हङकङ आन्दोलन दबाउन चीनद्वारा सीमामा सैन्य शक्ति प्रदर्शन | Khabarhub Khabarhub

हङकङ आन्दोलन दबाउन चीनद्वारा सीमामा सैन्य शक्ति प्रदर्शन


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– लोकतन्त्रको समर्थनमा जारी प्रदर्शन हिंसात्मक बन्दै जाँदा चीनले प्रदर्शन दबाउनका लागि हङकङमा सैनिक आक्रमण गर्ने सङ्केत दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले युद्धका लागि तम्तयार चिनियाँ जनमुक्ती सेना हङकङतर्फ लागेको जनाएका छन् ।

हङकङस्थित चिनियाँ जनमुक्ती सेनाको ब्यारेकमा रहेका आठदेखि दशहजार सैनिक पनि उच्च सतर्कतामा राखिएको बताइएको छ ।

यसअघि मंगलबार चीनको राज्यनियन्त्रित सञ्चारमाध्यमले एक भिडियो सार्वजनिक गरेको थियो । ग्लोबल टाइम्स अखबारको अनलाइन संस्करणले हङकङसँग सीमा जोडिएको सेन्जेन शहरमा जनमुक्ती सेनाले बख्तरबन्द गाडीसहित अभ्यास गरिरहेको भिडियो सार्वजनिक गरेको हो ।

हङकङको सीमा क्षेत्रमा रहेको सेन्जेन शहरमा जनमुक्ती सेनाले अर्बन वारफेयर अर्थात् शहरी क्षेत्रमा युद्धकलाको अभ्यास गरेको थियो । चीनले हङकङतर्फ सेना तैनाथ गरेपछि हङ्कङमा सैनिक आक्रमणको चिन्ता उत्पन्न भएको हो ।

प्रदर्शनकारीले हङ्कङको विमानस्थलमा प्रवेश गरी दुई दिनसम्म सयौं उडान तथा अवतरण अवरुद्ध गरेपछि चीनले सैनिक आक्रमणको तयारी गरिरहेको समाचार सार्वजनिक भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकी गुप्तचर निकायले आफूलाई चीनले हङकङको सीमा क्षेत्रमा सैनिक उपस्थिती बढाइरहेको जानकारी दिएको जनाएका छन् । राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै सबै पक्षलाई संयमता अपनाउन समेत आह्वान गरेका छन् ।

हङकङमा लोकतन्त्रको समर्थनमा जारी प्रदर्शनका क्रममा प्रदर्शनकारीले त्यहाँको विमानस्थल कब्जा गरेपछि दुई दिनसम्म विमानस्थलको उडान तथा अवतरण अवरुद्ध भएको थियो । विमानस्थल बन्द हुँदा दशौं हजार यात्रीले सास्ती पाएका थिए । विमानस्थल बुधबारबाट पुनः सञ्चालनमा आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रदर्शनकारी एकपछि अर्को गरी विमानस्थलबाट बाहिरिएपछि विमानस्थलको कारवाही सुचालु गरिएको बताइएको छ । बुधबार बिहानैबाट सफाइ कर्मचारीले विमानस्थलमा रहेका फोहार र रगतको दाग सफा गरेका थिए । विमानस्थल प्रशासनले विमानस्थल बन्द हुँदा पर्न गएको असुविधाप्रति क्षमा समेत मागेको छ । हङकङ विमानस्थल संसारकै सबैभन्दा व्यस्त मध्येको विमानस्थलमा पर्छ ।

अर्कोतर्फ हङकङकी प्रमुख कार्यकारी क्यारी लामले प्रदर्शनकारीको हिंसात्मक गतिविधि अस्वीकार्य रहेको जनाएकी छन् । उनले लोकतन्त्रको माग गर्दै प्रदर्शनमा उत्रेका प्रदर्शनकारीले कानून भंग गरेको र विधिको शासनको विपक्षमा गएको आरोप समेत लगाइन् । प्रमुख कार्यकारी लामले प्रदर्शनमा संलग्न सबैलाई कानूनी कठघरामा ल्याइने समेत चेतावनी दिएकी छन् ।

त्यस्तै, चीन सरकारले हङकङका प्रदर्शनकारीलाई आतंककारीको संज्ञा दिएको छ । हङकङ र मकाउ मामिलाका लागि चिनियाँ कार्यालयले हङकङमा भइरहेको प्रदर्शनकारीको गतिविधि आतंककारी गतिविधिभन्दा फरक नभएको भन्दै टिप्पणी गरेको छ । चीनले पछिल्ला केही समययता प्रदर्शनकारीलाई आतंककारीको संज्ञा दिँदै आएको छ ।

१० साता अघि विवादास्पद सुपुर्दगी विधेयक ल्याइएपछि हङकङमा प्रदर्शन शुरु भएको थियो । एकपछि अर्को प्रदर्शन हिंसात्मक बन्दै गएको अवस्थामा प्रहरी र प्रदर्शनकारीबीच पटकपटक विभिन्न स्थानमा झडप हुँदै आएको छ ।

यो प्रदर्शनलाई चीनमा सी जिनपिङले राष्ट्रपतिको जिम्मेवारी सम्हालेयताकै सबैभन्दा चुनौतिपूर्ण राजनीतिक संकटका रुपमा लिइएको छ । प्रदर्शनका क्रममा प्रहरीले हालसम्म ६ सयभन्दा धेरैलाई गिरफ्तार गरिसकेको जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ६ : ४८ बजे

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका