न त म यहाँ ‘स्टार’ बन्न नै आएको हुँ | Khabarhub Khabarhub

न त म यहाँ ‘स्टार’ बन्न नै आएको हुँ



काठमाडौं– चलचित्र ‘मेरो एउटा साथी छ’ मा आर्यन सिग्देलले निभाएको ‘लभर ब्याय’ को भूमिकाले अझै पनि चर्चा पाउँछ । जबकि, यो फिल्म प्रदर्शनमा आएको १० वर्ष भइसक्यो ।

त्यतिबेला आर्यन चकलेटी अभिनेता थिए । अहिले पनि उनी उही परिचयमा छन् । दर्शकले उनलाई ‘लभर ब्याय’कै रुपमा बढी रचाएका छन् । आर्यन पनि यस्तै भूमिकाको प्रिय बन्न चाहन्छन् ।

हो, बीचमा केही समय उनको करिअर ‘धरमर’ भयो । केही समय उनले कुनै चलचित्रमा पनि काम गरेनन् ।

आर्यनले जति पनि चलचित्रमा अभिनय गरेका छन्, तीमध्ये धेरैमा आर्यनलाई प्रेमीकै रुपमा देख्न सकिन्छ ।

यतिबेला भने आर्यन फेरि एक वर्षपछि पर्दामा आउँदैछन्, लभर ब्यायकै रुपमा । चलचित्र ‘हजार जुनीसम्म’ मा उनी केन्द्रीय भूमिकामा छन् । यो चलचित्रमा आर्यनले १४ वर्षदेखि प्रेममा अल्झिएको एक प्रेमीको भूमिका निर्वाह गरेका छन् ।

‘म यो सिनेमामा सिद्धान्त क्षेत्री हुँ, एउटा त्यस्तो चरित्र जसले आफ्नो प्रेमका लागि १४ वर्ष गुजार्छ,’ आर्यन आफ्नो भूमिकाबारे एक वाक्यमा सुनाउँछन् ।

गतवर्ष आर्यनले चलचित्र ‘कायरा’ मा प्रेमीकै भूमिकामा अभिनय गरेका थिए । तर, चलचित्रलाई दर्शकले रुचाएनन् । चलचित्रको प्रस्तुतीकरण शैलीले धेरै दर्शकको चित्त बुझेन । चलचित्रले आर्यनलाई पनि थुप्रै प्रतिक्रिया छोडेर गयो ।

यसबाट आर्यन झस्केका छन् ।

‘त्यतिबेला धेरै ग्याप भयो भनेर हतारमा ‘कायरा’ बनायौँ, दर्शकलाई त्यति मन परेन,’ आर्यन खबरहबसँगको कुराकानीमा सुनाउँछन्, ‘अरुको चलचित्रमा अभिनय गर्नुभन्दा आफ्नै होम प्रोडक्सनको चलचित्रबाट दर्शकले बढी अपेक्षा राख्नुहुन्छ, कायरामा पनि त्यही भएको हो ।’

उनका अनुसार ‘कायरा’ को कथामै पनि दर्शकको गुनासो रह्यो । दर्शकको चित्त बुझाउनमा आफू ‘चुकेको’ भएर पनि होला, उनी अहिले थप सचेत छन् ।

‘अब मैले होम प्रोडक्सनको चलचित्र बनाउँदा थप ख्याल गर्छु, बरु पाँच वर्ष लागोस् तर राम्रो सिनेमा बनोस् भन्नेमा सचेत छु,’ आर्यन भन्छन्, ‘सिनेमा मेकिङमा अझै धेरै सोच्नुपर्ने छ ।’

होम प्रोडक्सनको चलचित्रमा काम गर्दा अरु निर्माताका चलचित्रमा भन्दा बढी खट्नुपर्ने आर्यनको अनुभव छ । अरुका चलचित्रमा एउटा भूमिकामा मात्र काम गरे पुग्छ । आफ्ना चलचित्रमा कथादेखि हरेक कुरामा ख्याल गर्नुपर्छ । त्यो जिम्मेवारी पनि बन्न आउँछ ।

‘दर्शकले होम प्रोडक्सनका चलचित्रमा मप्रति बढी विश्वास गर्नुहुन्छ किनकि उहाँहरुलाई आर्यनमाथि एकखाले भरोसा छ,’ उनी थप्छन् ।

आर्यनको थप्छन्, ‘दर्शकको पनि चाहना छ कि, मैले लभस्टोरी फिल्म गरुँ ।’

कति नयाँ कलाकारको उदय भइसक्यो । कति त हराए पनि । तर, आर्यनको चकलेटी छाप हराएको छैन । दशकौँसम्म निरन्तर ‘हिट’ सिनेमा दिएका आर्यन भन्छन्, ‘मेरो पहिले र अहिले चलचित्र गर्ने शैलीमा फरक चाहिँ छैन है !, म जस्तो थिएँ, अहिले पनि त्यस्तै छु ।’

