यदि त्यो दिन प्रेम प्रस्तावको बदलामा झापड नहानेको भए … « Khabarhub
Logo
६ असार २०७८, आइतबार

यदि त्यो दिन प्रेम प्रस्तावको बदलामा झापड नहानेको भए …



रिता लम्साल

काठमाडौं– आज प्रणय दिवस, विश्वभरका प्रेमजोडीहरू आजका दिनलाई प्रेम उत्सवका रुपमा मनाइरहेका छन् । फरक यत्ति हो, कोही खुलेरै प्रेम साटिरहेका छन् । कोही लुकिछिपी । प्रेमिल जोडीहरु प्रेमको आभासमा आफैसँग दंग र मख्ख छन् आज ।

सामाजिक सञ्जाल पूरै प्रेममय बनेको छ । फेसबूक हेर्दा जोकोहीलाई पनि लाग्छ – मानौं, यो प्रेमको विशेष चाड हो ।

प्रेमी/प्रमिका नहुने युवायुवती पनि आफ्ना साथीहरुसँग प्रेमप्रसङ्ग र प्रेम दिवसका कुरा गरिरहेका छन् आज ।

धेरैका लागि यो दिवस आफ्ना पुराना प्रेमहरु झक्झकाउने एउटा याद पनि बनिदिन्छ । आजैको दिन मेरो स्मरणमा पनि प्रेम दिवस को त्यो दिन आइदियो, जुन दिन मैले प्रेमप्रस्ताव राखेकै कारण उसलाई झापड हानेकी थिएँ ।

त्यो एउटा घटना थियो ।

+++

वि.सं. ०६७ साल । पोखराको एउटा स्कूलमा सात कक्षामा पढ्थेँ । भर्ना निकै पछि भएकाले मेरो रोल नम्बर पनि पुछारमा थियो । रोल नम्बर साठी ।

त्यतिबेला स्कूल मेरा लागि नयाँ थियो । गुरुहरु नयाँ हुनुहुन्थ्यो । नयाँ लागे पनि मलाई त्यहाँका साथीहरु निकै मिलनसार लाग्थ्यो ।

स्कूलको वातावरणले केटा या केटी, नयाँ या पुरानो, बढी जान्ने र र कम जान्ने भनेर विभेद गर्दैनथ्यो । हामी सबै एउटै घरका दाजुभाइ दिदीबहिनीझैँ थियौँ ।

बैशाखमा भर्ना भएकी म भ्यालेनटाइन डेको महिना आउँदा साथीहरुबीच पुरानी भइसकेकी थिएँ । पढाइमा त्यति कमजोर थिइनँ, अतिरिक्त क्रियाकलापमा पनि पुरस्कार पाइरहन्थेँ । यही कारणले हुनुपर्छ, मलाई धेरैले चिनिसकेका थिए स्कूलमा ।

माघको अन्तिम साता शुरु भएसँगै कक्षामा पढाइको मात्रै होइन, प्रेम दिवस सप्ताहको पनि प्रसङ्ग चल्ने गथ्र्यो । फागुन २ गते (फेब्रुअरी १४) प्रणय दिवस थियो । एकसाता अघिदेखि नै अरु ‘डे’ हरुको प्रसङ्ग चलिरहन्थ्यो कक्षामा । कक्षा ७ मा पढ्दै गरेका हामी विद्यार्थी यौवनावस्थामा प्रवेश गर्नै लागेका थियौँ, शायद । प्रेम, भावना, उत्सुकता र उत्साह बढी हुनु स्वभाविक थियो ।

उमेरकै कारण कक्षामा साथीहरु प्रेम दिवसको बढी नै चर्चा गर्थे ।

तर, म अलिक फरक थिएँ । प्रेम प्रसङ्गका कुराहरुले मलाई दिक्क बनाउँथे । म साथीहरुले गर्ने प्रेम दिवसका कुराहरु सुन्दा पनि इरिटेड हुन्थेँ ।

+++

एक साताअघि म घर जाँदा दिदीले सुनाउनु भएको थियो, ‘हाम्रै घर नजिकै मेरै उमेरकी सात कक्षामै पढेकी एक साथीले बिहे गरी ।’

साथीले त आफूले मन पराएको केटासँग आफ्नो इच्छाले नै भागेर गई । तर, उनकी आमाको आँसु एकसातासम्म पनि थामिएन । गाउँ समाजले सुनाउने अनेकौं किस्सा र आफ्नै खुसीले बिहे गरेकी छोरीको भविष्यको चिन्ताले उनलाई निकै पिरोलेको थियो ।

प्रेम सप्ताह शुरु भएसँगै एकजना साथीले अनौठो व्यवहार देखाइरहेका थिए । म भने अरुले गर्ने प्रेमका कुराले नै वाक्क भइरहेकी थिएँ ।

मैले प्रत्यक्ष देखेकी थिएँ, ती आमाले आँखाबाट खसालेका आँसु । त्यही रसिला आँखामा भेटेकी थिएँ, उनमा बितेको पीडा भाव । मसँग सान्त्वना दिने शब्दहरुको खडेरी थियो । म आफै पनि स्तब्ध बनेकी थिएँ ।

त्यसैले पनि प्रेमबारे खासै रुचि थिएन मेरो ।

कक्षामा सबै साथीहरु उस्तै थिए, मिलनसार । प्रेम सप्ताह शुरु भएसँगै एकजना साथीले अनौठो व्यवहार देखाइरहेका थिए । म भने अरुले गर्ने प्रेमका कुराले नै वाक्क भइरहेकी थिएँ ।

सप्ताहव्यापी भ्यालेनटाइन डेको अन्तिम दिन, चौध फेब्रअरी । मेरा लागि खासै महत्त्वको विषय थिएन । सधै जसो त्यो दिन पनि तयार भए स्कूल गएँ । दोस्रो घण्टी खाली थियो ।

सर नआएको मौका पारेर साथीहरु प्रेम प्रसङ्गको कुरा गर्न थाले ।

‘कति प्रेम भनिराको ? सात कक्षा पढिसकेको छैन, लभको कुरा गर्ने ?’ दिक्कै लागेर बेञ्चमा सँगै भएकी साथीलाई हप्काएँ मैले ।
ऊ चुप भई । कक्षाको हल्ला साम्य भएको थिएन ।

‘ओइ, पानी खान जाम न ।’ अघि आफैले हप्ताएको साथीलाई भनेँ ।

‘हुन्छ ल हिँड ।’ – दुवैजना बेञ्चबाट उठ्यौँ ।

साइडको बेञ्चमा बस्ने सहपाठी केटा साथीले बोलायो – ‘रिता !’

‘हजुर, किन बोलाएको ?’, मैले ऊतिर हेर्दै सोधेँ ।

मिल्ने साथी पनि थियो ऊ मेरो ।

‘सुन न…’

ऊ अक्मकायो ।

‘ह्या…. के हो छिटो भन, हामी बाहिर जान लागेको ।’, सधै राम्रोसँग बोल्ने ऊ अकमाउँदा मलाई दिक्क लागिरहेको थियो ।
रिसाएर फेरि भनेँ, ‘के सोध्न बोलाएको छिटो सोध क्या ?’

‘तिमी आजभोलि कति राम्री हुन थालेको ?’, उसले भन्यो ।

‘तिम्रो काम छैन, अब को कति राम्रो भयो भनेर बस ।’ मैले जिस्किएको होला भन्ने सोचेर बाहिर निस्किन लागेँ ।
उत्तिखेरै उसले मेरो दाहिने हात समायो र भन्यो – ‘आइ लभ यु ।’

कक्षामा निकै हल्ला थियो । हल्लामा पनि मेरो कानमा उसले बोकेको शब्द बारम्बार गुञ्जियो, रिसले कान तात्यो । साथै दिमाग पनि । उसले मेरो दाहिने हात अझै छोडेको थिएन ।

मैले देब्रे हातले उसको दाहिने गालामा एक थप्पड लगाएँ, कक्षाभरिको हल्ला एकाएक शान्त भयो, मात्रै गाला बजेको आवाज सुनियो त्यतिबेला ।

मेरा आँखा रिसमा डुबेको थियो । उसको अनुहारको भाव कस्तो थियो, मैले हेरिन । तर कक्षामा सबैको ध्यान हामीतिर नै थियो । म धारामा गएर घटघटी पानी पिएँ, रिस नमर्दासम्म मुखमा पानी छ्यापी रहेँ । र, चार घण्टीपछि टाउको दुखेको निहुँमा स्कूलबाट फर्किएँ ।

समाजका अनेकौँ कुरा र छोरीको अन्यौल भविष्यको चिन्तामा केही बोल्न नसकेर आँसु झार्दै बसेकी ती आमाको तस्वीर मेरो मष्तिस्कमा थियो । त्यो दिन मेरो कलिलो मस्तिष्कले सोचेको थियो, ‘प्रेम गर्नु पाप हो, भागेर बिहे गर्नु त झन् महापाप ।’

त्यसैले पनि प्रेमका कुराले मेरो मन तरंगित हुँदैन थियो । त्यसमाथि पनि घरबाट टाढा गएर बसेकी थिएँ । मेरा लागि मसँग टाढा रहेका मेरो घरपरिवारको माया नै विशेष थियो ।

त्यो समय, त्यो उमेरमा युगल जोडीले महसूस गर्ने प्रेमको आभास गर्नसक्ने क्षमता थिएन मसँग । माया गर्छु भन्नेहरु ठूलै शत्रु हुन् झैँ लाग्थ्यो । त्यसैले उसको प्रेम प्रस्तावको बदलामा गालामा थप्पड दिएँ ।

+++

भोलिपल्ट उसले माफी माग्यो । तर मैले साथीको रुपमा पनि सोच्नै सकिनँ । लाग्थ्यो, ऊ मेरो शत्रु हो । किनकि केटाकेटीबीच प्रेम गर्न मिल्छ भनेर न परिवारले सिकाए, न त शिक्षकले नै सिकाएका थिए ।

समाजमा देखेका र सुनेका कुराको आधारमा मैले मनमनै प्रेमप्रति धारणा बनाएकी थिएँ । मैले बुझेकी थिएँ, ‘प्रेम गर्नु गलत हो, ठूलो पाप हो ।’

+++

हो आज त्यही दिनजस्तै एक दिन हो, मेरो देब्रे हातको डाम उसको गालामा बसेको । प्रेमको ‘बदला’मा उसले मेरो झापड खाएको दिन ।

आज पछुतो लाग्छ । त्यो पछुतो उसको प्रेम अस्वीकार गरेकोमा होइन कि, उसको प्रेमलाई शत्रुताको परिभाषा दिएकोमा । अहिले मलाई लाग्छ, प्रेम अस्वीकार गर्ने त्यो तरिका निकै गलत थियो । र उसको प्रेमको महसूस गर्ने उमेर पनि गलत थियो कि भन्ने अहिले लाग्छ ।


भर्खर

0