनाचुर हुनु नै सिजोफ्रेनिया हो ।

यसको उदाहरणको रुपमा ओभरकोट लगाएर नुहाउने व्यक्तिको केसलाई लिन सकिन्छ ।

पारिवारिक, सामाजिक सहयोग नहुँदा उक्त मानिसको व्यक्तित्व चकनाचुर भयो । तर साधारण सहयोग पाउँदा लगभग पुरानै अवस्थामा आइपुगेका थिए ।

सिजोफ्रेनियाका लक्षणहरु बर्णन गरेर नै नसक्ने खालका विविध हुन्छन् । कारणहरु पनि त्यस्तै विविध । यस वारेमा थुप्रै पुस्तकहरु लेखिएका छन् । यो रोगको वारेमा कुरा गरेर कहिल्यै सिद्धिदैन भने पनि हुन्छ ।

कुनै पनि रोगलाई अलि कडा, मझ्यौला, सामान्य खालको भनेर चिनाइन्छ तर सिजोफ्रेनियालाई त्यति भनेर टुंग्याउन सकिन्न ।

सिज्रोफ्रेनियाले एउटा व्यक्तिलाई घरमा राख्न, सम्हाल्न नसकिने अवस्थामा पुर्‍याएको हुन्छ भने अर्को सामान्य किसिमको नै हुन्छ । उपचार गर्दा पनि कसैलाई सामान्य औषधिले ठीक हुन्छ भने कसैलाई कडा औषधिले पनि राम्रोसँग छुँदैन ।

कुनै सिजोफ्रेनिया व्यक्तित्वलाई चरम रुपमा ध्वस्त पार्ने, व्यक्तिलाई काहिँ वस्न, टिक्न नदिने खालको हुन्छ । अर्कोतिर कुनै चाहिँ औषधि नै नगरे पनि अलि अनौठो तर सामान्य अवस्थामा रहेको हुन्छ ।

शुरुमा अलिअलि विरामी भयो, उपचार भएन, पछि एकसुरे(एकसुरे बानी बस्ने, अरुसँग धेरै कुरा नगर्ने, घुलमिल नगर्ने, मानिसको संगत मन नपराउने, अलि एकलकाटे स्वभावको हुन्छ ।

आफूबाहेक अरुको संसारको मतलव नै राख्दैन, खुसी पनि व्यक्त गर्न सक्तैन । अलि अर्कै पाराको भए पनि विनाऔषधि नै जीवन विताइरहेको हुन्छ ।

कसैले उसलाई रोगी पनि भन्दैनन् । तर वास्तवमा उ सिजोफ्रेनियाको रोगी भइरहेको हुन्छ । रोगले अलिअलि फरक ल्याएको हुनसक्ला, प्रगति नगर्ला, सामाजिक जीवन निस्किृय होला तर दैनिक व्यवहारमा खासै फरक परेको हुँदैन ।

यस रोगको व्यापकता, किसिम, लक्षण, प्रकृति र गहिराईमा विविधता भएकाले पनि यो रोगलाई अप्ठ्यारो विषय मानिन्छ । सवैलाई बाँधेर राख्नुपर्ने अवस्था हुन्छ, सवैले नालीको टिपेर खान्छन् भन्ने बुझाइ गलत छ । सिजिफ्रेनियाका रुप पनि धेरै छन्, लक्षणहरु पनि विविध ।

सिजिफ्रेनियालाई अहिले धेरैवटा रोगहरुको मिश्रण पनि भनिन्छ । यो एउटै रोग होइन, विभिन्न रोगको एकमुष्ट समूह हो भन्ने मान्यता स्वीकार्य भइसक्यो । यसका कारणहरु पनि फरक फरक, भित्र दिमागमा हुने असर पनि फरकफरक र रोगको परिणाम पनि फरक फरक हुन्छ ।

केही साझा विशेषताले गर्दा यसलाई एकै ठाउँमा राखिएको हो । रोग जुनसुकै किसिमको भए पनि भविष्यमा यसले मानिसको स्वभाव, व्यक्तित्व नष्ट गर्छ ।

उपचार गर्दा र नगर्दा पनि सवैखाले सिजोफ्रेनियाले अन्त्यमा पुर्‍याउने गन्तव्य पनि एउटै हुन्छ ।

मन मस्तिष्कलाई नष्ट गर्ने खालको रोग भएको हुनाले औसत सिजोफ्रेनियाका विरामीहरु कम बौद्धिक क्षमता भएका हुन्छन् भन्ने पनि छ । तर यो सधैँ लागू हुँदैन ।

एकदम विद्वान मानिसलाई पनि यो रोग लागेको हुन्छ । यस्ता मानिसको सोच्ने, निर्णय गर्र्ने तथा मस्तिष्कले काम गर्ने क्षमता भने केही फरक हुन्छ ।

कहिलकाहिँ असाधारण बौद्धिक क्षमताले सिजोफ्रेनिया हुने सम्भावनालाई बढाइदिने पनि गर्छ । तर बौद्धिक क्षमता धेरै भएका कारण सिजोफ्रेनिया भएको भन्न मिल्दैन । मानसिक रोग सिजोफ्रेनिया र बौद्धिक क्षमता भिन्दाभिन्दै कुरा हुन् ।

रोग र बौद्धिकताको नैसर्गिक सम्बन्ध छैन, तर के देखिन्छ भने असाधारण बौद्धिक क्षमता भएका केही बैज्ञानिक, साहित्यकारलाई सिजोफ्रेनिया भएको चाहिँ छ । कोही उपचार गर्दै काम गरिरहेका हुन्छन्, कोही उपचार नै नगरी पनि काम गरिरहेका छन् ।

रुसका एकजाना ठूला साहित्यकार गोगलका कथाहरु अलि अनौठा खालका छन् । उनी सिजोफ्रेनियाबाट पीडित थिए ।

भाषामा राम्रो पकड भएका साहित्यकार थिए उनी । उनको साहित्यिक प्रतिभा निकै उच्च स्तरको थियो । उनले शुरुमा लेखेका साहित्यिक कृतिहरु प्रसिद्ध भएका थिए । जव उनलाई रोगले च्याप्दै ल्यायो त्यसपछि लेखेका कृतिहरु खासै महत्वका छैनन् भने पनि हुन्छ ।

अरु केही साहित्यकारहरुमा पनि यस्तो देखिन्छ ।

सिजोफ्रेनियालाई चिन्ने तरिका

कसैलाई सिजोफ्रेनिया भएको छ भने परिवारका सदस्यले शुरुमै थाहा पाउन सक्छन् । पहिला त उसको आनीबानी नै बदलिन्छ ।

शंका गर्ने, रिसाउने, झगडा गर्ने प्रबृत्ती देखिन्छ । गरिरहेको कामप्रति रुची हुँदैन, नयाँ केही काम गर्ने चाहना हुँदैन । अरुसँगको आत्मियता कम हुँदै जान्छ । परिवारका मुल्य, मान्यता, अनुशासन मान्न छोड्छ । यसले परिवारमा झगडा सिर्जना गरिदिन्छ । सम्पूर्ण जीवन शैली बदलिन्छ ।

विरामीलाई शुरुमा मलाई किन यस्तो भयो, के भएको हो भन्ने अनुभव चाहिँ हुन्छ । यस्तो वेलामा उपचार गर्न पायो भने रोगलाई पुरै रोक्न सकिन्छ ।

सिजोफ्रेनियाको प्रभाव

धेरैजसो अवस्थामा सिजफ्रेनिया भएपछि उपचार नहुँदा मानिसको जीवन नै बर्बाद हुन्छ । जुन उचाइमा पुग्न सक्थ्यो त्यहाँ मानिस पुग्न सक्तैन । उसको पारिवारिक, सामाजिक र व्यावसायिक जीवन तथा अध्ययन सवै अस्तव्यस्त हुन्छ ।

त्यसो भएता पनि सिजोफ्रेनिया भएको मानिसलाई यो अव गयो, खत्तम भयो, कतै पनि काम लाग्दैन भनेर चटक्क छोड्नु पर्ने अवस्था हुँदैन । जस्तोसुकै नाजुक अवस्था भएपनि राम्रो उपचारले केही न केही सुधार ल्याउने सम्भावना कायमै रहन्छ ।

सिजोफ्रेनिया यस्तो रोग हो जसमा मानिसको व्यक्तित्वका सवै आयामहरु प्रभावित हुन्छन् । सुधार भएपछि पनि उसमा ‘म यस्तो रोगी’ भन्ने परिरहन सक्छ ।

‘म यस्तो रोगी भएकाले मलाई परिवारका मानिसले हेला गरिरहेका होलन’भन्ने अनुभव हुनसक्छ । ‘म रोगी भएकाले मैले परिवारका अपेक्षा पूरा गर्न सक्तिन’ भन्ने अनुभव पनि गरिरहेको हुनसक्छ ।

यो कुरा अरु मानसिक विरामीहरुमा पनि लागू हुने भएता पनि विशेष गरी सिजोफ्रेनियामा यो बढी लागू हुन्छ । ‘के म सामान्य जीवन विताउन सकुँला त ?’ भन्ने सधैँ भइरहन्छ ।

‘परिवार, छिमेकि समाजले मलाई सामान्य रुपमा लेलान् त ?’ भन्ने परिरहेको हुनसक्छ । ‘म ठिक भए पछि मलाई अरुले ठीक तरिकाले हेरिरहेका छन् त ? अरु नै तरिकाले हेरिरहेका छन कि ? म पुरानो जिन्दगीमा फर्किन सकिन’ भन्ने उसलाई परिरहने हुनसक्छ ।

यी कुरा सवै सिजोफ्रिनियाका विरामीलाई लागू हुन्छ भन्ने छैन । प्रत्येक विरामीलाई फरक फरक अवस्था सिर्जना हुनसक्छ । रोग जटिल भएकाले उपचार पनि जटिल खालकै हुन्छ ।

रोग निको भएर पनि कालान्तरमा घर छोडेर हिड्ने, आत्हत्या गर्ने खतराको वारेमा सजक हुन जरुरी छ । अरु रोगको उपचार गरे जस्तो सिजोफ्रेनियाको विरामीलाई रोगको लक्षण हटाएर पुग्दोरहेनछ, रोगले सम्पूर्ण व्यक्तत्वको आयामलाई छुने भएकाले उपचार पनि सम्पूर्ण आयमलाई छुनेगरी गर्नुपर्छ ।

उसको पारिवारिक जीवन, सामाजिक प्रतिष्ठा, उसको आफ्नो क्षमताका कुरा र विरामी आफैँले आफूलाई मूल्याङ्कन गर्ने, विश्लेषण गर्ने कुरालाई पनि ध्यान दिएर उपचार गर्नुपर्ने हुन्छ ।

सिजोफ्रेनियाको कारण

सिजोफ्रेनिया हुनुको मूख्य कारणरु मध्ये एक बंशानुगत हो । दोस्रो आमाको पेटमा हुँदा शिशुमा पर्ने असरहरु हुन् । लामो समय व्यथा लागेर जन्मिदा शिशुमा पर्ने असरले पनि मस्तिष्क कमजोर भई सिजोफ्रेनियालगायत अन्य रोग लाग्ने सम्भावना बढाउँछ ।

यसरी शिशु जन्मिदा दिमागमा अक्सिजन, रक्तसञ्चारमा कमी भई असर पर्ने हुन्छ । बच्चाको शारीरिक, मानसिक विकास हुने क्रममा बाधा व्यवधान आएमा, टाउकोमा चोटपटक, संक्रमण भएमा पनि मस्तिष्क विकासमा प्रतिकल असर पर्छ जुन धेरै मानिसक रोगका लागि पृष्ठभूमी बन्न सक्छ ।

बंशानुगत रुपमा भइरहेका मानसिक रोग शुषुप्त अवस्थामा रहेका हुन्छन् र पछि ठूलो आघात पर्‍यो वा त्यस्तै वातावरण बन्यो भने निस्कन सक्छ । स्वभावत रोग प्रतिरोधक शक्ति मानसिक रोगको हकमा पनि लागू हुन्छ । सिजोफ्रेनिया हुनुमा दिमागको संरचना, त्यसले कार्य गर्ने शैली आदि कुरामा पनि भर पर्छ ।

सिजोफ्रेनिया हुँदा भित्र के हुन्छ भन्ने कुरा विज्ञानले पनि सवै स्पष्ट पार्न सकेको छैन । केही कुराहरु पत्ता लागेका छन् ।

जस्तो : सन् १९१८ तिर स्पेन र त्यसको वरपरको युरोपीयन क्षेत्रमा इन्फ्लुएन्जा (भाइरसबाट हुने एक किसिमको रुघाखोकी) को महामारी फैलियो । यसबाट धेरै मानिसहरुको मृत्यु भयो ।

कैयौँ मानिसहरु स्थायी रुपमा रोगी हुन पुगे । त्यो इन्फ्लुएन्जा भएको अवधिमा गर्भवती भई उनीहरुबाट जन्मिएका बच्चाहरुमा औसत भन्दा कयौँ गुणा बढी सिजोफ्रेनिया देखियो । आमाको पेटमा भएका वेला आमालाई रोग लाग्यो भने बच्चालाई असर गर्दोरहेछ भन्ने एउटा तथ्य प्रमाणित भयो ।

त्यस्तैगरी दोस्रो विश्वयुद्ध ताका जुनजुन देशमा खानाको अभाव भएको थियो, ती देशमा त्यही वेला गर्ववति भएका महिलाहरुबाट जन्मिएका बच्चाहरुमा अरु सामान्य अवस्थामा जन्मिएका बच्चाहरुमा भन्दा कैयौँ गुणा बढी सिजोफ्रेनिया देखिएको थियो ।

गर्भावस्थामा आमालाई कुपोषण भएमा पनि बच्चालाई सिजोफ्रेनिया लगायतका रोगहरु हुने सम्भावना बढी हुँदो रहेछ भन्ने प्रमाणित भएको छ ।

आममानिस प्रभावित हुने गरी भएका युद्ध, प्राकृतिक विपत्ति, सामुहिक अपहरण, द्वन्द्व जस्ता प्रकोप (Mass Disaster)बाट लामो समय प्रभावित भएका र त्यस्तो वेला गर्भवति भएका महिलाहरुबाट जन्मिएका बच्चाहरुमा पनि सामान्य अवस्थामा जन्मिएका बच्चाहरुमा भन्दा बढी सिजोफ्रेनिया लगायत विविध मानसिक समस्या भएको पाइएको छ ।

यसका साथै जन्मिदा कम तौल भएका बच्चाहरुमा पनि सामान्यमा भन्दा अलि बढी सिजोफ्रेनिया भएको पाइएको छ । यसका थुप्रै कारणहरु छन् ।

सिजोफ्रेनिया कुनै एउटा कारणबाट मात्र हुँदो रहेनछ, आमाको पेटमा भएका वेला भएका विभिन्न घटनाबाट पनि प्रतिकुल असर पर्दोरहेछ ।

यो विषय नै ज्यादै जटिल भएकाले यसमा राम्रो अध्ययन पनि भइसकेको छैन । अरु मानसिक रोगको तुलनामा सिजोफ्रेनियाको वारेमा हाम्रो ज्ञान निकै कम छ ।

सिजोफ्रेनिया भइसकेपछि भित्र मस्तिष्कमा के के हुँदो रहेछ, मस्तिष्कले कसरी काम गर्छ, कुनकुन ठाउँमा खरावी देखिन्छ, ती विषयमा मोटामोटी अध्ययन भएको छ तर यो अध्ययन अपुरो नै छ ।

वास्तवमा सिजोफ्रेनिया आजको दिनसम्म पनि एक किसिमले रहस्य जस्तै नै छ । संक्रमणसँग पनि यसको सम्बन्ध छ, टाउकोको चोटसँग पनि सम्बन्ध छ, बंशानुगतसँग पनि नाता गाँसिएको छ ।

सरल भाषामा भन्नु पर्दा सिजोफ्रेनियाको एउटा प्रमुख कारण हुनसक्छ र अरु धेरै सहायक कारण हुनसक्छन् । यो रोगमा विरामीको चाहना, इच्छा, उद्देश्य, उत्प्रेरणा आदि हराउँछ ।

सम्झना शक्ति, बौद्धिक क्षमता क्षति भएको हुँदैन । धेरै पछि मात्र यसको असर देखापर्छ । सिकेका कुराहरु सम्झेको हुन्छ । उसले चाहेमा सिकेको ज्ञान, सिप प्रयोग गर्न सक्छ । तर उसको चाहना नै मर्छ । उसलाई कतैतिर कोहीसँग पनि लगाव हुँदैन ।

मायाँ, रिस, इर्ष्या जस्ता भावनात्मक कुरा पनि कमजोर हुँदै जान्छन् । यी कुराहरु नभए पछि उ सामाजिक सम्बन्ध पनि राख्न चाहँदैन र समाजबाट एक्लिदै जान्छ ।

सामाजिक जीवन रित्तिदै जान्छ । कारण विविध भए पनि रोगले च्याप्दै गए पछि एउटै खालको अवस्था देखिने भएकाले यसलाई एउटै समूहमा राखिएको छ । तर विज्ञानको विकास हुँदै गएपछि अहिले सिजोफ्रेनिया भनेर एक ठाउँमा राखेर अध्ययन भइरहेको छ । पछि यो रोग विभिन्न फरक फरक रोगहरुमा बाडिन सक्छ ।

मञ्जरी पब्लिकेसनबाट प्रकाशित ‘मानसिक स्वास्थ्यका विविध अनुभव’बाट


भर्खर

0