हिजोका दिनमा उनले हिट चलचित्र दिँदा पनि वर्षमा एउटा चलचित्र नै आउने गथ्र्यो । अहिले पनि उनको चलचित्र रोजाइको शैली झण्डै उस्तै छ । अफर आयो भन्दैमा जुन पायो त्यही चलचित्रमा अभिनय नगर्ने उनी बताउँछन् ।

कहिलेकाहीँ भने आफ्नो कारणले भन्दा पनि अरुका कारणले कलाकारले गाली खानुपरेको अनुभव सुनाउँछन् आर्यन । जब मेकरले उनलाई कुनै चलचित्रको कथा सुनाइरहेका हुन्छन्, त्यतिबेला त्यो कथा राम्रो चलचित्र बन्नेछ भन्ने लाग्छ । तर, निर्माण भएर पर्दामा आइपुग्दा चलचित्रको स्वरुप अर्कै बनेर आइदिन्छ ।

‘दर्शकले मलाई विश्वास गरेर हलसम्म जानुहुन्छ भने त्यसको दोष मैले नै लिनुपर्ने हुन्छ, कलाकारका रुपमा आफूले सक्दो राम्रो गर्दा पनि कुनै चलचित्रबाट आफूले नचाहेरै गाली खानुपर्छ,’ आर्यन अगाडि थप्छन्, ‘तर, दर्शकले मलाई नै दोष देखाउँदा पनि नराम्रो चाहिँ लाग्दैन, बरु दर्शकको विश्वास जित्न सकिन भनेर नरमाइलो लाग्छ ।’

नेपाली सिनेमाको बजार निकै सानो छ । केही सीमित हलमा चलचित्रलाई व्यापार गर्नका लागि जिम्मा लगाउनुपर्ने हुन्छ । अर्कातिर केही समययता कलाकारले महङ्गो पारिश्रमिक लिने गरेको चर्चा पनि चल्न थालेको छ ।

आर्यन भन्छन्, ‘नेपाली चलचित्रको बजार अनुसार यो पारिश्रमिक भारी हो, पहिले हामीले चलचित्र संस्कृतिको विकास गर्नुपर्छ, त्यसपछि बल्ल पारिश्रमिकको कुरा आउँछ ।’

उनको बुझाइमा आम दर्शकले चलचित्र हेर्ने संस्कृतिको विकास हुन समय लाग्छ । यो आजको भोलि हुने कुरा पनि होइन । अर्कातिर चलचित्र मनोरञ्जनका लागि निर्माण गरिनुपर्नेमा उनी जोड दिन्छन् । उनी भन्छन्, ‘त्यस्ता सिनेमा बन्नुपर्छ, जुन सिनेमा हेर्दा आनन्द आओस्, दिमागमा भारी नपरोस् र आँखालाई शीतल होस् ।’

‘पहिले त हामीले दर्शकलाई अब नेपालमा पनि राम्रा चलचित्र बन्न थाले है भन्ने विश्वास दिलाउन सक्नुपर्छ,’ उनको भनाइ छ ।

कहिलेकाहीँ चलचित्र र आर्यनको करिअरलाई लिएर मिडियामा विभिन्न गसिप बन्ने गर्छन् । कति समाचारमा त उनले आफूलाई पूर्ण रुपमा हारिसकेको एक नायकका रुपमा बिस्तार गरेको पाउँछन् । यस्ता विषयलाई आर्यनले खासै चासो भने दिँदैनन् ।

‘आर्यन सकियो, भाग्यले चम्केको कलाकार भनेर लेख्दा तपाईंहरुलाई रमाइलो लाग्छ ?, यसरी सिनेमा संस्कृतिको विकास हुन्छ ?,’ आर्यन प्रश्न गर्छन्, ‘मैले पहिले जसरी सिनेमा गरिरहेको थिएँ, अहिले पनि उसरी नै गरिरहेको छु त, एउटा सिनेमा नचल्दा करिअर नै सकिन्छ र ?’

आर्यन जीवनमा कहिल्यै पनि आफू स्टार हुन वा ‘नम्बर वान’ हुन चलचित्रमा काम नगरेको बताउँछन् ।

‘मैले त यो बाहेक अरु कुनै काम गर्न जानेको छैन, अभिनय मेरो काम हो, कामले मेरो करिअरलाई फाइदा या घाटा गर्ला तर यस्ता हल्लाले करिअरलाई फरक पार्दैन,’ आर्यन भन्छन् ‘न त म यहाँ स्टार हुन नै आएको हुँ, मलाई हिजो पनि नम्बर वान बन्नु थिएन, आज पनि छैन र भोलि पनि हुने छैन ।’

आर्यन अगाडि थप्छन्, ‘मलाई त मेरो भोलिको लक्ष्य के हो भन्ने पनि थाहा छैन, किनकि नेपालमा कलाकारको अवस्था कस्तो छ भन्ने त हामी सबैलाई थाहा छ नि हैन र ?’


तस्वीरहरु– अदीप श्रेष्ठ

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ३ : २१ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन